हेल्लो दाइ, कमरेड ! खुरुक्क चुनावमा जाऔँ ! | Khabarhub Khabarhub

हेल्लो दाइ, कमरेड ! खुरुक्क चुनावमा जाऔँ !

संकटको एउटै ओखती : फागुन २१ को ‘अर्ली इलेक्सन’


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 12 मिनेट


915
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र रास्वपाका शीर्षनेताहरुको कुबुद्धिका कारण भदौ २३–२४ मा ऐतिहासिक ‘जेन–जी विद्रोह’ भयो । तर, विडम्बना ! यत्ति ठूलो विद्रोहपछि पनि पुराना पार्टीका नेता–कार्यकर्तामा सद्बुद्धि पलाउन सकेको छैन ।

दलका नेताहरुमा व्याप्त पहिलेको कुबुद्धिका कारण सिंहदरबार र संसद भवन जल्यो । भदौ २४ पछिको अल्पबुद्धिले ६ महिनापछि लोकतन्त्र र संविधानसमेत जल्ने जोखिम यथावत् छ ।

राजनीतिक दलका नेताहरुले आजको मितिसम्म भदौ २३/२४ को ऐतिहासिक दिनलाई सामान्य घटना ठानिरहेका छन् ।

प्रार्थना गरौं– हे भगवान् ! कांग्रेस, एमाले, माओवादी र रास्वपाका नेताहरुलाई सदबुद्धि देऊ !

वर्तमान परिस्थिति

भनिरहनु परेन, भदौ २३ गते सरकारले जेन–जीमाथि निर्मम गोली प्रहार गर्‍यो । राज्यका तर्फबाट भएको ‘श्वेत आतंक’को जवाफस्वरुप भदौ २४ गते देशैभरि आन्दोलन र आक्रोशको ज्वाला दन्कियो । सिंगै देश आन्दोलनकारी युवाको नियन्त्रणमा गयो । प्रधानमन्त्री, मन्त्री र दलका नेताहरुले सेनाको सहारामा जसोतसो ज्यान जोगाए । प्रधानमन्त्री ओलीले बाध्य भएर राजीनामा लेखे । देउवा दम्पत्ति घाइते भए । सिंहदरबारमा सर्वदलीय बैठक डाकिरहेका प्रचण्ड त्यतैबाट भूमिगत भए । दुई तिहाईको शक्तिशाली सरकार तासको घरजस्तै क्षणभरमा ढल्यो । संसद विघटन भयो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा आगो लाग्यो ।

अन्ततः भदौ २५ पछि नेपाली सेनाले क्रमशः स्थितिलाई नियन्त्रणमा लियो । राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार बनाए । कार्की सरकारमा कुलमान घिसिङ, रामेश्वर खनाल र ओमप्रकाश अर्याललाई मन्त्री बनाइयो । नयाँ अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने मुख्य जिम्मेवारी पायो । सरकारमा पुगेका पाँचैजना बेदाग एवं स्वच्छ छविका रहेकाले जनतामा अन्तरिम सरकारप्रति आशा र भरोसा जागेको स्थिति छ । परिवर्तन चाहने जनता उत्साहित देखिएका छन् ।

तर, राजनीतिक दलहरु भने अझै दुलोबाट बाहिर निस्कन सकेका छैनन् । अब के गर्ने, कसो गर्ने, उनीहरु दिशाहीन छन् । उपायहीन छन् । उनीहरुले ‘राइटिङ अन द वाल’ ठम्याउन सकेका छैनन् । दोस्रो पुस्ताका नेताहरुले समेत देउवा, ओली र प्रचण्डलाई हटाउन समय लाग्छ, प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ भन्दै गोश्वारा कुरा गरिरहेका छन् । रवि जेल फर्किसके तर रास्वपाले उनको ठाउँमा अर्को व्यक्तिलाई पार्टी सभापति बनायौं भन्ने आँट गर्न सकेको छैन ।

एकै मिनेटमा राजीनामा दिन सकिने विषयमा पनि पुराना पार्टीका असफल शीर्षनेताहरुले ‘फेरि उठ्ने’ आशमा अहिलेसम्म पद छाडेका छैनन् । पुराना पार्टीका कार्यकर्ताहरु बिलखबन्दमा छन् । भदौ २३/२४ को क्रान्तिले धेरै कुराहरु बदल्यो तर पुराना पार्टीलाई बदल्न नसकेको अवस्था छ ।

पुराना पार्टीका केही नेताहरु जेन–जी आन्दोलनको जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक करार गर्दै असयोग गर्ने र चुनावको वातावरण धमिल्याउने बाटोमा लागेका छन् । नयाँ प्रधानमन्त्री र मन्त्रीहरुलाई के भनेर बदनाम गराउन सकिन्छ भन्दै पुराना पार्टीका कतिपय नेता–कार्यकर्ताहरु सामाजिक सञ्जालमा नकात्मकता फैलाउने अभियानमा सक्रिय बनिसकेका छन् ।

पुरानै ‘ह्याङओभर’ बाट ग्रस्त कतिपय ‘दलीय पत्रकारहरु’ पनि पुरानाको सेवा गर्ने र नयाँको बदख्वाइँ गर्ने अभियानमा लागिसकेको अवस्था छ । भदौ २३/२४ को परिवर्तनले कयौं पत्रकारलाई बदल्न सकेको छैन । शायद, वकिल र सरकारी कर्मचारीहरुमा पनि यस्तै पुरानै ह्याङओभर छ कि ? हेर्न बाँकी छ ।

दलका कतिपय नेताहरुले अब अदालतबाट प्रतिनिधिसभा पुन:स्थापना हुने आशा गर्न थालेको देखिन्छ । अर्कोतिर सडक आन्दोलन गरेर संसद फर्काउने हुती उनीहरुसँग छैन । तथापि, उनीहरु अझै पनि सत्तामा ओली–देउवा–प्रचण्ड–रविको पुनरागमन हुन्छ कि भन्ने भ्रममा छन् ।

अर्कोतिर, लोकतन्त्रप्रति आस्था राख्नेहरुमा चाहिँ अबको ६ महिनाभित्र चुनाव सफल भएन भने मुलुक सैनिक शासनतिर जाने वा संविधान नै ‘कोल्याप्स’ हुने हो कि भन्ने त्रास देखिन्छ ।

निर्वाचन सफल नहुने अवस्था आएमा ज्ञानेन्द्र शाहलाई नारायणहिटीमा फर्काउन सकिन्छ कि भनेर राजावादीले दोस्रो जमर्को गर्ने निश्चित छ । किनभने, पहिलो किस्तामा भदौ २३/२४ को आन्दोलनलाई राजावादी धारतर्फ लैजान दुर्गा प्रसाई र राप्रपाका नेताहरुले भरमग्दुर प्रयास गरेकै हुन् । तर, सेनापति र राष्ट्रपतिले ‘बडो जुक्ति लगाएर’ संविधान र व्यवस्थालाई जोगाएको अवस्था छ, जसबाट राजावादीहरु निराश बनेका छन् ।

प्रश्नको मुस्लो

नेपालको पछिल्लो राजनीतिक परिघटनाबारे अनेकखालका प्रश्न मडारिइरहेका छन् । मूलतः भदौ २३/२४ को घटनाको अन्तर्य के हो ? यो घटनालाई कसरी विश्लेषण गर्ने ? यो क्रान्ति हो कि ‘क्राइम’ ? यो अग्रगमन हो कि प्रतिगमन ? यो घटनाबाट कसले जित्यो ? कसले हार्‍यो ? कसले के पायो ? कसले के गुमायो ? अब, अगाडिको यात्राका लागि सही बाटो के हुन सक्छ ?

खासगरी, एमाले कांग्रेस, माओवादी र रास्वपा जस्ता प्रमुख राजनीतिक दल, आन्दोलनरत जेन–जी पुस्ता अनि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले ध्यान दिनुपर्ने मुख्य कामहरु के–के हुन् ? सञ्चार माध्यम र आम नागरिक समाजले अहिलेको परिस्थितिमा कस्तो भूमिका खेल्नु पर्ला ? यी सामयिक प्रश्नहरुमा स्पष्ट दृष्टिकोण निर्माण गर्नु अहिलेको अहम आवश्यकता हो ।

नेपालको राजनीतिक सन्दर्भमा उब्जेका विविध प्रश्नको विश्लेषण गर्ने क्रममा विश्व राजनीतिमा दन्किइरहेको आन्दोलनको ज्वाला पनि एकचोटि राम्रोसँग नियाल्न जरुरी छ ।

संसारभर के भइरहेको छ ?

यतिबेला विश्वमा के भइरहेको छ ? नेपालका नेताले अन्तर्राष्ट्रिय परिस्थितिको समेत समीक्षा गरेर अगाडि बढ्न आवश्यक छ । श्रीलंका, बंगलादेश, दक्षिण कोरिया, भनेजुएला, जर्मनी, जर्जिया, पाकिस्तान, ट्युनिसिया र लेबनानमा यस वर्ष के–के भयो ? केन्यामा जेन–जेडहरुले के गरे ? भर्खरै इण्डोनेसियामा जेन–जीहरुले के गरे ? यसको पनि गहिरो अध्ययन आवश्यक छ ।

फ्रान्समा ‘ब्लक एभ्रिथिङ’ नामक ग्रासरुट आन्दोलन कसरी चर्कियो ? त्यसमा सामाजिक सञ्जालको प्रयोग कसरी भयो ? सरकारविरोधीहरु कसरी संगठित भएर सडकमा अढाई लाखको संख्यामा उत्रिए । र, पेरिसमा कसरी आगजनी र हिंसा भड्कियो ? फ्रान्समा अहिले वामपन्थीहरु र ट्रेड युनियनहरुले के गरिरहेका छन ? युवा विद्यार्थीको आवाज के छ ? यो पनि नेपालका नेताले पढ्न आवश्यक छ ।

विश्वको शक्तिशाली देश बेलायतमा समेत अहिले के भइरहेको छ ? आप्रवासीहरुलाई डिपोट गर्नुपर्ने लगायतका माग राखेर सेन्ट्रल लण्डनमा भएको प्रदर्शनमा करिब डेढ लाख प्रदर्शनकारीको सहभागिता देखिएको छ । त्यहाँ आपराधिक पृष्ठभूमिका उग्र दक्षिणपन्थी अभियन्ता टोमी रविन्सनको अगुवाइमा प्रदर्शन भएको छ । सरकार र संसद विघटन गर्नुपर्छ भन्दै टेस्लाका मालिक एलन मस्कसमेत धुरा पसेका छन् । झिनो स्वरमै भए पनि दक्षिणपन्थीहरुको समेत विरोध भइरहेको छ । त्यसमा ५ हजार हाराहारीको संख्यामा मात्रै उपस्थिति देखिएको छ । स्वतन्त्र सांसद डायने एबर्ट हिम्मतका साथ नस्लवादविरोधी प्रदर्शनमा सडकमै उत्रिएका छन् ।

नेपालीहरुको गन्तव्य राष्ट्र अष्ट्रेलियामा ‘मार्च फर अष्ट्रेलिया’का नाममा चर्किएको आप्रवासी विरोधी एवं अति दक्षिणपन्थी आन्दोलनको प्रभावबारे पनि नेपालका नेताहरुले राम्रोसँग विचार–विमर्श गर्न जरुरी छ ।

संसारभरि बढ्दै गएको आन्दोलनको लप्कोले भारतको मोदी सरकारलाई पनि प्रभावित पार्ने हो कि भन्ने चिन्ता दिल्लीमा बढिरहेको छ, यसलाई पनि नेपालले राम्रोसँग नियाल्नुपर्छ ।

संसारभरि कस्तो हावा चलिरहेको छ भन्ने तथ्यको हेक्का नै नराखी अँध्यारो कोठाभित्र बसेर भिडियोमार्फत् जेन–जीको आन्दोलनलाई अपराधीकरण गर्दै ‘राष्ट्रपतिको कदम असंवैधानिक’ हो भनिरहने हो भने आगामी दिनमा कांग्रेस, एमाले र माओवादीले थप दुर्दिनहरु व्यहोर्नुपर्ने हो कि ? यसतर्फ पुराना पार्टीका नेताहरुको विषय ध्यान जान जरुरी देखिन्छ ।

