बिपी प्रतिष्ठानसँग बीमा बोर्डले सम्झौता नवीकरण गरेन, १ लाख ७८ हजार बिमित प्रभावित हुने | Khabarhub Khabarhub

बिपी प्रतिष्ठानसँग बीमा बोर्डले सम्झौता नवीकरण गरेन, १ लाख ७८ हजार बिमित प्रभावित हुने


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

सुनसरी– स्वास्थ्य बीमा बोर्डले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्झौता नवीकरण गर्न चासो नदेखाउँदा बिमितको उपचारमा थप जटिलता उत्पन्न भएको छ ।

बिपी प्रतिष्ठानले मुलुकमै सबैभन्दा बढी बिमितको उपचार सेवा प्रदान गर्दै आएको तथ्य बीमा बोर्डसँगै छ ।

बीमा बोर्डकै तथ्याङ्कअनुसार बिपी प्रतिष्ठानले प्रथम सेवा केन्द्रको रुपमा पूर्वका धरानसहित १ लाख ७८ हजार बिमितको उपचार गर्दै आएको छ । यति धेरै सङ्ख्यामा मुलुकका कुनै पनि सरकारी र निजी अस्पतालले बिमितलाई उपचार सेवा दिन सकेको छैन ।

पूर्वका १ लाख ७८ हजार बिमितलाई प्रथम सेवा केन्द्रको रुपमा उपचार प्रदान गर्दै आएको बिपी प्रतिष्ठानले असार ३२ गते पछि भने बीमा कार्यक्रमअन्तर्गत कुनै पनि उपचार सेवा दिन नसक्ने अवस्था सिर्जना भएको छ ।

बीमा बोर्ड र बिपी प्रतिष्ठान बीचको सम्झौताको म्याद असार ३२ गते समाप्त हुँदैछ । बिपी प्रतिष्ठानका पदाधिकारी बोर्डमा गएर सम्झौता नवीकरणका लागि आग्रह गरे पनि बोर्डले कुनै जवाफ नदिएपछि पूर्वका बिमितहरुको उपचार सेवा प्रभावित हुने भएको हो ।

धरानमा बिरामीको उपचार गर्ने प्रथम सेवा केन्द्रको रुपमा नगर अस्पताल नभएको अवस्थामा बिपी प्रतिष्ठानलाई प्रथम सेवा केन्द्रबाटै बोर्डले हटाएपछि उत्पन्न समस्याको समाधान हुन नपाई सम्झौता नवीकरणको प्रकरण सतहमा देखिएको हो ।

बिपी प्रतिष्ठानका अस्पताल प्रशासन प्रमुख अशोक साहले खबरहबसँग भने, ‘यो दुई दिन भित्र बिमा बोर्डसँग सम्झौता नवीकरण नभए ‘अटोमेटिक’ रुपमा स्वास्थ्य बीमासम्बन्धी सफ्टवेयरले काम गर्दैन । सफ्टवेयरले काम नगरेपछि बिमितको उपचार कसरी गर्ने भन्ने चिन्तामा छौँ ।’

उनकाअनुसार बोर्ड र प्रतिष्ठानबीचको सम्झौताअनुसार बिमितको सम्पूर्ण कागजपत्र, फाइलहरु अनलाइनमा रजिष्ट्रेशन हुनुपर्छ । तर सम्झौता नवीकरण नभएपछि ती कागजातहरुलाई बोर्डसँग जोडिएको अनलाइनले स्वत: नलिने भएपछि अर्को जटिलता उत्पन्न हुन लागेको हो ।

बिपी प्रतिष्ठानले ०७४ साउन १ गते भएको सम्झौतादेखि हालसम्म निरन्तररुपमा बिमित सेवाग्राहीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको तर पछिल्लो समयमा सम्झौता नवीकरण गर्न बोर्डले चासो नदिएपछि साउन ३२ गते पछि बीमा कार्यक्रमअन्तर्गत सञ्चालित सम्पूर्ण सेवाहरु स्वतः निष्कृय हुने सूचना सार्वजनिक गरेको छ ।

बिमितको उपचार गरेवापत् बिपी प्रतिष्ठानलाई ७४ करोड ५० लाख रुपैयाँ बोर्डले तिर्न बाँकी छ । बिपी प्रतिष्ठानले बिमित सेवाग्राही बिरामीको उपचार गरेवापत् बोर्डले कागजपत्र भेल्युएसन (मुल्याङ्कन) गरेर दिनुपर्नेमा रोकेर राखेको छ ।

रोकिएको बक्यौता सम्झौता नवीकरणसँगै भुक्तानी गर्न बिपी प्रतिष्ठानले माग गरेपछि बोर्डले नवीकरणमा चासो नदेखाएको बुझिएको छ । बोर्डले गत जेठ १२ गते परिपत्र गरेको थियो । सो परिपत्रको आधारमा सम्झौता नवीकरणका लागि हालसम्मको सम्पूर्ण वक्यौता रकमको भुक्तानी दिन र अघिल्लो पटक गरेको सम्झौताको केही बुँदाहरु संशोधन गर्न जेठ २१ गते बिपी प्रतिष्ठानले औपचारिक प्रस्ताव पेश गरेको थियो ।

बीमा बोर्डको बेवास्ताप्रति प्रतिष्ठानका सहप्रवक्ता डा. अभिजित कुमारले भने, ‘यस बीचमा बोर्ड र प्रतिष्ठानका पदाधिकारीबीच प्रत्यक्ष संवाद भएर सम्झौता नवीकरण र वक्यौता भुक्तानीका विषयमा आवश्यक समन्वय गर्ने सहमति भएको थियो । तर अहिले सम्झौताको म्याद सकिन एक दिन बाँकी रहँदासम्म न सम्झौता नवीकरण गर्न कुनै औपचारिक पत्राचार गरेको छ नत बाँकी बक्यौता भुक्तानी गर्न मानेको छ ।’

