बागलुङको बेलढुङ्गा घरबासमा पाहुनाको ‘कोदोको सेलरोटी’ « Khabarhub

बागलुङको बेलढुङ्गा घरबासमा पाहुनाको ‘कोदोको सेलरोटी’


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बागलुङ– पछिल्लो समय बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आतिथ्यतासँगै स्थानीय खानाका परिकारमा पाहुना रमाउने गरेका छन् ।

घरबास पुगेका सामाजिक व्यक्तित्व डा. सूर्य पाठक घरबासको आतिथ्य संस्कार र परिकार निकै मन परेको बताउँछन् । यहाँ पाउने अन्य परिकारसँगै धेरैको रोजाइमा कोदोका परिकार बढी रहेका छन् । पाठकलाई पनि आतिथ्यता, सांस्कृतिक कार्यक्रमसँगै बिहानको खाजामा दिइने कोदोका परिकारले झनै मोहित बनाएको थियो ।

उनले कोदोको ढिडो र रोटी खाए पनि सेलरोटी पहिलोपटक खान पाएकोमा खुसी व्यक्त गरे । ‘सामाजिक काममा धेरै स्थानमा पुगियो, धेरै घरबासमा खानाका परिकार चाखियो, तर कोदोबाट बनेको सेलरोटी बेलढुङ्गा सामुदायिक घरबासमा देख्न र चाख्न पाइयो, यो निकै मन प¥यो, डा. पाठकले भने, ‘घरबास चल्नका लागि खानाको परिकार, संस्कार, संस्कृति र प्रकृतिको संयोजन हुन आवश्यक रहेछ, जुन कुरा बेलढुङ्गा आएपछि देखियो । यहाँको आतिथ्यता र बेलढुङ्गाबाट आँखैअगाडि देखिने हिमालले मोहनी नै लगायो ।’

पाठकलाई मात्रै होइन गरिबको खान्की भनेर चिनिँदै आएको कोदोका परिकार सामुदायिक घरबास आउने अधिकांश पाहुनाको रोजाइमा पर्न थालेका छन् । घरबासमा कोदोको रोटी, सेलरोटी, कोदो र फापरको ढिडोसँग लोकल कुखुरा र खसीको मासु तथा भाँगो राखेको आलुको अचार मुख्य परिकारका रूपमा रहेका छन् ।

आगन्तुक पाहुनाले ढिडो, सेलरोटी, फापरका परिकार, उसिनेको आलु, सिल्टुमरको चटनी, आलु चिप्स, अचार, आलुको रोटीलगायत परिकारले आन्तरिक तथा बाह्य पाहुनाको मन जित्ने गरेको हो । घरबासमा प्रगतिशील आमा समूहले पाहुनाको स्वागत तथा सांस्कृतिक कार्यक्रमको व्यवस्था मिलाउँदै आएको छ ।

आमा समूहकी अध्यक्ष माया घर्तीले पाहुनालाई घरबासको सभाहलमा स्वागत तथा सांस्कृतिक कार्यक्रम गर्दै आएको बताइन् । ‘राति पाहुनालाई सांस्कृतिक कार्यक्रमसहित सत्कार गर्छौँ, खानाको कुरा त भइनै हाल्यो । पाहुनाले बिहानै बेलढुङ्गामा पुगेर सूर्योदय र हिमाल हेर्छन् । घरबासमा चितवन, पोखरा, म्याग्दी, पर्वत तथा बागलुङबाट पाहुना आउने गरेका छन् ।’

यो स्थान काठेखोला गाउँपालिका–३ ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लको शिरमा अवस्थित छ । सडक सञ्जाल र पदमार्गको सहज पहुँच पुगेपछि यहाँ पर्यटक आगमनमा वृद्धि भएको छ, जसको फाइदा धम्जास्थित बेलढुङ्गा सामुदायिक घरबासलाई भएको छ । दुई हजार ६१४ मिटरको उचाइमा रहेको बेलढुङ्गा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ ।

२०७५ सालमा स्थापित सामुदायिक घरबास हाल १० घरमा सञ्चालित छ, जहाँ एक रातमा ३० जनासम्म राख्न मिल्छ । घरबास सञ्चालक गोपाल श्रीसले घरबासमा आयातित खाद्य सामग्रीलाई निषेध गरी स्थानीयस्तरमा उत्पादित खानाका परिकारलाई विशेष रूपमा प्रवर्द्धन गर्ने गरिएको बताए ।

‘गाउँमै उत्पादन हुने आलु, कोदो, सिन्की, कुखुरा, खसी, साग तथा फापरको व्यावसायीकरण र अन्य उत्पादनलाई समेत प्रवर्द्धन गर्न अब गाउँलाई ‘अर्गानिक भिलेज’का रूपमा स्थापित गर्ने योजना छ’, उनले भने, ‘गाउँमा रासायनिक मल निषेध गरिएकाले अर्गानिक कृषि उपजले पाहुनालाई स्वागत गर्न सहज भएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ९ : ०८ बजे

खोरसोरका दुई छावा पुस २ गते कतार पठाइने

चितवन– चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा

बैंकिङ क्षेत्रमा निक्षेप र ऋण प्रवाह दुवै घट्यो, विपन्न वर्ग कर्जामा ठूलो गिरावट

काठमाडौं– असोज महिनाको तुलनामा कात्तिक महिनामा बैंक तथा वित्तीय संस्थामा

डेङ्गीको सङ्क्रमण घट्दो क्रममा

चितवन–  जाडो समय सुरु भएसँगै जिल्लाका अस्पतालमा आएका बिरामीमा डेङ्गी र

मधुवनीमा गोठघरमा आगलागी

मलङ्गवा– गोडैता नगरपालिका–१२ मधुवनीमा शनिबार साँझ आगलागी हुँदा एक घरगोठ

शुक्लाफाँटामा जग्गा खरिद गरिएको सात वर्ष बितिसक्दा पनि सुरक्षित आवास बनेन

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा मुक्त हलिया परिवारको पुनः स्थापनाका लागि