एमालेको ‘नोटिस’ ढकालको कि च्यासलको ? | Khabarhub Khabarhub

एमालेको ‘नोटिस’ ढकालको कि च्यासलको ?

विद्या भण्डारीको पक्षमा लाग्ने नेतालाई ‘नोटिसमा राखिएको’ भनेपछि एमालेमा हंगामा


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 10 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘कसरी नेतृत्वलाई अप्ठ्यारो पार्न सकिन्छ भनेर बोल्ने नेताहरूबारे विचार गरिन्छ, नोटिस गरिएको छ’, स्थायी कमिटी सदस्य भानुभक्त ढकालको यो अभिव्यक्तिका कारण एमाले वृत्त यतिबेला तरंगित छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किने कुराले ध्रुवीकृत नेता कार्यकर्तालाई ढकालको यो भनाइले झन् उद्धेलित बनाएको छ ।

एमालेको संगठन समन्वय विभाग संयोजकसमेत रहेका ढकालले गत असार २६ गते बिहीबार जनसंगठनका पदाधिकारीको भेलामा संस्थागत निर्णय नमान्नेहरू नोटिसमा रहेको बताएका थिए ।

‘पार्टीका नीति, विधिमाथि तलबितल गरियो भने मात्र नेता होइन्छ भन्ने सोचाइ त्याग्नुस्, ’ढकालको निर्देशन थियो, ‘पार्टीको संस्थागत निर्णय नमान्दा हुन्छ भन्ने मानसिकता केही संगठनका पदाधिकारीमा देखिन्छ । यस्तो प्रवृत्ति पार्टीको नोटिसमा छ ।’

पार्टीको महाधिवेशनबाट पारित भएको विधानबारे टिप्पणी नगर्न ढकालको चेतावनी थियो । त्यस्तै एमाले महासचिव शंकर पोखरेलले महाधिवेशनबाट पारित विधानका बारेमा टिप्पणी गर्नु संगठनात्मक अराजकता हुने र त्यसलाई नमान्नेलाई ‘नोटिस’ गरिएको अभिव्यक्ति दिएका थिए । भेलामा पोखरेलले सङ्ठनात्मक अराजकताको प्रतिवाद गर्न निर्देशन दिएका थिए ।

नेताद्वयको निर्देशनपछि जनवर्गीय संगठनका नेताहरूको आक्रोशले र व्यङ्ग्य सामाजिक सञ्जालमा छरिएको छ । उक्त अभिव्यक्तिप्रति कोही सहमत देखिँदैन थिए । ‘नोटिस’लाई सबैले हावामा उडाइदिए ।

प्रेस चौतारी नेपालका वरिष्ठ नेता विश्वमणि सुवेदीले ‘नोटिस’ लाई व्यङ्ग्यका रुपमा प्रकट गर्दै एउटा तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए– यहाँ नोटिस हुँदैछ है ।

एमाले पक्षधर एक थरिले त नेता पोखरेल र ढकालविरूद्ध अभियान नै चलाए– ‘तपाईं आफैं नोटिसमा हुनुहुन्छ ।’

राष्ट्रिय युवा संघका निवर्तमान महासचिव सुमन पुरीले सामाजिक सञ्जालमा लेखे – पेटी ठेकेदारज्यू, पार्टी तपाईंको बिर्ता होइन, तपाईंले भन्यो भन्दैमा संस्थागत हुँदैन । अति नगर, अब हामीले ‘नोटिस’ गर्न थालेका छौं, त्यसपछि पार्टी कार्यालय छिर्ने हैसियत पनि रहँदैन, हेक्का राख ।

कुनै केन्द्रीय नेतालाई जनवर्गीय संगठनका नेताले यतिसम्म कसरी भन्न सक्लान् ? गम्भीर विषय हो । यो आफैंमा बहसको विषय हो ।

एमालेमा यसअघि कतै पनि नभएको पद ‘जनवर्गीय संगठन समन्वय समिति’ दशौं महाधिवेशनपछि सिर्जना गरिएको थियो । नेताहरूका अनुसार संस्थागत निर्णय गरेर पार्टीको जनवर्गीय संगठन समन्वय समिति निर्माण गरिएको हो । त्यसको संयोजक बने एमालेका स्थायी समिति सदस्य ढकाल ।

