गगनले सम्झाए– गिरिजा हत्या प्रयासको त्यो कहालीलाग्दो क्षण ! | Khabarhub Khabarhub

गगनले सम्झाए– गिरिजा हत्या प्रयासको त्यो कहालीलाग्दो क्षण !

बालबाल बाँचे रामचन्द्र, शेरबहादुर र शैलजा


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 8 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रोपल्ट राजगद्दीमा फर्काउन राजावादीहरूले प्रयास गरिरहेको बेला नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ‘सुरजपुरा घटना’ स्मरण गराएका छन् । उनले सामाजिक सञ्जाल एक्समा भिडियो पोस्ट गर्दै सञ्जाल प्रयोगकर्तालाई पञ्चायतकालीन बर्बरता ‘सुरजपुरा घटना’ स्मरण गराएका हुन् ।

‘केही मानिसहरू पुराना दिन फर्काउने जुन चेष्टा गरिरहनुभएको छ । त्यो भनिरहँदै गर्दा हामीलाई सुरजपुरा याद आउँछ । पुरानो दिन भनेको ०४० साल फागुन २० गते हो,’ महामन्त्री थापाले भिडियोमा भनेका छन् । रुपन्देहीको देवदह नगरपालिका–३ सुरजपुरामा रहेको एक घर अगाडि उभिएर थापा बोल्दै गरेको अवस्थामा सहयोगीले भिडियो कैद गरेका हुन् ।

भिडियोसँगै महामन्त्री थापाले लेखका छन्, ‘स्वतन्त्रता हामीले सजिलै पाएका होइनौँ । त्याग, बलिदान र कयौँ पीडादायी संघर्षहरू पार गरेर यहाँसम्म आइपुगेका हौँ । हिजो (बुधबार) सुरजपुरा पुगेँ, त्यही ठाउँ जहाँ २०४० साल फागुन २० गतेको त्यो दुःखद घटना घटेको थियो ।’

सुरजपुरामा के भएको थियो ?

तत्कालीन पञ्चायती शासन व्यवस्थाले राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाएको थियो । सरकारको प्रतिबन्धका कारण दलहरूलाई खुला ढंगले राजनीतिक गतिविधिहरू गर्न सहज अवस्था थिएन ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको निधन भएको डेढ वर्ष पुगिसकेको थियो । कांग्रेसका नेताहरू आ–आफ्नो विचारअनुरूप समूह निर्माण गर्ने क्रमसँग–सँगै संगठन विस्तारको काममा सक्रिय भएर लागेका थिए ।

कांग्रेसका नेताहरूले प्रशासनिक दबाबको पर्बाह नगरी पोखरा, नारायणगढ, नेपालगञ्ज, धनगढी, जनकपुर, राजविराज, विराटनगरलगायतका स्थानमा क्षेत्रीय सम्मेलनहरू सम्पन्न गरिसकेका थिए ।

संगठन विस्तारका क्रममा कांग्रेसका तात्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला राजा वीरेन्द्र शाहसँगको भेटघाटले उत्साही भएर ‘पञ्चायतको विकल्प’ को कुरा गर्दै बढी सक्रिय रहेका थिए ।

जसको वर्णन डा. राजेश गौतमले ‘नेपालको प्रजातान्त्रिक इतिहास र नेपाली कांग्रेस’ पुस्तकको छैटौं भागमा गरेका छन् । ‘नेपाली कांग्रेसको संगठनहरूको विस्तार गर्ने कार्यमा खासगरी राजासँग भएको भेटघाट र उनीसँग भएको कुराकानीबाट उत्साहित भएका महामन्त्री गिरिजाप्रसाद कोइराला ‘पञ्चायतको विकल्प’ को कुरा गर्दै बढी सक्रिय रहेका थिए,’ उनले पुस्तकमा लेखेका छन् ।

गौतमका अनुसार त्यसबेलासम्म राजा वीरेन्द्र र कोइरालाबीच भएको भेटघाटका क्रममा भएको कुराकानीबारे चर्चा हुन थालिसकेको थियो । जसका कारण कोइरालाको देश भ्रमणलाई त्यही भेट र कुराकानीको आधारमै भइरहेको रूपमा हेर्न थालिएको उनको भनाइ छ ।

‘कांग्रेस महामन्त्री ‘पञ्चायतको विकल्पको खोजीमा’ रहेको व्यापक चर्चा हुन थालेको थियो । गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले त गिरिजाप्रसाद कोइरालाको देश भ्रमणलाई ‘विकल्पको खोजी अभियान, विकल्पको खोजी यात्रा’ भनेर भन्न थालेका थिए,’ लेखक गौतमले पुस्तकमा लेखेका छन् ।

प्रतिबन्धित कालमा देश दौडाहाका दौरान नेता–कार्यकर्ताहरूका साथ नेता कोइराला ०४० फागुन २० गते रुपन्देहीको सुरजपुरा गाउँ पुगेका थिए । उनीसँगै रामचन्द्र पौडेल (वर्तमान राष्ट्रपति), शेरबहादुर देउवा (कांग्रेस सभापति)लगायत नेताहरू पनि थिए ।

सुरजपुराका अन्य स्थानमा वातावरण सहज नभएका कारणकोइरालाले रूपन्देही कांग्रेसका सभापति पुष्पानन्द गिरीको घरमा कार्यक्रम आयोजना गर्न लगाएका थिए । कार्यक्रमलाई सम्बोधन गरिसकेपछि पञ्चायती शासन व्यवस्थाका हिमायतीले खटन–पटन गरेको समूहले कांग्रेसका नेताहरू माथि अन्धधुन्ध आक्रमण गरेको थियो ।

‘आफ्ना सहयोगी कार्यकर्ता तथा नेताहरू शैलजा आचार्य, शेरबहादुर देउवा, रामचन्द्र पौडेलसहित वि.सं. २०४० फागुन २० गते (३ मार्च १९८४) रुपन्देहीको सुरजपुरा गाउँमा पुग्दा गिरिजाप्रसाद कोइरालामाथि रुपन्देहीको सुरजपुरा गाउँमा लुम्बिनी अञ्चल प्रशासन र पञ्च कार्यकर्ताहरूको मिलोमतोमा हातहतियारसहित उनी बसेको पुष्पानन्द गिरीको घर–आँगन चारैतिरबाट घेराबन्दी गरी उनको हत्या प्रयास गरिएको थियो,’ ‘नेपालको प्रजातान्त्रिक इतिहास र नेपाली कांग्रेस’ नामक पुस्तकमा लेखिएको छ ।

उक्त आक्रमणमा कांग्रेसका कार्यकर्ताहरू वकिल यादवनाथ आलोक र शिक्षक रामप्रसाद चौधरीको हत्या गरिएको थियो । देउवालगायत थुप्रै कार्यकर्ताहरू घाइते भएका थिए । सुरजपुरा घटना स्मरण गर्दै महामन्त्री थापाले एक्समा लेखेका छन्, ‘छलफल चलिरहेका बेलामा, त्यसबेलाको सरकारको संरक्षणमा सयौँको संख्यामा आएका हातहतियारधारी गुण्डाहरूले आक्रमण गरे । पार्टीका साथीहरूले नेताहरूलाई जोगाउनुभयो । तर, हामीले हाम्रा दुई कर्मठ साथीहरू यादवनाथ आलोक र रामप्रसाद चौधरी गुमायौँ । धेरै साथीहरू घाइते हुनुभयो ।’

तत्कालीन महामन्त्री कोइरालाले दुई दिनपछि विज्ञप्तिमार्फत् सुरजपुरा घटनाबारे सार्वजनिक अभिव्यक्ति दिएका थिए । उनले आफूहरूमाथि झण्डै चार सयको संगठित समूहबाट खुकुरी, बञ्चरो, रड, लाठी लिएर योजनावद्ध तरिकाबाट चारैतिरबाट घर घेराउ गरी आक्रमण भएको बताएका थिए ।

‘डेढ घण्टासम्म मारकाट, लुटपाट र तोडफोड भयो । म बसेको घरमा आगो सल्काउने कोसिस पनि भयो । यस आक्रमणबाट कति घाइते भए प्रष्ट थाहा हुन सकेको छैन,’ कोइरालाले भनेका थिए, ‘तर, गम्भीर रूपले घाइते हुने १५ जना बुटवल अस्पतालमा भर्ती छन् । जसमध्ये रुपन्देही जिल्ला समितिका सदस्य अधिवक्ता यादवनाथ आलोकको मृत्यु भएको छ । केहीको हालत अत्यन्त गम्भीर छ ।’

