फूल मेलामा रमाइरहेका ‘फूलप्रेमी’ | Khabarhub Khabarhub

फूल मेलामा रमाइरहेका ‘फूलप्रेमी’


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भृकुटीमण्डप प्रवेश गर्नेबित्तिकै फूलैफूलको द्वार देख्न सकिन्छ । द्वार(गेट) प्रवेश गर्नेबित्तिकै लाग्छ विभिन्न रङगीचङ्गी फूलहरूले स्वागत गरिरहेका छन् । थरिथरिका फूल तथा बोटबिरूवामा मौरीझैँ झुम्मिएका देखिन्छन् फूलप्रेमीहरू ।

फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि सुरू भएको २६औँ पुष्प मेला (फ्लोरा एक्स्पो)को दृश्य हो यो । फूलैफूलको संसारमा रमाइरहेकी भेटिइन्, प्रतिनिधिसभाअन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापा । पुष्प मेलामा फूल किन्दै गर्दै भेटिएकी थापाको हातमा ‘जेरानियम’ फूलको बोट थियो भने अर्को हातमा थप अरू फूलका बिरूवाहरू ।

उनी बोटबिरूवाको सौखिन छिन । उनलाई मौसमअनुसारको फलफूल तथा तरकारी आफैँ फलाएर खाने इच्छा लाग्छ । कौसीखेती गर्दै आएकी उनले सागसब्जी, फूलहरू रोपेकी छन् । सकेसम्म अग्र्यानिक खाने प्रयत्न गर्छिन थापा । “यस्तो मेला लाग्नेबित्तिकै एकपटक छिरिहाल्छु । फुर्सद हुँदासम्म आफैँ रोप्ने, बोटबिरूवाको स्याहार्ने काम गर्छु”, थापा भन्छिन्।

पुष्प मेला हेर्न भक्तपुरबाट आएकी समृद्धी राईले छवटा फूलहरू किनिन् । उनी हरेक वर्ष मेलामा आउँछिन् र मनपरेका फूलहरू किनेर लान्छिन । उनी भन्छिन्, “फूलप्रेमीलाई त मेला औधी रमाइलो लाग्छ । मैले थुप्रै फूलहरू रोपेकी छु । फूलको सङ्कलन गर्न मनपर्छ । घरभरि नै सजाएर राखेको छु ।”

मेलामा कसैको आँखा गमलामा तथा कसैको आँखा ठूलो फुल्ने फूलहरूमा देखिन्थ्यो । मौसमअनुसारको फुल्ने फूलहरूमा धेरैको चासो गइरहेको थियो । मेलामा जेरानियम, लाहुरे फूल, सिनारेरिया, पेटुनिया, गुलाब, लिली, कार्नेसनलगायत सयौँ प्रकारका आउटडोर तथा इन्डोर फूल तथा बोटबिरूवा प्रदर्शनीमा राखिएको थियो ।

कीर्तिपुरका साहिल श्रेष्ठ ‘अर्किड’को सङ्कलन गर्न मन पराउँछन् । उनी मेलामा विभिन्न प्रकारका अर्किडको खोजीमा आएका थिए । तर भनेजस्तो पाएनन् । उनी भन्छन्, “खासै खोजेजस्तो पाइएन । मसित भएका नै रहेछन् प्रायः । मूल्य पनि नर्सरीभन्दा अलि बढीजस्तो लाग्यो ।”

भृकुटीमण्डप प्रदर्शनी हलमा ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ चैत १ देखि ४ गतेसम्म मेला लाग्नेछ । आयोजकका अनुसार मेलामा ८२ वटा प्रदर्शनी कक्ष राखिएका छन् ।

मेलामा विभिन्न प्रजातिका फूल, मल, गमलालगायत पुष्प सामग्री रहेका छन् । मेला संयोजक रामबहादुर तामाङले मेलामा करिब ६० हजार मानिसले अवलोकन गर्ने अनुमान गरिएको बताए।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ८ : १६ बजे

नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

गलकोट– विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका ७ जुडाका ४० वर्षीय भक्तबहादुर महरा काष्ठकलाको

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