सभामुखलाई ज्ञानेन्द्र शाहीले भने : जेन-जीका माग पूरा नभएसम्म संसद् पुनःस्थापना नगरौँ « Khabarhub

सभामुखलाई ज्ञानेन्द्र शाहीले भने : जेन-जीका माग पूरा नभएसम्म संसद् पुनःस्थापना नगरौँ


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई कठोर सर्तसहितको सुझाव दिएका छन् ।

संसद् पुनःस्थापनाको विषयमा राष्ट्रिय सहमति जुटाउन बुधबार सिंहदरबारमा बोलाइएको प्रमुख राजनीतिक दलहरूको बैठकमा शाहीले जेन-जीका माग पहिले पूरा हुनुपर्ने अडान राखेका हुन् ।

उनले देशमा गहिरिँदै गएको राजनीतिक अस्थिरता र जनअसन्तुष्टिको मूल कारण संरचनागत त्रुटिहरू भएको बताउँदै ‘जेन-जीका माग’ पूरा गर्ने सुनिश्चितता भएपछि मात्रै संसद् पुनःस्थापनाको मुद्दा अघि बढाउन सभामुखलाई आग्रह गरे ।

सभामुख घिमिरेले ११ राजनीतिक दललाई बोलाएर संसद पुनःस्थापनाको आवश्यकता र प्रक्रियाबारे छलफल गरेका हुन् । मंगलबार मात्रै संसद् पुनर्स्थापना माग गर्दै सर्वोच्च अदालतमा १० वटा रिट परेलगत्तै सभामुखले छलफल थालेका हुन् ।

बैठकमा राप्रपाका तर्फबाट सहभागी प्रवक्ता शाहीले संसद्लाई निरन्तरता दिने वा पुनःस्थापना गर्ने भन्दा देशलाई सही दिशातर्फ लैजान आधारभूत सुधार आवश्यक रहेको बताए ।

संसद पुनःस्थापनाको सर्त : ‘जेन-जीका माग सम्बोधन

प्रवक्ता शाहीले वर्तमान राजनीतिक प्रणालीको असफलता औँल्याउँदै देशले भोगिरहेको अस्थिरता, भ्रष्टाचार र कमजोर शासन व्यवस्थालाई समाधान गर्न तत्काल ८ बुँदे संरचनागत सुधारको खाका प्रस्तुत गरेका छन् ।

राप्रपा नेता शाहीले यी मागहरू पूरा गर्ने प्रतिबद्धता संसद्बाट नआएसम्म पुनःस्थापनाको प्रक्रिया रोक्नुपर्ने अडान लिएका छन्।

मुख्य माग

१. प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री: राजनीतिक नेतृत्वमा बलियोपन र स्थिरता कायम गर्नका लागि वर्तमान अस्थिर संसदीय प्रणालीको सट्टा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रणाली लागू गर्न राष्ट्रिय बहस थाल्नुपर्ने।

२. प्रदेश संरचना खारेज : राज्यको दोहोरो खर्च बढाएको र सेवा प्रवाहमा प्रभावकारिता नल्याएको भन्दै वर्तमान प्रदेश संरचना तत्काल खारेज गर्नुपर्ने। संघीयतालाई केन्द्र र बलियो स्थानीय तहमा सीमित गर्न अध्ययन र सहमति खोजिनुपर्ने।

३. गैरदलीय स्थानीय तह: स्थानीय विकास र सेवा प्रवाहलाई दलगत राजनीतिकरणबाट मुक्त गर्न गैरदलीय (दलगत राजनीतिमुक्त) स्थानीय तहको अवधारणा लागू गर्नुपर्ने।

४. संवैधानिक निकायमा राजनीतिक नियुक्ति बन्द: संवैधानिक निकायहरूको निष्पक्षता, मर्यादा र विश्वास कायम राख्न राजनीतिक प्रभावमुक्त र योग्यता–क्षमताका आधारमा मात्र नियुक्ति गर्ने प्रणाली विकास गर्नुपर्ने।

५. राष्ट्रिय एकता कायम राख्ने नीति: देशमा राष्ट्रिय एकता, सद्भाव र सामाजिक समावेशिताको भावना सुदृढ गर्न ठोस नीति र कार्यान्वयन योजना आवश्यक पर्ने।

६. भ्रष्टाचार नियन्त्रणका लागि कठोर कानुन: भ्रष्टाचारलाई जरैदेखि निर्मूल गर्न र दोषीलाई कडा सजाय दिन सक्ने सशक्त कानुनी व्यवस्था तत्काल निर्माण गर्नुपर्ने।

७. प्रतिनिधि सभाको उमेर सीमा घटाउने: १८ वर्षका नागरिकले भोट हाल्ने अधिकार पाएकाले उम्मेदवार बन्नका लागि उमेर सीमा २५ वर्षबाट घटाएर १८ वर्ष गर्नुपर्ने।

८. अनलाइन मतदान प्रणालीको व्यवस्था: विदेशमा रहेका नेपाली श्रमिक, विद्यार्थी र पेशाकर्मीहरूलाई निर्वाचन प्रक्रियामा सहभागी गराउन सुरक्षित, विश्वसनीय र पारदर्शी अनलाइन मतदान प्रणाली लागू गर्नुपर्ने।

सुधारबिना देशको गन्तव्य बदलिँदैन

प्रवक्ता शाहीले भने, ‘यी संरचनागत र सुधारात्मक पहल बिना गरिने कुनै पनि निर्वाचनले देशको गन्तव्यमा तात्विक परिवर्तन ल्याउन सक्दैन।’

उनले बारम्बार हुने निर्वाचनले समय र स्रोतको मात्र बर्बादी बढाउँछ र देशलाई अझ पछाडि धकेल्ने बताएका छन्।

राप्रपाले सभामुख घिमिरेलाई यी बुँदाहरूमा राष्ट्रिय सहमति जुटाउन, राजनीतिक नेतृत्वलाई जिम्मेवार बनाउन र कार्यान्वयनको दिशामा निर्णायक पहल गर्न आग्रह गरेको छ।

राप्रपाले देश र जनताको हितमा ठोस सुधारका कदम नचालिँदासम्म संसद पुनःस्थापनाको प्रयास पूर्ण रूपमा अर्थहीन हुने जनाएको छ ।

बैठकमा सहभागी अन्य दलका प्रतिनिधिहरूले राप्रपाको अडान र मागहरूप्रति मिश्रित प्रतिक्रिया जनाएका छन्।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  १२ : ०४ बजे

हुरी तथा चट्याङसहितको वर्षाले हिउँदे बालीमा क्षति

गण्डकी– पोखरामा केही दिनयता आएको हुरी तथा चट्याङसहितको वर्षाले हिउँदेबालीमा

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम : के छ विशेष बुलेटिनमा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा

सम्पत्ति छानबिन आयोग खारेजको माग गर्दै दायर रिटको पेसी आज

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले गठन गरेको सम्पत्ति

टेक्ससको अस्टिनमा कन्सुलर घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा

अमेरिका– टेक्ससको ड्यालसस्थित नेपाली महावाणिज्य दूतावासले टेक्ससको राजधानी अस्टिनमा आयोजना

उच्च क्षमताका प्रसारण लाइन निर्माणमा सरकारको उच्च प्राथमिकतामा

काठमाडौँ– सरकारले उत्पादित बिजुलीलाई प्रमुख लोड सेन्टरहरुसम्म पुर्‍याउन, बढी भएको