बीपी प्रतिष्ठानका उपकुलपति भन्छन्, ‘खर्च नगरी नियुक्ति पाएँ, पुरानो साख फर्काउन पदाधिकारीको साथ पाउँछु' | Khabarhub Khabarhub

बीपी प्रतिष्ठानका उपकुलपति भन्छन्, ‘खर्च नगरी नियुक्ति पाएँ, पुरानो साख फर्काउन पदाधिकारीको साथ पाउँछु’



सुनसरी– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्रा.डा. विक्रमप्रसाद श्रेष्ठले पदभार ग्रहण गरेका छन् । एक वर्षभित्र प्रतिष्ठानमा व्यापक परिवर्तन देखिने गरी काम गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।

शुक्रबार दिउँसो काठमाडौंदेखि विराटनगर एयरपोर्ट हुँदै सिधै उपकुलपतिको कार्यकक्षमा प्रवेश गरेर पदभार ग्रहण गरेपछि प्रा.डा. श्रेष्ठले भने, ‘विगतका उपकुलपतिहरूले ‘म’ भनेर काम गरेका थिए अब ‘म’ होइन ‘हामी’ भएर काम गर्नेछौँ । चारै पदाधिकारी, सहकर्मी शिक्षक, चिकित्सक, कर्मचारी मिलेर प्रतिष्ठानमा एक वर्षभित्रमा महसुस हुने गरी परिवर्तन गरेर देखाउने छौँ ।’

सिफारिस समितिले प्रा.डा. श्रेष्ठको नाम एक नम्बरमा राखेर पठाएपछि साउन २७ गते प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई बीपी प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेका थिए ।

नवनियुक्त उपकुलपति श्रेष्ठलाई स्वागत तथा बधाई ज्ञापन गर्न पुगेका शिक्षाध्यक्ष प्रा.डा. सञ्जीव शर्मा, अस्पताल निर्देशक डा. जगतनारायण प्रसाद, रजिष्टार प्रा.डा. सूर्यप्रसाद सङ्ग्रौला, कोशी प्रदेश सभाका सांसद यशोदा कायस्थ, विभागीय प्रमुखहरू, शिक्षक, चिकित्सक, कर्मचारी, नर्सलगायतको उपस्थितिमा उपकुलपति प्रा.डा. श्रेष्ठले प्रतिष्ठानमा सुधार र परिवर्तन ल्याउन प्रतिष्ठानका पदाधिकारीसहित सबैको संयुक्त प्रयास जरुरी भएको बताए ।

उनले भने, ‘बीपी प्रतिष्ठानका पदाधिकारीहरू, फ्याकल्टीहरूसँग बसेर समस्या पहिचान गरिने छ र एकएक गर्दै समाधान खोजिने छ । आजसम्म हामीले जे जति काम ग¥यौं कामै सम्झेर ग¥यौं । अब धर्म सम्झेर गर्छौं । यति भएपछि प्रतिष्ठान कसरी अगाडि बढ्दैन हेरौं ? बढ्छ बढ्छ, अगाडि बढ्नुको केही विकल्प छैन ।’

बीपी प्रतिष्ठानमा धेरै वर्षदेखि समस्या थपिँदै आएको उल्लेख गर्दै उनले चार जना पदाधिकारी बसेर सबैभन्दा पहिले समाधानको उपाय खोज्ने, चिकित्सक, कर्मचारीसँग छलफल, परामर्श गर्ने र क्रमशः समस्यालाई समाधान गर्दै जाने प्रा.डा. श्रेष्ठले बताए ।

उनले भने, ‘उपकुलपति धेरै आए, तर मलाई यो पटक यस्तो फिल भएको छ कि यो पटक प्रतिष्ठानभित्र र बाहिरका मान्छे साँच्चै मनले खुसी भएको बुझेको छु । उहाँहरूलाई निराश बनाउनु हुँदैन भन्ने बुझेको छु ।’

‘खर्च नगरी उपकुलपतिमा नियुक्ति पाएँ’

बीपी प्रतिष्ठानको उपकुलपतिमा राजनीतिक नियुक्त पाउनका लागि उम्मेदवार वा निवेदक राजनीतिक रूपमा पहुँचवाला हुनुपर्ने, १५ देखि २० करोड रुपैयाँसम्मको ब्रिफकेस, बुझाउनु पर्ने, मेडिकल माफियाको साथ सहयोग लिनै पर्ने प्रा.डा. श्रेष्ठ आफैंले सुन्दै आएका थिए । तर उनी आफैं भने एक पैसा खर्च नगरी उपकुलपतिमा नियुक्त भएपछि चकित भएका छन् ।

उनले खबरहबसँग भने, ‘आफू उपकुलपति बन्नुअघि लगानी नगरी हुँदैन भन्ने हल्ला व्यापक नसुनेको होइन । कतिसम्म भने बीपी प्रतिष्ठानमा उपकुलपति बनाउनका लागि बिचौलिया र मेडिकल माफिया, मेडिकल उपकरण आपूर्तिकर्ताहरूले लगानीसमेत गरिदिन्छन् भनेर पनि नसुनेको होइन । सबैले मलाई यिनै कुराहरु सुनाएका थिए । म त्यस्तो गर्ने पक्षमा कुनै हालतमा थिइनँ । मेरो हतियार भनेको इमान्दारिता मात्र हो । अन्ततः बिना लगानी भनौं वा एक पैसा खर्च नगरी उपकुलपति भएर मैले नयाँ रेकर्ड बनाएँ ।’

उनले लगानी र खर्च गर्नुपर्छ भनेर सुनाइएकाले साँच्चै हो कि होइन भनेर नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा र आरजु राणा र स्वास्थ्यमन्त्रीलाई समेत सिधै लगानी गर्नु पर्ने हो ? भनेर सोधेको पनि खुलासा गरे ।

उनले भने, ‘मेरो प्रश्नको जवाफमा उहाँहरूले ‘केही गर्नु पर्दैन भन्नुभयो । यसरी मैले पैसा नबुझाई पनि उपकुलपति बन्न सम्भव हुने रहेछ भन्ने प्रमाण आफैं बनेको छु ।’

उनले बीपी प्रतिष्ठानमा सुधार ल्याउन र काम गर्न आफूसँग रवाफ र आँट साहस हुनुपर्ने बताए । उनले थपे, ‘पैसा तिरेर आएको मान्छे र नतिरी आएको मान्छेमा काम गर्दा जाँगर नै फरक हुन्छ । बीपी प्रतिष्ठानको हितमा त्यो रवाफिलो जाँगर मैले कायम राख्नुपर्छ । पैसाको चलखेल गरेर उपकुलपति हुनासाथ म मेरो लगानी र खर्च उकास्नतिर मात्र लाग्ने भइहालेँ नि । म यहाँ पैसा कमाउन उपकुलपति भएको होइन, यो प्रतिष्ठानलाई कसरी हुन्छ इमान्दारिताका साथ सुधार्नु बाहेक अर्को लक्ष छैन ।’

पुरानो साख फर्काउन तीनै जनाको साथ

नवनियुक्त उपकुलपति प्रा.डा. श्रेष्ठलाई बीपी प्रतिष्ठानका तीनै जना पदाधिकारीले कसिलो साथ दिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । स्वागत सम्मान र बधाई ज्ञापन गर्दै शिक्षाध्यक्ष प्राडा सञ्जीव शर्मा, अस्पताल निर्देशक डा. जगतनारायण प्रसाद, रजिष्टार प्रा.डा. सूर्यप्रसाद सङ्ग्रौलाले आफूहरूबाट कसिलो साथ पाउने बताए । उनीहरूले सामुहिक सन्देश दिँदै भने, ‘बीपी प्रतिष्ठानको पुरानो साख फर्काउनु छ हामी साथ दिन्छौं ।’

विगतका समयमा भने बीपी प्रतिष्ठानका चार पदाधिकारी ब्रम्हाजीको टाउको जस्तो भएका थिए । ‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९’ ले उपकुलपतिलाई सर्वाधिकार, अवशिष्ट अधिकारमात्र दिएको छैन सर्वेसर्वा बनाएको छ । उक्त ऐनकै कारण उपकुलपतिले बाँकी तीन पदाधिकारीलाई कहिले अधिकारविहीन बनाउने, कहिले दया र सहानुभूतिस्वरुप केही अधिकार प्रत्यायोजन गर्ने र कहिले थपना मात्र बनाउने गरेको छ । चार पदाधिकारी नै ‘ओखर पाङ्ग्रा बल्ड्याङ्ग्रा’ बनेपछि ठोस रणनिति, योजना र लक्षविहीन हुँदै आएकामा उपकुलपतिमा नवनियुक्त प्रा.डा. श्रेष्ठले भने तीन पदाधिकारीबाट भरपुर सहयोग र साथ पाउने भएका छन् ।

३२ वर्षअघि भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) को मोडलमा नेपाल–भारत सरकारको साझेदारीमा बीपी प्रतिष्ठानको स्थापना भएको हो । एम्सले आफ्नो शाखा भारतका विभिन्न शहरमा विस्तार गरेर विस्वस्तरीय साख बनाइरहँदा बीपी प्रतिष्ठान भने कुशल नेतृत्वको अभावले जर्जर बन्दै गएको छ । पदाधिकारीबीचको बेमेल, आर्थिक अनियमितता, कमिसन र घुसकाण्डमा फस्दा सेवा प्रवाहप्रति सेवाग्राहीमा बढ्दो असन्तुष्टि, उपचारमा आवश्यक उपकरण तथा मेशिनहरूको अभावले प्रतिष्ठान आर्थिकरुपमा धरासायी बनेको छ ।

अघिल्ला उपकुलपतिहरूको अनेक काण्डले बदनाम भएको बीपी प्रतिष्ठानलाई सुधार गर्न चार पदाधिकारीको समन्वय जरुरी रहेको शिक्षाध्यक्ष प्रा.डा. शर्माले बताए । उनले भने, ‘बीपी प्रतिष्ठान फेरि आफ्नो पुरानो बाटोमा जान्छ । धरानवासी र हामी सबैको इच्छाअनुसार उन्नति गर्नेछ । यसमा हामी सबैको साथ सहयोग हुनेछ । दिनरात काम गरेर भए पनि प्रतिष्ठानलाई माथि उकास्ने छौं ।’

रजिष्टार प्रा.डा. सङ्ग्रौलाले बीपी प्रतिष्ठानले सफल र सक्षम नेतृत्व पाएको बताए । उनले प्रतिष्ठानलाई अघि बढाउन सधैँ साथ रहने प्रतिबद्धता जनाए । उनले भने, ‘हामी सबै तपाईं (उपकुलपति) को छहारीमा बसेर नियमपूर्वक काम गर्न चाहन्छौं । प्रतिष्ठानलाई अघि बढाउने दिशामा हाम्रो सधैँ साथ रहने कुरा प्रतिबद्धता जनाउँछु ।’

आर्थिक कारोबार, खरिद सम्बन्धी सवालमा कठोर मानिएका रजिष्ट्रार सङ्ग्रौला र यसअघिका उपकुलपति डा. ज्ञानेन्द्र गिरीसँग तालमेल नमिल्दा बोलचाल नै बन्द भएको थियो ।

