संकटबाट सिंहासनसम्म : यस्तो रह्यो लुम्बिनी लायन्सको ऐतिहासिक ‘च्याम्पियन यात्रा’ « Khabarhub

एनपीएल सिजन- २

संकटबाट सिंहासनसम्म : यस्तो रह्यो लुम्बिनी लायन्सको ऐतिहासिक ‘च्याम्पियन यात्रा’



काठमाडौं– सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलको दोस्रो सिजनको उपाधि जित्दै लुम्बिनी लायन्सले अविस्मरणीय पुनरागमनको कथा पनि रचेको छ । गत सिजन अंक तालिकाको पुछारमा रहेर सबैभन्दा पहिले बाहिरिएको टोली यसपटक च्याम्पियन बन्यो । लुम्बिनीले उपाधि चुमेर संघर्ष, धैर्यता र आत्मविश्वासको उदाहरण प्रस्तुत गर्न सफल भयो ।

सिजनको सुरुआत लुम्बिनीका लागि उत्साहजनक थियो । पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले हराउँदै राम्रो सुरुआत गर्‍यो । तर, त्यसपछि कर्णाली, काठमान्डु र सुदूरपश्चिमसँग लगातार तीन खेलमा पराजित हुँदा लुम्बिनी फेरि संकटमा फस्यो । टोली अंक तालिकाको तल्लो भागमा पुग्दा समर्थक मात्र होइन, लगानीकर्तासमेत सामाजिक सञ्जालमार्फत निराशा व्यक्त गर्न थालेका थिए ।

तर, चौथो खेलपछि लुम्बिनीका लागि प्रत्येक खेल ‘गर या मर’ जस्तै बन्यो । एक हारले सिजन समाप्त हुने अवस्था थियो । यही दबाबबीच लुम्बिनीले आफ्नो वास्तविक चरित्र देखायो । लिग चरणमा पोखरा, विराटनगर र जनकपुरलाई क्रमशः ३, ५ र ४ विकेटले हराउँदै चौथो स्थानमा पुगेर प्लेअफमा स्थान बनायो ।

प्लेअफमा लुम्बिनीको आत्मविश्वास झन् उचाइमा पुग्यो । एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनायो । त्यसपछि विराटनगर किंग्समाथि ४० रनको एकपक्षीय जित निकाल्दै फाइनलमा प्रवेश गर्‍यो । फाइनलमा पनि लुम्बिनीको लय निरन्तर रह्यो । प्रतियोगिताकै सबैभन्दा सन्तुलित मानिएको सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी दोस्रो सिजनको एनपिएल च्याम्पियन बन्यो ।

तीन खेलको हारपछि लगातार छ खेल जित्दै उपाधि नै उचाल्नुले लुम्बिनीको यात्रालाई अझ विशेष बनाएको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनलमा सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य लुम्बिनीले ९ ओभरमै ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

लुम्बिनीको जितमा ओपनर दिनेश अधिकारीले आक्रामक ब्याटिङ गरे । उनले १३ बलमा ४२ रन बनाउँदै १ चौका र ५ छक्का प्रहार गरे । विशेषगरी पहिलो ओभरमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाई चार छक्का हानेर २७ रन जोड्नु खेलको निर्णायक क्षण बन्यो । अर्का ओपनर डार्शी शर्टले १४ रन जोडे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स लुम्बिनीको सन्तुलित बलिङसामु १९।१ ओभरमा ८५ रनमै अलआउट भयो । कप्तान रोहितकुमार पौडेलले ११औं ओभरमा ह्याट्रिक पूरा गर्दै खेलको दिशा पूर्ण रूपमा लुम्बिनीको पक्षमा मोडे । उनले दीपेन्द्रसिंह ऐरी, दीपक बोहरा र पुनित मेहरालाई लगातार तीन बलमा आउट गरे ।

सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए पनि अन्य ब्याटर टिक्न सकेनन् । बलिङतर्फ लुम्बिनीका रुबेल ट्रम्पलम्यान, रोहित पौडेल र शेर मल्लले ३–३ विकेट लिए । ट्रम्पलम्यानले २.१ ओभरमा मात्र ३ रन खर्चिँदै घातक स्पेल फाले ।

कप्तान रोहितकुमार पौडेलले ब्याटिङमा अर्धशतक बनाउन नसके पनि १० खेलमा २७६ रन जोड्दै प्रतियोगिताको दोस्रो सर्वाधिक रनकर्ता तथा नेपाली ब्याटरमध्ये शीर्ष स्थानमा रहे । पछिल्ला खेलमा डार्शी शर्ट र डिरोशन निक्वेलाको आगमनले टोलीलाई थप मजबुत बनायो ।

स्पिनर शेर मल्ल लुम्बिनीको च्याम्पियन यात्राका मुख्य स्तम्भ बने । उनले १० खेलमा १७ विकेट लिँदै सर्वाधिक विकेट लिने बलरको सूचीमा सन्दीप लामिछानेसँगै शीर्ष स्थानमा रहे । फाइनलमा पनि ३ विकेट लिएका मल्लले लगातार दोस्रो सिजन उपाधि जिते ।

लिग चरणमा ६ जितसहित शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स फाइनलमा भने फेरि चुक्यो । गत सिजन पनि फाइनल हारेको सुदूरपश्चिम लगातार दोस्रो सिजन उपविजेतामा सीमित बन्यो ।

एक समय प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको लुम्बिनी लायन्सले धैर्यता, सही संयोजन र आत्मविश्वासका साथ असम्भवजस्तै देखिएको यात्रा पूरा गर्दै एनपिएल इतिहासमा प्रेरणादायी अध्याय थपेको छ । संकटबाट च्याम्पियन बन्ने यो यात्रा लुम्बिनीका समर्थकका लागि मात्र होइन, नेपाली क्रिकेटकै लागि स्मरणीय बनेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ६ : ०३ बजे

वीरगञ्जको जनजीवन सामान्य बन्दै

वीरगञ्ज– सर्वदलीय र सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको

महोत्तरीमा ३७ वटा नयाँ मतदान केन्द्र थप

जलेश्वर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता नौ गैँडाको मृत्यु

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ वटा

चन्दा सङ्कलन गरेर खेलमैदानका लागि जमिन किनियो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–६ घारमा व्यवस्थित र सुविधायुक्त खेलमैदान निर्माण थालिएको

आन्तरिक राजस्व कार्यालय भैरहवाले सञ्चालन गर्‍यो ‘राजस्व सङ्कलन अभियान’

देवदह– आन्तरिक राजस्व कार्यालय भैरहवाले राजस्व सङ्कलनका लागि अभियान सञ्चालन गरेको