काठमाडौं– नेपालका दुई छिमेकी तथा परम्परागत प्रतिस्पर्धी मुलुकहरु भारत र चीनले सम्बन्ध सुधारको पहल थालेका छन् । सम्बन्ध सुधारको प्रयासस्वरुप भारतीय विदेशमन्त्री एस जयशङ्कर चीन पुगेका छन् ।
चीन भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटवार्ता गरिरहेका छन् । चीनमा रहँदा उनले चिनियाँ राष्ट्रपति सी जिन्पिङ, उपराष्ट्रपति हान झेङ, समकक्षी वाङ यीलगायतसँग उच्चस्तरीय भेटवार्ता गरेका छन् ।
शाङ्घाई सहयोग संगठनको विदेशमन्त्रीहरुको सम्मेलनमा सहभागी हुन जयशङ्कर चीन भ्रमणमा छन् । सन् २०२० मा गलवान सीमाक्षेत्रमा दुई मुलुकका सुरक्षाकर्मीबीच भएको झडपपछि पहिलो पटक भारतीय विदेशमन्त्री चीन पुगेका हुन् ।
गलवान झडपपछि दुई मुलुकबीचको सम्बन्ध चिसिएको थियो । दुई मुलुकले अझै पनि एक अर्कालाई अविश्वास, आशंका र असमझदारीको दृष्टिकोणले हेर्ने गरेको विश्लेषण गरिन्छ ।
आफ्नो परम्परागत प्रभाव क्षेत्र दक्षिण एशियामा चीनले आफ्नो उपस्थिती बढाउँदै गएकोमा भारत असन्तुष्ट छ । उता अमेरिका नेतृत्वको सुरक्षा साझेदारी क्वाड, इण्डो प्याशिफिक सैन्य संरचनामा भारतको उपस्थितीलाई चीनले पनि शंकाको दृष्टिले हेर्ने गरेको छ ।
त्यसबाहेक दुई देशबीच सीमा विवाद, तिब्बत मामिला, व्यापार असन्तुलनजस्ता विषय पनि कायमै छन् । गत मे महिनामा भारतले पाकिस्तानी भूमिमा रहेका आतंककारी पूर्वाधारलाई लक्षित गरी सञ्चालन गरेको अपरेशन सिन्दुरका क्रममा चीनले पाकिस्तानलाई सहयोग गरेको खुलासा भएको थियो ।
उक्त अपरेशनका क्रममा चीनले पाकिस्तानलाई प्रत्यक्ष सहयोग गरेको भारतीय पक्षको आरोप छ । अपरेशन सिन्दुरपछि विकसित घटनाक्रम पनि भारतले चाहेजस्तो छैन ।
हाल चीनले पाकिस्तान र बंगलादेशलाई साथमा लिएर दक्षिण एशियाली मुलुकहरुको नयाँ संगठन स्थापनाको पहल गरिरहेको समाचार आएको छ । विगत एक दशकदेखि मृतप्रायः रहेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कलाई विस्थापन गरेर चीनको पहलमा नयाँ संगठन बनोस् भन्ने भारतले चाहेको छैन ।
अपरेशन सिन्दुरपछि दुवै मुलुकका अधिकारीले द्विपक्षीय भ्रमणलाई बढाएका छन् । भारतले अपरेशन सिन्दुर सञ्चालन गरेको केही सातापछि चिनियाँ उपविदेशमन्त्री सुन विडोङले भारत भ्रमण गरेका थिए । त्यसबाहेक गत महिनामात्रै भारतका रक्षामन्त्री राजनाथ सिंह र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले पनि चीनको भ्रमण गरेका थिए । त्यसैको पछिल्लो कडीका रुपमा जयशङ्करको चीन भ्रमणलाई हेरिएको छ ।
दुई मुलुकले गत वर्ष पनि सम्बन्ध सुधारको प्रयास गरेका थिए । गत वर्षको अक्टोबर महिनामा रुसको कजानमा आयोजित ब्रिक्स सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सी जिन्पिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो ।
सो भेटवार्तापछि दुई मुलुकबीच सम्बन्ध सुध्रिने अपेक्षा गरिएको थियो । त्यसबेला कैलाश मानसरोवर यात्रा खुला गर्ने र दुई मुलुकबीच हवाई सेवा सुचारु गर्ने विषयमा सहमती भएको समाचार सार्वजनिक भएको थियो ।
हाल चीन भ्रमणमा रहेका विदेशमन्त्री जयशङ्करले ‘भिन्नताले विवादको रुपमा लिन नहुने’ टिप्पणी गरेका छन् । इण्डियन एक्सप्रेसका अनुसार विदेशमन्त्री जयशङ्करले ‘प्रतिस्पर्धालाई द्वन्द्वमा परिणत गर्न नहुने’ समेत उल्लेख गरेका छन् । उनले आपसी विवाद समाधानका लागि मिलेर काम गर्नुपर्ने समेत बताएका छन् ।
भारतले आतंकवादविरुद्ध शून्य सहनशीलताको अपेक्षा गर्ने पनि बताएका छन् । त्यसबाहेक विदेशमन्त्री जयशङ्करले व्यापारमा कायम व्यवधान हटाउने विषयमा पनि चासो दिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । उनले जनस्तरको सम्पर्क बढाउने विषयलाई पनि चिनियाँ अधिकारीसमक्ष उठान गरेको जनाइएको छ ।
जवाफमा चिनियाँ समकक्षी वाङ यीले भारत र चीनबीचको सम्बन्ध असल छिमेकी र मैत्रीपूर्ण हुनुपर्ने बताएका छन् । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार सत्तारुढ कम्युनिष्ट पार्टीका केन्द्रिय समितिको राजनीतिक ब्यूरोका सदस्यसमेत रहेका यीले यसका लागि आपसी सम्मान र विश्वसनीयता, शान्तिपूर्ण सहअस्तित्व, समान विकास र ‘विन–विन’ साझेदारीमा आधारित हुनुपर्ने बताएका छन् ।
उनले भौगोलिक रुपमा नजिकै रहेका पूर्वका दुई सभ्यता र उदीयमान अर्थतन्त्रबीचको सम्बन्धलाई सद्भाव र आपसी सफलताले निर्धारित गर्ने टिप्पणी गरेका छन् । उनले दुई मुलुकबीचको सम्बन्ध कुनै तेस्रो पक्षलाई हानि गर्ने किसिमका हुन नहुने पनि स्पष्ट पारेका छन् । उनले भारतसँग सम्बन्ध सुधारका लागि चीन तयार रहेको पनि उल्लेख गरेको सिन्ह्वाले जनाएको छ ।
प्रतिक्रिया