कलाकार राजनीतिमा : जम्न सक्दैनन्, भेलमा हामफाल्ने क्रम जारी | Khabarhub Khabarhub

कलाकार राजनीतिमा : जम्न सक्दैनन्, भेलमा हामफाल्ने क्रम जारी


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 6 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत वर्षको फागुनको कुरा हो– तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीबारेको किताब ‘केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ विमोचन कार्यक्रममा उपस्थित गायक प्रकाश सपुत आलोचित बन्नुपर्‍यो । सामाजिक सञ्जालमा उनलाई बहिस्कार गर्ने ट्रेन्ड चल्यो ।

कार्यक्रममा गएको निहुँमै उनीविरुद्ध बहिस्कारसम्म ट्रेन्ड चलेको नभएर प्रधानमन्त्री ओलीको प्रशंसा गरेर हो ।

प्रशंसा गर्दै उनले ‘ओलीको जीवन प्रेरणादायी’ रहेको जीकिर गरे । उनले ओलीकाे प्रशंसामा राम्रै शब्द खर्चिए, समय भने झन्डै १० मिनेट ।

‘बाघ कराउनु र बाख्रा हराउनु एकै’ भएको हो कि के हो ? हिट सिर्जना दिइरहेका प्रकाशको फ्लप यात्रा त्यहीँबाट सुरु भयो ।
त्यसको एक महिनापछि प्रदर्शनमा आएका उनको डेब्यू लेखन र निर्देशन रहेको फिल्म ‘वसन्त’ फ्लप भयो । प्रकाशकै ‘गलबन्दी प्रोडक्सन’को ब्यानरमा बनेको उक्त फिल्म उनको ड्रिम प्रोजेक्ट थियो ।

बहिस्कारको ट्रेण्ड चलेयता उनका सबै सिर्जना फ्लप छन् । फ्लप बन्नुको कारण मध्येको एक ‘ओलीकै प्रशंसा’ मान्ने पनि छन् ।
त्यसयता प्रकाशको गीत ‘नाइँ भनेसी नाइँ’, तीन फिल्महरु ‘माइतीघर’, ‘हरिबहादुरको जुत्ता’ र ‘सोल्टिनी’ फ्लप भए ।

यति धेरै फ्लप सामना गरेपछि यसको दोष प्रकाशले ओलीको प्रशंसा गर्नुलाई थुपारिदिए । उनले ओलीको प्रशंसा गर्नु गल्ती भएको स्वीकारसमेत गरिसके । दर्शकले बहिस्कार गर्दा आफ्ना कामहरु व्यवसायिक रुपमा फ्लप भएको उनको बुझाइ छ ।

अब सिर्जना कमजोर हो कि ओलीको प्रशंसाले बहिस्कारमा परेर फ्लप सहनुपर्‍यो ? प्रकाशले समीक्षा गर्ने बेला भने पक्कै आएको छ । यति धेरै फ्लप सामान्य विषय होइन ।

जे होस्, प्रकाश अहिले राजनीतिदेखि डराएका छन् । प्रकाश जसरी अरु कलाकारहरु राजनीतिबाट डराएका पाइँदैन । कुनै पार्टी वा विचारमा खुलेरै झुकाव राख्ने कलाकार नेपाली रङ्गक्षेत्रमा मनग्य संख्यामा छन् ।

केही पार्टीलाई भित्रभित्रै सहयोग गरेर बाहिर ‘स्वतन्त्र हुँ’ भन्दै चोख्खिने पनि छन् । किनकि उनीहरुलाई थाहा छ– कलाकार सबैको हो, निश्चित विचार र सिद्धान्तलाई पछ्याउँदा दर्शकलाई सिर्जनामार्फत् अन्याय गर्ने जोखिम उच्च हुन्छ । पार्टीको झण्डा नबोक्दा नै कलाकारको नैतिकता उच्च हुन्छ ।

यद्यपि पार्टीमा लाग्नु कलाकारको व्यक्तिगत स्वतन्त्रता हो भन्ने तर्क पनि उस्तै मजबुत ढंगले प्रस्तुत हुने गर्छ । गर्नु पनि के ? चलचित्र क्षेत्रलाई नियमन गर्ने सरकारी निकाय चलचित्र विकास बोर्डको अध्यक्ष बन्न नै पार्टीका नेताको निगाह चाहिन्छ ।

पछिल्ला दुई अध्यक्षहरुकै कुरा गरौँ । नायक भुवन केसी कांग्रेसको आशीर्वादले बोर्डको अध्यक्ष बने ।

