सुनसरी– सुनसरी उद्योग वाणिज्य संघको चुनावमा नेकपा एमालेलाई झट्का लागेको छ । मंगलबार साँझ पाँच बजे संघको कार्यालयमा सम्पन्न मत गणनाको अन्तिम नतिजाले एमालेलाई झट्का लागेको हो ।
एमालेले आधिकारिक उम्मेदवारको रूपमा समर्थन गरेको शिवराज श्रेष्ठलाई दोब्बर मतले हराउँदै एमालेकै संगठनकै उम्मेदवार गोपाल श्रेष्ठ संघको निर्वाचनमा विजयी मात्र भएनन् उनको प्यानलै विजयी भएपछि एमालेलाई झट्का लाग्नु स्वाभाविक भएको छ । एसोसिएट तर्फको दुई उम्मेदवार बाहेक गोपाल श्रेष्ठको प्यानलै विजयी बनेको थियो ।
व्यापक तामझामका साथ गत सोमबार सुनसरी भरीका उद्योगी, व्यवसायी, व्यापारीका साझा संस्था सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन भएको थियो ।
निर्वाचनमा होटल व्यवसायी समेत रहेका एमाले धरान नगर कमिटीका आर्थिक संयोजक शिवराज श्रेष्ठलाई एमालेले आधिकारिक उम्मेदवार तोकेर समर्थन जनाएको थियो ।
शिवराजको प्रतिद्वन्द्वी एमालेकै गोपाल श्रेष्ठले उम्मेदवारी दिएका थिए । विजयी श्रेष्ठ संघका कोषाध्यक्ष थिए । उनी पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसनको केन्द्रीय सदस्य र कोशी पेट्रोलियम डिलरका सदस्य समेत हुन् ।
उनलाई संघका पूर्व अध्यक्षहरू, एमाले, कांग्रेस र माओवादी समर्थित मतदाताहरूले साझा उम्मेदवार बनाएका थिए ।
विजयी श्रेष्ठले १ हजार ६ सय ५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी शिवराज श्रेष्ठले ६ सय ४७ मत प्राप्त गरेका थिए ।अर्थात् गोपाल श्रेष्ठले ९ सय ५८ मतको फराकिलो मतान्तरले जितेका थिए ।
सङ्घको यसपालिको चुनावी नतिजा एमालेको लागि ‘दुवै हातमा लड्डु’ हुँदा हुँदै पार्टी एक पक्षीय बनेपछि प्रतिष्ठाको विषय बनेको थियो । एमालेको लागि प्रतिष्ठाको चिट्ठा बनेको संघको चुनावमा पार्टीले तोकेको उम्मेदवार पराजित भएपछि एमालेमा विभूषणको खोजी सुरु भएको छ ।
कुल २ हजार ९ सय ७ मतदाता मध्ये यसपालिको निर्वाचनमा ८० दशमलव ४९ प्रतिशत मत खसेको निर्वाचन अधिकृत राजेन्द्र शर्माले बताए । कुल मत मध्ये २ हजार ३ सय ४० मत खसेको थियो ।
ती मध्ये वाणिज्य तर्फ १ हजार ३ सय ९९, उद्योग तर्फ ७ सय ८७ मत, एशोसिएट तर्फ १ सय ३३ र बस्तुगत तर्फ २१ मत रहेको थियो । निर्वाचनमा उद्योग सदस्य तर्फ कृष्ण प्रसाद पाठक, प्रभाव खतिवडा, विष्णु बराल, महेन्द्र प्रधान विजयी भए ।
वाणिज्य महिला तर्फ वर्षा अग्रवाल श्रेष्ठ विजयी भइन् । यसै गरी वाणिज्य सदस्य तर्फ अमित अग्रहरी, किसन मास्के, जयप्रकाश शर्मा, नवीन राज भण्डारी, राम स्वरूप शर्मा, विवेक अग्रवाल, शशी साह, शैलेस कुमार आचार्य (प्रमोद) विजयी भए ।
सोसिएट तर्फ शिवराज श्रेष्ठ प्यानलका राजु साह, राजेश अग्रवाल र गोपाल श्रेष्ठको प्यानलका ललित अग्रवाल विजयी भए । उद्योग महिला तर्फ मिना राई (मगर) र बस्तुगततर्फ नवीन कुमार तामाङ र नारायण लिम्बू निर्विरोध निर्वाचित भएका थिए ।

प्रतिक्रिया