अहिले विश्वभर नै अति दक्षिणपन्थी नस्लवादको हावा बगेको छ । दक्षिणपन्थी हावाका कारण लोकतन्त्र संकटमा पर्दै गइरहेको छ । कतिपय देशमा सत्तामा रहेका दक्षिणपन्थीहरु समेत संकटमा छन् । सत्तामा रहेका दक्षिणपन्थी, उदार लोकतन्त्रवादी वा वामपन्थी, जोसुकैप्रति पनि आम नागरिकमा असन्तोष र विद्रोह भड्किरहेको छ । र, नेपाल पनि त्यही जनआक्रोश सांसारिक हावाको झोंक्कामा पर्न गएको छ । शायद यसमा देशी–विदेशी भूमिगत गिरोहको ‘इञ्जिनियरिङ’ले पनि थप काम गरेको छ, चाहे बंगलादेशमा होस् या नेपालमा ।

यस लेखमा विश्व राजनीतिको चर्चा गर्ने मुख्य उद्देश्य होइन । यहाँ घरेलु राजनीतिकै विषयमा छलफल गर्ने उद्देश्य राखिएको छ । त्यसर्थ, अब भदौ २३/२४ को आन्दोलनको जगमा उत्पन्न प्रश्नहरुतिरै फर्कौं ।

पहिलो प्रश्न : ओली–देउवा–प्रचण्ड–रविको असफलता अझै सावित भएन र ?

दुईदिने जेन–जी आन्दोलनबाट दुई तिहाईको सरकार गल्र्यामगुर्लुम ढल्दा ओली सरकारले किन आफूलाई प्रतिरक्षा गर्न सकेन ? भदौ २३/२४ मा युवापुस्ताको विद्रोह के कारणले भड्कियो ? देशमा यत्रो विकराल घटना हुन लागेको पूर्वानुमान सरकारी गुप्तचर निकाय (राष्ट्रिय अनुसन्धान विभाग) ले गर्न नसक्नुको खास कारण के हो ? सरकारी सुरक्षा संयन्त्रले यति ठूलो विपत्तिको पूर्वआकलन गर्न किन सकेनन् ? एकैदिनमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र नेताहरुलाई हेलिकोप्टरबाट उद्धार गर्नुपर्ने अवस्था किन र कसरी आइलाग्यो ? सिंहदरबार, संसद भवन र सर्वोच्च अदालतजस्ता प्रशासनिक केन्द्रहरुको सुरक्षा किन हुन सकेन ? सशस्त्र प्रहरी, जनपथ प्रहरी र नेपाली सेनाले ओली सरकारलाई सहयोग गर्नुको साटो आन्दोलनकारीप्रति सहानुभूति प्रकट गरेको पो हो कि ? आखिर, दुईतिहाईको दम्भ गरिरहेको ओली सरकार किन गर्ल्याम गुर्लुम ढल्यो ? यी प्रश्नमाथि समीक्षा गर्ने दायित्व सत्तामा रहेका एमाले–कांग्रेसका नेताहरुको हो । ०७९ चुनावपछि घुम्दै फिर्दै सरकारमा पुगेका माओवादी र रास्वपाका नेताहरुको पनि हो ।

आलोचकले त भन्दै आएका थिए– सरकार र राजनीतिक दलहरुप्रति जनतामा निराशा बढिरहेको छ, कुनै दिन विष्फोट हुन सक्छ ।

हुन त कांग्रेस–एमालेका नेताहरुले जेन–जीको आन्दोलनमा राजावादी र विदेशी तत्वको घुसपैठ एवं डिजाइनले काम गरेको, चोरी र लुटपाट भएको इत्यादि तर्क गरिरहेको सुनिन्छ । एकछिनलाई मानौं– आन्दोलनमा घुसपैठ नै भयो रे । तर, त्यस्तो घुसपैठको पूर्वतयारी र डिजाइनबारे सिंगो राज्यसंयन्त्र बेखबर रहनु ओली सरकारको कमजोरी हो कि होइन ? यो स्थिति सिर्जना हुनुमा सरकारको गम्भीर ‘सुरक्षा कमजोरी’ देखिएको हो वा होइन ? के त्यतिबेला प्रधानमन्त्री ओलीको बुद्धि ‘टाट पल्टिए’को थियो ?