कोइरालाले सुरजपुरा घटनालाई हत्या उद्देश्यले गरिएको सुनियोजित कारबाही भनेका थिए । उनले घटनामा सरकारको प्रत्यक्ष हात रहेको दाबी गर्दै आक्रमणकारीलाई सुरक्षाकर्मीले सहयोग गरेको समेत ठोकुवा गरेका थिए ।

‘यो राजनीतिक विरोध नभएर हत्याको उद्देश्यले गरिएको सुनियोजित कारबाही थियो र यस घटनालाई प्रत्याक्ष बर्दीधारी सशस्त्र प्रहरीको संरक्षण थियो भन्ने कुरा त्यहीँ पर मूक दर्शक भएर बसेका प्रहरीको उपस्थितिले प्रमाणित गर्दछ,’ विज्ञप्तिमा लेखिएको थियो, ‘सीडीओ र डीएसपीलाई यस्तो घटनामा सहयोग माग्न जाँदा टाउको दुखेको छ भनेर भेटेनन् । अञ्चलाधीशले यस्तो कसरी भयो होला भनी आलटाल गरे । यसबाट कसैलाई भ्रम रहेन कि सरकारको यसमा प्रत्यक्ष हात छ ।’

लेखक गौतमका अनुसार सुरजपुरा घटनापछि कोइराला तुरुन्तै काठमाडौं फर्किएका र फागुन २२ गते जमलस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी घटनाबारे विस्तृत जानकारी गराएका थिए ।

‘उक्त पत्रकार सम्मेलनमा महामन्त्री गिरिजाप्रसाद कोइरालाले एक प्रेस वक्तव्यसमेत जारी गरेका थिए । जसमा उनले उक्त घटना राजनीतिक विरोध नभएर हत्याको उद्देश्यले सुनियोजित कारबाही रहेको र उक्त घटनालाई प्रत्यक्षतः बर्दीधारी सशस्त्र प्रहरीको संरक्षण रहेको कुरा उल्लेख गरेका थिए,’ गौतमको पुस्तकमा लेखिएको छ ।

गौतमका अनुसार पत्रकार सम्मेलनपछि नै कोइरालाले ०४० वैशाख २७ मा तत्कालीन राजा वीरेन्द्रसँग भएको भेट र भेटका क्रममा भएको कुराकानीबारे औपचारिक रुपमा खुलासा गरेका थिए । उनले पुस्तकमा राजा वीरेन्द्रले नै कोइरालालाई पञ्चायतको विकल्पको खोजी गर्न देश भ्रमण गर्न अनुरोध गरेको उल्लेख गरेका छन् ।

‘यसरी सुरजपुरा हत्याकाण्ड सत्तापक्षीय विवेकशून्यताको पराकाष्ठा हुन सक्छ । देशलाई हठात् प्रतिगामी बाटोतर्फ फिर्ता ल्याउने दुर्भाग्यपूर्ण एउटा घटना हुन सक्छ,’ लेखक गौतमको भनाइ छ, ‘तर यस्तो नियोजित प्रयास भने सुधारिएको पञ्चायतको साटो निर्दलीयताको विजयसम्बन्धी घोषणापश्चात् नै सुरु भएकाले तथ्यलाई नर्कान सकिन्न ।’

तत्कालीन समयमा पञ्चायतभित्रको उग्रवादी तत्व मेलमिलापको नीतिलाई विफल पार्न जस्तोसुकै हिंसा गर्न पनि तत्पर थियो भन्ने कुरा सुरजपुरा काण्डबाट पुष्टि भएको उनको विश्लेषण पुस्तकमा छ ।

देउवाको अनुहारको त्यो खत…

पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको अनुहारमा एउटा खत देखिन्छ । दायाँ ओठमाथिको त्यो खत त्यही सुरजपुरा घटनाको ‘चिनो’ हो । सुरजपुरा घटनामा आक्रमणकारीले प्रहार गरेको ढुंगा लागेर देउवाको अनुहारमा चोट लागेको थियो ।

तत्कालीन महामन्त्री कोइराला नेतृत्वको टोलीसँग सुरजपुरा पुगेका नेता चन्द्र भण्डारीले देउवाको अनुहारको खत त्यहीबेलाको चोटको निशानी रहेको बताएका छन् । घटनाका प्रत्यक्षदर्शी नेता भण्डारीले अन्तरवार्तामा सुरजपुरामा आक्रमणबाट पहिलो घाइते हुने व्यक्ति देउवा नै रहेको बताएका छन् ।

‘त्यतिबेला यादवनाथ आलोक, रामचन्द्र चौधरी मारिनुभएको थियो । जो घटनामा पारिबाट आएको ढुंगाले पहिलो शेरबहादुरजीको ओठ काटिएको थियो,’ त्यसबारे उनले एक टेलिभिजन अन्तरवार्तामा भनेका छन्, ‘त्यो अहिले दाग छ नि, उहाँलाई त्यतिबेला लागेको हो । र, उहाँको रगत छेकेको म आफैँले हो ।’

कांग्रेस नेतृ सुजाता कोइरालाले पनि आफ्नो पुस्तक ‘म र सानोबुवा’मा सुरजपुरा घटनामा ढुंगा लागेर देउवाको ओठ काटिएको उल्लेख गरेकी छन् ।

‘लाठी, ढुंगा, माटाको डल्ला जे पायो त्यसैले आक्रमण गरे । त्यही क्रममा एउटा ढुंगा शेरबहादुर देउवाको मुखमा लाग्यो र रगत बग्न थाल्यो । शेरबहादुरजीको ओठ त्यतिबेलै काटिएको हो,’ सुजाताको पुस्तकमा लेखिएको छ ।

तर, नेतृ कोइरालाले पुस्तकमा ०४० सालको सुरजपुरा घटनालाई ०४२ मा भएको उल्लेख गरेकी छन् । सुरजपुरा घटनाबारे पुस्तकमा लेखिएको छ–

सुरजपुरा घटना

वि.सं. २०४२ मा सानोबुवा सुरजपुरा जाने कार्यक्रम तय भयो । कांग्रेस नेता रामकृष्ण ताम्राकारका अनुसार गिरिजाबाबु त्यहाँ जाने कार्यक्रम तय भएपछि उहाँको टाउको ल्याउनेलाई पाँच लाख रुपैयाँ नगद र पाँच बिघा जग्गा दिने भन्दै स्थानीय सुकुम्बासीलाई कोइरालाविरुद्ध उचालेका रहेछन् ।

सुकुम्बासी खुकुरी, लाठी र भालासहित जम्मा भएका थिए । बिहान ८ बजे खैरेनी (दुम्कीबास) पुग्ने कार्यक्रम थियो । कांग्रेस भेषमा आएका पञ्चायत निर्देशित मण्डलेले कोइराला मोटरबाट झर्नेबित्तिकै ‘जय नेपाल’ भनेर माला लगाएर जंगलभित्र लगी खुकुरीले रेटेर मार्ने योजना बनाएछन् ।

त्यसैअनुरूप उनीहरूले गिरिजाप्रसाद सुकम्बासीलाई हटाउनुपर्छ भन्ने भाषण गर्न यहाँ आउँदैछन् भनेर सुकम्वासीलाई उत्तेजित बनाइएको रहेछ । सानोबुवा (गिरिजाप्रसाद) आउने थाहा पाएर बिहान ८ बजेदेखि नै उनीहरूलाई रक्सी खुवाएर मताएर राखेका रहेछन् ।

तीन घण्टासम्म कुरेपछि सानोबुवाको गाडी नआएपछि उनीहरू त्यहाँबाट हिँडे छन् । यता सानोबुवा चढेको गाडी रूपन्देही जाने क्रममा नारायणगढमै बिग्रेछ। पैसा नभएपछि बजारमा साथीहरुसँग मागेर ६ सय रुपियाँ लिएर मिनीबस रिजर्भ गरेर पहिला तय भएको समयभन्दा तीन घण्टा ढिलो पुग्नुभएछ ।



बाटामा कुरेर बसेका कार्यकर्ताले गिरिजाबाबु आएपछि मण्डलेले मार्छन् भनेर नारायणगढ नै फर्कन सुझाव दिएछन् । अनि केहीले गिरिजाबाबुलाई फिर्ता पठाउँदा मण्डलेको मनोबल झन् बढ्छ, कार्यक्रम गर्नुपर्छ भनेर दबाब दिए।

कार्यकर्ताको भावना बुझेपछि गिरिजाबाबले भन्नुभएछ, ‘म कार्यक्रम क्यान्सिल गर्न आएको होइन, कसैको दबाब र धम्कीले म कार्यक्रम क्यान्सिल गर्नेवाला छैन ।’ सानोबुवा सुरजपुरा गएको थाहा पाएपछि सबै सुकुम्बासी पनि त्यहाँ नै पुगेछन् ।

सुरजपुरामा दुई–तीन हजार मानिस भेला भएका थिए । कांग्रेस नेताहरू रामकृष्ण ताम्राकार, पुष्पनन्द गिरी, नीलाम्बर पन्थीले भाषण गरेपछि सानोबुवा बोल्न थाल्नुभएछ । उहाँले पनि भाषण सक्नुभयो। त्यसपछि परशुराम गिरीको घरको माथिल्लो तलामा खाना खाने व्यवस्था मिलाइएको थियो ।

माथिबाट हेर्दा घरवरिपरि भाला, छुरा, खुकुरी लिएका मानिस ‘किसान एकता जिन्दावाद’, ‘अन्तर्राष्ट्रिय तत्व मुर्दावाद’,‘विदेशी दलाल मुर्दावाद’ भन्ने नारा लगाउँदै थिए । सुरुमा यादवनाथ आलोक र हरिप्रसाद पोखरेललाई उनीहरूले कुटेर मरणासन्न हुने अवस्थामा खेतमा छाडिदिएछन् ।

त्यसपछि सानोबुवा बसेको घरमा लगातार आक्रमण सुरु भयो । लाठी, ढुङ्गा, माटाको डल्ला जे पायो त्यसैले आक्रमण गरे । त्यही क्रममा एउटा ढुङ्गा शेरबहादुर देउवाको मुखमा लाग्यो र रगत बग्न थाल्यो। शेरबहादुरजीको ओठ त्यतिबेलै काटिएको हो। शैलजा आचार्य र रामकृष्ण ताम्राकारहरू पनि घाइते हुनुभयो। सानो कोठामा डेढ– दुई सय मानिसको भिड लाग्दा घर नै भत्किएर झन् ठूलो दुर्घटना होला भन्ने त्रास सबैलाई थियो ।

दुई घण्टा त्यहाँ बसेपछि मण्डलेहरूले बन्चराले ढोका फोर्न थाले।केहीले ट्याक्टर र पानी तान्ने पम्पिङ सेटको डिजेल निकालेर कपडामा भिजाई घरमा आगो लगाउन थाले। अब आगोले घरभित्रै सबै मर्ने निश्चित भएपछि भित्र रहेका नेता–कार्यकर्ता बाहिर निस्कन थाले।

अनि ४०–५० जना महिला हातमा पानीले भरिएका गाग्री लिए निस्किए । हाम्रो घरमा आएका पाहुना मार्न दिँदैनौँ भन्दै उनीहरू कराएपछि सबै मण्डलेको भागाभाग भयो।

महिलाहरूले आगो पनि निभाएछन्। आँगनमा त रगतको आहाल नै बनेको र कति त चिच्याइरहेका थिए। एउटा बयलगाडामा चार–पाँचजनाको दरले राखेर अस्पताल लैजाँदा २४–२५ वटा गाडाहरू भरिएका रहेछन् । फागुन २२ गते आलोकजीको निधन भयो । त्यहाँका साहसी महिला दिदीबहिनीको हिम्मतले पञ्चायतका मण्डलेहरू त्यहाँबाट भगाउन सम्भव भयो ।


गिरिजाप्रसादको प्रश्न– महाराजा किन मौन ?

रुपन्देही र कपिलवस्तु भ्रमणको सिलसिलामा हामी २० गते सुरजपुरा पुग्यौँ । सुरजपुरामा रूपन्देही नेपाली कांग्रेस जिल्ला कमिटी अध्यक्ष पुष्पानन्द गिरीको घर कम्पाउन्डभित्र आयोजित कार्यकर्ता र स्थानीयगाउँलेको गोष्ठीलाई सम्बोधन गरिसकेपछि म खानलाई माथि गएँ ।

त्यसैबेला एउटा ३००/४०० सयको संगठित समूह खुकुरी, बञ्चरो, रड, लाठी लिएर योजनावद्ध तरिकाबाट चारैतिरबाट घर घेरी उपस्थित जन समूहमाथि पहिले ढुंगा त्यसपछि लाठी,खुकुरी प्रहार गर्न थाले।

डेढ घण्टासम्म मारकाट, लुटपाट र तोडफोड भयो। म बसेको घरमा आगो सल्काउने कोसिस पनि भयो। यस आक्रमणबाट कति घाइते भए प्रष्ट थाहा हुन सकेको छैन तर गम्भीर रूपले घाइते हुने १५ जना बुटवल अस्पतालमा भर्ती छन् । जसमध्ये रुपन्देही जिल्ला समितिका सदस्य अधिवक्त यादवनाथ आलोकको मृत्यु भएको छ । केही हालत अत्यन्त गम्भीर छ ।

यो राजनीतिक विरोध नभएर हत्याको उद्देश्यले गरिएको सुनियोजित कारबाही थियो र यस घटनालाई प्रत्याक्षबर्दीधारी सशस्त्र प्रहरीको संरक्षण थियो भन्ने कुरा त्यहीँ पर मूकदर्शक भएर बसेका प्रहरीको उपस्थितिले प्रमाणित गर्दछ ।

सीडीओ र डीएसपीलाई यस्तो घटनामा सहयोग माग्न जाँदा टाउको दुखेको छ भनेर भेटेनन् । अञ्चलाधीशले यस्तो कसरी भयो होला भनी आलटाल गरे । यसबाट कसैलाई भ्रम रहेन कि सरकारको यसमा प्रत्यक्ष हात छ ।

पहिले पनि यस प्रकरका घटनाहरू घट्दै आएका हुन् । हेटौडा, स्याङ्जा, जीतपुर, अगौली, महोत्तरी, धनगढी र हाल विराटनगरमा प्राशासनबाट यस्तै कारबाही भएका हुन् ।

यी सबका बाबजुद हामीले आजसम्म धैर्य र संयमका साथ बृहत्तर राष्ट्रिय हितको परिपेक्ष्यमा आाफ्नो कदम चाल्दै आएका हौँ, सरकार र जनतालाई हामीले जानकारी दिएका छौँ । तर सरकारले यस्ता व्यक्तिहरुलाई सजाय दिनुको सट्टा पुरस्कृत गरेको पनि हामीले देखेका छौँ ।

आज प्रश्न उठ्छ, विस्तारै विस्तारै देशलाई ०३६ सालभन्दा पहिलेको परिस्थितिमा लग्ने कसको हितमा छ ? किन सरकारले नै हामीलाई मुठभेटको राजनीतिमा धकेल्न खोज्दै छ र यस्तो अराजकताको स्थिति ल्याउने सरकारको कारबाहीप्रति श्री ५ महाराजाधिराज किन मौन होइबक्सन्छ ?

आज यस घटनाले हामीलाई देशको राजनीतिक परिस्थिति र आफ्नो दायित्व उपर गम्भीरतापूर्वक सोचन बाध्य गरेको छ। यस परिप्रेक्ष्यमा हाम्रो अगामी कार्यक्रमदेशव्यापी रुपमा साथीहरूसँग छलफल गरेर हामी तयार गर्नेछौँ ।

आज हाम्रो तत्काल माग छ– यो सरकार पूर्णरुपले यसको निम्ति जिम्मेबार रहेकोले र शान्ति सुरक्षाको जिम्मा लिने हैसियतमा गृहमन्त्रीले तुरुन्त राजीनामा गर्नुपर्छ र यस घटनामा जिम्मेदार तमाम व्यक्तिमाथि तुरुन्त कारबाही हुनुपर्छ ।

गिरिजाप्रसाद कोइराला
फागुन २२, ०४०

(प्रेस वक्तव्य डा. राजेश गौतमको पुस्तक ‘नेपालको प्रजातान्त्रिक इतिहास र नेपाली कांग्रेस’बाट साभार गरिएको हो ।)

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ५ : ३३ बजे

सुरु भयो ‘ललितकला मेला

काठमाडौं- नेपाली ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा नववर्ष २०८२ र प्रतिष्ठानको १६औँ

खजे दुरालाई राष्ट्रिय विभूति बनाउन माग

पोखरा – दुरा सेवा समाजले खजे दुरालाई राष्ट्रिय विभूति बनाउन

ट्रकबाट २५ करोड बरामद प्रकरण- चालक कुशाङ र मालिक नारायणविरुद्ध मुद्दा दायर

काठमाडौं– राजस्व अनुसन्धान विभागले विदेशी मुद्रा अपचलन सम्बन्धी कसूरमा ट्रक

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं :  नेपाल आयगल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

कांग्रेसमा असन्तुष्टि चुलिँदा सरकारको भविष्यमाथि उठ्न थाल्यो प्रश्न

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस–एमाले