काठमाडौं- चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण विवाद झन् जटिल बन्दै गएको बेलामा कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ परिवारले भोगिरहेको व्यक्तिगत पीडा सार्वजनिक भएको छ।
चार वर्षदेखि रोकिँदै आएको रंगशाला निर्माणका कारण सरकारी प्रक्रिया, फाइल–पत्रको जटिलता र दायित्व–भुक्तानी नदिँदा परिवार पूरै अलपत्र परेको भन्दै कुञ्जनाले शुक्रबार भावनात्मक पीडासहित बिरामी छोरीको भिडियो सार्वजनिक गरेकी छन्।
५ वर्षको तनावले परिवार टुट्यो
धुर्मुस–सुन्तली फाउन्डेशनकी सदस्य कुञ्जना घिमिरेले आफ्नी छोरी शुविहानीको स्वास्थ्य अवस्था झल्काउने भिडियो पोष्ट गर्दै परिवारको व्यक्तिगत संघर्ष पहिलोपटक सार्वजनिक गरिन्।
उनले शुविहानी जन्मिएको १६ दिनमै म्यानेन्जाइटिस भएर जीवन जोखिममा परेको बताएकी छन् । छोरीको घुँडाको हड्डीमा इन्फेक्सन हुँदा दाहिने खुट्टाको हड्डी ७ सेन्टिमिटर छोटो रहेको पनि उनले खुलाएकी छन् ।
४ वर्षअघि निकालिनुपर्ने स्टिल अझै ननिकालिँदा छोरीलाई हिँडडुल गाह्रो बन्दै गएको पीडा उनले पोखेकी छन् ।
उपचार लामो र पीडादायी भएकाले विदेश जाने तयारी भए पनि रंगशाला निर्माण विवादले परिवारलाई रोकिराखेको उनले बताएकी छन् ।
कुञ्जनाले लेखेकी छन्, ‘घरी यहाँको पत्र, घरी उता पत्र। ५ वर्षसम्म हाम्रो परिवारको जीवन अलपत्र पारिदियो। छोरीको उपचार ढिला भईरहेको छ। अब त अति भयो।’
उनले अझै अगाडि भनेकी छन्, ‘दोस्रो सन्तान जन्माउने सौभाग्य पनि खोस्यो ।’ रंगशालाको तनावले आफू दोस्रो पटक आमा बन्ने अवसरबाट पनि बञ्चित भएको महसुस भएको पीडा उनले सुनाएकी छन् ।
सरकारी निकायले बारम्बार नयाँ कागज मागेर परिवारलाई मानसिक रूपमा थिचिरहेको आरोप पनि उनले लगाएकी छन्।
सरकारबाट छुट्याइएको बजेट किन रोकियो?
कुञ्जनाले प्रश्न गरिन्, ‘सरकारले छुट्याएको बजेट निकासा गर्न एक हाकिमलाई के ले अप्ठ्यारो पार्यो? रंगशाला बनाउन गरिएको मेहनतको तिरो किन तिर्न दिइएन ?’
रंगशाला विवाद पुनः चुलिँदै
चितवनको क्रिकेट रंगशाला परियोजना धेरै वर्षदेखि अलपत्र छ। सीताराम कट्टेलले समुदायको सहयोगमा सुरु गरेको परियोजना पछिल्लो चरणमा सरकारी निकासाको ढिलाइ, प्रशासनिक प्रक्रिया, विवाद र फाइल–पत्र धपेडीमा अड्किएको छ।
अब धुर्मुस–सुन्तली परिवारले सार्वजनिक गरेको पीडाले रंगशाला विवादलाई नयाँ मोड दिएको छ। सरकार, मन्त्रालय र स्थानीय तहबीच अल्झिएको यो मुद्दा कहिले समाधान हुन्छ भन्ने प्रश्न फेरि उठेको छ।
भाइको आरोप : ढिलासुस्तीले सबैतिर अवरोध
यसअघि धुर्मुसका भाइ कुमार कट्टेलले फेसबुकमार्फत लेखेको विवरणले यो प्रकरण फेरि सतहमा आएको थियो।
उनले पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानले मूल्यांकन गरेको सम्पत्ति खरिदका लागि १५ करोड रुपैयाँ केन्द्र सरकारले असारमै भरतपुर महानगरको खातामा पठाइसकेको खुलासा गरेका छन् ।
रकम खातामा पुगे पनि स्थानीय तह भरतपुर महानगरपालिका र मन्त्रालयबीच पत्र–पत्र खेलाइँदा प्रक्रिया अघि नबढेको आरोप उनले लगाए।
धुर्मुस स्वयम् बिरामी छँदै–छँदै काठमाडौं गएर युवा तथा खेलकुद मन्त्रालयमा फाइल बुझाउन बाध्य भएको उल्लेख उनले बताएका छन् ।
उनी लेख्छन् : शुक्रबार मात्रै चितवनस्थित गौतम बुद्ध क्रिकेट स्टेडियम निर्माणमा हात हालेर करोडौँ रुपैयाँ फसाएका कलाकार एवम् दाजु सीताराम कट्टेलबारे भाइ कुमार कट्टेलले यस्तो लेखेका थिए : पुल्चोक इन्जिनियरिङ अध्ययन सस्थानको मूल्यांकनका आधारमा सिर्जित सम्पति खरिद भनेर १५ करोड रुपैयाँ केन्द्र सरकारले छुट्याएर भरतपुर महानगरपालिकाको खातामा असार मसान्तमै पठाइसकेको छ । उक्त रकम भरतपुर महानगरको खातामा आइसके पनि पुल्चोक इन्जिनियरिङ क्याम्पसलाई मूल्यांकनका लागि पत्र काटिएन । त्यसपछि सीताराम कट्टेल ‘धुर्मुस’दाइ आफैँले पहल गरेर पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थान, भरतपुर महानगरपालिका र धुर्मुस-सुन्तली फाउन्डेसनबीच भदौ १६ गते सम्झौता भएर कात्तिक ११ गते भरतपुरमा रिपोर्ट पनि पेश भइसकेको छ । त्यपछि धुर्मुस दाइ चितवन पुगेर दायित्व भुक्तानी गर्दिनु भन्दा अर्थमन्त्रालयको कार्यनिर्देश चाहिन्छ भनेर फेरि भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले अल्झाइ सकेपछि फेरि त्यसको पत्र पनि लिएर काठमाडौं गएर पत्र ल्याउँदा पनि अहिले फेरि युवा तथा खेलकुद मन्त्रालयलाई आवश्यक सुझाव भनेर पत्र थमाएर पठाइएको छ । बिरामी अवस्थामा पनि धुर्मुस दाइ अहिले त्यो पत्र लिएर भरतपुरबाट युवा तथा खेलकुद मन्त्रालय काठडमाडौंमा पुगेर मन्त्री बब्लु गुप्तालाई बुझाउनु भएको छ ।













प्रतिक्रिया