भदौ २३ गते कलिला युवामाथि गोली बर्साउनु अनि २४ गते देशैभरि भौतिक सामग्रीमाथिको क्षतिलाई रोक्न नसक्नु ओली सरकारको सामान्य कमजोरी मात्र हो या गैरजिम्मेवारीको पराकाष्टा हो ? यसको छिनोफानो आवश्यक छ । राजनीतिक आन्दोलनमा राजावादी वा अरु विभिन्न तत्वहरु घुसपैठ गर्नु स्वाभाविकै हो । तर, कथित ‘प्रतिगमनको योजना’ रोक्न नसक्नु ओली–देउवा सरकारको चरम असफलता हो कि होइन ? यसको नैतिक जिम्मेवारी ओली र देउवाले लिनुपर्छ कि पर्दैन ? यो प्रश्न पनि कांग्रेस–एमालेतिरै सोझिन्छ ।

आन्दोलनको दोस्रो दिन प्रधानमन्त्री ओलीले बाध्यतापूर्वक तर अलि ढिलो गरी राजीनामा दिए । सरकारी सम्पत्ति, व्यक्तिको व्यापार व्यवसाय, निजी सम्पत्ति र जनधनको सुरक्षा गर्न नसकेपछि ओलीले राजीनामा दिनै पर्दथ्यो, अर्को विकल्प नै थिएन । तर, सरकार सञ्चालनमा जस्तै पार्टी अध्यक्षको भूमिकामा पनि ओली र देउवा असफल भएका हुन् कि होइनन् ? कांग्रेस र एमालेले गरेको सातबुँदे सहमतिको जगमा बुनिएको गठबन्धनको भद्दा ‘थ्यौरी’ नै असफल साबित भएको हो कि होइन ? अनि यो अवस्थामा देउवा र ओली दुबैले असफलताको नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन ? पार्टी प्रमुखबाट राजीनामा दिएर पार्टी पुनर्गठनका लागि मार्गप्रशस्त गर्ने कि यत्तिकै चुप लागेर बस्ने ? यो गम्भीर प्रश्नमा कांग्रेस र एमालेभित्र आन्तरिक बहस गर्न ढिलो भइरहेको छ ।

साथै, ०७९ को चुनावपछि सत्ताका लागि एमाले र कांग्रेसकै वरिपरि फन्को मार्दै यहाँसम्म आएका माओवादी र रास्वपाले पनि आ–आफ्नो नेतृत्वमाथि नैतिक प्रश्न उठाउन ढिलो भइरहेको छ । प्रचण्ड र रवि लामिछाने आफैंले नैतिकताका आधारमा राजीनामा दिने हो भने यो एकै मिनेटमा हुने सक्ने काम हो । तर, उनीहरुको पारा ओली र देउवाको भन्दा फरक देखिएको छैन । रवि जेल फर्किसके, तर नेतृत्व हस्तान्तरण गर्छु भन्न सकेका छैनन् । प्रचण्ड सेनाको सुरक्षामा छन्, विश्राम लिन्छु भन्न सकेका छैनन् ।

एमालेका दोस्रो तहका केही नेताहरुले पार्टी अध्यक्षको विकल्पका लागि आगामी महाधिवेशनसम्म कुर्नुपर्ने प्राविधिक तर्क गरेको सुनिएको छ । कांग्रेस, माओवादी र रास्वपाका शीर्ष नेताको तर्क पनि त्यस्तै आउन सक्छ । तर, पार्टीलाई रसातलमा पुर्‍याएको उपलक्ष्यमा नैतिकताका आधारमा राजीनामा दिन कुनै आइतबार करिरहनुपर्छ र ? यो त एकै मिनेटमा गर्न सकिने काम हो ।

समाधान : प्रमुख दलहरुको नेतृत्वमाथि उठेका यक्ष प्रश्नको समाधान के हो ? प्रथमतः दलहरुले भदौ २३/२४ को घटना र यसको पृष्ठभूमिबारे विज्ञहरुको टोली नै बनाएर आन्तरिक अध्ययन गरुन् । चुनावमा जानुअघि पार्टी नेतृत्वको पुनर्गठन गरुन् । यसमा मार्गप्रशस्त गर्न देउवा, ओली, प्रचण्ड र रवि लामिछानेहरुले तत्कालै स्वेच्छाले पार्टी नेतृत्व छाडेको घोषणा गरुन् । यसो गरेनन् भने इतिहासले यी दलहरुलाई शायदै माफी देला ।

दोस्रो प्रश्न : जेन–जी आन्दोलन ‘क्रान्ति’ हो कि ‘क्राइम’ ?

