‘राजागंज’मा ओलीको बोलीले निम्त्याएको लफडा : फिल्मकर्मीले गरे आन्दोलनको घोषणा | Khabarhub Khabarhub

‘राजागंज’मा ओलीको बोलीले निम्त्याएको लफडा : फिल्मकर्मीले गरे आन्दोलनको घोषणा


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । यो फिल्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)को कैचीले गर्दा चर्चामा छ । 

फिल्ममा केपी शर्मा ओलीले यसअघि प्रधानमन्त्री हुँदा मधेशवादी दललाई ‘कुहिएको आँप’ भनी सार्वजनिक मञ्चमा दिएको अभिव्यक्ति समावेश गरिएको छ । सेन्सर बोर्डले यो विषयमा आपत्ति जनाउँदै कैंची चलाएको छ । 

‘राजागंज’का निर्देशक रौनियारका अनुसार फिल्ममा प्रयोग भएका शब्दहरूमा समेत सेन्सर लगाइएको छ । उनले खबरहबसँग भने, ‘फिल्ममा भारत, प्रधानमन्त्री जस्ता शब्द समेत हटाउन बोर्डको दबाब छ ।’

सेन्सर बोर्डको यो कदमले पूर्वराजा ज्ञानेन्द्रले ‘कू’ गर्दा पत्रिकामा समाचार प्रकाशनका गर्नुअघि सेनाले सेन्सर गर्दाताकाको झल्को आएकोरौनियारले बताए। 

उनी थप्छन्, ‘सेनाले सेन्सर गरेर पत्रिकामा नछापिएको समाचारको स्थान खाली राखिन्थ्यो । मैले पनि सेन्सर बोर्डले कैँची चलाएको स्थानमा खाली राखेर फिल्म प्रदर्शन गरेको छु । बोर्डले हटाएको दृश्य खाली छ । त्यो दृश्य हटाउँदा पर्दामा देखिएको कालो स्थान मेरो विद्रोह हो ।’

सेन्सर बोर्डको कैंचीले आफ्नो फिल्मको मूल मर्म नै मरेका कारण निर्देशक रौनियार असन्तुष्ट र आक्रोशित देखिन्छन् । 

उनी भन्छन्, ‘गणतन्त्रमा यस्ता गतिविधि हुनु भनेको सिर्जनामाथिको अंकुस हो ।’

सेन्सर बोर्डको काम र यसको औचित्यमा प्रश्न ‘राजागंज’बाट सुरु भएको भने पक्कै होइन ।  यो फिल्मले सेन्सर बोर्डमाथि फिल्मकर्मीको आक्रोश सतहमा ल्याएको हो । 

यसअघि सेन्सर बोर्डको कैंचीमाथि चुप बसेका फिल्मकर्मी यो घटनापछि खुलेरै बोल्न लागेका छन् । उनीहरूले  आफ्ना फिल्ममा अनावश्यक कैँची चलाइएको घटना बाहिर ल्याउन थालेका छन् । ‘राजागंज’मा सेन्सरको कैंचीपछि थप आक्रोशित बनेका फिल्मकर्मीहरुले शुक्रबार थापागाउँस्थित मण्डला थिएटरमा पत्रकार सम्मलेन गरे । 

त्यहाँ उनीहरूले सेन्सरका नाममा जथाभावी कैंची चल्दा आफूहरूको सिर्जनामा अंकुस लगाउने कार्य भएको दाबी गरे । पत्रकार सम्मलेनको वक्तामा निर्देशकहरू नवीन सुब्बा, दीपक रौनियार, मनोज पण्डित, गणेशदेव पाण्डे, दीपेन्द्र लामा, कलाकार दीपकराज गिरी, निर्माता अशोक शर्मा, नायक दयाहाङ राई, नायिका रिमा विश्वकर्मालगायत थिए । 

 सेन्सर बोर्डका कर्मचारीको योग्यतामाथि प्रश्न !
सेन्सर बोर्डका कर्मचारीले ‘कुतर्क’ गरेरसमेत आफूहरूको फिल्मका दृश्यमा कैंची चलाएको फिल्मकर्मीको दाबी छ । 

निर्देशक गणेशदेव पाण्डे भन्छन्, ‘फिल्म मञ्जरीमा एउटा कुटेको दृश्य थियो । सेन्सर बोर्डका कर्मचारीले मेरो मुटुको समस्या छ । यो दृश्य मैले हेर्न सकिनँ हटाउनुपर्‍यो भन्नुभयो ।’

नायक दयाहाङ राईले फिल्ममा कुनै पनि देशको नाम उच्चारण गर्दा त्यसमा सेन्सर लागेको विषयले आफूलाई आश्चर्यमा पारेको बताए । 

उनले फिल्म ‘दुखी आत्मा’को संवादमा सेन्सर बोर्डले कैंची चलाएको विषयमा भने– मेरो फिल्ममा एउटा कविता थियो ‘ओ अमेरिका’भन्ने । हामीले त्यसमा अमेरिका भन्ने शब्द हटाउनुपर्‍यो । अर्को ‘डेमोक्रेटिक’ भन्ने शब्द पनि हटाउनुपर्‍यो । अब हामीले यो देश जान्छु भनेर फिल्ममा भन्न समेत नपाउने अवस्था सिर्जना भएको छ । 

कलाकार दीपकराज गिरी सेन्सर पास भएर प्रदर्शनमा आएपछि पनि सेन्सर बोर्डबाट फिल्मको संवाद हटाउने दबाबसमेत भोगेको सुनाउँछन् । दीपक भन्छन्– फिल्म ‘छक्का पञ्जा–४’ मा ‘श्रीमती भनेको बैंक हो, गर्लफ्रेन्ड भनेको सहकारी हो’ संवाद मैले सेन्सर पास भएर हलमा लागिसकेपछि हटाएँ । सेन्सरबाट ‘फेरि जाँच’मा परेको भनेर हटाउन लगाइयो । 

यी सेन्सर बोर्डबाट फिल्मकर्मी पीडित बन्नुपरेको प्रतिनिधिमूलक घटना मात्रै हुन् । शब्द वा दृश्यमै सेन्सरको कैंची चल्दा प्रायः फिल्मकर्मी सेन्सर बोर्डविरुद्ध रुष्ट छन् । यसरी जथाभावी सेन्सरको कैंची चलाइनुलाई फिल्मकर्मीहरूले सेन्सर बोर्डका कर्मचारीमा फिल्म ज्ञानको कमी रहेको ठहर गरेका छन् । 

फिल्म र सिर्जनाको ज्ञान नभएका व्यक्ति सेन्सर बोर्डमा पुगेकाले आफूहरू पीडित बन्नु परेको उनीहरूको बुझाइ छ । 

निर्माता अशोक शर्मा भन्छन्, ‘सेन्सर बोर्डमा गलत मान्छे छन् । फिल्म बुझ्ने मान्छेहरू त्यहाँ हुनुपर्छ । यसको अर्थ नायक र निर्देशक हुनुपर्छ भन्ने होइन । फिल्म नबुझेका मान्छेले हाम्रो फिल्ममा कैंची चलाइरहेका छन् ।’

दीपकराज गिरी पनि चलचित्र नपढेका व्यक्ति सेन्सर बोर्डमा पुगेकाले यो समस्या उत्पन्न भएको तर्क गर्छन् । 

भन्छन्, ‘यो व्यक्तिगत आक्षेप होइन । सेन्सर बोर्डका कर्मचारी योग्यता र चलचित्र कर्म मेल खाँदैन जस्तो लाग्छ । जागिरका लागि उहाँहरूको शैक्षिक योग्यता अर्कै छ । फिल्म कर्म अर्कै हो । चलचित्र सम्बन्धी कुनै पनि अध्ययन नगरेको व्यक्ति सेन्सर बोर्डमा हुनु भनेको म एकदमै ठूलो नृत्य प्रतियोगिताको निर्णायक हुनु जस्तै हो । भनाइको तात्पर्य– मैले नृत्यको बारेमा व्याख्या गर्न सक्दिनँ ।’

निर्देशक सेन्सर बोर्डका कर्मचारीमा फिल्म ज्ञान नभएको उदाहरण उनी आफ्नै फिल्म ‘राजागंज’बाट दिन्छन् । 

भन्छन्, ‘मेरो फिल्म बच्चाले हेर्न मिल्दैन । अभिभावकको निगरानीमा हेर्नुपर्छ । तर ‘यू’ प्रमाणपत्र दिइएको छ । अर्थात् सबैले हेर्न मिल्ने प्रमाणपत्र दिइएको छ । तर, फिल्ममा राख्नैपर्ने संवादमा कैंची चलाइएको छ ।’

 ‘सेन्सरबोर्ड आवश्यक छैन’
सेन्सर बोर्डलेको कैंचीको डरले सिर्जना गर्दा नै कलम संकुचित पार्नु पर्ने अवस्थाबाट आफूहरू गुज्रिनु परेकामा फिल्मकर्मीको प्रमुख असन्तुष्टि हो । 

निर्देशक गणेशदेव पाण्डे भन्छन्, ‘मैले फिल्म लेख्दा कुनै समाज र समुदायले बोल्दा चयन गर्ने शब्द सेन्सर बोर्डले कैंची चलाउँछ भनेर डराउँदै लेख्नुपर्ने अवस्था छ ।’

