रविबारे ओलीलाई वर्षमानले सोधे- ‘प्रमाणित अभियुक्त’लाई सरकारी टीभीमा कसले जागिर दियो ? गृहमन्त्री बनायो ? | Khabarhub Khabarhub

रविबारे ओलीलाई वर्षमानले सोधे- ‘प्रमाणित अभियुक्त’लाई सरकारी टीभीमा कसले जागिर दियो ? गृहमन्त्री बनायो ?


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीले आफ्नो सरकारका उपलब्धी दाबी गर्दै संसदमा प्रस्तुत गरेका फेहरिस्तलाई मिथ्यांकको संज्ञा दिएका छन् ।

बिहीबार प्रतिनिधिसभामा विषयमा समयमा बोल्दै पुनले प्रधानमन्त्रीले संसदको रोष्ट्रममा उभिएर संसद र आमजनतालाई ढाँटेको टिप्पणी गरे ।

बुधबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू नेतृत्वमा सरकार बनेयता मुलुकको अर्थतन्त्र लयमा फर्किएको, विकास निर्माणले गति लिएको, सुशासन कायम भएको जस्ता दाबी गरेका थिए । पुनले भने ओली सरकारका कारण मुलुकमा बेथिति र भ्रष्टाचार बढेको आरोप लगाए ।

‘सरकारले एकपछि अर्को बेथिति र भ्रष्टाचारका श्रृंखला अघि सारेका कारण जनतामा चरम निराशा छाएको बेला सम्माननीय प्रधानमन्त्रीज्यूले यस सम्मानित संसदमा सरकारी प्रगतिहरूको फेहरिस्त प्रस्तुत गर्नुभएछ ।

उहाँको बोली सुन्दा यस्तो लाग्छ, मानौं देशमा कुनै समस्या छैन, विकास द्रूत गतिमा भइरहेको छ । सुशासनका कैयन मानकहरू बनिरहेका छन् र सरकारको विरोध गर्नेहरू सबै मगजविहिन हुन्’, पुनले भने ।

प्रधानमन्त्रीले संसद्मा भाषण गरिरहँदा स्वास्थ्य प्रतिष्ठानहरूको चीरहरण भइरहेको कुरा पनि बिर्सिएको उनले बताए । ‘तपाईंले स्वास्थ्यका तथ्यांक प्रस्तुत गरिरहँदा उता मेरिटोक्रेसी मिचेर तपाईंहरूको भागबण्डा चलिरहेको थियो । तपाईंको कुशासनसँग लड्न नसकेर एकजना योग्य चिकित्सक देश छोड्दै थिए’, उनले भने, ‘तपाईंलाई अलिकति पनि लाज लागेन : मेडिकल काउन्सिलमा दर्ता हुनेको अनुपातमा ७४ प्रतिशत चिकित्सक विदेश पलायन हुने गरेको सरकारी तथ्यांक छ, त्यसमा एकवर्षदेखि तपाईंकै मन्त्रीले दरबन्दीका लागि पेश गरेको फाइल स्वीकृत गर्नुभएको छैन । जनताको स्वास्थ्यलाई विचौलिया र दुई दलको भागबण्डाको बन्धकी बनाएर तपाईंले प्रस्तुत गर्ने तथ्यांकले केही अर्थ राख्छ । बिर्सिनु भएछ, तपाईंले प्रस्तुत गरेको तथ्यांकहरू अघिल्लो सरकारले नै अघि सारेका कार्यक्रमको प्रतिफल हुन् ।’

पुनले आर्थिक वृद्धि भएको, सबैजसो आर्थिक परिसूचकहरू सकारात्मक भएको दाबीको पनि खण्डन गरे ।

‘अर्थशास्त्रको सामान्य विद्यार्थीले पनि बुझ्ने कुरा आर्थिक परिसूचकहरू रातारात सकारात्मक हुँदैनन, निराशाको चक्रव्यूहबाट निकै मेहनत साथ काम गरिएको कारणले केही कुरा सकारात्मक देखिएको हो । तर अर्थतन्त्रका वास्तविक क्षेत्रका सूचकांकहरूमा कुनै सुधार छैन’, उनले भने, ‘वाणिज्य बैंकहरूको व्याजदर घटेर साढे ६/७ प्रतिशतमा आइसक्यो । बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएको छ । उद्योगी–व्यवसायीहरू ऋण लिएर व्यवसायमा लगाउन किन तयार छैनन् ।’

भारतबाट उच्च मात्रामा कच्चा पदार्थ आयात गरेर प्रशोधित पाम आयल निर्यात गरिएका कारण निर्यात व्यापारमा भएको वृद्धिलाई प्रधानमन्त्रीले अर्थतन्त्र सुधारको आधारका रुपमा प्रस्तुत गर्नु ‘सुनिएर मोटाउनु’जस्तै भएको टिप्पणी पनि उनले गरे ।

राजश्व संकलन र पुँजीगत खर्चको अवस्था हेर्दा सत्तारुढ कांग्रेस–एमाले लजाउनुपर्नेमा गर्वका साथ सम्मानित संसद्मा उभिएर दुनियाँलाई उल्लु बनाउन मिथ्यांक प्रस्तुत गरेको आरोप उनको छ ।

प्रधानमनत्रीले भारतलाई विद्युत् बिक्री गरेको कुरा गर्ने अवस्था आउनुमा माओवादीको सरकारले अघि सारेको उज्यालो नेपाल अन्तर्गत विद्युत् उत्पादन, प्रसारण लाइन र चुहावटका क्षेत्रमा गरिएका ऐतिहासिक प्रयास र तत्कालीन प्रधानमन्त्री प्रचण्डले दश वर्षमा १० हजार मेगावाट भारतलाई बिक्री गर्ने सम्झौता कारण रहेको बताए ।

‘यो सरकारको उपलब्धि होइन, तपाईंले त यो अवस्था ल्याउन महत्वपूर्ण भूमिका खेल्ने कुलमान घिसिंगलाई बर्खास्त गरेर ठूलो सफलता पाइसक्नुभयो । म सोध्न चाहन्छु, २२ अर्ब वक्यौता भएका उद्योगहरूबाट के कति रकम असुली गर्नुभयो भन्ने कुरा किन अटेन तपाईंको सम्बोधनमा ?’, उनले भने, ‘प्राधिकरणको नेतृत्व परिवर्तन गरेपछि कति चुहावट बढ्यो ? फेरि वक्यौता नतिर्नेहरूलाई चोख्याउन तपाईंकै मन्त्रीका कसरतबारे आजै समाचार आएका छन् । यसको जवाफ किन दिनुभएन ?’

सरकारमा आउनेबित्तिकै रातारात मुग्लिन-पोखरा-नारायणगढ सडकखण्डमा चमत्कार गरेको ओलीको दाबीमा खण्डन गर्दै नलेृ २०७८ मै बनिसक्नुपर्ने उक्त सडकखण्ड अहिलेसम्म पनि पूरा नहुनुमा कसको दोष हो भन्ने प्रश्न गरे । अघिल्ला सरकारमा पनि एमालेका मन्त्रीहरू संलग्न भएको विषय पुनले उठाए ।

पूर्ववर्ती प्रचण्ड नेतृत्वको सरकारको अर्थमन्त्रीका रुपमा आफूले आर्थिक वर्ष ०८०/८१ को बजेटमा सहकारी पीडितहरूको ५ लाख रुपैयाँ फिर्ता गर्ने कुरा किन कार्यान्वयन किन नभएको भन्दै उनले प्रश्न गरे ।

‘रिक्सा चलाएर, सैलुन चलाएर, चटपटे बेचेर, साना किराना पसलवालालगायत आम जनतालाई त्यो पैसा फिर्ता गर्नुपर्दैन ?’, पुनले भने । मिटर ब्याज पीडितहरूका लागि प्रचण्ड सरकारले अघि सारेको न्यायिक छानबीन र कार्वाहीको प्रक्रिया वर्तमान सरकारले रोमेको अराोप उनले लगाए ।

ओलीले आफू नेतृत्जवमा रिकार बनेपछि विकास निर्माणमा तीव्रता आएको दाबी गरेकामा पुनले खण्डन गरे ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूले कीर्तिपुरस्थित रंगशालाको चर्चा गर्नुभएछ । अस्ती त तपाईले प्रमुख प्रतिपक्षी दलका नेताको सम्बोधन नसकिँदै फेसबुकमार्फत रंगशाला भौतिक प्रगतिको कुरा गर्नुभयो, सुनकोशी मरिन डाइभरर्सनको अवस्था के छ : के कति प्रगति भयो यो एक वर्षमा ? यसमा पनि भागबण्डा गर्दै हुनुहुन्थ्यो । पिस पिसमा दुई पार्टी मिलेर । जगदुल्लाको टेण्डर कहाँ पुग्यो ? रोशी खोलकाको पुनर्निर्माण खोई ?’, उनले भने, ‘महाकाली करिडोरको काम त प्रचण्ड प्रधानन्त्री हुँदै ९५ प्रतिशत सकिएको होइन, अन्तिममा भेरिएसन अर्डर पास गरेर बाँकी काम सम्पन्न हुनुपर्नेमा किन भएन त्यो अझै पूरा ? गृहमन्त्रीकै निर्वाचन क्षेत्रमा एक वर्षमा ५ प्रतिशत काम सकिएन ? कहाँ मिलेन स्वार्थ ? कि त्यो ५ प्रतिशत बाँकी काम पनि पिस पिसमा भागवण्डा गर्ने हो ? अरु राष्ट्रीय गौरवका आयोजनाको प्रगति किन दिनुभएन सम्मानित सदनमा ?’

