संसद्‍मा बहस : डा. रामेशसँग जोडिए ‘देवर–भाउजू’, बाँके-बर्दिया कर्णालीमा गाभ्ने प्रस्तावदेखि ओलीले रविलाई बोकेको प्रसंगसम्म | Khabarhub Khabarhub

संसद्‍मा बहस : डा. रामेशसँग जोडिए ‘देवर–भाउजू’, बाँके-बर्दिया कर्णालीमा गाभ्ने प्रस्तावदेखि ओलीले रविलाई बोकेको प्रसंगसम्म


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 6 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीले साउन २७ गते विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति नियुक्त गरे । त्यसकै भोलिपल्ट शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका डा. रामेश कोइरालाले अमेरिकाबाटै राजीनामा पठाए ।

केन्द्रको कार्डियोभास्कुलर विभागका प्रमुख रहेका वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन कोइराला बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान)को उपकुलपतिका लागि नेपाली कांग्रेसका तर्फबाट सिफारिसमा परेका थिए । 

तर, कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले प्रा.डा. विक्रमप्रसाद श्रेष्ठलाई उपकुलपतिमा नियुक्त गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कोइरालालाई रोकेको भन्दै अनुमान लगाउन सुरू भयो । 

सेतोपाटी डटकमले ‘आरजुले डा. रामेशलाई दोस्रो पटक पनि रोकिन् उपकुलपति बन्न’ शीर्षकमा समाचार प्रकाशित गरेपछि उक्त अनुमानलाई मलजल मिल्यो । त्यसपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरू पक्ष–विपक्षमा विभाजित भए । 

जसमध्ये एकजना एक्स (ट्विटर) प्रयोगकर्ता हुन्– तेजप्रसाद लामिछाने । कुनै समय कांग्रेसमा आवद्ध लामिछाने पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तिर खुलेका देखिन्छन् । 

उनले एक्समा लेखे– गगनको आडमा भीसी हुने सपना देखेका रामेशले गगनको प्रिय बन्न एक्सबाट रविकोपछि हात धोएरै लागे। भाउजूलाई बचाउन, रविलाई सिध्याउन अनि दाइको नजिक हुन, कोइराला निवास छोडेर देउवा दरबारमा बसाइँ सरेका देवरको रामेशलाई भीसी बनाउने सपनामा भाउजू नै तगारो बनिन् ।

कांग्रेस नेता–कार्यकर्तादेखि अन्य दलका नेता–कार्यकर्ताहरू परराष्ट्रमन्त्री राणाविरुद्ध रिस पोख्नु परे भाउजू शब्दको प्रयोग गर्दछन् । यस्तै कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई ‘देवर’ शब्दको प्रयोग गरेर मनको भडाँस पोख्नेहरूको पनि सामाजिक सञ्जालमा कमी छैन । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा पनि यिनै दुई शब्द ‘भाउजू’ र ‘देवर’को प्रसंग उठेको छ । 

लामो समयसम्म कांग्रेसको राजनीतिमा लागेर पछिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका डा. अमरेशकुमार सिंहले डा. कोइरालाको राजीनामालाई लिएर ‘भाउजू’ र ‘देवर’ प्रसंग संसद्मा उठाएका हुन् । 

उनले परराष्ट्रमन्त्री राणालाई भाउजूको संज्ञा दिँदै उनका देवरहरूका रुपमा महामन्त्रीद्वय थापा र शर्मालाई चित्रित गरे । दुवै महामन्त्रीनिकट भनिएका अब्बल चिकित्सक डा. कोइराला गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रबाट राजीनामा दिएर अमेरिका गएको दाबी पनि उनले गरे।

सिंहले स्वास्थ्य मन्त्रालयमा कांग्रेसको भागबाट प्रदीप पौडेल मन्त्री भए पनि पैसाको आधारमा अर्कैलाई नियुक्ति दिइएको आरोपसमेत लगाउन भ्याए ।त्यसकै कारण डा. कोइराला विदेश पलायन भएका उनको तर्क थियो । 

‘भाउजूका दुईवटा देवरको नजिकको मान्छे डा. रामेश कोइराला राजीनामा गरेर भागेका छन् । भाउजूको देवरहरूलाई म जहिल्यै पनि खोज्छु,’ सांसद सिंहले भने, ‘किनकी मिडिया कांग्रेसबाट नै स्वास्थ्यमन्त्री बन्नुभएको छ । पैसाको बिटोमा कांग्रेसको भागबाट नियुक्ति पाएको कारणले देश छाडेर पलायन हुँदैछन् रामेश कोइराला । जो गंगालाल हस्पिटलको डाक्टर हुनुहुन्थ्यो ।’

बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएर नैतिकता देखाएको भन्दै प्रशंसा पनि भयो । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकले नैतिकता प्रदर्शन गर्न नसके पनि सांसद खतिवडाले नैतिकताका आधारमा राजीनामा गरेको बताइन् ।