०८१ सालमा ओली प्रधानमन्त्री बनेपछि दिनेश डीसीको बालुवाटारको दौडधुप निकै बाक्लियो । बदलामा ओलीले उनलाई बोर्डको अध्यक्ष बनाइदिए ।

अब भुवन र दिनेश कुन पार्टी निकट होलान् ? त्यो किटान गर्न आवश्यक भएन । कुरा प्रष्टै छ ।

राजनीतिक नियुक्तिमा पाउने यस्ता पद सरकारको नेतृत्व गरेका दलकै निटकले पाउँछन् । यी दुईको हकमा त्यो लागू भएन कसरी भन्ने ? उनीहरु आफैँले पनि खण्डन गरेका छैनन् ।

विगतका अन्य बोर्डका अध्यक्षले ‘यो मान्छे यो दलको कार्यकर्ता’ भन्ने आरोप नखेपेका भने होइनन् ।

जो सक्रिय राजनीतिमा छन्

कलाकारितामा स्थापित भएका र अहिले राजनीतिमा सक्रिय रहेका दुई नाम हुन्– गायिका कोमल वली र नायिका रेखा थापा ।

राजदरबार निकट मानिने कोमलले ०७३ सालबाट सक्रिय राजनीति सुरु गरेकी हुन् । उनले त्यसबेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट राजनीति गर्ने घोषणा गदै गर्दा ‘कोमल दरबार निटक व्यक्ति हुन्’भनेर दाबी गर्नेले ‘देख्यौ त’सम्म भन्न भ्याएका थिए ।

तर, कोमलको मन राप्रपामा एक वर्ष पनि टिक्न सकेन । ०७३ साल मंसिरमा राप्रपा प्रवेश गरेकी उनी ०७४ असोजमै नेकपा एमालेमा प्रवेश गरिन् ।

त्यसयता उनी एमालेमै सक्रिय छिन् । उनी एमालेबाट ०७५ असारमा राष्ट्रिय सभा सदस्य बनिन् । ०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी दाङ–३ बाट एमालेको टिकटमा उठेर पराजित भइन् ।

अहिले पार्टीमा उनको हैसियत पूर्वराष्ट्रिय सभा सदस्य र केन्द्रीय सदस्य छ । गत भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनमा कोमलको लगानी रहेको दाङस्थित रेस्टुराँ आगलागी भएको थियो ।

कलाकारिताबाट आएर राजनीतिमा देखिने गरी स्थान बनाउने कोमल मात्रै हुन् ।

कलाकारिताबाट ओझलमा पर्दै गएपछि रेखा २०७० साल जेठमा नेकपा (माओवादी केन्द्र) प्रवेश गरिन् । माओवादीसँग उनी तीन वर्षमै अघाइन् । ०७३ मंसिरमा उनी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरिन् ।

माओवादीले चुनावमा टिकट नदिएको र चलचित्र विकास बोर्डको अध्यक्ष बनाउन नसकेको असन्तुष्टिले उनले पार्टी परित्याग गरेको त्यसबेला निकै चर्चा थियो ।

राप्रपा प्रवेश गरेपछि ०७८ सालमा रेखा पार्टीको महिला महामन्त्रीमा पदमा पराजित भइन् । उनको पराजित पार्टीमा मात्रै सीमित भएन । ०७९ प्रतिनिधिसभा चुनावमा उनी मोरङ–३ बाट पराजित भइन् ।

अन्य बेला चुपचाप बसेको देखिए पनि पार्टीको चुनाव वा आम निर्वाचनमा रेखाको राजनीतिक सक्रियता देखिन्छ ।
तर, रेखाले राजनीतिमा आफ्नो स्थान बनाउन भने सकेकी छैनन् ।

अर्का कलाकार हिमेश पन्त रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको सक्रिय राजनीतिमा छन् । कलाकारितालाई पनि उनले निरन्तरता दिइरहेका छन् ।

०७९ को निर्वाचन ताका बनेको स्वतन्त्र उम्मेदवार प्रतिको महोलको रापतापमा खोलिएको पार्टीबाट हिमेश राजनीतिमा लागेका हुन् ।

उनले धादिङबाट चुनाव लडे तर जितेनन् । अहिले न उनको राजनीतिले गति लिएको छ, न कलाकारिता यात्राले । तथापि उनी दुई डुङ्गामा खुट्टा हालिरहेका छन् । यसरी कता पुग्लान् हिमेश ?

करिश्मालाई जेन–जीले छुटायो

डा. बाबुराम भट्टराईले माओवादी छाडेर ‘नयाँ शक्ति’ पार्टी घोषणा गरेदेखि नै नायिका करिश्मा मानन्धर राजनीतिमा प्रवेश गरेकी हुन् । त्यसबेला करिश्मा पार्टीमा सक्रिय भएरै लागिन् । तर, उनले आफ्नो राजनीतिक स्थान बनाउन भने सकिनन् ।

०७८ सालमा करिश्माको मन फेरियो । त्यस वर्षको चैतमा उनी एमाले प्रवेश गरिन् । ०७९ सालको प्रतिनिधि सभामा उनले टिकट पाउने चर्चा एकदमै चलेको थियो तर, पाइनन् ।

करिश्माको एमालेमा पनि धेरै मन अडिएन । ०८२ सालको भदौ अन्तिममा उनले पार्टी परित्याग गरिन् ।

भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलमा प्रदर्शनकारीले ज्यान गुमाएपछि सरकारमा रहेको आफ्नो पार्टीबाट राजीनामा दिएको उनले घोषणा गरिन् ।

अब उनी राजनीतिमा नलाग्ने अडानमा छिन् । करिश्मा राजनीतिमा जस्तो हात गएको त्यस्तै फर्किइन् । सिधा भन्दा खाली गएर रित्तै फर्किइन् ।

जेन–जीको भेलमा छिर्नेहरु

नेपालमा हरेक १० वर्षमा ठूलो राजनीतिक परिवर्तन भएको पाइन्छ । पछिल्ला दशकमा कलाकारहरुमा राजनीति अस्थिरता र देशको परिस्थितिबारे आम जनता जस्तै फ्रस्टेट नै भएको पाइन्छ । विकसित राष्ट्रमा कलाकारको पलायनको मुख्य कारण पनि यही हो ।

जसरी आम जनता राजनीतिक परिवर्तनमा उदायका शक्तिसँग आशा राख्छन् र झुकाव लिन्छन्, त्यही कुरा कलाकारमा पनि देखिन्छ ।

०६२/०६३ को परिवर्तनपछि कलाकारहरुले माओवादी पार्टीमा आशा राखे । धेरैले खुलेरै माओवादीको समर्थन गरे । केही त पार्टी प्रवेश नै गरे ।

अरुका कुरा नगरौँ त्यस समय कलाकारितामा उचाइ बनाएका नीर शाह पनि माओवादी बनेको चर्चा चल्यो । उनले स्वतन्त्ररुपमा आफू माओवादी गएको भने पुष्टि गरेनन् ।

तर, ०७० दोस्रो संविधान सभा चुनावमा उनले नेपाली कांग्रेस नेता प्रकाशमान श्रेष्ठलाई भोट मागेका थिए । अहिले उनी कांग्रेस निकट छन् ।

नायिका रेखा थापा माओवादी नै प्रवेश गरिन् । त्यस समय माओवादीसँग समर्थन भाव राख्नेहरुको सूची लामो छ ।

०७९ वैशाखमा स्थानीय तहको चुनाव भयो । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवारको रुपमा र्‍यापर बालेन्द्र शाह उठे । स्वतन्त्र उम्मेद्वार बालेन्द्रले राम्रै चुनावी माहोल बनाए ।

त्यसबेला उनको समर्थनमा कलाकार खुलेरै लागे । निर्देशक निश्चिल बस्नेत, कलाकार दीपकराज गिरी, गायिका इन्दिरा जोशीलगायत बालेन्द्रको पक्षमा खुलेरै लागे । यो सूचीमा अन्य कलाकारहरु पनि छन् । यहाँ उचाइ लिएका कलाकारहरुको मात्रै नाम लिइएको हो ।

यही स्वतन्त्रको लहर छोप्न रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी खोले । ०७९ को प्रतिनिधि सभा लक्षित गरी खुलेको यही पार्टीबाट युवा कमेडियनका रुपमा उदायका हिमेश पन्त उम्मेद्वार बने ।

खुलेरै भोट नमागे पनि कलाकारहरुले यो पार्टीमा सहानुभूति राखेको पाइन्छ । सहकारी ठगीमा कारागारमा रहेका रविलाई निकाल्ने उद्देश्यले पार्टीले थालेको हस्ताक्षर अभियानमा कलाकारको सहभागीता यसको बलियो उदाहरण हो ।

नायक विपीन कार्की, गायक खेम सेञ्चुरी, राजाराम पौडेल, खगेन्द्र लामिछाने, नायक रमेश उप्रेतीलगातका कलाकार उक्त अभियानमा सहभागी भएका थिए ।

भदौ २३ र २४ को जेन–जी आन्दोलनले नयाँ राजनीतिक कोर्स लियो । यो आन्दोलनमा निर्देशक निश्चल बस्नेत, रिमा विश्वकर्मा, पल शाह, नायक पारस बम ‘कुल ब्वाइ’, साजन श्रेष्ठ, रचना रिमाल, रवीन्द्रसिंह बनियाँलगातका दर्जनौं कलाकार फिल्डमा नै उत्रिएका थिए । सामाजिक सञ्जालबाट आन्दोलनको समर्थन नगर्ने कलाकार एकदमै कम छन् ।

यो आन्दोलनले सडकबाट दुई दिनमै एमाले–कांग्रेस नेतृत्वको बलियो गठबन्धन सरकार ढल्यो । संविधान बाहिरबाट पूर्वप्रधानन्यायाधीश सुशीला कार्की देशको प्रधानमन्त्री बनिन् । प्रतिनिधिसभा विघटन भयो ।

सुशीला नेतृत्वको अन्तरिम सरकाले फागुन २१ मा प्रतिनिधिसभा चुनाव गराउने घोषणा गरेसँगै नयाँ दल दर्ता गर्ने क्रम बढ्दो छ ।

अहिले तीन नायिकाहरु दल दर्ताको कार्यक्रममा सहभागी भएका कारण चर्चामा छन् । अर्थात्, उनीहरु जेन–जीको ‘नयाँ अनुहारलाई राजनीतिमा स्थान’ भन्ने भावलाई क्यास गर्न तम्सिएका छन् । ती नायिकाहरु हुन्– निशा अधिकारी, रिमा विश्वकर्मा र एलिजा गौतम ।

फिल्म क्षेत्रमा जम्न नसके पनि एलिजा चर्चित छिन् । विभिन्न फन्डाले भाइरल भइरहने पत्रकार ऋषि धमलाकी श्रीमती भएर पनि उनी चर्चामा छिन् ।

जेन–जी आन्दोलनपछि गठन प्रक्रिया सुरु भएको नयाँ पार्टी ‘जनादेश पार्टी’को एलिजा उपाध्यक्ष बनेकी छन् । यस पार्टीको अध्यक्ष अधिवक्ता रमणकुमार कर्ण हुन् ।

एलिजा ०७९ माघबाट राजनीतिमा प्रवेश गरेकी हुन् । उनी त्यस समय नागरिक उन्मुक्ति पार्टीमा भित्रिइन् । प्रवेश गरको ८ महिनैमा अर्थात् ०८० भदौमा उनले पार्टी परित्याग गरिन् ।

त्यस्तै, अर्की नायिका रिमा विश्वकर्मा हालका ऊर्जामन्त्री कुलमान घिसिङको समर्थन रहेको भनिएको ‘उज्यालो नेपाल पार्टी’बाट राजनीतिमा प्रवेश गरेकी छिन् । उनलाई पार्टीको केन्द्रीय सदस्यको पद दिइएको छ ।

नायिका निशा अधिकारी पनि राजनीतिमा होमिएकी छिन् । उनले बुद्ध एयरका मालिक वीरेन्द्रबहादुरको बस्नेतको पार्टी ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’बाट राजनीति यात्रा सुरु गर्ने भएकी छिन् । उनलाई पार्टीले केन्द्रीय सदस्यको जिम्मेवारी दिएको छ ।

कलाकारहरु राजनीतिक भेलमा हाम फाल्दै आएको उदाहरणले जेन-जी आन्दोलनपछिको विकसित नयाँ कोर्शमा पनि निरन्तरता पाएको छ । हेरौँ– यी नायिकाहरुले आफू राजनीतिमा कत्तिको स्थापित गर्न सक्छन् !

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ७ : ३६ बजे

म्याग्दीको अन्नपूर्णमा टोल टोलमा स्वास्थ्य परीक्षण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले टोल टोलमा पुगेर सर्वसाधारणको स्वास्थ्य परीक्षण

शीतलहर सुरु हुनु पहिले नै व्यवस्थापनको पूर्वतयारी

महोत्तरी– बर्सेनि जाडो यामको शीतलहरले हुँदै आएको जनधनको क्षति रोक्न

तनहुँको ऋषिङमा दुई मतदान केन्द्र थप गर्न सिफारिस

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘म्यारिज ब्यूरो’ चलाएको आरोपमा काठमाडौंबाट चारजना चिनियाँ नागरिक पक्राउ

काठमाडौं– काठमाडौंको सोह्रखुट्टेका म्यारिज ब्युरो सञ्चालन गरेको आरोपमा चारजना चिनियाँ

कलाकार राजनीतिमा : जम्न सक्दैनन्, भेलमा हामफाल्ने क्रम जारी

काठमाडौं – गत वर्षको फागुनको कुरा हो– तत्कालीन प्रधानमन्त्री एवं