अघिल्लो वर्ष किसानले समयमै सिँचाइ र मलखाद पाए पनि यो वर्ष सरकारको अयोग्यताका कारण किसान पीडित भएको पुनले उल्लेख गरे ।

‘किसानहरूले सिँचाइ, मल खाद पाएका छैनन् । अघिल्लो वर्ष मलको हाहाकार भएन । मैले प्रस्तुत गरेको गत आर्थिक वर्षको बजेटमा साढे ५ लाख टन खरिद लक्ष्यसहित २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन हुँदा समेत किन मल आयात हुन सकेन ?’, उनले भने, ‘अनि, आयात गरिएको भनिएको मल पनि किन किसानको खेतमा पुगेन ? कुल ग्राहस्थ्य उत्पादनमा कृषि क्षेत्रको २५ प्रतिशत योगदान छ । करिब ६० प्रतिशत जनता कृषिमा आश्रित छन् । हामी प्रतिपक्षका सांसद मात्र होइन, सत्ता पक्षकै माननीयहरूले धेरैपटक मल नपाएका किसानका बेदना सुनाउँदा सरकार सुन्दैन ।’

प्रमुख प्रतिपक्षी दलका नेताका हैसियतमा संसदमा यही कुरा एक महिनाअघि उठाउँदा पनि ध्यान किन नगएको भन्दै उनले फेसबुकमा खेतहरू हराभरा भएका तस्बिर पोस्ट् गरेर आत्मरितामा रमाएको टिप्पणी गरे ।

विपक्षीप्रति प्रतिशोध, बदलाको भावना र दलहरूमा तोडफोड गराउन प्रयोग गरिरहनुभएको दुईतिहाइको शक्ति किसानलाई मल उपलब्ध गराउन खर्च गर्न कसले रोकेको हो ? भन्ने प्रश्न उनको थियो ।

ओलीले रास्वपा सभापति रवि लामिछानेमाथि गरेको टिप्पणीको पनि पुनले प्रतिवाद गरे ।

‘भिजिट भिसामा विदेश गएर उतैको नागरिकता लिएर, उताको नागरिकता नत्यागी नेपाल फर्केर मन्त्रीसम्म भएका प्रमाणित अभियुक्तहरू र भिजिट भिसामा गएर उतै दुईदुई पटक बिहे गरिसकेका व्यक्तिहरूले समेत अन्तर्राष्ट्रिय विमानस्थलमा प्लेन चढ्ने सबै नागरिकलाई ‘बेचिएको’ भन्ने भाष्य स्थापित गर्न खोजिरहेका छन् । यो मेरो भनाइ होइन, सम्मानीय प्रधानमन्त्रीज्यूले संसदको रोष्ट्रममा उभिएर दिनुभएको अभिव्यक्ति हो । उहाँले लगाएका आरोपको सत्यता पुष्टि गर्ने जम्मेवारी उहाँकै हो’, पुनले अगाडि भने, ‘तर, प्रधानमन्त्रीज्यू ‘भिजिट भिसामा विदेश गएर उतैको नागरिकता लिएर, उताको नागरिकता नत्यागी नेपाल फर्केर मन्त्रीसम्म भएका प्रमाणित अभियुक्त’ लाई सरकारी टेलिभिजनमा जागिर कसले लगाएको रहेछ ? कसले गृहमन्त्री बनाएको रहेछ ?’

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ५ : ११ बजे

एक डाक्टर विदेशिएपछि सामाजिक सञ्जालमा तरंग !

काठमाडौं– एक डाक्टरले देश छोडेको हल्लाले सामाजिक सञ्जाल तातेको छ

राष्ट्रपतिसमक्ष विभिन्न मुलुकका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न मुलुकका नवनियुक्त राजदूतहरूले

काश्मीरमा भीषण बाढी, कम्तीमा ३४ जनाको मृत्यु

एजेन्सी– भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो जनधनको

सचिवालयको स्पष्टीकरण- न्यायपरिषद्‍मा रविविरुद्धको उजुरी गृहमन्त्रीको कार्यकक्षमा तयार गरिएको होइन

काठमाडौं – गृहमन्त्री रमेश लेखकको सचिवालयले रुपन्देही जिल्ला अदालतमा मुद्दा

बागमतीका निलम्बित मेयर थापालाई भ्रष्टाचार मुद्दामा आठ वर्ष सजाय, १० करोड असुल्न आदेश

काठमाडौं- सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई भ्रष्टाचार मुद्दामा ८