ज्यालादारी भन्दा ऐँसेलु बेचेर धेरै कमाउछन् गाउँले | Khabarhub Khabarhub

ज्यालादारी भन्दा ऐँसेलु बेचेर धेरै कमाउछन् गाउँले


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

गण्डकी– कुनैताका वन पाखा चहारेर खाइने ऐँसेलु हिजोआज राजमार्ग छेउछाउ किनमेल भइरहेको भेटिन्छ । स्वादिष्ट र गुणकारी फल ऐँसेुल कतिपयका लागि आयआर्जनको स्रोत बनेको छ । पाखापखेराबाट दुःखजिलो गरी टिपेर ल्याएको ऐँसेलु बेच्नेमा महिला र बालबालिका बढी हुन्छन् । वसन्त याममा मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका–३ काँडेमा ऐँसेलु बेच्नेको लर्को देखिन्छ । 

पहाडी भेगका अन्य सडकमार्गमा पनि ऐँसेलुको किनबेच हुने गर्छ । हिउँदको फुर्सदिलो समयमा ऐँसेलु टिप्नु र बेच्नु स्थानीयवासीको दैनिकी जस्तै बन्ने गरेको छ । काँडेकी मनमाया विकले वन पाखा पुगेर ल्याएको ऐँसेलुलाई मल्लाताको हरियो पातमा बेरेर बेच्ने गरेको सुनाइन् । बिहानमा ऐँसेलु टिप्ने र दिउँसो राजमार्गमा ल्याएर बेच्ने गरेको उनले बताइन् ।’ ऐँसेलु बेचेको पैसाले सामान्य घर खर्चको जाहो हुन्छ’, उनले भनिन्, ‘बालबालिकाले कापीकलम किन्ने पैसा जुटाउँछन् ।’

काँडा छिचोलेर ऐँसेलु टिप्ने काम सजिलो भने नहुने उनीहरूको अनुभव छ । थोरै भए पनि नगद आर्जन हुने देखेर स्थानीयवासी ऐँसेलु बेच्न लालायित देखिएका हुन् । महिलाहरूले टपरी झैँ खिपेको सोली आकारको हरियो पातमा ऐँसेलु राखेर बेच्ने गर्छन् । एउटाको मूल्य रु एक सय राखिएको छ । कुनै दिन त एकै जनाले दुई हजारसम्मको ऐँसेलु बेच्ने गरेका छन् । दैनिक ज्यालादारी कामको भन्दा धेरै पैसा आउन थालेपछि ऐँसेलुतिर आकर्षित भएको महिलाहरू बताउँछन् । 

राजमार्गमा यात्रा गरिरहेका यात्रुले गाडी रोकेर ऐँसेलु किन्ने गर्छन् । कतिपयले चाख मानेर ऐँसेलु किन्ने गरे पनि कोहीले भने वास्तै नगर्ने स्थानीयवासीको बताउँछन् । ऐँसेलुको किनमेल हुन थालेपछि फुर्सदको सदुपयोग भएको छ । घरगुजारा चलाउन पैसाको पनि जोहो हुन थालेको छ । अधिकांश सहरीया मानिसको रोजाइमा ऐँसेलु पर्ने गरेको छ । विदेशी पर्यटकले पनि किनेर खाने गरेका छन् ।  

लोकमार्गले छोएको कास्कीको फेँदी कटेपछि नागडाँडा, काँडे, लुम्ले, नयाँ पुलसम्मै वसन्त याममा एसेलु बेच्नेहरू भेटिन्छन् । बिदाका दिनमा बालबालिका पनि ऐसेलु बेच्न निस्कन्छन् । वयस्क पुरुष भने यो काममा खासै भेटिँदैनन् । शनिबारको फुर्सद पारेर बालबालिकाहरू गाउँ नजिकैको वनबाट ऐसेलु टिपेर ल्याएर बेच्ने गर्छन् । पहिलेपहिले वन पाखा धाएर ऐँसेलु, चुत्रोलगायत फल खाने चलन थियो । पछिल्लो समय त्यो क्रम हट्दै गएको छ । चैतदेखि जेठसम्म डाँडापाखामा ऐँसेलु पाक्ने गरेको गरेको छ । 

ऐसेलुबाट जुस, वाइन पनि बनाउन सकिने वनस्पति विज्ञहरू बताउँछन् । वनमा यसै खेर जाने फलबाट लाभ लिन सक्नुपर्ने उनीहरूको भनाइ छ । मझौला काँडेदार बुट्यान (झाडी)मा ऐँसेलु फल्छ । पहाडी भेगको सात सय देखि दुई हजार मिटरसम्ममा ऐँसेलु पाइन्छ । यो फल रसिलो र गुलियो हुन्छ । ऐँसेलु प्रकृतिमा आफै उम्रेर वर्षौँसम्म टिक्ने वनस्पति हो । अपच भएको अवस्थामा ऐँसेलु प्रयोग गर्नु लाभदायी मानिन्छ । 

वनस्पति विज्ञका अनुसार ऐँसेलुमा भिटामिनसीसहित सूक्ष्म पोषक तत्त्व पाइन्छ । ऐँसेलुको जरामा पनि औषधीय गुण हुन्छ । यो पूर्ण रूपमा जैविक फल हो । यो फल नेपालको अधिकांश पहाडी भेगमा पाइन्छ । नेपालसहित भारत, चीन र पाकिस्तानमासमेत पाइने यो फल रङ्गका आधारमा तीनथरिको हुन्छ । 

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  २ : ५२ बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र