पालिकास्तरीय बाल कचहरी : बालविवाह अन्त्य गर्न माग « Khabarhub

पालिकास्तरीय बाल कचहरी : बालविवाह अन्त्य गर्न माग


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा आइतबार सम्पन्न पालिकास्तरीय बाल कचहरीबाट बालअधिकारको सुनिश्चितता, संरक्षण तथा प्रवर्द्धन र बालविवाह न्यूनीकरणका लागि १० बुँदे घोषणापत्र जारी भएको छ ।

बाल क्लबका प्रतिनिधि, जनप्रतिनिधि, शिक्षकसम्बद्ध सङ्घसंस्था र सरोकारवालाबीच धवलागिरि गाउँपालिकामा रहेको बालबालिकासम्बन्धी समस्या र समाधान उपायका विषयमा छलफल गरी घोषणापत्र जारी भएको हो ।

बालविवाह, विभेद, बाल मजदुरजस्ता सामाजिक कुसंस्कारका विरुद्ध सामूहिक आवाज उठाउन र त्यस्ता घटनाको न्यूनीकरणमा कटिबद्ध भएर लाग्ने, बालबालिकाको बाँच्न पाउने, संरक्षण, विकास र सहभागिताको नैसर्गिक अधिकारको परिपालनामा संवेदनशील र कार्यान्वयनमा प्रतिबद्ध रहने घोषणापत्रमा उल्लेख छ ।

विद्यालयमा बालमैत्री वातावरण र भौतिक संरचनालाई बालमैत्री बनाउने, विद्यालयमा सरकारले उपलब्ध गराउने सेनेटरी प्याडको गुणस्तरीयतामा ध्यान दिने, बालविवाह गर्ने र गराउनेलाई कानुनी दायरामा ल्याउने, गुणस्तरीय शिक्षा कायम गराउने, बालबालिकामा अन्तर्निहित प्रतिभा प्रस्फुटनको अवसर दिलाउने प्रतिबद्धता जनाइएको छ ।

विद्यालयमा दिवा खाजालाई पोषणयुक्त र आत्मनिर्भर बनाउन विद्यालयमै करेसाबारी बनाउने, विद्यालय तथा समुदायमा हुने सबै किसिमका विभेद तथा भेदभावविरुद्ध शून्य सहनशीलताको रणनीति अपनाइने घोषणापत्रमा उल्लेख छ ।

गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष देवेन्द्र रोकाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बालअधिकारको संरक्षण र बालविवाह न्यूनीकरणमा जोड दिएको बताउँदै दिवाखाजा र छात्राबासका लागि आवश्यक तरकारी विद्यालयमै उत्पादन गर्ने अभ्यास सुरु भएको जानकारी गराए ।

कार्यक्रममा सहभागी धवलागिरि मावि मुना, बुद्धि विकास मावि मुदी, लमसुङ, हेम नमूना आवासीय मावि र ताकम माविका छ–छ जना विद्यार्थीले जनप्रतिनिधि र सरोकारवालालाई गाउँपालिकामा बालअधिकारसम्बन्धी कार्यक्रम, बालविवाह न्यूनीकरण, विपन्न विद्यार्थीको शिक्षामा पहुँच, शैक्षिक गुणस्तरलगायतका विषयमा जिज्ञासा राखेका थिए ।

गाउँपालिकाका उपाध्यक्ष पुन, सामाजिक विकास समितिका संयोजक रोका, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा, स्वास्थ्य शाखा प्रमुख सम्झना खाती, शिक्षा शाखा प्रमुख ख्यामराज सुवेदी, महिला बालबालिका शाखाका पुष्पा दवाडी, ताकम प्रहरी चौकीका प्रमुख विक्रम तिवारीले जिज्ञासाको जवाफ दिएका थिए ।

गुड नेवर्स इन्टरनेसनलको आर्थिक तथा प्राविधिक सहयोगमा सङ्गम म्याग्दीद्वारा सञ्चालित एकीकृत विकास परियोजनाको आयोजनामा भएको कार्यक्रममा रामबहादुर रावतले बालअधिकारको अवस्था, चुनौती र आवश्यकताका विषयमा सहजीकरण गरेका थिए ।

गुड नेवर्स इन्टरनेसनलको पर्वत कलस्टरका संयोजक रञ्जीतकुमार चौधरीले परियोजनाका बारेमा प्रकाश पार्दै स्वागत गरेका थिए । सङ्गम म्याग्दीले सन् २०१३ देखि धवलागिरि गाउँपालिकामा एकीकृत विकास परियोजना सञ्चालन गर्दै आएका परियोजनाका जीविकोपार्जन अधिकृत अनुषा लामिछानेले बताए । (रासस)

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ९ : ०५ बजे

विश्वकप: मेसी र एम्बाप्पेलाई पछ्याउँदै हालान्ड र केन, कसले जित्ला गोल्डेन बुट ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि कसले जित्ला भन्ने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर– सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

ढोरपाटन– बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु

मुगुमा ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत- मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण