कात्तिक ६ गते ११ः३९ बजे भाइटीकाको उत्तम साइत « Khabarhub

कात्तिक ६ गते ११ः३९ बजे भाइटीकाको उत्तम साइत


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए । 

कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको समितिका सदस्य प्रा देवमणि भट्टराईले जानकारी दिए । 

‘राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या छैन’, उनले भने।

यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । कात्तिक २ गते आइतबार काग तिहार परेको छ । यसै दिन धनवन्तरी जयन्ती पर्व पनि मनाइन्छ । 

कात्तिक ३ गते सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । यसै दिन साँझ दीपमालिका गरिन्छ । कात्तिक ३ गते सोमबार दिउँसो ०२ः५२ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत् रूपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ । सायकालमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ । औँसी तिथिमा गरिने स्नान, दान भने कात्तिक ४ गते मंगलबार बिहान गर्नुपर्नेछ । कात्तिक ४ गते दिउँसो ०४ः२९ बजेसम्म औँशी तिथि रहेको समितिले जनाएको छ ।

गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ५ गते बुधबार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । कात्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्म (म्ह) पूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ ।

आत्म (म्ह) पूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ। समितिले स्वीकृति दिने तीन पात्रो (पञ्चाङ्ग) नेवार समुदायका पञ्चाङ्गकारले प्रकाशन गर्ने गरेका छन् । सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशी नेवार समुदायकै पञ्चाङ्गकारले पनि कात्तिक ५ गते नै आत्म ९म्ह० पूजा गर्ने विषय आफ्ना पञ्चाङ्ग (पात्रो) मा उल्लेख गर्नुभएको छ । 

यसै दिन यस वर्ष नेपाल संवत् अनुसार नयाँ वर्ष मनाउनुपर्ने समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार यस्तो निर्णय गरिएको अध्यक्ष ढकालले बताए। यसै दिनदेखि नेपाल संवत् ११४६ सुरु हुन्छ । 

शास्त्रीय विधिअनुसार भाइपूजा र नेवारी भाषामा भनिने किजापूजा पनि कात्तिक ६ गते बिहीबार मनाइनेछ । मङ्सिर २ गते बिहान ७ः०४ बजेसम्म मात्र द्वितीया तिथि छ । शास्त्रीय वचन अनुसार मध्याह्नकालमा नै भाइटीका लगाइन्छ ।  

शास्त्रीय ग्रन्थमा भ्रातृपूजा भन्ने शब्द उल्लेख गरिएको र त्यस शब्दले दाजुभाइ दुवैलाई बुझाउँछ । भाइटीका भनिए पनि ज्येष्ठको क्रमानुसार नै दाजुभाईलाई टीकाटाला गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ ।

प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक भनिने तिहार पर्व मनाइन्छ । यस पर्वमा कात्तिक कृष्ण त्रयोदशीको साँझदेखि कात्तिक शुक्ल द्वितीयाको साँझसम्म यमदीपदान गरिन्छ । यमदीपदान परिवारको सङ्ख्याका आधारमा नाम उच्चारण गरेर गरिन्छ । यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।

काग र कुकुरलाई पनि यमदूतका रूपमा मीठा परिकार खान दिएर खुसी बनाउने वैदिक परम्परा छ । जसले यमलोकमा सहयोग गर्ने विश्वास गरिन्छ ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  १२ : ४२ बजे

फेवाताल किनारमा मौलिक देउसीभैलो उत्सव हुँदै

कास्की – नेपाली मौलिक संस्कृति र परम्परागत देउसीभैलोको संरक्षण गर्दै

१३ कम्युनिटी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै प्रतिजैविक औषधिको बिक्री गरेको भेटियाे

काठमाडौं – औषधि व्यवस्था विभागले ललितपुरका फार्मेसीमा छड्के अनुगमन गर्दा

एनपीएलमा लुम्बिनीको पहिलो हार, काठमाडौं ३६ रनले विजयी

काठमाडौं – साविक विजेता लुम्बिनी लायन्सको अपराजित यात्रामा पूर्णविराम लगाउँदै

चितवनमा उत्पादित सयपत्री र मखमली फूलको माला बेलायत, हङ्कङ र दुबई निर्यात

चितवन – चितवनमा उत्पादित सयपत्री र मखमली फूल तथा माला

कोप–३१ मा जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी उच्चस्तरीय छलफलको अध्यक्षता गर्दै मन्त्री मेहता

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जलवायु परिवर्तनले