गणेशलाई जस्तै आफूलाई पनि कयौँ पटक महसूस भएको कलाकार दीपकराज गिरी बताउँछन् । 

भन्छन्, ‘म राजनीतिक विषयका बढी फिल्म लेख्ने गर्छु । सिर्जना गर्दा नै सेन्सर बोर्डको कैंची चलाउला भनेर डराउने पर्ने अवस्था छ । डरले नै कलम संकुचित हुन्छ ।’

यसरी गणतान्त्रिक मूलकमा सर्जकको कलमलाई संकुचित पार्ने सेन्सर बोर्डको अस्तित्व कल्पना भन्दा बाहिरको विषय रहेकोमा फिल्मकर्मीको एक स्वर छ । विकसित मुलुकमा सेन्सरको अभ्यास दुर्लभ भएकाले नेपालले पनि यसमा पुनर्विचार गर्नुपर्ने उनीहरूको माग छ । 

निर्देशक नवीन सुब्बा भन्छन्, ‘हामी विदेशमा फिल्म लिएर जान्छौं । त्यहाँका फिल्मकर्मीलाई हाम्रो देशमा फिल्म सेन्सर हुन्छ भन्दा जिब्रो टोक्छन् । यसले हामीलाई लज्जा हुन्छ ।’अर्थात्, विकसित मुलुकले फिल्ममा सेन्सर लगाउनुलाई सिर्जनामाथि अंकुश लगाएको रुपमा बुझ्ने उनको भनाइ छ । 

विकसित मुलुकमा जस्तै फिल्ममा सेन्सरको सट्टा गे्रडिङको व्यवस्था गर्नुपर्ने उनको माग छ । नवीन भन्छन्, ‘फिल्ममा कैंची चलाउनु हुँदैन । ग्रेडिङ गरेर कुन उमेर समूहले हेर्न मिल्ने निर्धारण हुने ब्यवस्था गर्नुपर्छ ।’ 

त्यस्तै, निर्देशक रौनियार पनि फिल्ममा दृश्य वा कैंची चलाउनु गणतान्त्रिक मुलुकका लागि उत्कृष्ट अभ्यास नभएको तर्क गर्छन् ।

भन्छन्, ‘सेन्सरको कैंची चलाउने होइन । कुन उमेर समूहले हेर्न मिल्ने हो त्यो अनुसारको सर्टिफिकेट प्रदान गर्नु उचित हुन्छ ।’ दीपकराज गिरी भने आफूलाई सेन्सरविरोधी नै मान्छन् । कुनै हालतमा फिल्मका दृश्य र संवादमा कैंची चलाउनु नहुने उनको जोड छ । भन्छन्, ‘कैंचीचलायो भने सिर्जना मर्छ । बरु कुन उमेर समूहका दर्शकलाई फिल्म हेर्न दिने हो, त्यो अनुसार ग्रेडिङ गर्नुपर्छ ।’

आन्दोलनको घोषणा

पछिल्लो समय सेन्सर बोर्डसँग फिल्मकर्मीहरू असन्तुष्ट बने पनि एकीकृत भएका थिएनन् । सार्वजनिकरुपमा सेन्सर बोर्डविरुद्ध फिल्मकर्मीहरू एकीकृत भएर प्रस्तुत भएको यो पहिलो घटना हो । 

अब भने आफूहरू आगामी वर्ष २०८२ लाई सेन्सर बोर्डविरुद्धको आन्दोलनमा विकास गर्ने उनीहरूले घोषणा गरेका छन् । 

निर्देशक मनोज पण्डितले भने, ‘सेन्सरसिपको आतंकविरुद्ध हामीले भित्र भित्रै आन्दोलनको तयारी गरेका छौं । आन्दोलन समिति गठन भएको छ । हामी यो ०८२ साल चाहिँ नेपालमा फिल्म सेन्सरसिपको विरुद्ध आन्दोलन वर्षका रुपमा संघर्ष गर्ने छौं ।’

आफूहरूको आन्दोलन रचनात्मक रूपले हुने निर्देशक नवीन बताए । ‘फिल्ममा सेन्सर कैंची चलाउन बन्देज हुनुपर्ने’ उनीहरूको आन्दोलनको मुख्य माग रहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ४ : २८ बजे

सरकारले केही काम गर्न सकेन भनेर निराशा बाँड्ने काम भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले सरकारले केही काम

सुर्तीजन्य पदार्थका प्याकेटमा घातक चित्र र चेतावनीमूलक सन्देश राख्नुपर्ने 

काठमाडौं– आगामी भदौदेखि नेपाली बजारमा आउने सबै खाले सुर्तीजन्य पदार्थका

ग्रिस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस पठाइदिन्छु भन्दै रकम

युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२२ मा मस्कोले युक्रेनमा

प्रचण्ड भन्छन्- मध्यपहाडी लोकमार्ग अभियान राष्ट्रको अभियान भएको छ

दैलेख– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल