कृष्णजस्ता मान्छेबारे शास्त्र र विज्ञानको ‘प्याचअप’ | Khabarhub Khabarhub

सन्दर्भ : कृष्ण जन्माष्टमी

कृष्णजस्ता मान्छेबारे शास्त्र र विज्ञानको ‘प्याचअप’


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 8 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हालको भारतीय सरहदमा पर्ने उत्तरप्रदेशको मथुरामा पाँच हजार २५३ वर्षअघि जन्मिएका अनुमान गरिएका हिन्दु देवता श्रीकृष्णको जन्मोत्सव आज मनाइँदैछ । हिन्दुहरूले सृष्टिका आरम्भकर्ता मान्ने त्रिदेवमध्ये पालनकर्ता विष्णुका आठौँ अवतारका रूपमा द्वापर युग अन्त्य गर्नेगरी कृष्णको जन्म भएको मान्छन् ।

धार्मिक कथाहरू अनुसार; मथुराकी देवकीमा गर्भाधान भएदेखि नै मृत्युसँग कृष्णको पौँठेजोरी चल्यो, कृष्णकै निर्देशनमा पाण्डव र कौरवबीचको लडाइँमा एक अर्ब ६६ करोड मानिसको ज्यान गयो, भाल्कमा जराको विषाक्त तीर समन गर्न नसकी कृष्णको निधन भयो, कृष्णलाई नै केन्द्रमा राखेर गीता र महाभारतजस्ता विहङ्गम पूर्वीय दर्शन/धर्मशास्त्र विकास गरियो ।

मनुष्यको रूपमा जन्मिएका कृष्णले कुरुक्षेत्रको युद्धमा अर्जुनलाई आफ्नो विश्वरूप देखाए, सञ्जयले कृष्णको त्यस्तो विराट स्वरूप देखेका थिए । कृष्णको जीवनभर के के भयो भन्नेबारे कृष्णचरित्र, गीता र महाभारत नै अध्ययन गर्नुपर्छ ।

जे होस्, अनेक लीला रचे पनि कृष्ण मरणशील मानिसकै स्वरूपमा जन्मिएका थिए । तर, यो धर्तीमा कृष्णको उपस्थिति एक आम मानिसको रूपमा मात्रै थिएन, उनी विगत, वर्तमान र आगत तीनै थिए भनी हिन्दुहरू विश्वास गर्छन् । अर्थात्, मोक्ष (पुनःजन्मबाट मुक्ति) खोज्न अनेक सन्धान गर्ने गरेका हिन्दुहरू आफूले देवता नै मानेको श्रीकृष्णको पूर्वजन्म र भविष्यसम्म देवत्वकरण गर्छन्, पूर्वश्रापको नतीजा पनि ठान्छन् ।

यो त भयो धार्मिक विश्वासको कुरा ! मानिसको उत्पत्तिबारे विज्ञानले ठ्याक्कै धर्मशास्त्रमा झैँ दैवीलीलाका रूपमा व्याख्या गर्दैन । तर, क्रमविकास र अवतारवादका विभिन्न चर केलाउँदा जताततै मिलाप भेट्न सकिन्छ ।

यो सामग्रीमा हामी श्रीकृष्णले समेत अवतार लिएको भनिएको आधुनिक मानिससम्मको उत्पत्तिबारे संक्षिप्त चर्चा गर्नेछौँ । मिथकीय र विज्ञानको निस्कर्षलाई मानवशास्त्रीय दृष्टिकोणबाट हेर्नेछौँ ।

सबैभन्दा पहिले धर्मबारे बुझौँ । मानिसले कस्ता दैवी शक्तिहरूमा विश्वास गर्छन्, कस्ता धार्मिक अभ्यास गर्छन्, पुनर्जन्मबारे कस्ता धारणा र सोचाइ राख्छन्, कस्तो किसिमको विश्वास (बिलिफ प्याट्रन) भन्ने कुराहरू धर्मभित्र पर्छन् ।

धर्मको अंग्रेजी परिभाषा ‘अलौकिक शक्तिमा विश्वास’ भन्ने हुन्छ । यस्ता अलौकिक शक्ति (सुपरन्याचरल पावर) भित्र विभिन्न पक्ष हुन्छन् । दैवीशक्तिबारे विभिन्न धर्महरूमा विभिन्न पक्ष अर्थात् मतहरू छन् ।

अंग्रेजीको ‘रिलिजन’ शब्द बढी ईश्वर (गड) सँग सम्बन्धित हुन्छ । धर्मले चाहिँ वृहद क्षेत्र ओगटेको हुन्छ । त्यसैले पूर्वीय धर्मशास्त्रमा ईश्वरको मात्र नभइ मोक्ष कसरी प्राप्त गर्ने र मानिसले मृत्युपछि पुनर्जन्मबारे गर्ने चिन्तासम्मको चिरफार भएको छ ।

हरेक विषयको अध्ययनको आधार नै मिथोलोजी (मिथकीय अध्ययन) हो । हरेक कुराको आविष्कार गर्नुअघि कल्पना नै हुन्छ । त्यसैले मानिसको उत्पत्ति सम्बन्धमा पनि विश्वमा दुईवटा अवधारणा प्रचलनमा छन् । तीमध्ये पहिलो शास्त्रीय सिद्धान्त (क्लासिकल थ्यौरी) हो ।

शास्त्रीय सिद्धान्त :

मानिसको उत्पत्तिबारे सबैभन्दा पूरानो यो सिद्धान्तले ‘मानिसलाई भगवानले बनाएको’ भन्छ । आधुनिक समयबाट हेर्दा यो मिथकजस्तो लागे पनि एउटा सिद्धान्त नै हो ।

धर्मअनुसार मानिसको उत्पत्तिबारे फरक मान्यता छ । यशु, मोहम्मद, बुद्ध, राम जे भनेपनि ती सबै भगवान हुन् । ती हरेक धर्ममा नाम फरक भए पनि जस अर्थात् क्रेडिट एउटै कुरालाई दिइएको छ । यो अनुभूति गर्ने कुरा हो ।

हावा नदेखिए पनि यथार्थ हो । त्यसैले हावाको अस्तित्व स्वीकार हुन्छ । भगवानको विषय पनि यही हो । पृथ्वीमा नभइ नहुने कुरालाई हाम्रा पुर्खाले देवत्वकरण गरेका हुन् । त्यसैले पञ्चतत्वलाई हामीले भगवानको रूपमा ग्रहण गरेका हौँ । हामीले सूर्य भन्यौँ, हाम्रा पुर्खाहरूले भगवानका रूपमा ग्रहण गरे ।

हामी ब्रह्मा भन्छौँ । विज्ञानले अणु/परमाणुबाट ब्रह्माण्डको उत्पत्ति भएको भन्छ । अणु र परमाणु कहाँबाट सृजना भयो भन्ने कुरा विज्ञानले अझै ठोस रूपमा पत्ता लगाउन सकेको छैन । धर्ममा पनि भगवान कहाँबाट आए भन्ने कुरा कसैले एकिन गर्न सक्दैन । भगवानको न जन्म र न अन्त्यको कल्पना भएको छ ।

धार्मिक आस्थाको कोणबाट हेर्दा पृथ्वीमा भएको पञ्चतत्वलाई भगवान भनिएको रहेछ र, त्यसैको संयोजन तथा प्रभावले गर्दा फरक–फरक स्थानमा फरक–फरक प्राणीको उत्पत्ति भएको रहेछ भनी बुझ्नुपर्ने हुन्छ ।

जस्तो कि – पानीमा माछा उत्पत्ति भयो । किन पानीमा हात्ती या सुँगुर उत्पत्ति भएनन् ? किनकि पानीमा भएको पञ्चतत्वको संयोजनले माछाजस्ता पानीभित्रै जन्मन, सास फेर्न र बाँच्न सक्ने जीवहरू उत्पत्ति गर्‍यो । जमिनमा किरा, जीवजन्तु आदि उत्पत्ति भयो । किनकि जमिनमा प्राप्त वातावरण त्यस निम्ति अनुकूल भयो ।

तातो ठाउँमा हुने जीव चिसोमा र चिसोमा हुने जीव तातोमा हुँदैन । त्यस्तै मानिसहरूको पनि शारीरिक संरचना वातावरणीय प्रभावका कारण फरक छ । चिसो ठाउँमा हुने मानिसहरूको स्वरूप तातो ठाउँमा हुने मानिसको भन्दा फरक हुन्छ ।

वैज्ञानिक सिद्धान्त

यसलाई आधुनिक (मोर्डन), क्रमविकास (इभोल्युसन) वा डार्बिडियन सिद्धान्त (थ्यौरी) पनि भनिन्छ । चाल्र्स डार्बिनले इभोल्युसन थ्यौरी प्रतिपादन गरेका थिए ।

डार्बिनले भनेका छन् – पृथ्वीमा फरक समयमा फरक वातावरण निम्तियो । त्यो फरक वातावरणको प्रभावका कारण पृथ्वीमा फरक प्रकृतिका जीवहरूको अस्तित्व देखापर्‍यो । त्यही फरक अस्तित्वमध्ये मानव गुण भएको जीव पनि पृथ्वीमा देखापर्‍यो । त्यो मानवगुण भएको जीवमा गुणहरू विकास हुँदै गएपछि लामो समयपछि आधुनिक मान्छे विकास भयो । यसैलाई हामी इभोल्युसन थ्यौरी भन्छौँ ।

पछि यो सिद्धान्त परीक्षण गर्न विभिन्न खोजी भयो । खोजी गर्ने क्रममा मानव पुर्खाका विभिन्न अवशेषहरू प्राप्त भयो । प्रयोगशालामा परीक्षण गरियो । परीक्षण गर्दा विभिन्न समयमा विभिन्न मानिसहरूको उत्पत्ति र विकास भएको पत्ता लाग्यो । यो सिद्धान्त नै विश्वव्यापी रूपमा प्रचलनमा आयो ।

सबै मानिस एकैपटक पृथ्वीमा उत्पत्ति भएको नभई कालक्रम र पृथ्वीमा भएको वातावरणीय परिवर्तनका कारणले गर्दा लामो समयको सङ्घर्षपछि आधुनिक मानिसको विकास भएको पुष्टि भयो । यही सिद्धान्त नै विश्वविद्यालयहरूको मानवशास्त्रीय पाठ्यक्रममा लागू भयो ।

अर्कातर्फ, शास्त्रीय सिद्धान्तले विश्वव्यापी मान्यता (युनिभर्सल असेप्टेन्स) प्राप्त नगरेकाले आधुनिक प्राज्ञिक अध्ययनमा खासै समेटिएन । डार्बिनको विकासवादी सिद्धान्त पनि सतप्रतिशत शास्त्रीय सिद्धान्तमै आधारित छ । मानिसलाई भगवानले बनाएका हुन् भन्ने सिद्धान्तमै आधारित भएर उनले यो अनुसन्धान गरेका थिए भनिन्छ ।

एउटा उदाहरण – काठमाडौंमै धेरै मन्दिर र मूर्तिहरू छन् । मन्दिरहरूमा रहेका देवीदेवताका मूर्तिमा सृष्टिका शास्त्रीय सिद्धान्त नै जोडिन्छ । गणेशको भुँडी किन ठूलो भयो ? उनको शरीरमा हात्तीको टाउको किन जोडियो ? किन शिवजीले बाघको छाला लगाए ? किन कालीले तरबार बोकिन् या किन महिषासुर मर्दिनीले भैंसीमाथि टेकिन् भन्नेलगायत सबै विवरण यस्तै मिथक कथासँग जोडिएको छ ।

त्यसको वास्तविकता के हो भन्ने बुझ्नुपर्छ । मानिसको शरीर छ, टाउको सिंहको छ भने त्यो किन भयो त ? पृथ्वीमा यस्तो त कहीँ देखा परेको छैन । कसरी त्यो कसरी कल्पना भयो ? त्यसले के देखाउन खोजेको छ भन्ने कुरालाई कथा र वास्तविकतासँग जोड्न सक्दामात्रै शास्त्रीय र वैज्ञानिक सिद्धान्तको अन्तर केलाउन सकिन्छ ।

सृष्ट्रिबारे हिन्दु अवधारणासँग मेल खाने डार्बिनको उद्विकास सिद्धान्त

सृष्टिबारे हिन्दु कन्सेप्ट या वैदिक अवधारणाबारे हेरौँ । यो अवधारणाअनुसार सृष्ट्रि ब्रह्माले गरे । सृष्टिको पालन विष्णुले गरे र संहार शिवले गरे भन्ने विश्वास छ । यो विश्वासमा मानिसको सृष्टि र विकासबारेको शास्त्रीय धारणा पनि जोडिएको छ ।

हामीले अवतारवादको सिद्धान्तबारे सुनेका छौँ । ब्रह्माले सृष्टिको उत्पत्ति गरेपछि भगवान विष्णुले पृथ्वीमा विभिन्न स्वरूपका जीव भएर अवतरण गरे भन्ने सिद्धान्त अवतारवादमा आधारित छ ।

