सीसी क्यामेरा छ भनेर ढुक्क हुनुहुन्छ ? चोर पक्राउ पर्ने ग्यारेण्टी छैन | Khabarhub Khabarhub

सीसी क्यामेरा छ भनेर ढुक्क हुनुहुन्छ ? चोर पक्राउ पर्ने ग्यारेण्टी छैन



काठमाडौं– सुरक्षाका लागि तपाईंले अफिस, पसलदेखि घरमा सीसी क्यामेरा जडान गर्नुभएको छ ? अवश्य पनि धेरैले गर्नुभएको छ । तर सीसी क्यामेरा जडान गरेकै भरमा तपाईंको सामान सुरक्षित हुन्छ भन्ने कुनै ग्यारेण्टी छैन । सीसी क्यामेरामा कैद भए पनि प्रहरीले चोर पक्राउ गर्न सकेको छैन ।

साउन २० गते कार्गो ढुवानी (कुरियर) व्यवसाय सञ्चालन गर्दै आएको एजी एक्सप्रेसको तीनकुनेस्थित कार्यालयमा चोरी भयो । राति १ बजे कार्यालयको ताला फोडेर चोरभित्र प्रवेश गरेको सीसी टीभी फुटेजमा देख्न सकिन्छ ।

चोरले कार्यालयबाट २५ हजार रुपैयाँ नगद र डेलको महँगो ल्यापटप चोरेर लगेको एजी एक्सप्रेसका सञ्चालक तुलसी उप्रेतीले खबरहबलाई बताए । उप्रेतीका अनुसार चोरले राति १ बजे प्यासेजमाथि उक्लेर ढोकाको चाबी फोडेको र खाली खुट्टा कार्यालयभित्र प्रवेश गरेको देखिन्छ ।

विगत १० वर्षदेखि हङकङलगायत विश्वका विभिन्न ठाउँमा कार्गो सेवा सञ्चालन गर्दै आएको कम्पनीको कार्यालय तीनकुनेस्थित प्रहरी कार्यालयबाट करिब दुई सय मिटर टाढा छ । कार्यालय अगाडि सडक बत्तीको उज्यालो रातभर रहने गरेको छ । साथै कार्यालयमा १० वटा सीसी टीभी क्यामेरा जडान छन् । फुटेजमा चोरको अनुहार प्रष्टसँग देखिएको छ । भिडियो फुटेजका आधारमा चोरको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यस्तै केही समय अगाडि बबरमहलमा एक होस्टलबाट दुई वटा ल्यापटप र एउटा मोबाइल चोरी भयो । होस्टलमा जडान गरिएको सीसी क्यामेरामा चोर कैद भएको छ । तर प्रहरीले चोरलाई पक्राउ गर्न सकेको छैन ।

यी केही प्रतिनिधि घटना मात्रै हुन् । धेरै मानिस आफ्नो सामान चोरी भएकोे भन्दै सीसीटिभी फुटेज लिएर प्रहरीकहाँ उजुरी गर्न जान्छन् । तर उजुरी गरेको दुई वर्षसम्म पनि प्रहरीले चोर पक्राउ गर्न सकेको छैन ।

नेपाल प्रहरीसँग संयन्त्रको अभाव छ ? जनशक्तिको अभाव छ ? जसले सीसीटिभी फुटेजको आधारमा चोर पक्राउ गर्न समस्या भइरहेको छ ? यी यावत् प्रश्न प्रहरी प्रशासनका अघि तेर्सिएको छ ।

राजावादीको आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्नेहरूलाई २४ घण्टाभित्रै प्रहरी पक्राउ गर्न सफल भएको उदाहरण पनि छ ।

चैत १५ गते काठमाडौंमा राजावादीको हिंसात्मक आन्दोलनको क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट भएको थियो । लुट्नेहरु पेशेवर थिएनन् । आन्दोलनको हुलदङ्गामा मौका छोपेर पाएको चिज उठाएका थिए । तर अर्काको निजी सम्पत्ति बिना अनुमति सियो उठाए पनि चोर भइन्छ । दुई वटा स्याउ लिएर हिँडेका समेत कानूनी कठघरामा उभिनुपर्‍यो ।

प्रहरीले २४ घण्टाभित्र सीसी क्यामेरामा कैद भएकालाई पक्राउ गर्‍यो । किनकि त्यो ठूलो मान्छेको सुपरमार्केट थियो । तर सामान्य मानिसहरूको चोरी भएको सामान भेटिँदैन । र चोर पनि भेटिँदैन । सीसी क्यामेरा कैद भएका चोरसमेत पक्राउ पर्दैनन् । भाटभटेनीमा स्याउ टिप्नेलाई २४ घण्टाभित्रै समात्ने तर बाइक, मोबाइल र ल्यापटपलगायतका सामान चोरी हुँदा भेटिँदैन ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको तथ्याङ्कअनुसार हरेक वर्ष चोरीको सङ्ख्या बढेको देखिन्छ । उपत्यकामा मात्रै साधारण चोरी, सवारी चोरी, नकवजनी चोरी, बगलीमार, मुर्ति चोरी, डाँका/ चोरीलगायतका घटना बर्सेनि बढ्दै गइरहेको छ ।

आर्थिक वर्ष २०७९/०८० मा चोरीका ८७५ वटा घटना भएका छन् । त्यसैगरी २०८०/०८१ मा चोरीका १०४३ वटा घटना भएका छन् । आर्थिक वर्ष नसकिँदै २०८१/०८२ साउन १५ सम्ममा १२३६ वटा चोरीका घटना भएका छन् । गत तीन आर्थिक वर्षमा ३ हजार १५४ वटा चोरीका घटना भएका छन् ।

सीसी क्यामेरामा कैद भएका अधिकांश चोर पक्राउ पर्छन् : प्रहरी

सीसी क्यामेरा कैद भएका अधिंकाश चोर पक्राउ गर्न प्रहरी सफल भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्य बताउँछन् ।

खबरहबसँग कुरा गर्दै उनले भने, ‘सीसी क्यामेरामा कैद भएका चोरहरू पक्राउ परेको तथ्याङ्क बढी नै छ । तर सीसी क्यामेरामा कैद भएको कुरा पनि कतिपय अवस्थामा दूरीका कारण स्पष्ट नदेखिन सक्छ । दूरी टाढा हुँदा हुलिया पत्ता लगाउन मुस्किल पर्छ ।’

अन्दाज र हचुवाको भरमा कुनै नागरिकलाई पक्राउ गर्न प्रहरीले नसक्ने प्रहरी उपरीक्षक आचार्य बताउँछन् । ‘तर चोरको अनुहार क्लोजअप छ भने पक्राउ गर्न सकिन्छ । बरु सीसी क्यामेरा राख्दा अलि पावरफुल राख्नुपर्छ । नाम मात्रको क्यामेरामा धमिलो कैद हुँदा अनुसन्धानमा समस्या हुन्छ ।’ उनी थप्छन्, ‘अहिलेको अनुसन्धान प्रविधिमैत्री बनिसकेको छ । कुनै एक दुई चोरी पक्राउ गर्न सकिएन होला । तर सीसी क्यामेरामा कैद भएका अधिकांश चोर पक्राउ परेका छन् ।’

पीडितले चोरी भएको उजुरी गर्न आइपुग्दासम्म मोटरसाइकल अर्को जिल्ला, प्रदेश हुँदै सीमा कटिसक्ने प्रहरी उपरीक्षक आचार्य बताउँछन् ।

उनी भन्छन्, ‘कतिपय हिमाली जिल्लाका गाउँतिर पुगिसकेको हुन्छ । विशेष गरेर मोटरसाइकल चोर्नेहरूले तुरुन्तै जिल्ला कटाइसक्छन् । जसले गर्दा पक्राउ गर्न गाह्रो छ । तर सीसी क्यामेरा नभएको स्थानमा नै बढी चोरी भएको छ । चोरले पनि क्यामेराको निगरानीमा नपर्ने गरी चोरी गर्छन् ।’

चोरीसम्बन्धीको सजाय फितलो हुँदा बारम्बार एकै व्यक्ति पक्राउ पर्ने गरेको प्रहरी उपरीक्षक आचार्यको भनाइ छ । ‘सजाय थोरै भएको कारणले चोरी गर्नुलाई सामान्य अपराधका रुपमा लिन्छन् ।’ उनी भन्छन् ।

जेलबाट निस्किएर पुनः त्यही काममा फर्किन्छन् । बारम्बार एउटै चोर जेलमा आइरहेको छ । चोरीसम्बन्धी कानूनको फितलो अभ्यासले बारम्बार दोहोरिएको हो ।’ उनले भने ।

चोरीमा संलग्न व्यक्तिहरूको पृष्ठभूमि हेर्दा अशिक्षित र गरिबी मुख्य कारण देखिएको प्रहरी उपरीक्षक आचार्य बताउँछन् । ‘यिनीहरूको पृष्ठभूमि असाध्यै सामान्य रहेको छ । खासै पढाइलेखाइ छैन । आर्थिक रूपले निकै विपन्न, पारिवारिक विखण्डनमा परेका छन् । यिनीहरूको अभिभावक पनि कुनै न कुनै समयमा चोरीमा पक्राउ परेर जेल सजाय भोगेका पनि छन् । काम नगरी अथवा दुःख नगरी खान पल्किससेका छन् । मिहिनेत गर्नुपर्छ भन्ने छैन ।’

चोर पक्राउ गर्न प्रहरीलाई पनि कहिलेकाहीँ अप्ठ्यारो हुने भएकाले व्यक्ति स्वयम सुरक्षित हुनुपर्ने उनी सुझाव दिन्छन् । ‘आफैँ पनि आफ्नो सामान सुरक्षित राख्नुपर्छ । मोटरसाइकल लगायतमा सवारी जहाँ पायो त्यहीँ पार्किङमा छोड्नु भएन । अफिस र घरमा बलियो चाबी प्रयोग गर्ने गर्नुपर्छ ।’ प्रहरी उपरीक्षक आचार्य भन्छन् ।

सजाय के हुन्छ ?

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–२० मा ‘चोरी तथा डाँकासम्बन्धी कसुर गर्न नहुने उल्लेख छ । दफा २४१ को उपदफा २ मा अन्य व्यक्तिको स्वामित्व, कब्जा, नियन्त्रण वा जिम्मामा रहेको चल सम्पत्ति आफ्नो बनाउने, उपभोग गर्ने वा लिन खानका लागि त्यस्तो व्यक्तिको मञ्जुरीबिना बेइमानीका नियतले लिएमा वा स्थान परिवर्तन गरेमा निजले चोरी गरेको मानिन्छ ।

चोरी गर्ने वा गराउने व्यक्तिलाई २ देखि ७ वर्षसम्ममा कैद र २० देखि ७० हजार रुपैयाँसम्म जरिवाना हुन्छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ९ : १९ बजे

कांग्रेसको राष्ट्रिय मगर संघको अध्यक्षमा इच्छुराम चयन

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल राष्ट्रिय मगर संघको सभापतिमा

गुडिरहेको बस पुलबाट खस्दा अल्जेरियामा १८ जनाको मृत्यु

एजेन्सी – अफ्रिकी मुलुक अल्जेरियामा गुडिरहेको बस पुलबाट नदीमा खस्दा

नेपाल भौगर्भिक समाजको अध्यक्षमा खतिवडा निर्वाचित

काठमाडौं– नेपाल भौगर्भिक समाजको अध्यक्षमा भाष्कर खतिवडा निर्वाचित भएका छन्

सुनसरी कारागारबाट भागेका कैदी झापामा पक्राउ

सुनसरी– सुनसरी कारागारको पर्खाल नाघेर भागेका एक जना फरार कैदी

बीपी राजमार्गमा थप १५ दिन राति सवारी सञ्चालनमा रोक

काभ्रे– बीपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी