फोहर प्रशोधन गर्दै जुम्लाको चन्दननाथ नगरपालिका | Khabarhub Khabarhub

फोहर प्रशोधन गर्दै जुम्लाको चन्दननाथ नगरपालिका


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिकाले प्लाष्टिक र सिसाजन्य फोहर प्रशोधन सुरु गरेको छ । नगरभित्र सङ्कलित फोहरजन्य वस्तुलाई पुनः प्रयोगमा ल्याउन प्रशोधन सुरु गरिएको नगरपालिकाले जनाएको छ । 

नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले नगरभित्र सङ्कलित प्लाष्टिक र सिसाजन्य फोहर व्यवस्थापन गर्न पुनः प्रयोग केन्द्र स्थापना गरी काम सुरु गरिएको बताए । नगरपालिकाले सिसा र प्लाष्टिकजन्य फोहरको वास्तविक अवस्था अध्ययन गर्न गत पुस १४ देखि १८ गतेसम्म सर्वेक्षण सञ्चालन गरेको थियो । 

प्रारम्भिक प्रतिवेदनका आधारमा नगरका होटल, कार्यालय, स्वास्थ्य संस्था, व्यावसायिकस्थल, धार्मिकस्थल, विद्यालय र घरपरिवार गरी १६० स्थानबाट फोहर सङ्कलन गरिएको थियो । जसमा ७९ प्रतिशत फोहर घरपरिवारबाट, नौ प्रतिशत स्वास्थ्य संस्थाबाट, सात प्रतिशत धार्मिकस्थलबाट र पाँच प्रतिशत व्यापारिक क्षेत्रबाट फोहर निस्कने गरेको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बुढथापाले जानकारी दिए । 

नगरपालिकाको सहरी क्षेत्रमा रहेका घरधुरीबाट दैनिक औसत एक केजी फोहर उत्पादन हुने गरेको उनले बताए । दैनिक छदेखि आठ टन फोहर उत्पादन हुने नगरपालिकामा १६ प्रतिशत फोहर प्लाष्टिकजन्य रहेको छ । 

नगरपालिकाले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग प्लाष्टिक र सिसाजन्य वस्तु पुनः प्रयोग गर्नका लागि आठ लाख ९८ हजार ३५० रुपैयाँमा उपकरण खरिद गरेको छ । यसका लागि गत पुसको पहिलो साता अपरेटर तालिम प्रदान गरिएको थियो । तालिमपश्चात दुई जना अपरेटरले नियमित रूपमा उपकरण सञ्चालनमा ल्याएको नगरपालिका नगरप्रमुख राजुसिंह कठायतले बताए ।

नगरमा बढ्दै गएको फोहरको उचित व्यवस्थापन गर्न विभिन्न ठाउँमा धाउनुपरेको अवस्थामा महावीर पुनसँगको परामर्शपछि प्लाष्टिक टुक्र्याउने मेसिन जिल्लामा ल्याउन सफल भएको नगरप्रमुख कठायतको भनाइ छ ।

नगरवासीलाई फोहर वर्गीकरण गरी व्यवस्थापन गर्न आग्रह गर्दै घरभित्रका फोहरलाई बाहिर निकाल्न र नगरपालिकाले त्यसलाई उपयोग गर्ने योजना बनाएको छ । 

प्लाष्टिकजन्य फोहरलाई कम्प्याक्ट बिम बनाएर थोरै ठाउँमा राख्न सकिन्छ भने फर्निचर तथा अन्य पुनः प्रयोग योग्य सामग्री बनाउन सकिन्छ । प्लाष्टिकजन्य फोहरबाट हुने वातावरणीय प्रदूषणका विषयमा नगरवासीलाई सचेत बनाउने लक्ष्य रहेको नगर उपप्रमुख रामदेवी खड्काले बताइन् । 

उपकरण सञ्चालनमा केही चुनौती पनि देखिएका छन् । उपकरण सञ्चालन तथा मर्मत खर्चिलो छ । मर्मतका आवश्यक सामग्री जिल्ला बाहिरबाट ल्याउनुपर्ने अवस्था रहेको नगरउपप्रमुख खड्काले बताइन् ।

फोहरमैला व्यवस्थापन शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपानेले नगरपालिकाले फोहर व्यवस्थापनमा ठूलो लगानी गरे पनि राजस्व सङ्कलनमा चुनौती रहेको बताइन् । 

नगरपालिकाले लगानी र सेवा प्रभावकारी बनाइरहे पनि उठ्नुपर्ने राजस्व सङ्कलन गर्न कठिनाइ भइरहेको छ । प्लाष्टिक र सिसाजन्य फोहरको सङ्कलन र व्यवस्थापनलाई व्यवस्थित गर्न कार्यविधि आवश्यक देखिएको उनको भनाइ छ । 

फोहर व्यवस्थापनमा चन्दननाथ नगरपालिकाले चालु आर्थिक वर्षको फागुन २७ गतेसम्म दुई लाख ५१ हजार ६०० राजस्व सङ्कलन गरेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ४ : ४८ बजे

मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरि काठमाडौं ल्याइयो

काठमाडौं – मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका ज्योतिबहादुर

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का

त्रिपोली – लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी

अमेरिकामा ज्यान गुमाएका ४ जनाको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

गोरखा – अमेरिकामा गोली लागेर मृत्यु भएका गोरखाका एकै घरका

गण्डकीमा सत्ताको चाबी बनेका मनाङेको राजनीतिक ‘इनिङ्स’ समाप्त

पोखरा – गण्डकी प्रदेशको सत्ता राजनीतिमा जब-जब सङ्कट आउँथ्यो, एक