नेता ढकालको जनसंगठन नियन्त्रित सोचलाई संगठनका नेताहरूले हावामा उडाइरहेका छन् । नेताद्वयको अभिव्यक्तिलाई ‘चियाको कपमा तुफान चलाउनु’सँग दाँजिदिए ।

‘पार्टी नोटिसमा होइन, चरम आक्रमणमा थियो । धेरैका पाइला कता चल्ने भन्ने दोधारमा थिए । त्यसै बेला, मैदानमा उभिएर हामीले बल पैदा गरेका थियौं । चियाको कपमा तुफान चलाउन बन्द गर्नुस् । हामी यही भन्दै मैदानमा झरेका हौं । गुमाउनलाई केही छैन, जित्नलाई संसार बाँकी छ । जनताको प्रिय एमाले बनाउने अभियानमा हामी निरन्तर छौं । कसैले, कुनै शक्तिले पनि हामीलाई रोक्न सक्दैन’, अनेरास्ववियुका निवर्तमान सचिव प्रकाश पौडेलले भने ।

प्रेस चौतारी नेपालका निवर्तमान उपाध्यक्ष राजेश राईले नेता ढकालको अभिव्यक्तिलाई नेताको घमण्डको पहाडसँग तुलना गरे । उनले लेखे, ‘जसको सार्वजनिक अपिलले एक मत जनमत बदलिँदैन । तिनको अभिव्यक्तिमा न जीवन छ, न आशा, न त उज्यालो । तिनले न कसैको आँशुको कथा बुझ्छन्, न मुस्कानको भाका । बगरे जसरी नाङ्गो तरबार लिएर उभिएका छन् । रेटिरहेका छन्, तिनले एकपछि अर्को सपनाहरुको घाँटी । उभिएका छन्, आलै रगतको आहालमा । तर भनिरहेका छन्, म बुद्ध हुँ बुद्ध । अहो ! घमण्डको कत्रो पहाड ?’

अनेरास्ववियुको भर्खरै सम्पन्न महाधिवेशनमा सचिव पदकी उम्मेदवार आरती भट्टराईले जनसंगठन संयन्त्रको नेतृत्वप्रति आलोचना गर्दै लेखिन् ‘कतै निर्वाचन नै लड्न नदिने । कतै अध्यक्षमण्डलले प्रस्ताव गरेको भन्दा अरु कसरी जित्छन् ? हेरौंला भन्ने । कतै लड्न दिएकै छ, लडेर हार्ने घर जाउ भन्ने । कतै एउटा पदमा मनोनयन गरेको मान्छे ल्याएर अर्कोमा मनोनयन दर्ता गर्न लगाउने । अगाडि मनोनयन गरेर पद खाली राख्ने, कतै पार्टी छाडेर जा भन्ने ।’

त्यस्तै अन्य युवा नेताहरूले पनि ‘नेताको नोटिस’ प्रति कडा टिप्पणी गरे । आरके रोमसले लेखे– ‘आम जनताको, भुइँ मान्छे, कार्ययोगी र निस्वार्थ कार्यकर्ताको भावना नबुझ्ने नेताहरु पनि नोटिसमै छन् ।’

जनसंगठनभित्र यति धेरै असन्तुष्टिको व्यवस्थापन गर्न नसक्नु ‘नोटिस’ दिने नेताकै जिम्मेवारी हो । जनसंगठनका नेताहरूले नेतृत्वको अकर्मण्यताप्रति खेदव्यक्त गर्दै प्रस्तुत गरेको अभिव्यक्ति असत्य होला र ?

मेनुका ढुङ्गानाले लेखेकी छन्, ‘फटाहा पेटीगाठे ठगहरूको हैसियत अब देखिन्छ, एमालेको रातो झण्डाको खोल ओढेर पार्टी भित्रै आतङ्क मच्चाउने पेटी ठेकेदारहरूलाई पार्टी कार्यालयबाट बाहिर निकाल्लुपर्छ ।’

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा आउने घोषणा गरेपछि उनको सदासहायता र सहयोगका लागि पनि पार्टीभित्र र जनसंगठनमा उनको पक्षमा नेता कार्यकर्ताहरू खुल्ने क्रम जारी छ ।

