सुदूरपश्चिमलाई फेरि फाइनलको पीडा : कहाँ चुके खेलाडी ? « Khabarhub

एनपीएल सिजन-२

सुदूरपश्चिमलाई फेरि फाइनलको पीडा : कहाँ चुके खेलाडी ?



काठमाडौं– कुनै पनि प्रतियोगितामा लिग वा समूह चरणमा जति नै राम्रो प्रदर्शन गरेपनि अन्तिम मूल्याङ्कन फाइनलको खेलमै हुन्छ भन्ने तथ्यलाई नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणले फेरि एकपटक पुष्टि गरेको छ ।

लगातार दोस्रो पटक फाइनल पुगेको सुदूरपश्चिम रोयल्सले लिग चरणमा लगातार ६ जित र पहिलो क्वालिफायरमा शानदार प्रदर्शन गरे पनि निर्णायक क्षणमा फेरि उही नियति भोग्नुपर्‍यो । ठीक अघिल्लो संस्करणझैँ यसपाली पनि फाइनलमा चुक्दा सुदूरपश्चिमको सिजनभरको प्रभुत्व ओझेलमा पर्‍यो ।

यसपटक भने लिग चरणबाटै बाहिरिने अवस्थामा रहेको लुम्बिनी लायन्सले उपाधि जितेर इतिहास रचेको छ । लिग चरणमा चौथो स्थानमा सीमित भए पनि इलिमिनेटर र दोस्रो क्वालिफायर पार गर्दै फाइनल पुगेको लुम्बिनीले उपाधि भिडन्तमा प्रतियोगिताकै सबैभन्दा सन्तुलित र आत्मविश्वासी देखिएको सुदूरपश्चिमलाई एकपक्षीय रूपमा पराजित गर्‍यो ।

गत संस्करणमा हाइ–स्कोरिङ फाइनलमा हारेको सुदूरपश्चिम यसपटक भने लो–स्कोरिङ खेलमै घुँडा टेक्न बाध्य भयो । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १०० रनसमेत कटाउन नसकी ८५ रनमै समेटिँदा खेलको दिशा पहिलो इनिङमै लगभग तय भइसकेको थियो ।

टस जितेर ब्याटिङ रोज्ने सुदूरपश्चिमको निर्णय नै गलत साबित भयो । पिच हेर्दा धेरै रन बन्ने अनुमान गरिए पनि सुदूरपश्चिमले त्यसको सदुपयोग गर्न सकेन । ८५ रनको झिनो लक्ष्य जोगाउन बलिङमा चमत्कार आवश्यक थियो । यद्यपि व्यवहारिक रूपमा त्यो सम्भव देखिएन । उल्टै साँझतिर शीत पर्ने अवस्थाले रन चेज अझै सहज बन्यो । यदि सुदूरले टस जितेर पहिले बलिङ रोजेको भए लुम्बिनीलाई मध्यम स्कोरमा सीमित गर्दै चेज गर्ने परिस्थिति बन्न सक्थ्यो, तर त्यसो हुन सकेन ।

सुदूरपश्चिमको हारको सबैभन्दा ठूलो कारण भने फाइनलको दबाबमा खस्किएको ब्याटिङ रह्यो । लिग चरणभर सन्तुलित र जिम्मेवार देखिएका ब्याटरहरूले निर्णायक खेलमा आत्मसंयम गुमाउँदै गए । गलत शट छनोटका कारण लगातार विकेट झरिरह्यो । टोलीका लागि सर्वाधिक रन बनाउने विनोद भण्डारी खाता नै नखोली आउट भए भने शेल्डन ज्याक्सन, आरिफ शेखलगायतका ब्याटरहरू पनि गलत शट छनोटका कारण पभेलियन फर्किए ।

दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डेले केही समय इनिङ सम्हाल्ने संकेत दिए पनि आवश्यक धैर्यता देखाउन सकेनन् । विशेषगरी दिपक बोहराले क्रिजमा आएको पहिलो बलमै छक्का प्रहार गर्न खोज्नु जस्तो निर्णयले टोलीको अवस्था झन् बिग्रियो । त्यसै ओभरमा पुनित मेहरा पनि एलबीडब्लू आउट हुँदा विपक्षी कप्तान रोहित पौडेलको ह्याट्रिक पूरा भयो र फाइनल जित्ने सुदूरपश्चिमको सपना तुहियो ।

खेलपछि सुदूरपश्चिमका मुख्य प्रशिक्षक जगत टमटाले १४०–१५० रनसम्मको योगफल बनाएको भए प्रतिस्पर्धा सम्भव हुने बताएका छन् । उनले फाइनलमा ब्याटरहरू क्रिजमा टिक्न नसक्नु नै हारको प्रमुख कारण भएको स्वीकार गरे । साथै प्लेअफअघि विदेशी खेलाडीमा गरिएको परिवर्तनले पनि असर पारेको उनको भनाइ छ । लिग चरणमा प्रभावशाली देखिएका क्रिस लिन र जोश ब्राउन उपलब्ध नहुँदा टोलीमा ल्याइएका नयाँ खेलाडीहरू फाइनलमा अपेक्षित प्रभाव छोड्न सकेनन् ।

फाइनल सुदूरपश्चिमका लागि रेकर्डका हिसाबले पनि निराशाजनक बन्यो । ८५ रन एनपीएल इतिहासमै सुदूरपश्चिमको सबैभन्दा कम योगफल बन्यो भने पावरप्लेमा २० रनमा ३ विकेट गुमाउनु सिजनकै खराब सुरुवात हो । बलिङतर्फ पनि कप्तान दीपेन्द्रसिंह ऐरीको पहिलो ओभरमा खर्चिएको २७ रन एनपीएल इतिहासकै सबैभन्दा महँगो पहिलो ओभरमध्ये एकका रूपमा दर्ज भयो ।

समग्रमा, सिजनभर उत्कृष्ट र प्रभावशाली देखिएको सुदूरपश्चिम रोयल्स फाइनलमा दबाब, गलत निर्णय र कमजोर ब्याटिङका कारण फेरि उपाधिबाट वञ्चित भयो । अर्कोतर्फ, लुम्बिनी लायन्सले अवसरको पूर्ण सदुपयोग गर्दै साहसिक यात्रा पूरा गर्‍यो र एनपीएल इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले लेखायो । हारपछि पनि प्रशिक्षक टमाटाले यसलाई सिकाइका रूपमा लिँदै अर्को संस्करणमा अझ मजबुत भएर फर्किने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ४ : २४ बजे

पार्टीभित्र देखिएको अन्तरविरोधलाई समाधान गर्न ट्रेड युनियनको आग्रह

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टीभित्र

वीरगञ्जको जनजीवन सामान्य बन्दै

वीरगञ्ज– सर्वदलीय र सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको

महोत्तरीमा ३७ वटा नयाँ मतदान केन्द्र थप

जलेश्वर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता नौ गैँडाको मृत्यु

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ वटा

चन्दा सङ्कलन गरेर खेलमैदानका लागि जमिन किनियो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–६ घारमा व्यवस्थित र सुविधायुक्त खेलमैदान निर्माण थालिएको