फुटे ऊर्जा व्यवसायी, ईप्पान छाडेर अधिकारी नेतृत्वमा नयाँ संस्था | Khabarhub Khabarhub

फुटे ऊर्जा व्यवसायी, ईप्पान छाडेर अधिकारी नेतृत्वमा नयाँ संस्था


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (ईप्पान) विभाजन भएको छ ।

ऊर्जा व्यवसायीले छुट्टै ‘ग्रीन इनर्जी अन्टरप्रेनर्स नेपाल’ नामक संस्था बनाएका हुन्, जसको संयोजक सूर्यप्रसाद अधिकारी छन् ।
ईप्पानबाट फुटेको संस्थाले बुधवार पत्रकार सम्मेलन गरेर आफ्नो संस्थाबारे औपचारिक जानकारी नै दियो ।

संयोजक अधिकारीले ग्रीन इनर्जी अन्टरप्रेनर्स नेपाली ऊर्जा व्यवसायीका हकहितका लागि काम गर्ने छुट्टै संस्था रहेको सम्मेलनमा बताए ।

‘हाम्रो संस्थाले लगानीलाई जोड दिन र लगानीकर्ताको हितको लागि काम गर्छ’, अधिकारीले भने, ‘हामी जलविद्युत क्षेत्रसम्बद्ध नीतिहरू परिवर्तनको लागि सकारात्मक तवरले काम गछौँ ।’

अधिकारीले ईप्पानप्रति लक्षित गर्दै प्रभावकारी रूपमा ऊर्जा व्यवसायीको हक हितको लागि काम गर्ने नसकेको आरोप लगाए । त्यसैले नयाँ संस्था खोल्नुपरेको उनको भनाइ छ ।

‘अन्य संस्थाहरूले प्रभावकारी रूपमा काम गर्नै सकेनन्’, अधिकारीले भने, ‘त्यसकारण हामीले यो संस्था खोलेका हौँ ।’

ग्रीन इनर्जी अन्टरप्रेनर्स नेपालमा अहिले ३०० ऊर्जा कम्पनीहरू आवद्ध रहेको अधिकारीको दाबी छ । संस्थाले पहिलो कार्यक्रमका रूपमा साना ऊर्जा व्यवसायीहरूका लागि भन्दै सरकारसँग ६ बुँदे माग राखेको छ ।

ईप्पानबाट फुटेको संस्थाले पीपीएमा भएका असमानता हटाउन र विद्युत् खरिददर बढाउन, उत्पादन अनुमतिको अवधि ५० वर्ष कायम गर्न, १० मेगावाटभन्दा साना जलविद्युत् आयोजनाको अनुमति पत्रमा भएको ३५ वर्षे बन्देज हटाउन, प्रसारण लाइन र ग्रीड कनेक्सन सम्झौताहरूमा भएका असमानता तथा प्राविधिक पक्षहरूको पुनरावलोकन गर्न, विदेशबाट खरिद गर्नुपर्ने हरेक उपकरण र पाटपूर्जा तथा सेवाहरूमा अधिकतम एक प्रतिशत कर लागु गर्न र वैकल्पिक व्यवस्थामार्फत विद्युत् उत्पादन गरिरहेका आयोजनाहरूको असमान करारनामा तत्काल हटाउन सरकारसँग माग गरेको हो ।

सरकारसँग माग गरेको विषयमा संस्थाले अध्ययन समेत गर्ने भएको छ । ‘हामीले माग गरेको विषयमा आफैँ पनि अध्ययन गर्नेछौँ’, संयोजक अधिकारीले भने, ‘त्यसले कस्तो निष्कर्ष देखाउँछ, त्यसपछि हामी फेरी जानकारी दिनेछौँ ।’

कसरी फुट्यो ईप्पान ?

फुटबारे बुझ्ने ईप्पानको २ कार्यकालमा भएको निर्वचनलाई नियाल्नुपर्ने हुन्छ ।

२०७७ साल असारमा भएको अधिवेशनमा ईप्पानको कार्यसमितिमा दुई प्यानलको उम्मेदवारी परेको थियो । त्यसबेला संस्थापन पक्षबाट अध्यक्षको उम्मेदवारी दिँदै टिमको नेतृत्व कृष्ण आचार्यले गरेको थिए ।

आचार्यको टिमबाट उपाध्यक्ष कुमार पाण्डे, आशिष गर्ग, गणेश कार्की तथा महासचिवमा मोहनकुमार डाँगी र आनन्द चौधरी लगायतले उम्मेदवारी दिएका थिए ।

यता; सूर्यप्रसाद अधिकारीले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै अर्को टिमको नेतृत्व गरेको थिए । जसमा अधिकारीको टिमबाट उपाध्यक्षहरू अर्जुनप्रसाद गौतम, उत्तम ब्लोन, भरत खत्री, महासचिव गोरे शेर्पा, सचिवहरूमा भरत लामिछाने थापा, मोहनविक्रम कार्की, प्रकाश दुलाल तथा कोषाध्यक्ष बलराम खतिवडाले उम्मेदवारी दिएका थिए ।