उनको समर्थनमा आउने नेता कार्यकर्तालाई विशेष गरी एमालेका महासचिव शङ्कर पोखरेल र नेता ढकालको कमानबाट निस्किएको ‘नोटिस’ को निशानामा परेका छन् । पार्टी बैठक र छलफलमा समेत विद्या भण्डारीको समर्थक वा आलोचकका रुपमा ‘नोटिस’ गर्न थालिएको एमालेवृत्तमा चर्चा चल्छ । एमाले पार्टीभित्रमात्र होइन, जनसंगठनमा पनि यो ‘नोटिस’ को हतियारले कति नेतृत्वको भविष्य छिन्नभिन्न हुने हो गम्भीर विषय छ ।

एमालेभित्रको आन्तरिक समीकरण र नेतृत्वबीचको हानाथाप सुरु भएको छ । यसलाई कसैको तागतले लुकाउन सक्दैन । विद्या भण्डारीको पुनरागमनविरुद्ध आन्तरिक बैठकमा अन्य गतिविधि गरेको खण्डमा ‘नोटिस’मा राख्ने आरोपको खण्डन नेताले मुन्टो बटारे पनि गलत सावित हुन सक्ने अवस्था छैन।

एमालेले हाल २३ वटै जनवर्गीय संगठनका अधिवेशन सम्पन्न गरिसकेको छ । अनुसूची १ मा रहेकाको १५१ जनाको कमिटी र १७ जना पदाधिकारी साथै अनुसूची २ मा रहेका जनसंगठनहरूको ९९ जनाको कमिटी र ९ जनाको पदाधिकारी बनाउने व्यवस्था एमालेले गरेको छ ।

१६ वटा जनसंगठनको राष्ट्रिय महाधिवेश गत फागुन २१ देखि जेठ ३१ गतेसम्म सम्पन्न भएको छ ।

**

एमाले नेताद्वयको ‘नोटिस’ विरुद्ध चर्को आलोचना भएपछि मङ्गलबार रेडियो कान्तिपुरमा प्रसारित श्रीकृष्ण न्यौपानेसँगको अन्तर्वार्तामा नेता ढकालले आफ्ना कुरा क्लियर गर्न पाएको बताए ।

भने, ‘जनसंगठन मातहत मूलतः पेशागत महासंघका दुई वटा घटकमा चाहिँ ९ जना पदाधिकारीको व्यवस्था त भयो तर हामीले उपाध्यक्षमा दुई जना व्यवस्था गरेकामा वरिष्ठ उपाध्यक्ष राख्ने हाम्रो पार्टीको संस्थागत निर्णय थिएन । त्यो कुरा उहाँहरूले गर्नु भो । र, पार्टीले गरेको संस्थागत निर्णय भन्दा बाहिर गएर गरिएको निर्णय पार्टीको नोटिसमा छन्, भनेर भनिएको हो ।’

ढकालले अगाडि भने, – ‘त्यहाँ २३ वटै जनसंगठनका पदाधिकारीहरु हुनुहुन्छ, पार्टीका महासचिव हुनुहुन्छ, संगठन विभागका प्रमुख हुनुहुन्छ । भनिएको कुरा चाहिं यही हो कि– पार्टीको संस्थागत निर्णय नमानिएको सन्दर्भमा पार्टीको नोटिस छ । पार्टीका जनसंगठनले गरेका गतिविधि नोटिस नहुने भनेको त निर्जीव पार्टीमा मात्र हुन्छ । नेकपा एमालेजस्तो पार्टीमा नोटिस हुने कुरा त स्वभाविकै हो । तर यो विषयलाई प्रचार गर्ने काम चाहिँ मिडिया र सामाजिक सञ्जालमा आफ्ना आफ्ना स्तरबाट गरियो ।’

नेता ढकालले मदन भण्डारी जन्मजयन्तीको अवसरमा सभागृहमा आयोजित कार्यक्रमको अपव्याख्या गरिएको बताए । उनले त्यही कार्यक्रमलाई एमालेभित्र भाँजो हाल्ने प्लेटफर्मका रुपमा परिणत भएको आरोप लगाए ।

‘हामीले जेठ ३१ गते जनसंगठनका १६ वटा अधिवेशन सकेपछि असार ४ गते बैठक गरेर सम्मेलन सम्पन्न गर्‍यौं । अब आफ्ना कार्यमा लाग्ने भनियो । असार १३ गते मदन भण्डारीको जन्मजयन्ती पारेर एमालेभित्र अझ भाँजो हाल्ने । मन नपरेका नेताहरुलाई बद्नाम गर्न सकिन्छ कि भन्ने उद्देश्यले त्यसलाई सार्वजनिक खपतको विषय दुरुपयोग गरेर हुन गयो ।
मदन भण्डारी जस्ता नेताको जन्मजयन्तीका बारेमा एमालेका बारेमा कुनै मान्छेले नजानका लागि फर्मान जारी गर्छ ? जुन कार्यक्रमको प्रमुख अतिथि स्वयम् प्रधानमन्त्री आफैं हुनुहुन्छ’, उनले थपे ।

ढकाल त्यतिमै रोकिएनन् । ‘हाम्रो भनाइ के हो भने जनवर्गीय संगठनका तर्फबाट हामीले मदन जयन्तीको अवसरमा रचनात्मक कार्यक्रम गर्ने, विगतका वर्षहरूदेखि हामीले त्यही कार्यक्रम गरेका छौं । हामीले अनेरास्ववियुको तर्फबाट पनि कार्यक्रम गर्‍यौं । युवा संघको तर्फबाट वृक्षरोपणको कार्यक्रम गर्‍यौं । मानव अधिकार एलायन्सको तर्फबाट कार्यक्रम गर्‍यौं । हाम्रा संठगनका तर्फबाट कुनै न कुनै कार्यक्रम भयो’, ढकालले अगाडि भने ।

उनले सभागृहमा भएको कार्यक्रमबारे पनि खुलेर कुरा राखे । ‘सभागृहमा त्यहीअनुसारको एउटा कार्यक्रम भयो । जहाँ पार्टी अध्यक्ष प्रधानमन्त्री प्रमुख अतिथि हुनुहुन्थ्यो । विशिष्ट अतिथि सम्माननीय पूर्वराष्ट्रपति विद्या भण्डारी हुनुहुन्थ्यो । सभागृहमा गरेको कार्यक्रममा एमालेका सबै कार्यकर्ता त्यहाँ आएनन् भनेर त्यो कार्यक्रमलाई बहिष्कार गरे, उपेक्षा गरे भन्नु राजनीतिक दरिद्रताको पनि एउटा पराकाष्टा हो भन्ने मलाई लाग्छ’, उनले सुनाए ।

ढकालसँग कान्तिपुर रेडियोले गरेको कुराकानीको सार-

पूर्वराष्ट्रपति भण्डारीको दुरुपयोग भइरहेको हो ?

कोही पूर्वराष्ट्रपति भण्डारीको प्रवक्ता बनिरहनु भएको छ । उहाँकै कुरा बोलिरहनु भएको छ कि उहाँको सिरानीमा आफ्ना कुरा गरिरहनु भएको छ कि समयक्रमले पुष्टि गर्ला अहिले अब बोल्ने स्वतन्त्रता सबैलाई नै छ । सूचना दिने हक पनि छ । त्यसमा मेरो कुनै टिप्पणी छैन । सहयोग गर्ने कुरा, सहानुभूति राख्ने कुरा, आफ्नो नेतृत्वलाई सहयोग गर्ने कुरा त अप्ठ्यारो भएन तर त्यही नाममा पार्टीभित्र भाँजो हाल्ने, त्यहीभित्र निष्ठा र इमानपूर्वक काम गरेका मान्छेहरूको बदनामी गरेर त्यसमा आफ्नो रोटी सेक्ने कुरा चाहिँ गलत कुरा हो ।

पार्टीमा सबैलाई चित्त बुझाएको भए, पूर्वराष्ट्रपतिको आगमन पर्खने पनि यति धेरै हुँदैन थिए होला ? वर्तमान नेतृत्वको कमजोरीले यो ग्राउण्ड तयार पार्नमा भूमिका खेलेको भन्ने विश्लेषण गर्न ढिलो भएन ?

पार्टी स्थापना कालदेखि नै विभिन्न आरोह अवरोह भइरहेकै छन् । त्यसमा पार्टी नेतृत्वका वरिपरि बसेका मान्छे पनि विभाजित भएकै छन् । स्वयम् पार्टी नेतृत्वमै भएका मान्छे पनि स्खलित भएका छन् । कम्युनिष्ट पार्टीमा विभिन्न आरोह अवरोह छन् । यति गरेपछि चाहिँ समस्या समाधान होला कि भन्यो फेरि नयाँ खालका समस्याहरू आउँछन् । समाधान गर्दै हामी जाने हो ।

यसमा म के मात्रै भन्न चाहान्छु भने, पछिल्लो दिनमा नेकपा एमालेलाई एमाले बनाउने, आज हामीले नेकपा एमाले गर्वका साथ भन्न पाउने र यसमा क्रियाशील हुन पाउने कुराको अगुवाइ हाम्रो पार्टीको अध्यक्ष सम्माननीय प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा नै हामीले प्राप्त गरेका छौं ।

नेकपा एमाले र माओवादीको एकीकरणपछि बनेको नेकपाले झण्डै दुई तिहाई ल्याएको अवस्थामा पनि त्यसको मूल काम भनेको नेकपा एमाले कब्जा गर्ने र समाप्त गर्ने खालको एउटा अभियान थियो । त्यसबाट पनि बचाउने कुराको अगुवाइ कम्रेड केपी ओलीको नेतृत्वमा भएको छ ।

जननेता मदन भण्डारीको अगुवाइमा प्रतिपादन गरेको नेपाली क्रान्तिको मौलिक कार्यक्रम त्यसलाई सिद्धान्तका रुपमा विकसित गर्दै जबजको प्रकाशमा समाजवादको आधार तयार गर्ने । माक्र्सवाद, लेनीनवाद र जनताको बुहदलीय जनवादकोे प्रकाशमा समाजवादको आधार तयार गर्नेसम्मको यात्राको नेतृत्व पनि पछिल्लो दिनमा कम्रेड मदन भण्डारीको अवसानपछि अथवा उहाँको रिक्ततापछि पार्टीलाई यहाँसम्म ल्याउने कुराको नेतृत्व कम्रेड केपी ओलीले गर्नुभएको हुनाले मुलुकमा विभिन्न अस्थिरता, अराजकता, स्वेच्छाचारिता भएको अवस्थामा अनुभवी नेतृत्वको आवश्यक्ता छ भन्ने कुराको अनुभूति पनि पार्टी पङ्क्तिले गरिरहेकै छ ।

पार्टीमा पाँच वर्षका लागि चुनिनु भएको नेता कम्रेड केपी शर्मा ओलीका विरुद्ध बेमौसममै करिब दुई वर्षको अवधि नपुगेदेखिनै नेता बदल्नुपर्छ भन्ने जोड कोणहरूबाट पार्टीभित्र अस्थिरता निम्त्याउने खालको काममा पनि पार्टीभित्रबाट र बाहिरबाट पनि यो काम भएकै छ ।

अहिले मूलतः एमालेबिनाको नेपाल र केपी ओलीबिनाको एमाले बनाउने भन्ने हिजोको नाराहरुलाई सार्थक बनाउनका निम्ति पनि केही शक्तिहरु व्यक्तिहरू क्रियाशील नै छन् । अहिलेको एमालेको आन्तरिक द्वन्द्व बढाउनका निम्ति एमालेभित्रका कार्यकर्ताहरू भन्दा पनि एमालेका छिमेकीहरू बढी सक्रिय छन् ।

मदनको नीति, विद्याको नेतृत्व भनेको के हो ?

हाम्रो पार्टीको संस्थागत निर्णय र परिषदको बैठकको निर्णय पनि के हो भने हामीले मिसन ०८४ भनेर पार्टीले जुन बलियो राष्ट्रिय शक्ति बनाउने र एमालेको एकल शक्तिमा सरकार बनाउने गरी हामीले मिसन ०८४ को कुरा अगाडि सारेका छौं, त्यसको कमाण्डर चाहिँ पार्टी अध्यक्ष केपी ओली नै हो । हामीले गरेको पार्टीको संस्थागत स्टाटस नै त्यही हो ।

कार्यकर्ताको मनस्थिति बदलियो, एमालेजस्तो लोकतान्त्रिक पार्टीबाट अगाडि बढ्ने सन्दर्भमा नयाँ खालको परिवेश आयो भने पनि त्योप्रति असहिष्णु हुनु पर्ने कुरा केही छैन । सम्माननीय पूर्वराष्ट्रपति विद्या भण्डारी हिजो पनि हाम्रो पार्टीको नेतै हुनुहुन्थ्यो । दुईदुई चोटिसम्म उपाध्यक्ष हुनु भयो । दुई पटक राष्ट्रपति हुनुभयो । राष्ट्रपति बनाउने कुरामा पनि पार्टीको योगदान छँदैछ । उहाँ फेरि फर्केर सक्रिय राजनीतिमा आउने कि नआउने कि ? बहसमा पनि छँदैछ ।

पूर्वराष्ट्रपति राजनीतिमा आउने कुरा गर्नु भएको छ । यसमा छलफल होला, सहमति होला, असहमति होला । यसमा एमालेका कमिटीले नेताहरूले नै निधो गर्ने कुरा हो ।

अहिले हामी विधान अधिवेशनमा छौं । अधिवेशनले विधि तय गर्ने कुरा हो । विधान अधिवेशनमा नेतृत्वको कुरा छैन । नेतृत्व परिवर्तनको कुरा गर्ने यो मौसम नै होइन । विधान अधिवेशनमा निर्वाचन आयोग मात्रै बदलिन्छ । समाजमा कस्तो हल्ला फैलिएको छ भने, मानिलिऔं भदौमा नै पार्टी अध्यक्ष नै फेरिहाल्छ कि ? जस्तो गरेर प्रचार गर्ने र यसरी बुझ्नु अतिशयोक्तिपूर्ण बुझाइ हो ।

जहाँसम्म ७० बर्से उमेर हद र दुई कार्यकालको व्यवस्थाको कुरा छ । दुई कार्यकाल हाम्रो विधानमा व्यवस्थै छैन । व्यवस्थै नभएको विषयमा अब कसैले यो प्रावधान राखौं भनेर ल्याउनु भयो भने आगामी साउन २ गते पोलिटब्युरो र ५ गते केन्द्रीय कमिटीको बैठक राखेका छौं । यो मूलतः विधान संशोधनसँग सम्बन्धित छ । एक महिनाअघि केन्द्रीय कमिटीले मातहतका कमिटी र सदस्यहरूलाई पठाउनु पर्ने प्रावधान अनुरुप यो बैठकको आयोजना गरिएको छ । दुई कार्यकाल विधानमा छँदैछैन यो कुरा राखौं भन्दा नयाँ राख्ने कुरा भयो ।

७० वर्षे उमेर हदको कुरा हामीले पार्टी एकता, हिजो पार्टीको संस्थापन कालदेखि काम गरिरहनु भएका कम्रेडहरूको व्यवस्थापनका निम्ति ल्यायौं । ७० वर्षे उमेर हदको कुरालाई अहिले हामीले पेण्डिङ राखेका छौं । ७० वर्षपछिका कम्रेड मुकुन्द न्यौपानेलाई ल्याएर स्थायी कमिटीमा राखेका छौं । हामीले त्यतिबेला उहाँलाई मनोनयन गर्दा ७३ वर्षको हुनुहुन्थ्यो । सचिवालयको प्रस्तावमा केन्द्रीय कमिटीले सर्वसम्मत निर्णय गरेको कुरा हो । सर्वसम्मत गरेको ७० वर्षको उमेर हद हटाउने कुरा विधान महाधिवेशनमा हामीले अनुमोदन गराउने वा यसलाई कायम गर्ने भन्ने कुराका विषयमा त बहस छलफल गर्ने कुरा हो ।

कम्युनिष्ट पार्टीमा के हुन्छ भने, आवश्यक्ताका हिसाबले पछिल्लो समयमा जे निर्णय हुन्छ त्यही हुन्छ । जस्तै उदाहरणका लागि गोदावरी महाधिवेशनमा हामीले विधान महाधिवेशन गर्‍यौं । त्यो विधान महाधिवेशनमा हामीले २२५ जनाको केन्द्रीय कमिटी बनाउने भन्यौं । १५ जनाको पदाधिकारी बनाउने, दुई कार्यकाल कायम गर्ने, ७० वर्ष उमेर हदका सन्दर्भमा ७० वर्ष उमेर नपुग्दासम्म उठ्न पाउने, कार्यकालभरि काम गर्न पाउने व्यवस्था गरेका थियौं ।

तर हामीले चितवन महाधिवेशनमा जाँदाखेरि यी कुरालाई संशोधन प्रस्ताव गर्‍यौं । केन्द्रीय कमिटीमा लग्यौं । त्यसपछि महाधिवेशनमा लग्यौं । २२५ का ठाउँमा हामीले ३०१ जनाको केन्द्रीय कमिटी बनाउने कुरा गर्‍यौं । १५ पदाधिकारीका ठाउँमा १९ पदाधिकारीको व्यवस्था गर्‍यौं । २ कार्यकाललाई त्यहाँबाट हटाउने कुरा गर्‍यौं । ७० वर्ष हामीले कायम गर्‍यौं । प्रदेश कमिटीका अध्यक्षको स्टाटस केन्द्रीय कमिटीको पदेन सदस्यका रुपमा रहने भनेर महाधिवेशनभन्दा अगाडि बसेको केन्द्रीय कमिटीले संस्थागत प्रस्ताव गरेर राष्ट्रिय महाधिवेशनबाट संशोधन गर्‍यौं ।

हाम्रो मर्यादामा पनि राष्ट्रिय महाधिवेशन सबैभन्दा माथिल्लो निकाय हो । विधान महाधिवेशन त्यो भन्दा तल हो । प्रतिनिधि परिषद र केन्द्रीय कमिटी क्रमशः हाम्रो मर्यादाक्रम हो । त्यस कारण विधान महाधिवेशनले पास गरेका कतिपय कुराहरु चिवतवन महाधिवेशनबाट हामीले संशोधन गर्‍यौं ।

त्यो पढाइको अभावले हो, या बुझाइको समस्याले हो अथवा अर्को महाधिवेशनको ज्वरो चढेर हो आफैं बसेर गरेका यी निर्णयमा पनि कतिपय हाम्रो पार्टीका नेता साथीहरूको सार्वजनिक सञ्जाल र अभिव्यक्तिहरु हेर्दाखेरि चाहिँ आफैंले गरेको निर्णयप्रति पनि यो तीन वर्षसम्म नबुझ्ने कुरा पनि मलाई लाग्छ, महाधिवेशनमा हामी समीक्षाको विषय बनाउँछौं ।

पूर्वराष्ट्रपति आउने/नआउने कुरोमा बाटै रोक्नुपर्छ भन्ने कुरा होइन । तर वैधानिक व्यवस्थाका बारेमा दुई कार्यकाल र ७० वर्षको बारेमा विधानबाट हुन्छ ।

पूर्वराष्ट्रपतिको आगमनले आत्तिनुपर्ने कुरा के छ ?

हामी आत्तिएकै छैनौं । वर्तमान परिस्थितिमा खारिएको, माझिएको दृष्टिकोण भएको, निर्णय गर्न सक्ने र राष्ट्रिय अन्तर्राष्ट्रिय हिसाबमा पनि एमालेलाई पहिलो शक्तिका रुपमा पुर्‍याउनका निम्ति केपी ओलीको नेतृत्व अझै जरुरी छ भनेका छौं ।

यसको अर्थ अरुको विरोध होइन । अरु प्रति हाम्रो सहानुभूति नै छ । सहयोग गर्ने कुरा, उहाँले नेतृत्व गर्ने इच्छा राख्ने कुरा प्रति हामीले अनेच्छा र अनादर त प्रकट गरेकै छैनौं नि ।

विद्या भण्डारी पार्टीमा आएपछि सहज रुपमा सास फेर्न पाउँछौं भन्ने पनि छन्, पार्टीभित्र यतिसम्मको उकुसमुकुस किन भएको होला ?

उहाँ आउने कुरा आफैंमा नराम्रो छैन । उहाँ आउने कुरा पार्टीको अहिलेको आवश्यक्ता, परिस्थिति होइन । मुलुकको यो स्थितिमा उहाँको इच्छा हुनु, आउने कुरा गर्नु एउटा कुरा हो । तर आवश्यक्ताले उहाँभन्दा राम्रो केपी ओली हुँदैहुनुहुन्छ भन्ने कुरा छ । उहाँप्रति हाम्रो सकारात्मक सद्भाव नै छ । तर एमाले जनहरू भन्दा पनि एमाले बाहिरका जनहरू किन यसमा संलग्न भएका छन् ? भन्ने कुरा चाहिँ मलाई लाग्छ । प्रश्न गर्ने साथीहरूले पनि, हामीले पनि र सम्माननीय पूर्वराष्ट्रपतिज्यूले पनि सोच्नुहुन्छ र हामी महाधिवेशनसम्म पुग्दा एउटा साझा निष्कर्षमा पुग्छौं भन्ने मलाई विश्वास लागेको छ ।

सम्बन्ध चिसिएका बेला बालेनलाई घरमै बोलाएर भेट्नु अध्यक्षलाई चिढ्याउने भन्दाबाहेक के होला ?