बीमा बोर्डले बीपी प्रतिष्ठानलाई तत्काल भुक्तानी नदिए करिब ५५ करोड रुपैयाँ जति विभिन्न सप्लायर्सलाई दिनुपर्ने रकम पनि रोकिनेछ । यसले आगामी आर्थिक वर्षमा औषधि, विभिन्न आवश्यक सामग्रीको टेण्डर गर्दा सप्लायर्सले टेण्डर नहाल्ने र अस्पताल सेवा नै प्रभावित हुनसक्ने खतरा हुने शिक्षाध्यक्ष समेत रहेका बिपी प्रतिष्ठानका निमित्त उपकुलपति प्राडा सञ्जीव शर्माले बताए ।

उनले भने, ‘जहाँबाट हामीले औषधिजन्य सामग्री किनेका छौं, उनीहरुको पैसा यो वर्षमा भुक्तानी दिएनौं भने अर्को आर्थिक वर्षमा त टेण्डर पनि हाल्दैनन् । हामीसँग चिकित्सक त हुन्छन् तर सामान हुँदैन, अनि कसरी सेवा दिने ? हाम्रो यो पीडालाई कसले बुझ्ने ?’

मेयरले चासो नदिएको प्रदेश सांसद कायस्थको आरोप

यसैबीच प्रदेश सांसद यशोदा कायस्थले धरानको छाता चौकस्थित पुरानो अस्पताललाई धरान नगर अस्पताल बनाउने प्रस्तावलाई धरान उपमहानगरपालिकाले नै वेवास्ता गरेको आरोप लगाएकी छिन् ।

उनले धरानमा नगर अस्पताल नभएकाले छाताचोकको पुरानो अस्पताललाई नै नगर अस्पताल बनाउन पहल गरिरहेको बेला उपमहानगरले असहयोग गरेको अरोप लगाएकी हुन् ।

उनकाअनुसार नगर अस्पताल स्थापनाका लागि गत चैत १ गते प्रधानमन्त्री केपी ओली, चैत ३ गते स्वास्थ्य मन्त्री र अर्थमन्त्री समेतलाई भेटेर प्रस्ताव पत्र बुझाउँदा धरान उपमहानगरपालिकाको कार्यपालिकाको निर्णय सहितको पत्र लिएर आउन भनिएको थियो ।

उनले भनिन्, ‘धरान आएर नगर प्रमुख ज्यु (मेयर हर्कराज राई) सँग सबै कुरा राखें, एउटा पत्र लेखिदिनु होस् पनि भनेँ तर उहाँले चासो राख्नु भएन । ४ महिना अघि नै मेयर सा’बले एउटा पत्र मात्र लेखेर चासो राखिदिनु भएको भए अहिले यो समस्या आउँदैन थियो ।’

बीमा बोर्डको अर्को पत्र

स्वास्थ्य बीमा बोर्डले स्थानीय तहबाट प्राप्त हुने प्रथम सेवा बिन्दुको माग र प्रस्तावित प्रथम सेवा बिन्दुको न्युनतम अपुग मापदण्ड एकमहिनाभित्र पूरा गर्ने प्रतिबद्धतासमेतको आधारमा बोर्डले नयाँ प्रथम सेवा बिन्दु थप गर्नेबारे आवश्यक निर्णय लिने पनि जनाएको छ ।

सबै स्थानीय तहलाई पत्राचार गरिएको पत्रमा कुन कुन सेवा प्रदायक स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु आवश्यक पर्ने हो, र प्रथम सेवा बिन्दुका लागि अपुग भएका मापदण्ड कति समयमा सम्पन्न गर्न सकिन्छ, त्यसबारे जानकारी गराउन अनुरोध गरेको छ ।

धरान उपमहानगरपालिकाका राजनितिक दल, जनप्रतिनिधि, स्थानीय बुद्धिजीवि र बिपी प्रतिष्ठानका पदाधिकारीबीच छलफल जारी भइरहेको बेला बिपी प्रतिष्ठानमा प्रथम सेवाबिन्दु कायम गराउनु पर्ने निष्कर्ष निकालेका छन् ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  २ : ४९ बजे

खानेपानी समस्या समाधानका लागि मन्त्री यादव र चौरसियाद्धारा अनुगमन

वीरगञ्ज– जलवायु परिवर्तनको प्रतिकूल असरले तराई–मधेस क्षेत्रमा गहिरिँदो खानेपानी अभावलाई

छाउगोठमा कञ्चनपुरकी युवतीको मृत्यु, दोषीलाई कारबाही गर्न समाजवादी महिला संघको माग

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका–१, निगालीमा छाउगोठमा बस्दा सर्पले टोकेर

एनआईसी एशिया बैंक र ई-स्टप नेपालबीच छुट सम्झौता

काठमाडौं– एनआईसी एशिया बैंक र ई-स्टप नेपाल प्रालिबीच बैंकका ग्राहकलाई

‘सुम्निमा’मा उपासनासँग ‘अनस्क्रिन रोमान्स’ गर्दै नायक कुन्साङ

काठमाडौं – ‘अञ्जिला’को व्यवसायिक सफतापछि निर्देशक मिलन चाम्सले निर्देशन गर्न

आकाशे पुल हुँदाहुँदै सडकबाटै जोखिम मोलेर बाटो काट्दै (तस्बिरहरू)

काठमाडौं– पैदलयात्रुको सुरक्षाका लागि निर्माण गरिएका आकाशे पुल, अन्डरग्राउन्ड टनेल