उक्त अधिवेशनमा दुई प्यानल बनाएर निर्वाचन लड्न लागे पनि अन्तिममा आएर सहमति बनेको थियो । त्यसपछि ईप्पान अध्यक्षमा कृष्ण आचार्य चुनिएका थिए । उनको टिमबाट उपाध्यक्षमा अशिष गर्ग, गणेश कार्की र मोहन डाँगी आए भने कोषाध्यक्षमा आनन्द चौधरी पनि समेटिए ।

उता; अधिकारीको टिमबाट भने महासचिव गोरे शेर्पा र सचिवहरूमा भरत खत्री, बलराम खतिवडा, सदस्यहरूमा प्रकाश दुलाल, भरत लामिछाने र उत्तम ब्लोन आए ।

ईप्पान स्रोतले बताएअनुसार त्यसबेला उपाध्यक्षमा बस्न आग्रह गरिए पनि अधिकारीले मानेका थिएनन् ।

आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति आएपछि भने ईप्पानले आफ्नो विधान परिवर्तन ग¥यो । विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने र वरिष्ठ उपाध्यक्ष लड्न पदाधिकारी भएको हुनुपर्ने तथा पदाधिकारी लड्न कार्यसमिति सदस्य भएको हुनुपर्ने प्रावधान राखियो ।

०८० मा ईप्पानको नयाँ कार्यसमिति चयन हुने बेला पनि नेतृत्वलाई लिएर किचलो भएको थियो । त्यतिबेला पनि अधिकारीले आफ्नो टीम चुनावी मैदानमा उतारेका थिए ।

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था रहेकाले अधिकारीले वरिष्ठ उपाध्यक्षमै उम्मेदवारी दिए । तर, त्यसअघि पदाधिकारी नभएकाले गर्दा उनको उम्मेदवारी खारेज भयो ।

अधिकारीको टिमबाट कोषाध्यक्ष भएका बलराम खतिवडा अहिले ईप्पानको महासचिव छन् भने अधिकारीकै टिमका भरतकुमार खत्री र उत्तम ब्लोन लामा पनि अहिले उपाध्यक्ष छन् । विगतमा अधिकारीको टिममा रहेका प्रकाशचन्द्र दुलाल उपमहासचिव छन् । आचार्य टिमका गणेश कार्की ईप्पान अध्यक्ष र मोहनकुमार डाँगी वरिष्ठ उपाध्यक्ष छन् । आचार्य टिमका डाँगी नै अब स्वतः अध्यक्ष हुनेछन् ।

आचार्यको टिमबाट उपाध्यक्षमा लडेका आनन्द चौधरी पनि हाल ईप्पानका उपाध्यक्ष हुन् ।

अधिकारीले ईप्पान फुटाउनुको मुख्य कारण निर्वाचन प्रक्रिया नै रहेको बताएका छन् । निर्वाचन प्रक्रिया नै लोकतान्त्रिक नभएकाले पनि अर्को संस्था खोल्नुपरेको उनको तर्क छ ।

‘हाम्रा एजेण्डा त प्रजातान्त्रिक नै भएन भन्ने पनि थियो’, अधिकारीले खबरहबसँग भने ।

ईप्पान क्लबजस्तो भयो : अधिकारी

नयाँ संस्थाको नेतृत्व गरिरहेका अधिकारीले ईप्पान एउटा क्लबजस्तो भएको बताए । ईप्पानले विधान परिवर्तन गरेको कुरालाई इङ्गित गर्दै ईप्पान क्लबजस्तो भएको बताएका हुन् ।

‘ईप्पानमा काम हुन्छ भनेर हामीले हेरेको पनि हो । मेरो टिमका साथीहरू पनि गएका हुन्’, अधिकारीले भने, ‘तर, अहिले हेर्दा कस्तो भयो भने त्यो (ईप्पान) एउटा क्लबजस्तो भया क्या ! त्यो क्लब नहोस् !’

संस्थाले एजेण्डा लिएर हिँड्न नसक्नु नै मुख्य समस्या भएको उनले बताए । जुन दस्तावेज हामीले बनायौँ, त्यसलाई हामीले निरन्तरता दिनुपथ्र्यो, त्यो गर्नै सकेनौँ । त्यहाँ कस्तो भइदियो भने ठूला हौँ भन्ने लाज लाग्ने ! यो क्षेत्रको ज्ञान कम भएकाले प्रतिवाद गर्ने नसक्ने ! ठूला आयोजना लिएर हामी ठूला हौँ भन्ने प्रवृत्ति देखियो ।’

अधिकारीले अगाडि भने, ‘उनीहरूलाई साना र रुग्ण भन्न लाज लाग्यो । वित्तीय अवस्था तिनीहरूकै आयोजनाको पनि कमजोर रहेको छ । ईप्पानकै कार्यसमितिमा भएका व्यक्तिको पनि आयोजनाको वित्तीय अवस्था धराशायी छ ।’

आफूले ईप्पानमा रहेरै प्रभावकारी ढङ्गले काम गर्ने खोजेको, तर नसकेकाले गर्दा छुटै एजेन्डा लिएर नयाँ संस्था स्थापना गरेको अधिकारी बताउँछन् ।

‘त्यहाँ (ईप्पानमा) एजेन्डा कार्यान्वयनको साटो फोटो खिचाउने बाहेक केही काम भएन,’ अधिकारीले भने, ‘न उनीहरूको पैरवी राम्रो भयो, त्यसकारणले गर्दा नयाँ संस्था खोलेरै अघि बढ्नुपर्ने स्थिति आयो ।’

आफ्नो संस्थाले ऊर्जा व्यवसायीको विषयमा विस्तृत अध्ययन गराएर त्यो दस्तावेजअनुसार काम गर्ने अधिकारीको भनाइ छ ।

‘तपार्इँको टिमबाट ईप्पानमा निर्वाचित भएको साथीहरूसँग कुराकानी भयो कि छैन ?’ भन्ने प्रश्नमा अधिकारीले आफ्नो टिमबाट निर्वाचित भएका व्यक्तिहरूसँग पनि आफू निरन्तर सवांदमा रहेको बताए ।

‘साथीभाइको हिसाबले कुरा भइरहेको छ, यो कुरालाई साथीभाइले बुझेका पनि छन्’, अधिकारीले भने, ‘यो विषयमा मैले घमण्ड गरेको होइन, तर अब नयाँ संस्थालाई नै अघि बढाउनुपर्छ भन्ने मत उहाँहरूको छ ।’

आफ्नो टिमबाट ईप्पानको अघिल्लो कार्यकालमा निर्वाचित भएका साथीहरू अन्तिममा आफ्नो संस्थामा जोडिन आउने अधिकारी दाबी गर्छन् । ‘अहिले त ईप्पानमा छौँ, अहिले नै विद्रोह गर्न उपयुक्त नहुने उहाँहरूले बताउनुभएको छ, त्यो व्यवहारिक पनि हो,’ अधिकारीले भने ।

आफ्नो संस्था ईप्पानको प्रतिस्थापक या शाखा नभएको अधिकारीको भनाइ छ । ‘हामी स्वतन्त्र रूपमा काम गर्छौं, हामी ऊर्जा क्षेत्रका लागि काम गछौँ ।

ईप्पान फुटेको होइन, केही असर पर्दैन : अध्यक्ष कार्की

ईप्पानका अध्यक्ष गणेश कार्की ग्रीन इनर्जी अन्टरप्रेनर्स नेपाल खुल्दैमा ईप्पानलाई केही फरक नपर्ने बताउँछन् । त्यस्ता संस्थाहरू विभिन्न समयमा आउने गरेको, तर समस्या नपरेको उनको तर्क छ ।

‘ईप्पान प्रजातान्त्रिक नभएकाले छुट्टै संस्था बनाएको भन्ने कुरा आएको छ नि !’ भन्ने प्रश्नमा कार्कीले भने, ‘प्रजातान्त्रिक भनेको के हो फेरि ? ईप्पानको विधानको विषयमा समिति बनाएको छ । त्यसले प्रजातान्त्रिक बनाएर ल्याए हुन्छ त ! यसपालिको साधारणसभामा पेश हुन्छ, त्यहाँ बोल्नुप¥यो नि त ! ’

नयाँ संस्थाले सानाको मात्र कुरा गरेको, तर ईप्पान सबै अटाउने संस्था भएको कार्कीको दाबी छ ।

‘अहिले पनि यसो न्युज हेरेको, १० मेगावाटसम्म ऊर्जा व्यवसायी भनेको रहेछ’, कार्कीले भने, ‘भोलि ५०० मेगावाटभन्दा माथिको भनेर बन्ला होइन ? त्यो आफ्नो आफ्नो गर्ने पाउँछ, तर हामीले सबैको साझा हकहितमा काम गर्ने हो ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ७ : २९ बजे

वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको छ : माधव नेपाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले

दुई सय ९० जना जेष्ठ नागरिकलाई ज्याकेट वितरण

दोलखा – जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर–१ र ३ का

आवश्यकताका आधारमा संविधान संशोधन गर्नुपर्छ : उपसभापति खड्का

कास्की – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आवश्यकताका आधारमा संविधान

बन्द भएको ९ महिनापछि निदान अस्पताल पुनः सञ्चालनमा

काठमाडौं – ललितपुरको पुल्चोकस्थित निदान अस्पताल बन्द भएको ९ महिनापछि

‘विमानस्थल घाममा सुकाउँदा १८ खर्ब लगानी धरापमा’

काठमाडौं – सरकारले नेपालको विकास र समृद्धि निम्ति ऊर्जा, पर्यटन,