‘स्वदेशी वस्तुको निकासी प्रवर्द्धन सहज बनाउन प्राधिकरण आवश्यक’ | Khabarhub Khabarhub

‘स्वदेशी वस्तुको निकासी प्रवर्द्धन सहज बनाउन प्राधिकरण आवश्यक’


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वदेशी वस्तुको निकासी प्रवर्द्धन सहज बनाउन प्राधिकरण आवश्यक रहेको विज्ञहरूले सुझाएका छन् । 

प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले शुक्रबार आयोजना गरेको ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ माथि विषय विज्ञहरूसँग छलफलमा विज्ञहरूले छुट्टै स्वायत्त प्राधिकरणको आवश्यकता औँल्याएका हुन् ।

पूर्वमुख्यसचिव लीलामणि पौडेलले मुलुकमा स्वावलम्बी अर्थतन्त्रका लागि निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने र यसका लागि छुट्टै स्वायत्त संस्थाका रूपमा प्राधिकरण गठन गर्न सकिने गरी विधेयकमा व्यवस्था गर्न सुझाव दिए । 

‘वैदेशिक लगानीका विषयमा ऐनमा स्पष्ट व्यवस्था गरिएको छैन । लगानीका चुनौतीलाई पनि विधेयकमा समेट्न आवश्यक छ’, उनले भने, ‘नेपालमा उत्पादित वस्तुको गुणस्तर प्रमाणीकरण गर्ने विषयवस्तु ऐनमा समावेश गर्नुपर्छ । यसका साथै आयातित वस्तुको गुणस्तर प्रमाणीकरण गर्न पनि जरुरी छ ।’

अर्का विज्ञ राजेश सिंहले स्वदेशी उत्पादनलाई विश्व बजारमा पुर्‍याउन र निकासी सहजीकरणको लागि प्राधिकरण गठन गर्न सुझाव दिए ।

‘उद्योग प्रवर्द्धनलाई सहजीकरण गर्नेगरी यो विधेयक ल्याउनुपर्छ । स्वदेशी वस्तुलाई विश्वमा चिनाउनका लागि अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्न आवश्यक छ’, उनले भने ।

पूर्वसचिव शङ्कर पाण्डेले नेपाल आयातमुखी बढी भएको भन्दै आयातभन्दा निर्यात प्रवर्द्धनलाई जोड दिने गरी विधेयक ल्याउनुपर्ने सुझाव दिए। निकासी बढाउन स्वदेशी उद्योगका लागि लगानीमैत्री वातावरण बनाउनसमेत उनको सुझाव छ ।

समितिका सभापति अब्दुल खाँनले विज्ञलगायत अन्य सरोकार भएकाहरूले दिएका  सुझावलाई सम्बोधन गर्न विधेयकमाथि थप छलफल गरिने बताए ।

सांसद रणेन्द्र बरालीले विधेयकलाई आवश्यकताका आधारमा पुनर्लेखन गर्नुपर्ने धारणा राखे । 

विदेशी व्यापारलाई व्यवस्थित, पारदर्शी र सहज बनाउन, आयात निर्यात प्रक्रियामा एकरूपता ल्याउनेलगायात नियन्त्रण तथा प्रोत्साहनसम्बन्धी व्यवस्थालाई अद्यावधिक गर्ने गरी विधेयकको मस्यौदा तयार गरिएको हो ।

विधेयकमा आयात निर्यातका लागि सङ्केत नम्बर, निश्चित वस्तु वा सेवामा इजाजत पत्र अनिवार्य वा प्रतिबन्धको व्यवस्था, विशेष अवस्थामा आयात निर्यातमा रोक वा नियन्त्रण तथा अन्तर्राष्ट्रिय प्रदर्शनी, मेला आदिका लागि छुट र सुविधाजस्ता प्रावधान  समावेश गरिएका छन् ।

यस्तै, भन्सार नाकाबाट मात्र आयात निर्यात गर्नुपर्ने स्पष्टता, विशेष उद्योग र वस्तुका लागि प्रोत्साहन र सुविधा, निर्यात प्रवर्द्धन कोष गठन, विदेशी कम्पनीले नेपालमा सम्पर्क कार्यालय स्थापना गर्ने व्यवस्थाजस्ता प्रावधान विधेयकमा समेटिएका छन् ।

मस्यौदा विधेयकमा विदेशी व्यापारलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने, आयात निर्यातसम्बन्धी कानुनलाई अद्यावधिक, संशोधन र एकीकरण गर्ने तथा राजस्व, उद्योग, व्यापार र आपूर्ति क्षेत्रमा प्रतिस्पर्धा, सुरक्षा र सुविधा बढाउने लक्ष्य राखिएको छ । रासस

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ६ : १९ बजे

मधेशकेन्द्रित दलको एकता प्रयास : पुग्ला त भ्यागुताको धार्नी ?

काठमाडौँ – नेपालको राजनीतिमा साना दलहरू बेलाबखत एकताको प्रयास गर्दै

रूसको कारखानामा भीषण आगलागी, ४ जनाको मृत्यु

मस्को – रूसको पश्चिमी क्षेत्र र्याजानस्थित एक कारखानामा शुक्रबार बिहान

‘झरी पछिको इन्द्रेणी’ को अस्ट्रेलिया राइट्स बिक्री

काठमाडौं– प्रदर्शन अगाडि नै चर्चामा रहेको चलचित्र  ‘झरी पछिको इन्द्रेणी’

जसपा नेपालले देशव्यापी आईटी सेल निर्माण गर्दै

काठमाडौं– जनता समाजवादी पार्टी नेपालले देशव्यापी प्रत्येक जिल्लामा आईटी सेल