पहिलोपटक उनले मत्स्य अवतार लिए । दोस्रो अवतार कुर्म, तेस्रो बराह, चौथो नृसिंह, पाँचौं वामन, छैठौँ परशुराम, सातौँ राम, आठौँ कृष्ण, नवौँ बुद्ध र दशौँ अवतार कल्की अवतार कल्पना गरिएको छ । शरीर नै परिवर्तन गर्नसक्ने नारायण नै प्रकृति हो । प्रकृतिका कारण समय–समयमा मानिसकै स्वरूप पनि परिवर्तन हुन्छ भन्ने कुरा विज्ञानले नै पुष्टि गरेको छ ।

डार्बिडियन थ्यौरीले पनि यही भनेको छ । मन्दिरमा भएका मूर्तिहरूमा पनि यही विषय प्रतिकात्मक रूपमा सिम्बोलाइज गरिएको हो । डार्बिनले पनि पृथ्वीमा पहिलो प्राणीको स्वरूप माछाको रूपमा पानीमा देखा परेको थियो भनेका छन् । शास्त्रीय सिद्धान्तले यही कुरालाई भगवान विष्णु पानीमा माछाको स्वरूपमा देखा परेका थिए भन्छ ।

डार्बिनले माछापछाडि पृथ्वीमा कछुवाजस्ता रेप्टाइलहरूको अस्तित्व देखापर्‍यो भनेका छन् । त्यही कुरालाई अवतारवादले कुर्म अवतार भन्छ । शास्त्रीय सिद्धान्तमा कछुवापछि दलदलमा बस्ने सुँगुर र बँदेलजस्ता जीवन उत्पत्ति भयो भनिएको छ । त्यही कुरालाई क्लासिकल थ्यौरीले बराह अवतार भन्यो ।

डार्बिनले यही कुरा भनेका हुन् कि प्राकृतिक परिवर्तनका कारणले त्यस्ता खालका जीव पृथ्वीमा देखापर्‍यो, प्राकृतिक पञ्चतत्वको परिवर्तनले फरक जीव उत्पत्ति भयो ।

नृसिंह अवतारको कुरा गर्दा डार्बिनले पनि पहिलो मानवगुण भएको जीव अपुच्छ बाँदर (एप) थियो भने । त्यही गुणमा अरू मानवीय गुण थपिँदै जाँदा आधुनिक मानव भयो भनेका छन् ।

त्यही कुरालाई धर्मशास्त्रले नृसिंह (नृ भनेको मानिस र सिंह भनेको शेर अर्थात बाँदर) अवतार भनेको छ । डार्बिनले बाँदर भने, क्लासिकल थ्यौरीले सिंह भन्यो, फरक यत्ति मात्र हो । त्यसैले यो थ्यौरीमा धेरै समानता पाइन्छ ।

डार्बिनले बाँदर गुण भएको प्राणी विकास हुँदै गएपछि अस्ट्रेलोपिथेकस, होमोपिथेकस, होमोइरेक्टस, नियन्डरथलम्यान भनेर ब्याख्या गरे । मानव गुण विकास हुँदै गएपछि मानिसले सिकार गर्न थाल्यो, हातहतियार विकास गर्‍यो । उसले काट्ने, ताछ्ने र खुर्किने उपकरण प्रयोग गर्‍यो ।

त्यही कुरालाई शास्त्रीय सिद्धान्तमा बामन अवतारको कुरा गर्‍यो । यता अवतारमा मानिसले स्वरूप त ग्रहण गर्‍यो, तर, पूर्ण मानवीय गुण विकास भैसकेको थिएन ।

विष्णुले वामन अवतार लिँदा सुरुमा एउटा सानो जोगीको भेष धारण गरेका थिए । पछि विराट स्वरूप ग्रहण गरे । डार्बिनले पनि पहिले मानिस अविकसित थियो, पछि आधुनिक स्वरूप ग्रहण गर्दै आधुनिक मानव भयो भनेका छन् । त्यसैलाई ‘होमोइरेक्टस’ भनिएको छ । ‘होमो’ भनेको मानिस र ‘इरेक्टस’ भनेको सीधा उभिएर हिँड्न सक्ने मानिस !

अवतारवादमा वामन अवतारपछि परशुराम अवतारको कुरा आउँछ । परशुराम भनेका जङ्गलमा हिँड्नेडुल्ने, बञ्चरोजस्ता हतियार बोक्ने, रिसाहा, सामाजिक सम्बन्ध कायम गर्न नसक्ने, समाजमा मिल्न नसक्ने स्वरूपका हुन् ।

डार्बिनले पनि मानिसहरू पहिले जङ्गली अवस्थामा थिए, काँचो मासु खान्थे, जङ्गलमै घुम्थे, कन्दमुल खान्थे भनेका छन् । यसरी हेर्दा यो अवतार पनि डार्बिनको विकासवादी सिद्धान्तको चरणको व्याख्यासँग मेल खान्छ । त्यसैले परशुराम भन्नु र जङ्गली मान्छे भन्नु एकै हो ।

परशुरामपछि राम अवतारको कुरा आयो । रामले राज्य स्थापना गरे, राजनीतिक चेतनाको विकास गरे, स्थायी रूपमा समाजको सृजना गरे । डार्बिनले पनि मानिसले जङ्गल छाडेपछि कबिला समाजको विकास भयो, विभिन्न सभ्यताको विकास भयो, कृषि र पशुपालन सुरु गरे, सामाजिक सम्बन्धको विकास गरे भनेका छन् । राम अवतार भनेको सामाजिक मानिसको कल्पनाको चरण हो ।

रामपछि कृष्ण अवतारको कुरा गरौँ । अब मानिस रामजस्तो सोझो रहेन, चतुर भयो । कृष्ण चतुर थिए । लोभ्याउने, मोहित पार्ने, ठग्ने, दुःख दिने काम पनि मानिसले गर्न थाल्यो । यो सांस्कृतिक पक्षको कुरा भयो । अब शारीरिक कुरा छाडेर धर्म, संस्कार र संस्कृतिको कुरा जोडियो । ती चलाख मानिसको प्रतिनिधित्व कृष्णले गरे ।

अहिले मानिसमा कृष्णपन बढेर गएको छ । कृष्णका १६ सय गोपिनी थिए । तर, सोझा मानिसले त्यतिधेरै श्रीमती बनाउन सक्दैन । ढाँट्न, छल्न र जता पनि कुरा मिलाउन सक्ने मानिसले पनि विवाहेत्तर सम्बन्ध बनाउन सक्छन् ।

विकासवादी सिद्धान्तले मानिसहरूको चेतना विकास हुँदै गएपछि समाज दुईवटा पक्षमा विभाजित हुन्छ भन्छ । इगो, शक्ति, मानप्रतिष्ठा लगायत कुराहरूमा मानिसहरूको झगडा पर्न थाल्छ । त्यो द्वन्द्वले मानिसलाई सखाप पार्छ भनिन्छ । विश्वयुद्धको कन्सेप्ट यहीँनेर बुझ्न सकिन्छ । कम्युनिजममा त्यो अवस्थाको अन्त्य नै साम्यवाद हो व्याख्या भएको छ ।

क्लासिकल थ्यौरीले पनि कृष्ण अवतारपछि बुद्ध अवतारको कुरा गरेको छ । बुद्ध अवतारमा बुद्ध भनेका सौम्य, सामाजिक मानिस, सबैको भलो चिताउने, सम्यक कर्म, सम्यक दृष्टि, सम्यक विचार हो । कृष्ण चतुर्‍याइँ गर्छन्, बुद्ध सौम्य चाहन्छन् ।

यतिखेर विश्व कृष्ण र बुद्ध अवतारकै समानान्तरमा छ । कृष्ण चतुर हुन्छन्, लडाउने र पछार्ने काममा निपूर्ण छन् । बुद्ध त्यस्तो चाहँदैनन् । यी दुई विचारबीच कसले जित्ने भन्ने रस्साकस्सी छ ।

यो रस्साकस्सीमा समाज विध्वंसनजिक छ । सङ्घर्ष चुलिँदो छ । यो सङ्घर्ष भयानक हुँदा मानिसले आर्जन गरेका सबै कुरा सकिन्छ । आणविक युद्ध चरम अवस्थामा पुग्दा अहिलेको सभ्यता समाप्त हुन्छ । तर, सृष्टि फेरि प्रारम्भ हुन्छ । त्यो कल्पना पनि अवतारवादले गरेको छ । त्यो नै कल्की अवतार हो ।

हिन्दु धर्मशास्त्रमा लेखिएको छ, ‘भगवान विष्णु सेतो घोडामा चम्किलो तरबार बोकेर आइ सबै अत्याचारीलाई अन्त्य गर्छन् र सृष्टि फेरि सुरु हुन्छ । सत्ययुगको सुरु हुन्छ ।’

यसरी सृष्टि र सभ्यताबारे शास्त्रीय सिद्धान्त र विकासवादी सिद्धान्त दुबैले समानान्तर समान व्याख्या गरेका छन् । डार्बिनले यही क्लासिकल थ्यौरीमा टेकेर विकासवादी सिद्धान्त प्रतिपादन गरेका हुन् । तर, विकासवादी सिद्धान्त बढी यथार्थवादी भएकाले त्यसले ‘युनिभर्सल असेप्टेन्स’ प्राप्त गरेको हो ।

अवतारवाद पूजाआजामै सीमित भयो । तर, जतिखेर भगवानको कल्पना गरिएको थियो, त्यतिखेर मूर्तिपूजा थिएन । विष्णुको कल्पनालाई मूर्त रूपमा बुझाउन मूर्तिको आविष्कार गरियो ।

डार्बिडियन सिद्धान्तमा उनले विकास गरेको अवधारणा पुष्टि गर्न उनका फलोअरहरूले मानव विकासका प्रमाणहरू खोजी गर्न थाले । त्यस क्रममा उनीहरूले विभिन्न ठाउँमा विभिन्न मानवपुर्खाका अवशेष प्राप्त गरे । तिनै अवशेष प्राप्त गरेको ठाउँको आधारमा, त्यो खोजी गर्ने व्यक्तिको नामको आधारमा वा त्यो फोसिलको क्याल्कुलेसनको आधारमा त्यसलाई नामाकरण गरे ।

सबैभन्दा पहिलो मानवगुण भएको जीवाशेष केन्यामा भेटियो, त्यसलाई केन्यापिथेकस नामाकरण गरियो । शिवालिक हिल्समा भेटिएकोलाई शिवालिक पिथेकस नाम दिइयो । नेपालमा भेटिएकोलाई रामापिथेकस नाम दिइयो । संस्कृतमा रामा बनेको बाँदर हो । पिथेकस भनेको मानव हो । यसमा संस्कृत र अंग्रेजी दुबै नाम जोडियो ।

यसरी हेर्दा रामापिथेकसको अर्थ नरबाँदर भन्ने हुन्छ । दोस्रो अष्ट्रेलोपिथेकस र तेस्रो होमोइरेक्टस नामारण गरियो । नियन्डरथल म्यानदेखि विभिन्न ठाउँमा भेटिएका फरकफरक अवशेषहरूलाई फरकफरक नाम दिइयो ।

यसरी मानवको इतिहास लाखौं वर्षको जीवको वातावरणीय प्रभावका कारण देखा परेको शारीरिक फरकपनाको कारणले गर्दा एउटा प्रजातिभित्र भएको पुस्ता हस्तान्तरणको क्रममा पुस्तौं पुस्ता पछाडि मोर्डन म्यान देखापर्‍यो भन्ने पुष्टि भयो ।

त्यही कुरा मानवशास्त्रको पहिलो अध्ययन विश्लेषणको विषय हो । यही विषयलाई मध्यनजर गर्दै मानवशास्त्रलाई छुट्टै विषयको रूपमा विकास गरियो । त्यो नै मानवशास्त्रको सबैभन्दा महत्वपूर्ण पाटो हो ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  २ : ४९ बजे

‘होल्डिङ फ्यूल’ नपुग्ने भन्दै काठमाडौं आइसकेको नेवानिको जहाज पठाइयो दिल्ली

काठमाडौं- आकाशमा चक्कर लगाउन ‘होल्डिङ फ्यूल’ नपुग्ने भन्दै काठमाडौं आइसकेको

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं– बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ

सुशासन प्रवर्द्धनमा सञ्चारकर्मीको जोड

पाटन– सुशासन प्रवर्द्धनमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका हुने भएकाले सूचनाको हकलाई

नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत 

काठमाडौं– नबिल बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र

प्रचण्डको स्पष्टीकरण : नेकपाका संरचना अपूरा छन्, विधानअनुसार समावेशी बनाउँदै जान्छौं  

काठमाडौं– नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित एक दर्जनभन्दा