एमालेले तत्काल ओलीको विकल्प नखोज्ने, आन्दोलनमा पनि नजाने | Khabarhub Khabarhub

एमालेले तत्काल ओलीको विकल्प नखोज्ने, आन्दोलनमा पनि नजाने

फागुन २१ को चुनावमा भाग लिने एमाले नेताहरुको संकेत



काठमाडौँ- सम्भवत: विश्वकै छोटो आन्दोलनमार्फत् सत्ताबाट अप्रत्यासित बहिर्गमनमा परेको नेकपा एमालेले तत्कालै अध्यक्ष केपी शर्मा ओलीको विकल्प नखोज्ने भएको छ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गत साउन ५-६ को केन्द्रीय कमिटी बैठकबाट रोकिसकेका ‌ओलीले भदौ २३ र २४ को जेन-जी आन्दोलनबाट अकल्पनीय धक्का ब्यहोरेर गोप्य स्थानमा बस्नु परेको छ।

जेन-जी आन्दोलनका नाममा एमालेका केन्द्रीय कार्यालयसहित देशभरका दर्जनौँ भवन ध्वस्त पारिएका छन् । अध्यक्ष ओलीकै भक्तपुरको बालकोट, तेह्रथुम र झापा तीनै स्थानका घरहरू जलाइएका छन् । अर्थात् अहिले ओली र एमालेमाथि आइलागेको बिपदमा एकैसाथ सबैजना घरबारविहीन भएका छन् ।

भदौ २३ गते दिउँसो १९ जना प्रदर्शनकारीको ज्यान गएपछि मध्यरातिसम्म राजीनामा नदिने हठमा रहेका प्रधानमन्त्री ओलीले भोलिपल्ट घुँडा टेक्नुपर्‍यो । २३ गते सोमबारको क्याबिनेटपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ बालुवाटारमा भनिरहेका थिए, ‘गृहमन्त्रीले राजीनामा दिइसक्नु भयो, प्रधानमन्त्रीले राजीनामा दिने कुरा छैन ।’

त्यसपछि मंगलबार बिहानसम्म प्रधानमन्त्री ‌ओली अडानमै थिए । उनले मंगलबार साँझ सर्वदलीय बैठक राखे । तर उनको सर्वदलीय बैठकअघि नै संसद् भवन, सिंहदरबार, शीतल निवासदेखि सयौँ सरकारी संरचना ध्वस्त पारियो । खासगरी कांग्रेस, एमाले र माओवादी नेताहरूका घर छानीछानी तोडफोड गरियो, ध्वस्त बनाइयो ।

त्यसपछि मंगलबार दिउँसो पदबाट राजीनामा दिएका प्रधानमन्त्री ओली बालुवाटारबाट सेनाको हेलिकप्टर चढेर कतै गए । सम्भवत: सेनाको शिवपुरी व्यारेक वा अन्यत्र कुनै सुरक्षित स्थानमा । मंगलबार दिउँसो सेनाको हेलिकप्टर चढेर बालुवाटार छाडेका उनले ६ दिन बितिसक्दा पनि कुनै सार्वजनिक वक्तव्य दिएका छैनन् ।

सामाजिक सञ्जाल फेसबुकसहित बन्द गराएर बसेको सरकारले टिकटकमा जेन-जीले छेडेको ‘नेपो बेबिज’ आन्दोलनबारे सरकार हेपाहा व्यवहार देखाएको कुरा उनले भदौ २२ गते ललितपुरको गोदावरीमा दिएको भाषणले पुष्टि गर्‍थ्यो । ओलीले त्यस दिन जेन-जीका नाममा घुसपैठियाहरूले उपद्रो गर्न सक्ने बताएका थिए ।

जेन-जीलाई हेपाहा शैलीमा बोलेका ओलीले उनीहरूका आवाजबारे एक पटक पनि छलफलमा चासो देखाएनन् । जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएरै कार्यक्रम थालिँदा पनि सरकार गम्भीर थिएन । त्यसकै परिणामस्वरुप आफ्नो तेस्रो कार्यकालमा एमालेलाई समेत सबैभन्दा संगिन संकटमा पार्दै सरकरबाट ओलीको पतन भएको छ ।

६ दिनदेखि ओली कहाँ छन् भन्ने सम्भवत: एमाले महासचिव पोखरेलसहितलाई अवगत होला । एक निमेषमै सबैथोक गुमाएका ओली र गृहमन्त्री रमेश लेखक जेन-जी आन्दोलनकारीको निशानामा थिए । त्यहीकारण पनि हुन सक्छ, ओलीलाई अहिलेसम्म सेनाले सार्वनजिक गरेको छैन ।

‌ओलीले ६ दिनदेखि गुमनाम जीवन बिताइरहँदा अचानक सत्ता गुमाउँदा शिथिल बनेका एमालेका अन्य नेताहरू भने बाहिर निस्किन थालेका छन् । कुनै सेल्टरमा बसेर चारवटा फेसबुक पोस्ट सार्वजनिक गरेका महासचिव पोखरेलले आइतबार राति काठमाडौँमा जुम बैठकसमेत गरे । उपलब्ध स्थायी कमिटी सदस्य, प्रदेश अध्यक्ष र केन्द्रीय कमिटी सदस्यसहित करिब २०० जनाबीच आइतबार जुम मिटिङ गराएका पोखरेल सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा झुल्किए ।

च्यासलमा उनी, उपमसहाचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य शेरधन राईसहितका नेताहरू जम्मा भएका थिए । जहाँ उनले अहिले एमालेका लागि खरानी टक्टक्याएर उठ्नुको विकल्प नरहेको बताएका थिए । उपमहासचिव प्रदीप ज्ञवालीले पनि त्यही निष्कर्ष सुनाए ।

जुम मिटिङमा के भयो ?

महासचिव पोखरेलले आइतबार राखेको जुम मिटिङमा अहिले नै एमालेको नेतृत्व परिवर्तनबारे सोच्नु हतार हुने बताए । उक्त मिटिङमा सहभागी एकजना नेताका अनुसार पोखरेलले अहिले नेतृत्वको विषयमा अल्झिने बेला नभएको निष्कर्ष सुनाए ।

‘अहिले केही साथीहरूले नेतृत्वको कुरा उठाउन थालेका छन् । अहिले नेतृत्वको विषयमा अल्झिनु हुँदैन । तत्काल त्यता नजाऊँ, प्रक्रियागत ढंगबाट महाधिवेशनमा गएर त्यो खोज्नु उचित हुन्छ । यसरी माथिको नेतृत्वको विकल्प खोज्न थाल्दा तलैसम्म कमिटी भताभुंग हुन्छ भन्ने उहाँको निष्कर्ष थियो’, बैठकमा सहभागी एकजना नेताले भने ‘यो आन्दोलन उठ्नुमा केपी शर्मा ओली र एमाले मात्रै कारक तत्व हो भन्ने पत्याउन सकिँदैन । हिजो केपी ओली केही नहुँदा पनि दरबार हत्याकाण्ड भएको थियो । त्यसैले हामीले नेतृत्वका विषयमा उचित समयमा सोच्नुपर्छ ।’

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलहरू सहभागी नभएको उक्त बैठकमा विद्या भण्डारीबारे केही कुरा नउठेको ती नेताले बताए । ‘विद्याको पाटोको च्याप्टर क्लोज भइसकेको छ । कसैले कुरा पनि उठाएनन् । अहिले नेतृत्व फेर्न यही घटनाका कारण एमाले जाँदैन भन्ने मिटिङको निष्कर्ष थियो । विस्तारै पार्टीलाई रिभाइभ गर्न सकिने निचोडसहित हामी उठ्यौँ’, ती नेताले भने, ‘हामी अर्ली महाधिवेशनमा गएर अहिलेको नेतृत्वको विकल्प खोज्ने तयारीमा छौँ । विधान महाधिवेशनकै गाइडलाइनका आधारमा अर्ली महाधिवेशन भएर नेतृत्व हेरफेर हुन्छ ।’

महासचिव पोखरेलले उक्त जुम मिटिङमा नेतृत्व परिवर्तनका लागि पार्टीका आफ्नै विधि विधान रहेका बताएका थिए ।

एमालेमा अहिले गम्भीर समस्या छ । केपी ओलीबाहेक कसले आएर यो परिस्थित सम्हाल्छ भन्ने विश्वासलाग्दो पात्र नै छैनन्’, ती नेताले भने, ‘सुरेन्द्र पाण्डेलाई ईश्वर पोखरेलले नस्वीकार्ने, अष्टलक्ष्मी शाक्यलाई सुरेन्द्र पाण्डेले नमान्ने, शंकर पोखरेललाई विष्णु पौडेलले नसुन्ने, योगेश भट्टराई र गोकर्ण विष्टले नसक्ने, हामीलाई बडो संकटपूर्ण अवस्था छ ।’

उक्त मिटिङमा महासचिव पोखरेले पहिले राष्ट्र, संविधान र व्यवस्था जोगाउने कुरामा ध्यान दिनुपर्ने निष्कर्ष सुनाएका थिए । सोही अनुसार संसद् विघटनलाई गलत भनेको एमालेले फागुन २१ गते हुने चुनाव भने बहिष्कार नगर्ने मानसिकता बनाएको छ ।

‘६ महिनामा चुनावमा नजाँदा सेनाले सत्ता लिने डर एकातिर छ, अर्कातिर देशमा झन् ठूलो विदेशी चलखेल बढ्छ । अहिले चुनावमा नजाने, बहिष्कार गर्ने कुरा हुँदैन’, एमालेका अर्का नेताले खबरहबसँग भने, ‘अब विस्तारै पार्टी कार्यालयहरूलाई चलाउन थाल्ने, कमिटी बैठक बसाउन थाल्ने, पुनर्निर्माणमा केन्द्रित हुने नीति बन्दैछ । पार्टी केन्द्रीय कमिटी बैठक पनि यो स्थिति साम्य भएपछि बस्छ । केन्द्रीय कार्यालयको टुंगोटांगी गरेपछि बस्छ ।’

के भन्छन् प्रदेश अध्यक्ष ?

एमालेले यो संकट कसरी पार लगाउला त ? खबरहबले यसबारेमा बागमतीमा प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलसँग कुराकानी गरेको छ । उनले यो महासंकटबाट पार्टीलाई जीवन्त बनाउन थाल्ने बताए । अहिले सडकमा उत्रिएर आन्दोलन गर्ने भन्दा पनि पार्टी पुनर्गठनलाई तीव्र पारिने उनले बताए ।

उनले अहिले नै एमालेको नेतृत्व फेर्ने दिशातिर जानु अनुचित भएको बताए । ‘नेतृत्व फेर्ने विषयमा बहस छ तर त्यसका लागि महाधिवेशनमा जानुपर्ने हुन्छ’, ढुंगेल भने, ‘पार्टीको विधान महाधिवेशनले नै अर्ली महाधिवेशनको दिशा निर्देश गरेर त्यहीँमार्फत् सबै कुराको टुंगो लाग्ला ।’

च्यासलको मुड पनि निर्वाचनतिर

सोमबार च्यासलमा सार्वजनिक भएका महासचिव पोखरेलले वर्तमान सरकारले भ्रष्टाचार अन्त्य र शुसासनका कदम अघि बढाउँदा एमालेले सहयोग गर्ने बताए ।

केही दिनअघि संसद् विघटनलाई असंवैधानिक कदम भनेका उनले सोमबार कुरा फेरेका छन् । सुशाील कार्की नेतृत्वको सरकार अन्तरिम भएकोले यसको मूल काम सुरक्षाको वातावरण बनाउने र समयमै निर्वाचन गराउनेमा ध्यान जानुपर्ने बताए । अर्थात् नयाँ सरकारले गरेको संसद् विघटनप्रति मौनता साँधेका उनले समयमै निर्वाचन हुने विश्वास जनाएर त्यसमा एमाले पनि होमिने संकेत गरे ।

‘नेपालका सबै लोकतान्त्रिक पार्टीहरु जनतामा गएर, जनताबीचबाट अभिमत प्राप्त गर्ने प्रक्रियामा प्रवेश गर्नुभएको छ भन्ने हामी ठान्दछौँ’, पोखरेलले भने ।

उनले च्यासलमा उभिएर सम्बोधन गर्नुअघि अहिलेसम्मकै ठूलो हँसिया हथौडाअंकित झण्डा पनि फहराइएको छ । अर्थात्, एमालेले यो विध्वंशपछिको खरानीबाट उठेर चुनावको तयारीमा लाग्ने संकेत गरेको छ।

अर्कातिर च्यासलमै उपमहासचिव प्रदीप ज्ञवालीले पनि खरानीकै थुप्रोमा टेकेर एमालेले फेरि उभिने बताए । पार्टी कार्यालय च्यासल पुगेका ज्ञवालीले सुरक्षाकर्मीलाई सहयोगको खाँचो रहेको बताउँदै राहत अभियानमा लाग्नु जरूरी रहेको सुनाए ।

‘छानो बनाएर हुन्छ कि जस्तापाता लगिदिएर हुन्छ कि पानी दिएर हुन्छ कि एक छाक खाना खुवाएर हुन्छ कि सुरक्षाकर्मीको सहयोगमा खटिनु होला’, उनले कार्यकर्तालाई भने ।

ज्ञवालीले विध्वंशको आक्रोश मनभरी भए पनि अहिले सम्हालिनुपर्ने बताए । ज्ञवालीले पनि अहिले नै नेतृत्वको विकल्पा जान खोज्नु उचित नहुने संकेत गरे । उनले सम्हालिएर मात्रै यसरबारे निर्णमा जानुपर्ने निष्कर्ष च्यासलमा सुनाए ।

‘कुनै बेला तपाईं हर्षित हुनुहुन्छ । त्यस्तो बेलामा कुनै वचन नलगाउनु । रिस र आवेगमा हुँदा जवाफ नफर्काउनु । जतिबेला उदास भएका बेला कुनै निर्णय नलिनुस्, उदासीमा लिएका निर्णयले हामीलाई संकटमा पार्छ’, उनले भने, ‘अहिलेको घटनाको समीक्षा समय आएपछि हुन्छ । नयाँ ढंगले अघि बढ्ने कुराको पनि पनि समय आउँछ । सबै कुराको समीक्षा हुनेछ । हाम्रा भित्री कुराबारे कुरा चर्चा हुनेछ ।’

उनले अहिलेको जेन-जी आन्दोलनको यो पहिलो भाग मात्रै भएको आशंका गरे । ‘यो आन्दोलनको पृष्ठभूमिमा सतहमा देखिएका भन्दा धेरै गहिरो योजना र कारणहरू छन्’, उनले भने, ‘अहिलेको योजना बनाउनेहरू अझै रोकिनेवाला छन् । यो पार्ट १ मात्रै हो । अर्को पार्टको पनि तयारी गरिरहेका छन्।’

उपमहासचिव ज्ञवालीले एमालेमाथि भएको अहिलेको आक्रमणपछि कार्यकर्तालाई २०६४ सालमा फर्काउँदै फिनिक्स चराको कथा पनि सुनाए।

‘२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा जब हामी ३३ सिटमा खुम्चियौँ, त्यसबेला अब आन्दोलन सकियो भनेर धेरैले निष्कर्ष सुनाए । तर मैले त्यसबेला एउटा आर्टिकल लेखेको थिएँ,‘फिनिक्स पंक्षी र एमालेको पुनर्जीवन’ शीर्षकमा ’, उनले भने ।

ज्ञवालीले फिनिक्स चराबारे पौराणिक कथाको विवरणलाई अहिलेको विध्वंशसँग तुलना गरे । ‘फिनिक्स भन्ने पंक्षीबारे एउटा पौराणिक कथा छ । त्यो कुनै ग्रन्थमा लेखिएको छ’, उनले भने, ‘एउटा सुन्दर चरो, जुन लामो समय बाँच्छ र उचाइसम्म उडेर जान सक्छ । त्यो चरो उड्दै उड्दै गएर आफ्नै पखेँटामा आगो लागेर सकिन्छ र खरानी हुन्छ। तर त्यसलाई त्यही खरानीबाट पुनर्जीवन पाउने बरदान मिलेको हुन्छ। एमालेलाई पनि त्यो बरदान नेपाली जनताले दिएका छन् । हामीलाई खरानीमा टेकेर फेरि पलाउने बरदान अरू कसैले होइन नेपाली जनताले दिएका छन् । एमालेलाई जनताबाट मिलेको बरदानले हामी खरानी टेकेर फेरि उभिनेछौँ ।

उनले यो विध्वंशबारे अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको भनाइ दोहोर्‍याए ।

‘यो विध्वंशको सन्दर्भमा प्रधानमन्त्री सुशीला कार्कीले भनिसक्नु भएको छ । यसरी आगजनी गर्ने कोही पनि नेपाली होइनन् भनेर उहाँले भने जस्तै हाम्रो पनि निष्कर्ष त्यही हो’, उनले भने, ‘हामी दृढताका साथ बोल्न तयार छौँ । तर अहिलेलाई हामी समीक्षासहित बिस्तारै अघि बढौँ ।’

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ८ : ४७ बजे

निर्वाचनका लागि प्रारम्भिक तयारी सुरु

काठमाडौं– प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते निर्वाचनको मिति

बिर्तामोड नगरपालिकामा सरसफाइ

बिर्तामोड– जेन-जी प्रदर्शनका क्रममा क्षतिग्रस्त भएको बिर्तामोड नगरपालिका कार्यालयमा आजदेखि

लोकमानलाई शक्तिहीन बनाउने ओमप्रकाशको अग्निपरीक्षा

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषदमा ओमप्रकाश अर्यालले गृह र कानून,

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुने

काठमाडौँ – अन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको मन्त्रिपरिषद्‌

तातोपानी र रसुवागढी नाका सञ्चालनमा ल्याउन नसकेपछि मुस्ताङ भन्सार खोलियो

काठमाडौं– चीनसँगको वैदेशिक व्यापारका लागि प्रयोग हुँदै आएका सिन्धुपाल्चोकको तातोपानी