काठमाडौं– गत साउन १३ गते कांग्रेस संसदीय दलको नेतामा अल्पमतमा परेपछि बागमतीका तत्कालीन मुख्यमन्त्री बहादुर सिंह लामाले तीन मन्त्री नियुक्त गरे ।
अर्का सांसद इन्द्र बानियाँसहितको योजनामा अल्पमतमा परिसकेको अवस्थामा साउन १४ गतेको मितिमा लामाले तीनजना मन्त्री नियुक्त गरेका थिए ।
दलको नेताबाट विश्वासको मत गुमाएको एक दिनपछि उनले रिक्त रहेका तीन मन्त्रालयमा मन्त्री नियुक्त गरेका थिए ।
तर मुख्यमन्त्री लामाले मन्त्री बनाएका कांग्रेसका प्रदेशसभा सदस्य गोविन्द लम्सालसहितले शपथ पनि गर्न पाएनन् ।
आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका लम्साल, युवा तथा खेलकुदमन्त्री बनेकी माया श्रेष्ठ र सहकारी तथा गरिबी निवारणमन्त्री बनेका गीता गुरुङले शपथ नै लिन नपाई बिदा हुनुपरेको छ ।
इन्द्र बानियाँ दलको नेता बनिसकेको अवस्थामा कांग्रेसभित्रको घर झगडाका कारण ती मन्त्रीले शपथ लिन पाएनन् । साउन १५ गतेका लागि शपथ कार्यक्रम राखिए पनि प्रदेश प्रमुख दीपक प्रसाद सापकोटा बिरामी भएको भन्दै काठमाडौं हिँडिदिए । उनी काठमाडौंमात्रै आएनन्, केही दिन अस्पताल नै भर्ना हुन पुगे । परेका हुन् ।
सत्ता साझेदार नेकपा एमालेले पनि लामाले नियुक्त गरेका मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण नगराउन भनेको अवस्थामा देवकोटा बिरामी परेर अस्पताल भर्ना भइदिए ।
प्रदेश प्रमुख देवकोटा अस्पताल भर्ना भइसकेपछि तीन मन्त्रीको शपथ अलपत्र पर्यो । त्यसपछि तत्कालीन मुख्यमन्त्री आफैँ काठमाडौं हानिए ।
काठमाडौंमा साउन १७ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बूढानीलकण्ठ पुगेर उनले छलफल गर्न भ्याए । जहाँ उनले देउवाको निर्देशन शर्तसहित मान्ने अडान राखे ।
बागमती प्रदेशमा राजनीतिक उथलपुथलपछि साउन १४ मा देउवालाई भेटेका लामाले साउन १७ गते दोस्रोपटक भेट्दा आफूले राजीनामा दिनुपरे साउन १४ मा नियुक्त तीन मन्त्रीलाई आउँदै गरेका मुख्यमन्त्री इन्द्र बानियाँको क्याबिनेटमा निरन्तरता दिनुपर्ने अडान राखे ।
देउवासँगको भेटमा मुख्यमन्त्री लामाले साउन १४ मा नियुक्त तीन मन्त्रीलाई आगामी सरकारमा समेत निरन्तरता दिने शर्तमा राजीनामा दिन तयार भएको बताएका थिए ।
उनले कांग्रेसकै नेतृत्वमा बन्ने सरकारमा शपथ लिन नपाएका तीन मन्त्रीलाई निरन्तरता दिने शर्तमा सहमति जुटेको जानकारी आफूनिकटलाई दिएका थिए । देउवासँगको त्यही सहमतिका आधारमा आफूले राजीनामा दिने पनि उनले बताएका थिए ।
देउवासँगको छलफलमा सहभागी प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले तीनजना मन्त्रीलाई आगामी सरकारमा समेत निरन्तरता दिने सहमति भएको सार्वजनिक रुपमा बताएका थिए ।
तर, देउवासामु तीन मन्त्रीलाई निरन्तरता दिने गरी लामाले राजीनामा दिएको बताइरहँदा शुक्रबार बागमती मन्त्रिपरिषद् १४ सदस्यी हुँदा त्यस्तो दृश्य देखिएन ।
मुख्यमन्त्री इन्द्र बानियाँले कांग्रेसका ८ र एमालेका ६ जना मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् १४ सदस्यीय बनाउँदा लामाले नियुक्त गरेर शपथ खान नपाएका तीनैजना छुटेका छन् ।
१४ साउनमा आन्तरिक मामिला तथा कानुनमन्त्री बनेर शथप लिन नपाउँदै पद गुमाएका सांसद गोविन्द लम्सालले सभापति देउवा सहमति पालनामा चुकेको बताए ।
२७ साउनमा मुख्यमन्त्री बानियाँले विश्वासको मत लिँदा लामासहितको पनि साथ पाए । उनलाई कांग्रेस र एमालेसहित बागमती प्रदेशका ६३ सांसदले मत दिएका थिए । जसमा लामा पक्षका सबै सांसदको पनि मत जोडिएको थियो ।
तर शपथ लिन नपाएका लम्सालले सभापति देउवाले सम्झौताको पालना नगरेको बताए । ‘हामीले बूढानीलकण्ठमा भएको सम्झौता पालना हुन्छ भने विश्वासको मत हाल्न गएका थियौँ’, उनले खबरहबलाई भने, ‘तर बूढानीलकण्ठमा भएको सहमति शुक्रबार मन्त्रिपरिषद् १४ सदस्यीय पुग्दा पनि पालना भएन ।’
लम्सालले सहमति पालना नभएको विषय पार्टीमा छलफलका लागि उठाइने पनि बताए । ‘त्यो कांग्रेसको आन्तरिक कुरा भयो । तर सहमति किन पालना भएन ? यसबारे हामी पार्टीमा कुरा गर्छौँ ।’
प्रतिक्रिया