शिक्षकले भरिभराउ माइतीघर, सुनसान काठमाडौंकै सामुदायिक विद्यालय  | Khabarhub Khabarhub

शिक्षकले भरिभराउ माइतीघर, सुनसान काठमाडौंकै सामुदायिक विद्यालय 


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

आजै वैशाख २ गतेदेखि नयाँ शैक्षिक सत्र औपचारिक रूपमा सुरु भएको छ । तर काठमाडौं उपत्यकाका प्राय: सरकारी र सामुदायिक विद्यालय सुनसान छन् । केही विद्यालयका प्रशासन खुला रहे पनि अधिकांशको गेटमै ताल्चा लगाइएको छ । काठमाडौंको ताहचलस्थित श्री बाल व्यवसायिक केन्द्र माध्यमिक विद्यालयको मुख्य गेटमै ताल्चा झुन्डिएको भेटियो। पठनपाठन सुरु हुने बेला यो विद्यालय सुनसान छ । न विद्यार्थी देखिए न त शिक्षक नै। 

चाबहिलस्थित श्री पशुपति मित्र माध्यमिक विद्यालयमा लेखा र परीक्षा शाखा खुल्ला भेटियो । तर शिक्षक कक्ष र कक्षा कोठा सुनसान भेटिए । लेखा शाखा खुलेकाले विद्यार्थी भर्ना लगायत काम सुचारु थियो। पठनपाठन कहिलेबाट सुरु हुने विद्यालय प्रशासन अन्योलमा देखियो । पशुपति मित्रकी सहायक लेखापाल रश्मि ढुंगेलका अनुसार शिक्षकहरू सडक आन्दोलनमा गएका छन् । त्यहीकारण पठनपाठन कहिलेबाट सुरु हुने यकिन छैन । यद्यपि विद्यालयले कक्षा ८ को मौका परीक्षाको तयारी गरिरहेको छ ।

 ‘आन्दोलन र परीक्षाका कारण पठनपाठनको टुंगो छैन । केही दिनमा टुङ्गिएला । विद्यार्थी भर्नाका लागि फारम वितरण भइरहेको छ । तर वैशाख ८ अघि भर्ना पनि हुने अवस्था छैन ।’ 

ढुंगेलका अनुसार विद्यालयले यस वर्ष घरदैलोको कार्यक्रम राख्न सकेको छैन । रानीपोखरीस्थित दरबार हाई स्कुल अर्थात् भानु माध्यमिक विद्यालय पनि सुनसान छ । प्रशासनका काम भए पनि अरू सबै ठप्प छन् । शिक्षकहरू सडक आन्दोलनमा गएकाले सहयोगीहरू मात्रै उपस्थित थिए । विद्यालयले भर्ना फारम वितरण गरिरहेको पाइएको छ ।

 त्यस्तै बानेश्वरस्थित श्री रत्नराज्य माध्यमिक विद्यालयको अवस्था पनि उस्तै छ । त्यहाँ पनि कक्षा ८ को पुन:परीक्षा र नयाँ भर्ना फारम वितरण मात्रै भइरहेको छ । यस विद्यालयका शिक्षक पनि आन्दोलनमै छन् । त्यहीकारण पठनपाठनबारे यहाँ पनि अन्योल छ । रत्नराज्य माविको परीक्षा शाखामा दृश्य केही फरक थियो । शिक्षक महासंघले बहिष्कार गरेको कक्षा १२ को परीक्षाका लागि प्रवेश पत्र प्रकाशनको तयारी भइरहेको थियो ।

परीक्षा शाखाका एक कर्मचारी परिचय नखुलाउने शर्तमा विद्यालयले कक्षा १२ को परीक्षाको तयारी गरिएको जानकारी दिए । यद्यपि सरकारले शिक्षकहरूको माग सम्बोधन नगरे प्रवेश पत्र प्रकाशन गरेर परीक्षा बहिस्कार गरिने बताए । यता पुतलीसडकस्थित पद्मोदय मावि पनि सुनसान छ । विद्यालयका सबै शिक्षक आन्दोलनमै छन् । खबरहबको टोली पुग्दा आन्दोलनबाट फर्किरहेका सह-प्रधानाध्यापक निर्मल खतिवडा विद्यालय परिसरमा भेटिए । राज्यले शिक्षकको आवाजलाई नसुनेर दोस्रो दर्जामा राखेको गुनासो उनले सु्नाए । निजामती कर्मचारीसहर शिक्षकलाई पनि राष्ट्र सेवकका रूपमा राज्यले नहेरेका कारण आन्दोलित हुनु परेको उनले जिकिर गरे ।

 सरकारले सडकको आवाज नसुन्दा सामुदायिक विद्यालयका विद्यार्थी निजीतर्फ जाने भय उनमा देखियो । आन्दोलनका कारण पठनपाठन र भर्नामा प्रभाव परेको बताउँदै सहायक प्रधानाध्यापक खतिवडाले भने, ‘आन्दोलनका कारण हाम्रो विद्यालयमा पनि प्रभाव परेको छ । हाम्रा माग रकारलाई सुनाउन सडक छाड्न सकेका छैनौँ । हामी अन्योलको अवस्थामा छौँ । शैक्षिक सत्र सुरु हुँदै गर्दा शिक्षकहरू विद्यालय पुगेर विद्यार्थी भर्ना र वार्षिक योजना बनाउनुपर्ने समयमा सडकमा भौतारिएको अवस्था छ । यसले सामुदायिक विद्यालयको पठनपाठन अझै अन्योलमा पारेको छ ।’ 

अलमलमा अभिभावक

छोरीलाई राजधानीको सामुदायिक विद्यालयमा पढाउने सपनासहित कालिकोटबाट आएका डिल्ली खत्री शिक्षकहरू आन्दोलित हुँदा अलमलमा परेका छन् । पठनपाठनको टुंगो नहुँदा उनी के गर्ने कसो गर्ने समस्यामा छन् । विद्यालय खुलेर छोरीलाई पढाउन पाउने जानकारी नपाएको उनले बताए ।

 ‘कहिलेबाट पढाई सुरु हुने हो जानकारी नपाउँदा बालबच्चाको मनमा पनि डर देखिएको छ । भर्ना फारम लिएको छु । ९ गते कागज पत्र लिएर आउनु भन्नु भएको छ । हेरौँ, अब के हुन्छ ?

भिडियोमा हेर्नुहोस् :

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ६ : ५६ बजे

अरूण तेस्रो हेर्न जाँदै भारतीय ऊर्जामन्त्री, एकैदिन तीन सब-स्टेशन र एउटा प्रसारण लाइन उद्घाटन गरिँदै

काठमाडौं- मंगलबार मात्रै आइपुगेका भारतका विद्युत्, आवास तथा शहरी मामिला

जै घाँस लगाउने किसानलाई पोखरा महानगरको प्रोत्साहन

गण्डकी– पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्र जै घाँस लगाउने किसानलाई सहयोग

शिक्षक आन्दोलनले सडक अस्तव्यस्त

काठमाडौं– विभिन्न माग राख्दै नेपाल शिक्षक महासङ्घले जारी राखेको आन्दोलनका

रविको बन्दीप्रत्यक्षीकरण रिटको छिनोफानो संयुक्त इजलासले गर्ने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा

बेलौरीमा जलेको अवस्थामा एक जनाको शव भेटियो

कञ्चनपुर– बेलौरी नगरपालिका–१० शिवनगरमा ५० वर्षीय हरिकिसन रानाको शव आज