अस्पताल निर्देशक डा. जगतनारायण प्रसादले पाँच वर्ष रेक्टरका रूपमा सफल भएको अनुभव, दूरदृष्टि र सफल नेतृत्वले प्रतिष्ठानले पुरानो अवस्थामा फर्कने विश्वास व्यक्त गरे । उनले नवनियुक्त उपकुलपति प्रा.डा. श्रेष्ठले ‘प्रतिष्ठान मोटो हात्ती भए पनि अहिले दुब्लाएको र त्यसलाई मोटो बनाउने योजना आफूसँग रहेको’ उल्लेख गर्दै भने, ‘त्यो योजना कार्यान्वयन गरेर दुब्लाएको प्रतिष्ठानलाई मोटो बनाउनेमा हामी विश्वस्त छौं ।’ उनले आफ्नो कार्यकाल अढाई वर्ष रहेको र यो समयमा नै प्रगति हुनेमा विश्वस्त रहेको बताए ।

शिक्षक कल्याण समाजका पूर्वअध्यक्ष डा. विष्णु पोखरेलले स्वच्छ छवि भएका व्यक्तिलाई सरकारले नियुक्त गरेकाले पदाधिकारीबीच सुमधुर सम्बन्ध कायम हुने विश्वास व्यक्त गरे । उनले भने, ‘उहाँहरूको समन्वयकारी भूमिकाले बीपी प्रतिष्ठानमा मौलाएका बेथितिहरू समाधान गर्दै नयाँ उचाईमा लैजानुहुनेछ । संस्थामा आर्थिक अभाव, शैक्षिक कार्यक्रमको अभाव पूरा हुने विश्वास छ । अबको रोडम्याप निक्कै कठिन छ, तर चारै जना पदाधिकारी निष्ठावान भएकाले छिचोल्न असम्भव छैन ।’

उक्त अवसरमा कर्मचारी कल्याण समाजकी अध्यक्ष कविता ढकालले उपकुलपति प्रा.डा. श्रेष्ठको स्वच्छ छविसँगै धराने भएको नाताले पनि बीपी प्रतिष्ठान उँभो लाग्छ भन्नेमा आफूहरू आशावादी भएको बताइन् । उनले बीपी प्रतिष्ठानको हितमा सही निर्णय र काममा सदैव साथ दिने र गलत काम हुँदा खबरदारी हुने पनि बताइन् ।

उनले भनिन्, ‘उहाँ (उपकुलपति) ले नियम, कानूनलाई पालना गराएर यहाँको बेथितिहरू अन्त्य गर्नुहुनेछ र पहिलाकै स्थितिमा बीपी प्रतिष्ठानलाई पु¥याउनुहुनेछ भन्नेमा आशावादी छौं । पछिल्लो समयमा मेडिकल उपकरणहरू बिग्रेका छन्, एमआरआई मेसिन छैन, सिटीस्क्यान मेसिन पटकपटक बिग्रन्छ । बिरामीले सहज, सुलभ र सस्तोमा उपचार सेवा पाउन सकेका छैनन् । अब उपचार सेवाहरू चुस्तदुरुस्त बनाउनु हुनेछ, भवनहरू मर्मत गर्नुहुने छ । चिकित्सक शिक्षक, कर्मचारीहरूको सेवा सुविधामा पनि ध्यान दिनुहुने छ भन्ने पनि आशा पलाएको छ ।’

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  २ : २२ बजे

विशेषज्ञ आयुर्वेद चिकित्सक समाजमा नयाँ नेतृत्व, सभापतिमा डा. पुनेश्वर केशरी

काठमाडौं– विशेषज्ञ आयुर्वेद चिकित्सक समाज नेपालको तेस्रो राष्ट्रिय अधिवेशनले दुई

राष्ट्रपति पौडेलद्वारा भगवान् श्रीकृष्णको पूजाआराधना

पाटन– राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना गरेका

निजी क्षेत्रलाई रातो कार्पेट बिछ्याएर लगानी गर्ने वातावरण बनाउनुपर्छ : मन्त्री पाण्डे

भैरहवा– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रलाई

रुपन्देही कारागारबाट निकालियो रविलाई, नख्खु कारागार ल्याइने

काठमाडौं– सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका राष्ट्रिय

रविको स्वागतका लागि रास्वपा समर्थक त्रिभुवन विमानस्थलमा जम्मा (तस्बिरहरू)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भैरहवा