बागलुङमा परम्परागत जोगी नाच प्रदर्शन « Khabarhub

बागलुङमा परम्परागत जोगी नाच प्रदर्शन


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

गण्डकी – नेवार समुदायमा यतिबेला विभिन्न जात्रा र नाचको रौनक चलिरहेको छ । पोखरा, बागलुङलगायत नेवार बस्तीमा दैनिकजसो परम्परागत नाच प्रदर्शन भइरहेका छन् ।

घण्टाकर्ण पर्वदेखि नेवार समुदायमा सांस्कृतिक गतिविधि सुरु हुन्छन् । ठूला चाडबाड आउनुअघि चल्ने यस्ता जात्रा र नाचले पर्वमय माहोलको छनक दिन्छन् । आज बागलुङ बजारमा करिब तीन सय वर्ष पुरानो जोगी नाच प्रदर्शन गरिएको छ । जोगीको भेष धारण गरेर कलाकारले आफ्नौ मौलिक नाच देखाएका हुन् ।

शाक्य कल्याण समाजको अगुवाइमा नाच निकालिएको थियो । समाजका सल्लाहकार मुकुन्द शाक्यले नेवार जाति काठमाडौँ उपत्यकाबाट बसाइँसराइ गरेर आउँदा उक्त नाच पनि सँगै लिएर आएका बताए ।

“हाम्रा पूर्वजहरूले नाच्दै आएका जोगी नाचलाई निरन्तरता दिँदै आएका छौँ, सांस्कृतिक धरोहरका रूपमा यो जीवित छ”, उनले भने, “झण्डै तीन सय वर्षदेखि यो नाच बागलुङमा अस्तित्वमा छ, अन्यत्र जोगी नाच खासै नाचिएको पाइँदैन । जोगी नाचमा ताण्डव र हिँडाउने गरी दुई तालमा कलाकारलाई नचाउने गरिएको छ ।”

पहिले जोगी नाचमा चार ताल रहेपनि दुई ताल हराइसकेका सल्लाहकार शाक्यले जानकारी दिए । उनका अनुसार यस नाचमा जोगीको भेषमा सजिएर मृदङ्ग र झ्यालीको विभिन्न तालमा लस्कर लागेर नाच्ने प्रचलन छ ।

यसपालि अधिकांश युवा पुस्ताका कलाकारलाई नाचमा समेटिएको समाजका अध्यक्ष बाबुलाल शाक्यले जानकारी दिए । उनका अनुसार पुस्तान्तरण नहुँदा परम्परागत नाच लोप हुने खतरा बढेपछि नयाँ पुस्तालाई नाच सिकाउन सुरु गरिएको हो ।

अध्यक्ष शाक्यका अनुसार मनोरञ्जनसँगै सामाजिक एकता र सद्भावको सन्देशका रूपमा जोगी नाच नचाउने गरिएको छ । जोगी नाचले सामाजिक एकता, भाइचारा बढ्ने, आसुरी प्रवृत्तिको नास हुने र सहकाल आउने विश्वास गरिन्छ ।

बागलुङका नेवारहरूले जोगीसँगै अन्य परम्परागत नाचलाई पनि संरक्षण गर्दै आएका छन् । बर्सेनि भदौरै जात्रामा ती नाचहरू प्रदर्शन गर्ने गरिएको छ ।

जनैपूर्णिमादेखि कृष्णाष्टमीसम्म भदौरे जात्रा निकाल्ने प्रचलन रहेको नेपाल भाषा मंकाः खलः बागलुङका अध्यक्ष जयराज भारीले बताए । शाक्य कल्याण समाज र मंकाः खलःले संयुक्त रूपमा यस वर्ष जात्राको आयोजना गरेको उहाँको भनाइ छ । भदौरै जात्राअन्तर्गत लाखे, बास्सा, रोपाइँ, होवा, जोगी, कटुवाल, घोडालगायत नाच तथा झाँकी प्रदर्शन गर्ने गरिएको उहाँले जानकारी दिए।

गाईजात्रा पर्वको अवसर पारेर वर्ष दिनभित्र दिवङ्गगत भएका आफन्तको सम्झनामा तायामचाः र बास्सा नाच निकाल्ने गरिन्छ । यस वर्ष तीजसम्म लाखे नाच देखाइने खलःका अध्यक्ष भारीले उल्लेख गरे । “लाखे र जोगी नाच शाक्य कल्याण समाजले निकाल्दै आएका छन् । अन्य नाच नेपाल भाषा मकां खलःअन्तर्गत संरक्षित छन् । नेवार युवाहरूको संस्था नेवाः ल्याम्ह पुचः पनि जात्रा संरक्षणमा सक्रिय छ”, उनले भने ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  १० : ४३ बजे

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले