काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको काठमाडौं जिल्ला अदालतले आफ्नो निर्णयमा उनलाई कसुरदार होइनन् भन्ने नसक्ने टिप्पणी गरेको छ ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको एक अर्ब भन्दा धेरै बचत रकम ठगी प्रकरणमा बुधबार न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले रविलाई ६० लाख धरौटीमा छाड्ने आदेश दिँदा उनलाई निर्दोष भन्न नसकिने निचोड सुनाएको हो ।
पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका यनी ८४ दिनपछि गत बिहीबार साँझ ६५ लाख धरौटीमा रिहा भएका थिए ।
जिल्ला अदालत कास्कीबाट राहत पाएको ६ दिनपछि काठमाडौंबाट पनि उनले तत्काललाई बाहिरै बस्ने सुविधा पाएका छन् । स्वर्णलक्ष्मीको बचत हिनामिना प्रकरणमा प्रतिवादी उनीसहितले ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना भएको अनुसन्धानले देखाएको थियो ।
यो मुद्दामा लामिछानेलाई अहिले नै कसुरदार होइनन् भन्न सक्ने अवस्था नरहेको न्यायाधीश अधिकारीले आदेशमा उल्लेख गरेका छन् ।
न्यायाधीश अधिकारीले आदेशमा भनेका छन्, ‘अहिले नै प्रतिवादी रवि लामिछाने प्रस्तुत वारदातमा कसुरदार होइनन् भन्न सक्ने अवस्था नदिएकोले प्रस्तुत मुद्दाको प्रकृति समेतलाई मध्यनजर राखी मुद्दाको कारवाहीको सिलसिलामा प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी मुद्दा पुर्पक्षको प्रयोजनका लागि हाललाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ समेतका आधारमा यी प्रतिवादी रवि लामिछानेबाट रु.६०,००,०००।–(साठी लाख रुपैयाँ) नगद धरौट वा सो बराबरको जेथा जमानत दिए लिई तारेखमा राख्नू ।’
धरौटीमा राखेर मुद्दाको पुर्पक्ष अघि बढाउन आदेश दिने क्रममा न्यायाधीश अधिकारीले गोर्खा मिडियामा रविको संलग्नताबारे पनि ब्याख्या गरेको छ । जसले रविको संलग्नता पुष्टि गर्ने आधार देखाएका छन् ।
पाँच आधार
गोरखा नेटवर्क मिडिया प्रालिमा शेयर होल्डर एवम् प्रबन्ध निर्देशक हुनुभन्दाअघि नै प्रतिवादी रवि लामिछानेसमेतको हस्ताक्षरबाट खाता सञ्चालन हुने गरी ग्लोबल आईएमई बैंकमा खाता खोली सञ्चालनमा ल्याएको ।
प्रबन्ध निर्देशक भएको बेलामा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको सदस्य नरहेको गोरखा नेटवर्क मिडिया प्रालिको सोही खातामा उक्त सहकारी संस्थाबाट रकम आएको ।
रवि लामिछाने र गितेन्द्रबाबु राई (जीबी) को नाममा ऋण खाता खोली ४६ लाख, ९८ हजार फोर ह्वेलर लोन र ४६ लाख, ४८ हजार ईको सेभेन सिटर भ्यान लोन गरी कूल ९३ लाख ४६ हजार ऋण लिएको ।
रवि लामिछानेको हस्ताक्षरबाट काटिएको चेकबाट ९० लाख १६ हजार ६६० स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा ऋण भुक्तान गरेको ।
गोर्खा मिडिया नेटवर्क प्रालिको खाताबाट प्रतिवादी रवि लामिछानेको एकल हस्ताक्षरबाट समेत विभिन्न व्यक्तिका नाममा रकम भुक्तानी भएको देखिएको ।
प्रतिक्रिया