‘नैतिकता जागेर माननीय रामहरि खतिवडाज्युले राजीनामा दिनुभयो । तर, माननीय गृहमन्त्रीज्यूको नैतिकता जगाउन उहाँको आफ्नै मानकले पनि सकेन,’ उनले भनिन् । 

कार्कीपछि संसद्मा बोलेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद ध्रुवबहादुर प्रधानले ‘कुलिङ अफ पिरियड’माथि छेड्खानी गर्नेलाई कानुनी कारबाहीमा ल्याउन माग गरे।उनले राज्य व्यवस्था समितिका सभापति खतिवडाले राजीनामा दिएरमात्रै नपुग्ने बताए। 

‘कुलिङ अफ पिरियडको व्यवस्थामा छेड्खानी गर्ने व्यक्तिले राजीनामा दिएरमात्र पुग्ने हो कि होइन?,’ प्रश्न गर्दै सांसद प्रधानले भने,‘जसले नियतबस गलत गरेको छ उसले सजायको पाएन भने सबै माननीयहरूले राजीनामा दिनुपर्ने अवस्था हुन सक्छ ।’ 

 स्वतन्त्र सांसद सिंहले खतिवडा निजामती कर्मचारीबाट भएको वितण्डाको सिकार बन्नु परेको टिप्पणी गरे । उनले भने, ‘भर्खर प्रशासनिक कर्मचारीबाट गरिएको बितण्डाबाट यही संसद्को एउटा समितिको सभापतिको बली चढेको छ पदको ।’ सांसद सिंहले देशलाई नेता, विचौलिया र सरकारका निजामती कर्मचारीले लुटेको आरोप पनि लगाए । 

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले प्रधानमन्त्री ओलीले सरकारका उपलब्धि दाबी गर्दै संसद्मा प्रस्तुत गरेका फेहरिस्तलाई मिथ्यांकको संज्ञा दिए।

‘सरकारले एकपछि अर्को बेथिति र भ्रष्टाचारका श्रृंखला अघि सारेका कारण जनतामा चरम निराशा छाएको बेला सम्माननीय प्रधानमन्त्रीज्यूले यस सम्मानित संसद्मा सरकारी प्रगतिहरूको फेहरिस्त प्रस्तुत गर्नु भएछ,’ उनले भने, ‘उहाँको बोली सुन्दा यस्तो लाग्छ, मानौँ देशमा कुनै समस्या छैन, विकास द्रूत गतिमा भइरहेको छ । सुशासनका कैयन मानकहरू बनिरहेका छन् र सरकारको विरोध गर्नेहरू सबै मगजविहीन हुन् ।’ 

प्रधानमन्त्री ओलीले सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा बन्दी जीवन बिताइरहेका रास्वपाका सभापति रवि लामिछानेमाथि गरेको टिप्पणीको पनि सांसद पुनले प्रतिवाद गरे ।

‘भिजिट भिसामा विदेश गएर उतैको नागरिकता लिएर, उताको नागरिकता नत्यागी नेपाल फर्केर मन्त्रीसम्म भएका प्रमाणित अभियुक्तहरू र भिजिट भिसामा गएर उतै दुई–दुई पटक बिहे गरिसकेका व्यक्तिहरूले समेत अन्तर्राष्ट्रिय विमानस्थलमा प्लेन चढ्ने सबै नागरिकलाई ‘बेचिएको’ भन्ने भाष्य स्थापित गर्न खोजिरहेका छन् । यो मेरो भनाइ होइन,’ उनले भने, ‘सम्मानीय प्रधानमन्त्रीज्यूले संसद्को रोष्ट्रममा उभिएर दिनुभएको अभिव्यक्ति हो । उहाँले लगाएका आरोपको सत्यता पुष्टि गर्ने जम्मेवारी उहाँकै हो । तर, प्रधानमन्त्रीज्यू ‘भिजिट भिसामा विदेश गएर उतैको नागरिकता लिएर, उताको नागरिकता नत्यागी नेपाल फर्केर मन्त्रीसम्म भएका प्रमाणित अभियुक्त’ लाई सरकारी टेलिभिजनमा जागिर कसले लगाएको रहेछ ? कसले गृहमन्त्री बनाएको रहेछ ?’

माओवादी सांसद रेखा शर्माले प्रधानमन्त्री ओलीलाई हलुका टिप्पणी नगर्न सचेत गराइन् । संसद्लाई प्रधानमन्त्रीबाट सामाजिक सञ्जालको कन्टेन्ट निर्माणको थलो भनिएको भन्दै उनले आपत्ति जनाइन् । 

‘हामी संसद्मा बोल्दा प्रधानमन्त्रीले सामाजिक सञ्जालको कन्टेन्ट निर्माणको थलो भनेर संसद् र सांसदलाई जसरी अपमान गर्नुभयो यसका प्रति म खेद प्रकट गर्दछु,’ सांसद शर्माले भनिन्, ‘देशको प्रधानमन्त्रीले यति धेरै हल्का टिप्पणी गर्न शोभनीय हुँदैन भन्ने कुराको ध्यानाकर्षण गराउन चाहन्छु ।’

सत्तारुढ नेकपा (एमाले)का सांसद भीम आचार्यले मलको चरम अभाव र ठूलो कालोबजारी भइरहेको बताए। उनले मल हरेक वर्ष अभाव हुँदा पनि व्यवस्थापन गर्न नसकेको भन्दै सरकारमाथि प्रश्न उठाए।

‘मलको चरम अभाव र ठूलो कालोबजारी छ । मल कालोबजारीबाट बिकिरहेको छ तर किसानले उपयुक्त च्यानलबाट पाइरहेका छैनन्,’ सांसद आचार्यले भने, ‘किसानले दुख गरेर लगाएको बालीमा पनि युरिया हाल्ने बेलामा चरम अभाव छ। तालुक मन्त्रालयले के हेरेर बसेको छ ? हरेक वर्ष मलको अभाव किन हुन्छ?’

यस्तै कांग्रेस सांसद रामहरि खतिवडा र सञ्जयकुमार गौतमले पनि रासायनिक मलको अभावका कारण किसानलाई मर्का परेको गुनासो संसद् बैठकमा गरेका थिए । 

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले संसद्मा मल खरिद गर्न पर्याप्त बजेट नभएको जवाफ दिए । सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उनले मलमा अत्यधिक अनुदान रहेका कारण उपलब्ध बजेटले सम्बोधन गर्ने गरी मल ल्याउन कठिन भएको बताए । 

 अहिले युरिया मलमा ८२ प्रतिशत, डीएपीमा ८४ र पोटास मलमा ४९ प्रतिशत अनुदान रहेको जानकारी मन्त्री अधिकारीले दिए । हाल वार्षिक मलको माग १३ लाख टन रहेकोमा चालू आर्थिक वर्षमा ६ लाख टन आपूर्ति गर्ने मन्त्रालयको योजना रहेको उनले बताए । 

खरिद गरी ल्याइने ९० प्रतिशत मल वैज्ञानिक आधारमा बढी खपत हुने क्षेत्रमा प्रदेश सरकारमार्फत वितरण गर्ने व्यवस्था मिलाइएको उनले बताए ।मन्त्री अधिकारीले आफू मन्त्रालयमा आएपछि मल आपूर्तिलाई सहज बनाउन प्राथमिकताका साथ काम गर्दै आएको जिकिर गरे । 

सत्तारूढ नेकपा (एमाले)का सांसद सूर्यप्रसाद ढकालले लुम्बिनी प्रदेशका दुई जिल्ला बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभिनुपर्ने माग गरे। संविधान संशोधनका क्रममा हाल लुम्बिनीमा रहेका तराईका दुई जिल्लालाई कर्णाली प्रदेशमा गाभिनुपर्ने सांसद ढकालको भनाइ छ । उनी एमालेका तर्फबाट बाँके–१ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

‘संविधान संशोधनको विषय उठिरहेको छ,’ सांसद ढकालले भने, ‘बाँके र बर्दियालाई कर्णाली प्रदेशमा समावेश गर्ने, कर्णाली प्रदेशलाई बाँके र बर्दियामा समावेश गर्नको निम्ति म सभामुखमार्फत सदन र सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

कांग्रेसका सांसद एनपी साउदले देशभरका कारागारमा देखिँदै आएका विभिन्न समस्याहरूको दीर्घकालीन समाधानका लागि संसदीय अध्ययन समिति गठनको माग गरे। 

‘गृह प्रशासन सुधार योजना, २०७८ अन्तर्गत जारी कारागार सुधार अवधारणापत्र, २०७९ को प्रतिवेदन कार्यान्वयन गर्न तथा कारागार सुधारसम्बन्धी प्रक्रियाको व्यापक अध्ययन गरेर यो समस्याको दीर्घकालीन रुपमा समाधान गर्न एउटा संसदीय अध्ययन समिति गठन गर्न माग गर्दछु,’ उनले भने । 

कैदीबन्दीहरू पनि समाजका नागरिक भएकोमा जोड दिँदै नेता साउदले उनीहरूको अधिकारको रक्षा गरेर सुधारको बाटो देखाउनु नै सभ्य र उत्तरदायी राज्यको पहिचान भएको बताए । 

पूर्वपरराष्ट्रमन्त्री साउदले सरकारलाई तत्कालै ठोस र दीर्घकालीन सुधार योजना ल्याउन आग्रह गरे । कारागारको संरचना सुधार र क्षमताअनुसारको संरचना निर्माण गरेर स्वास्थ्य सेवा, स्वच्छता, पौष्टिक आहार र मानसिक स्वास्थ्य कार्यक्रमहरूको सुनिश्चितता गरिनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ८ : ०९ बजे

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा

काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

श्रीनगर – भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो

तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुनेको संख्या २१ पुग्यो

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको

बाढीले बाजुरामा आठ घर बगायो

बाजुरा – बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको

टप एन्ड टी–२० : पाकिस्तान शाहिन्सको विजयी सुरुवात

काठमाडौं – अस्ट्रेलियाको डार्विनस्थित टीआईओ मैदानमा आजबाट सुरू भएको टप