संकटबाट सिंहासनसम्म : यस्तो रह्यो लुम्बिनी लायन्सको ऐतिहासिक ‘च्याम्पियन यात्रा’ « Khabarhub

एनपीएल सिजन- २

संकटबाट सिंहासनसम्म : यस्तो रह्यो लुम्बिनी लायन्सको ऐतिहासिक ‘च्याम्पियन यात्रा’



काठमाडौं– सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलको दोस्रो सिजनको उपाधि जित्दै लुम्बिनी लायन्सले अविस्मरणीय पुनरागमनको कथा पनि रचेको छ । गत सिजन अंक तालिकाको पुछारमा रहेर सबैभन्दा पहिले बाहिरिएको टोली यसपटक च्याम्पियन बन्यो । लुम्बिनीले उपाधि चुमेर संघर्ष, धैर्यता र आत्मविश्वासको उदाहरण प्रस्तुत गर्न सफल भयो ।

सिजनको सुरुआत लुम्बिनीका लागि उत्साहजनक थियो । पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले हराउँदै राम्रो सुरुआत गर्‍यो । तर, त्यसपछि कर्णाली, काठमान्डु र सुदूरपश्चिमसँग लगातार तीन खेलमा पराजित हुँदा लुम्बिनी फेरि संकटमा फस्यो । टोली अंक तालिकाको तल्लो भागमा पुग्दा समर्थक मात्र होइन, लगानीकर्तासमेत सामाजिक सञ्जालमार्फत निराशा व्यक्त गर्न थालेका थिए ।

तर, चौथो खेलपछि लुम्बिनीका लागि प्रत्येक खेल ‘गर या मर’ जस्तै बन्यो । एक हारले सिजन समाप्त हुने अवस्था थियो । यही दबाबबीच लुम्बिनीले आफ्नो वास्तविक चरित्र देखायो । लिग चरणमा पोखरा, विराटनगर र जनकपुरलाई क्रमशः ३, ५ र ४ विकेटले हराउँदै चौथो स्थानमा पुगेर प्लेअफमा स्थान बनायो ।

प्लेअफमा लुम्बिनीको आत्मविश्वास झन् उचाइमा पुग्यो । एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनायो । त्यसपछि विराटनगर किंग्समाथि ४० रनको एकपक्षीय जित निकाल्दै फाइनलमा प्रवेश गर्‍यो । फाइनलमा पनि लुम्बिनीको लय निरन्तर रह्यो । प्रतियोगिताकै सबैभन्दा सन्तुलित मानिएको सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी दोस्रो सिजनको एनपिएल च्याम्पियन बन्यो ।

तीन खेलको हारपछि लगातार छ खेल जित्दै उपाधि नै उचाल्नुले लुम्बिनीको यात्रालाई अझ विशेष बनाएको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनलमा सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य लुम्बिनीले ९ ओभरमै ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

लुम्बिनीको जितमा ओपनर दिनेश अधिकारीले आक्रामक ब्याटिङ गरे । उनले १३ बलमा ४२ रन बनाउँदै १ चौका र ५ छक्का प्रहार गरे । विशेषगरी पहिलो ओभरमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाई चार छक्का हानेर २७ रन जोड्नु खेलको निर्णायक क्षण बन्यो । अर्का ओपनर डार्शी शर्टले १४ रन जोडे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स लुम्बिनीको सन्तुलित बलिङसामु १९।१ ओभरमा ८५ रनमै अलआउट भयो । कप्तान रोहितकुमार पौडेलले ११औं ओभरमा ह्याट्रिक पूरा गर्दै खेलको दिशा पूर्ण रूपमा लुम्बिनीको पक्षमा मोडे । उनले दीपेन्द्रसिंह ऐरी, दीपक बोहरा र पुनित मेहरालाई लगातार तीन बलमा आउट गरे ।

सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए पनि अन्य ब्याटर टिक्न सकेनन् । बलिङतर्फ लुम्बिनीका रुबेल ट्रम्पलम्यान, रोहित पौडेल र शेर मल्लले ३–३ विकेट लिए । ट्रम्पलम्यानले २.१ ओभरमा मात्र ३ रन खर्चिँदै घातक स्पेल फाले ।

कप्तान रोहितकुमार पौडेलले ब्याटिङमा अर्धशतक बनाउन नसके पनि १० खेलमा २७६ रन जोड्दै प्रतियोगिताको दोस्रो सर्वाधिक रनकर्ता तथा नेपाली ब्याटरमध्ये शीर्ष स्थानमा रहे । पछिल्ला खेलमा डार्शी शर्ट र डिरोशन निक्वेलाको आगमनले टोलीलाई थप मजबुत बनायो ।

स्पिनर शेर मल्ल लुम्बिनीको च्याम्पियन यात्राका मुख्य स्तम्भ बने । उनले १० खेलमा १७ विकेट लिँदै सर्वाधिक विकेट लिने बलरको सूचीमा सन्दीप लामिछानेसँगै शीर्ष स्थानमा रहे । फाइनलमा पनि ३ विकेट लिएका मल्लले लगातार दोस्रो सिजन उपाधि जिते ।

लिग चरणमा ६ जितसहित शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स फाइनलमा भने फेरि चुक्यो । गत सिजन पनि फाइनल हारेको सुदूरपश्चिम लगातार दोस्रो सिजन उपविजेतामा सीमित बन्यो ।

एक समय प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको लुम्बिनी लायन्सले धैर्यता, सही संयोजन र आत्मविश्वासका साथ असम्भवजस्तै देखिएको यात्रा पूरा गर्दै एनपिएल इतिहासमा प्रेरणादायी अध्याय थपेको छ । संकटबाट च्याम्पियन बन्ने यो यात्रा लुम्बिनीका समर्थकका लागि मात्र होइन, नेपाली क्रिकेटकै लागि स्मरणीय बनेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ६ : ०३ बजे

नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप

काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध