लापसे र मापसे बन्यो सडक दुर्घटनाको मुख्य कारण, सेवन नगर्न प्रहरीको आग्रह | Khabarhub Khabarhub

लापसे र मापसे बन्यो सडक दुर्घटनाको मुख्य कारण, सेवन नगर्न प्रहरीको आग्रह


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय मादक पदार्थ सेवन (मापसे) सवारी दुर्घटनाको कारण बन्दै गएको छ ।

तीव्र गति लापर्बाही, लेन मिच्नेलगायत कारणले सवारी दुर्घटना हुँदा मानिसको बढी मृत्यु हुने गरेकामा पछिल्लो समय चालकले मदिरा पिएर सवारीसाधन चलाउने कारण दुर्घटना बढिरहेको प्रहरीले जनाएको छ । यसबाट स्वयं चालक तथा यात्रुको ज्यान जाने गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले मापसे र लापसे (लागुपदार्थ सेवन) सवारी दुर्घटनाको कारण बनिरहेको बताए । उनका अनुसार पछिल्लो पाँच महिनाको तथ्याङ्कमा मापसे गरेर सवारीसाधन चलाएका चालकका कारण छ सय २१ वटा दुर्घटना भएका छन् । ती दुर्घटनाबाट ४७ जनाको ज्यान गएको छ भने आठ सय सात जना घाइते भएका छन् ।

यसरी हुने दुर्घटना सङ्घीय राजधानी काठमाडौँ उपत्यकामै सबैभन्दा बढी हुने गरेको पाइएको छ । चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा उपत्यकामा चालकले मापसे गरेर सवारीसाधन चलाएका तीन सय ७७ वटा गाडी दुर्घटना हुँदा १६ जनाको मृत्यु र तीन सय ८९ जना घाइते भएका छन् ।

यस्तै, कोशी प्रदेशमा यस्ता २८ वटा दुर्घटनामा सातको मृत्यु र ५० जना घाइते भएका छन् । मधेश प्रदेशमा ८२ दुर्घटना हुँदा एकको मृत्यु, एक सय ५४ जना घाइते, बागमती प्रदेशमा २८ दुर्घटनामा तीनको मृत्यु ४४ घाइते, गण्डकी प्रदेशमा २३ दुर्घटना हुँदा तीनको मृत्यु र ३६ जना घाइते भएका छन् ।

यस्तै, लुम्बिनी प्रदेशमा ४३ दुर्घटना हुँदा १० को मृत्यु र ७० जना घाइते भएका छन् । कर्णालीमा १२ दुर्घटना हुँदा १४ जना घाइते र सुदूरपश्चिम प्रदेशमा २८ दुर्घटना हुँदा सातको मृत्यु र ५० जना घाइते भएका प्रहरी प्रधान कार्यालय काठमाडौँले जनाएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलगायत देशभर नै मापसेविरुद्ध जाँच र कारबाही अभियान जारी रहेको छ । तर कतिपय अवस्थामा सार्वजनिक सवारीसाधनका साथै एम्बुलेन्स र स्कूल बसका चालकले समेत मापसे तथा लापसे गरेर सवारी चलाएका भेटिएका प्रवक्ता अधिकारीले जानकारी दिए ।

यस्ता चालकका कारण धेरै यात्रुको ज्यान जोखिममा पर्ने भएकाले त्यस्तो सूचना पाए प्रहरीलाई जानकारी गराउन सार्वजनिक अनुरोध गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतले बताए ।

यसरी अनुरोध तथा प्रचारप्रसार गर्दा पनि मापसे गरेर सवारी चलाउने क्रम रोकिएको छैन । चालकको लापर्बाहीले स्वयं आफैँ र यात्रुहरूको समेत ज्यान जोखिममा गर्ने भएकाले सतर्कता अपनाउन प्रहरीको आग्रह गरेको छ । रासस

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  १० : ४५ बजे

दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कफीखेती प्रवर्द्धन कार्यक्रम सुरु

गाजामा पूर्ण युद्ध विरामको आशंकाः विपिन खोज्दै नेपाल

हमासले अप्रत्याशित रूपमा इजरायलमा आक्रमण गरेको लामो समय भइसकेको छ।

दक्षिण कोरियाली राष्ट्रपति गिरफ्तार

सोल – महाअभियोग लागेका दक्षिण कोरियाली राष्ट्रपति योन सुक योललाई

सरकारसँग ६ माग राखेर ऊर्जा व्यवसायीले पत्रकार सम्मेलन गर्दै 

काठमाडौं– सरकारसँग ६ माग राखेर आज ऊर्जा व्यवसायीहरूको अर्को संस्था

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।