पूर्वराष्ट्रपतिले बोलाएर भेट्नु भयो भन्ने कुरा भन्दा पनि काठमाडौंको समस्या समाधान गर्ने कुराका निम्ति काठमाडौंका मेयर सा’बले भेट्नु भयो भन्ने मेरो सूचना हो ।

एउटा मुलुकको सम्माननीय राष्ट्रपतिको जिम्मेवारी पूरा गरिसक्नु भएको अनुभवी नेतृत्वलाई यहाँका मेयर सा’ब र अरुले भेट्ने कुरा चाहिँ अन्यथा कुरा होइन । उहाँले बोलाएर भेट्नु भो कि उहाँसँग टाइम लिएर भेटियो भन्ने कुरा चाहिँ उहाँहरु स्वयंसँग बुझ्नुपर्छ । तर मेरो बुझाइमा यहाँका कतिपय समस्याहरू समाधानका निम्ति अभिभावकका रुपमा उहाँ सम्माननीय पूर्वराष्ट्रपतिलाई भेट्न जानु भएको भन्ने मात्र मेरो सूचनामा छ ।

‘घुस डिल काण्ड’बारे के भन्नु हुन्छ?

एमालेभित्रका जो कोही पनि अनियमितता गरेर उम्किँदैन, बच्दैन । प्रपोगाण्डाको पनि कानुनी रुपमा उपचार खोजिन्छ । हाम्रा पार्टीका सचिवलाई बिनाअभियोग अहिलेसम्म जेलमै राखिएको छ भने त्यसलाई सम्मान गरेर सहयोग गरेकै पार्टी भएकाले गर्दा अनियमितता गरेर एमालेमा बस्ने छुट कसैलाई हुँदैन ।

यसको बारेमा प्रश्न उठेकै छ, प्रधानमन्त्रीज्यूले पनि ध्यान दिनु भएकै छ । एमाले पङ्क्तिभित्र पनि कुरा उठेको छ । यसको सत्य तथ्य एमालेको तर्फबाट र सरकारको तर्फबाट छिट्टै सार्वजनिक हुन्छ ।

भदौमा विधान महाधिवेशन हुँदैछ, राष्ट्रपति भइसकेको व्यक्ति पार्टीमा फर्कने विषयमा पनि विधान महाधिवेशनमा छलफल गर्नुपर्छ भन्ने विषय सुनिन्छ त्यो एजेण्डा पनि प्रवेश होला ?

नेकपा एमाले माक्र्सवाद, लेनीनवाद र जनताको बहुदलीय जनवादको आधारमा अघि बढेको पार्टी हो । यो व्यक्तिको भावनालाई नियन्त्रण गर्ने कुरा भन्दा पनि आवश्यक्ताका बारेमा छलफल गरेर हामी निष्कर्षमा पुग्छौं । एमालेमा पनि, समाजमा पनि, अरु पार्टीहरूको बीचमा पनि सम्मानित राष्ट्रपति भइसक्नुभएको व्यक्ति फेरि पार्टीमा फर्कने कुरा …
सेनाको परमसेनाधिपति राष्ट्रको एकताको प्रतीक, त्यसको अभिभावक भएको व्यक्ति आउनु उपयुक्त हुन्छ कि हुँदैन, फेरि पार्टीको सक्रिय राजनीतिमा भन्ने बहस छ तर विधानका प्रावधानले छेक्ने कुरामा एमाले लाग्दैन ।

किनभने व्यक्तिको मौलिक स्वतन्त्रताको कुरा, प्रतिस्पर्धाको कुरा र अन्य विधिलाई विधिबाट नै टुङ्ग्याइन्छ । पहिले सहमतिबाट गरिन्छ, सहमतिबाट भएन भने विधिबाट यसको निकास खोजिन्छ । रोकठोक गरेर विभिन्न बहाना बनाएर प्रतिस्पर्धामा आउन नदिएर त्यो खालको विधिमा एमाले जाँदैन भन्ने मेरो विश्वास छ ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ७ : ११ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग