धनगढी – जेठ २३ को मध्यदिन ! बाम्का बजारका व्यापारी अरू दिन झैँ आफ्नै दैनिकीमा व्यस्त थिए । किनबेच गर्ने ग्राहक बाक्लिँदै थिए । बजारमा चहलपहल बढ्दै थियो । कोही किन्ने, कोही बेच्ने, कोही आउने, कोही जाने ! आफ्नै व्यापारको लयमा थियो बाम्का बजार ।
जब ठूलो आवाज आयो र सँगै आगोको मुस्लो देखियो, अनि सिङ्गो बजार नै अशान्त बन्यो । कोही रुने, कोही कराउने ! सम्हालिने अवस्था नै थिएन । सङ्कट थियो । सम्झाउने र उपाय दिने अवस्था नै रहेन। सबैलाई पीडा, सबैलाई सङ्कट !
समान बच्ने हुन् कि किन्ने, आगो देखेर कोही बेहोस, कसैलाई तनाव । नजिक पानीको ठूलो स्रोत छैन । जिल्लामा दमकल नै छैन । नियन्त्रणको कुनै उपाय नै थिएन । आगोले बाम्काबासीको धन र पीडाले मन जलिरह्यो ।
छिनभरमै बाम्काको आधा बजार जलेर खरानी भयो । २२ पसलकबल खरानी नै भए । जसरी पसलको टहरा र त्यो भित्रको सम्पत्ति जल्यो – व्यापारीका मन पनि त्यसैगरि जलिरह्यो ।
आगोलाई जित्ने उपाय थिएन । जीवनभर दुःख गरी सङ्गालेको सबै कमाइ जलेको दृश्य टुलुटुल हेरिबस्नु बाहेक अर्को विकल्प भएन । व्यापारी रामबहादुर ऐडीको हालत पनि उस्तै थियो ।
नवदुर्गा होटलमा खाना पकाउने ग्यास पड्केर आगलागी भएको हो । एउटै पसलबाट सुरु भएको आगलागीले आधा बजार सखाप पार्यो । १३ जनाले शरीरको कपडा बाहेक सम्पत्ति जोगाउन पाएनन् । नौ वटा पसलमा आंशिक क्षति भयो । जोगाउन खोज्दा खोज्दै अरू दर्जनभन्दा बढी पसलमा पनि क्षति भयो । धन्न ! मानवीय क्षति हुन पाएन ।

घण्टा नबित्दै बाम्काका व्यापारीले १८ करोड रुपैयाँभन्दा बढी नगद, जिन्सी र संरचना गुमाए । बैङ्कमा राखेको धेरथोर बाहेक कोही कसैको केही बाँकी रहेन । उनीहरूको श्रीसम्पत्ति र सर्वश्व नै गुम्यो । क्षति ब्यहोरेका व्यापारीमध्ये अधिकांशको १० देखि २० वर्षको लगानी र आम्दानी सबै खरानी भएको थियो ।
बाम्का बाजुराको बुढीगङ्गा नगरपालिका–६ मा पर्छ । व्यापारिक चहलपहल र कारोबार नियाल्दा जिल्लामा मार्तडी पछिको ठूलो आर्थिक कारोबार हुने बजार नै बाम्का हो ।
‘बजारका होटल पसल सबै टिनकै टहरामा थियो । धन्न व्यापारीले पसलबाट भागेर ज्यान जोगाए । पसलको काउन्टरमा बिल काटिरहेको थिएँ । एक्कासी आगोको मुस्लो आयो । होटेलको सिलिन्डर पड्केको रहेछ,’ व्यापारी रामबहादुर ऐडीले भने, ‘आँखैअघि पसलहरू खरानी भयो ।’
आगलागीबाट तेजबहादुर बोहरा, शेरबहादुर विष्ट, चन्द्र अयडी, धनबहादुर साउद, उद्वव थापा, छत्र थापा, रामबहादुर अयडी, दीपक साउद, तोयानाथ न्यौपाने, डम्मरा भट्टराई, तुल कटुवाल, शुशील थापा र सुनील बरालको पसल जलेर नष्ट भयो ।

पुष्कर शाह, रामचन्द्र गिरी, सरोज सार्की, नन्दु मिजार, मन नाथ, सोनि धामी, पवन बुढा, महारुद्र न्यौपाने, मनिराम पाध्याय र भुपाल थापाका पसलमा आंशिक क्षति भयो ।
घर र सम्पत्ति नै धितो राखेर बनाएका पसल र सुरु गरेको व्यापार खरानी भएपछि आफ्नो प्राण बाहेक उनीहरूसँग केही नभएको भन्छन्; बुढीगङ्गा-६ का वडाध्यक्ष हेमराज जैशी । बाम्का जैशीकै गृहवडा हो । उनी स्वयम् दिनरात उद्दार र राहतकै काममा छन् ।
आगलागी पीडितहरू यतिबेला सहयोग आउने आशमा छन् । बैंकमा राखेको मौज्दात पनि सकिएको छ । न घर बनाउन सक्ने अवस्थामा छन्, न त व्यापार व्यवसाय सञ्चालन गर्न नै !
बुढीगङ्गा र त्रिवेणी नगरपालिकाले संयुक्त सहकार्य गर्नेगरी राहत सङ्कलन तथा व्यवस्थापन समिति बनाएका छन् । बाम्कामा प्रयास बुढीगङ्गा र त्रिवेणीका व्यापारीको बसोबास छ ।
बुढीगङ्गाका नगरप्रमुख रामबहादुर बानियाँ र त्रिवेणीका नगरप्रमुख कर्णबहादुर थापा सहित ११ सदस्यीय समितिलाई राहत सङ्कलन तथा व्यवस्थापनको जिम्मेवारी दिइएको छ ।
प्रदेश सरकारले ४० लाख, त्रिवेणी नगरपालिकाले १० लाख, बुढीगङ्गाले पाँच लाख र अन्य छिमेकी पालिकाले एक/एक लाख रुपैयाँ राहत रकम प्रदान गर्ने घोषणा गरेका छन् ।
आगलागीकै पछिल्लो दिन नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेले पनि स्थलगत निरीक्षण गरिसकेका छन् । उनले पनि पीडितलाई नै प्रत्यक्ष भेटेर राहत सहयोग आश्वासन दिएका थिए ।
व्यापारी, उद्योग वाणिज्य सङ्घ र जिल्लामा कार्यरत कर्मचारीहरूले पनि राहत दिनेक्रम जारी छ । त्यो रकमको वितरण एकमुष्ट गर्ने भनिएको छ ।
पूर्ण क्षति भएकोका हकमा तत्काल टहरा निर्माण, बसाइ व्यवस्थापन र दैनिक खानपिनका लागि प्रतिपरिवार तीन लाख र आंशिक क्षति भएकाको हकमा ५० हजार रुपैयाँ राहत सहयोग गरिएको बुढीगङ्गा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँले जानकारी दिए ।
स्थानीय सरकारबाट राहत पाए पनि व्यापारीहरू भने बाँच्ने आधार नै गुमेको बताउँछन् । दैनिकजसो सामाजिक सञ्जाल हेर्ने, समाचार सुन्ने र कोही भेट्न/राहत दिन आउँछन् कि भन्ने आशमा उनीहरू छन् ।
यी पीडितहरूलाई पनि प्रकोप र विपत्तीमा राष्ट्रिय रोग बन्ने गरेको ‘राहत संस्कृति’ले नराम्ररी प्रभावित पार्दैछ । अर्कातिर पर्याप्त राहत सङ्कलन हुन नसकेको र आश्वासन दिनेहरूले पनि जम्मा नगरेको बुढीगङ्गा नगरपालिकाका प्रवक्तासमेत रहेका वडाध्यक्ष हेमराज जैशीले बताए ।
‘आधा मात्र जोगिएको भए पनि बाँच्ने आधार हुन्थ्यो, केही पनि रहेन । पसलको खाता मात्र रहेको भए पनि हुन्थ्यो नि ! बिजोग छ, पीडितको सामूहिक पीडा हो , जनप्रतिनिधि भेट्दा होस् या प्रमुख जिल्ला अधिकारी (सीडीयो), प्रहरीका डीएसपी पुग्दा पनि व्यापारीहरूको एउटै स्वर छ – ‘सहयोग चाहियो, बस्नलाई सहज गरिदिनुपर्यो ।’
प्रहरी प्रशासनले पनि आफ्नो तर्फबाट सबै कागजपत्र सम्बन्धित निकायमा पठाइसकेको भन्दै सान्त्वना दिने गरेको छ । पूर्ण विस्थापित परिवारलाई घर टहरा निर्माणका लागि आफन्त गाउँलेहरू आएर सहयोग गरिरहेका छन् । हप्तादिनमा पूर्ण रूपमा जलेको ठाउँ खाली गराएर निर्माणको काम थालनी गरिएको छ । स्काउट र रेडक्रसमा आवद्धहरूले पनि सहयोग गरिरहेका छन् ।
राहत सङ्कलन तथा व्यवस्थापन समितिको खातामा आएको रकमबारे आइतबार मात्रै जानकारी लिइने समिति संयोजक रामबहादुर बानियाँले बताएका छन् । आएको रकम तत्काल वितरण गरेर केही समस्या हल गर्नमा आफूहरू लागिपरेको उनको भनाइ छ । सबैथोक गुमाएकाहरूलाई राहत सहायता दिनु नै मानव धर्म हो, सकेको सबैले साथ दिनुपर्छ, त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाले बताए ।
प्रतिक्रिया