एमाले, कांग्रेस, माओवादीलगायतका दलहरुमा भदौ २३/२४ को घटनालाई कसरी हेर्ने भन्ने बुझाइमै समस्या देखिएको छ । खासगरी, एमालेका नेताहरुले यसलाई ‘क्रान्ति’ नभएर ‘क्राइम’का रुपमा व्याख्या गर्न खोजिरहेका छन् । एमाले नेताहरुले यो घटनालाई युवा पुस्ताको राजनीतिक विद्रोह हो भनेर स्वीकार्न हिच्किचाइरहेको अवस्था छ ।

कर्मचारीतन्त्र र नेताहरुमा व्यापक भ्रष्टाचार मौलाएको थियो । सरकारी काम गर्न जाँदा घुस खुवाउनैपर्ने बाध्यताले जनता आजित थिए । सरुवा र नियुक्तिमा नेताहरुलाई घुस खुवाउनुपर्दा कर्मचारीसमेत नेताहरुसँग वाक्क थिए । कर्मचारीतन्त्रसँग जनता वाक्क थिए । कुलिङ पिरियडमा कर्मचारीको नियत देखिइसकेको थियो । नेताका घरमा नगदको खात भेटिनुले भ्रष्टाचारलाई छ्याङ्ग पारिदिएकै छ ।

दलका नेता र कर्मचारीतन्त्रप्रति जनतामा जुन आक्रोश बढिरहेको थियो, त्यसैको ‘क्लाइमेक्स’ भदौ २३/२४ मा प्रकट भएको हो । नेताका घरमा जनताले आगो लगाउनुको मुख्य कारण पनि यही हो । तर, यो यथार्थ दलका नेताहरुले बुझ्न र आत्मसाथ गर्न सकेनन् भने उनीहरु अहिले जति सिद्धिएका छन्, अझै सिद्धिएर प्रजा परिषदजस्तो बन्ने निश्चित छ । त्यसर्थ, दलहरुले विश्लेषण गर्नैपर्छ– भदौ २३/२४ को घटनालाई कसरी हेर्ने ? यसलाई राजनीतिक आन्दोलनका रुपमा लिने या ‘अपराधीकरण’ गर्ने ? यही प्रश्नबाट दलहरुले आगामी यात्रा तय गर्नुपर्ने देखिन्छ ।

समाधान : नयाँ पुस्तालाई गाली गरेर पार्टी र देश बन्दैन । जनताको ‘परिवर्तनको ईच्छा’लाई अपराधीकरण गर्न मिल्दैन । त्यसैले दलहरुले सर्वप्रथम भदौ २३/२४ को घटनालाई हेर्ने आफ्नो दृष्टिकोण सुल्ट्याउन आवश्यक छ । जेन–जी पुस्ताको परिवर्तनको चाहना र मागलाई आत्मसाथ गर्नैपर्छ । जेन–जी आन्दोलनलाई ‘क्रान्ति’ र अवसरका रुपमा हेरिनुपर्छ, ‘क्राइम’ का रुपमा होइन । आन्दोलनमा भएका कतिपय घुसपैठ र ‘अति’ का घटनालाई अपवादका रुपमा लिन सकिन्छ ।

जेन–जी आन्दोलनका क्रममा सहिद बनेका मृतकका परिवारलाई राहत दिने र घाइतेको उपचार गर्ने घोषणा सरकारले गरिसकेको छ । घटनाको छानविन गर्ने निर्णय पनि क्याबिनेटले गरेको छ । भलै, घाइतेलाई कतिपय निजी अस्पतालले पैसा असुलिरहेको गुनासो पनि पीडितका तर्फबाट आएको छ, जसमा सरकारको तत्कालै ध्यान जान जरुरी देखिन्छ । सरकारले अब भदौ २३ को नरसंहारबारे छानविनको काम अगाडि बढाउनैपर्छ ।

भ्रष्टाचार अन्त्य हुनुपर्ने युवा पुस्ताको माग सम्वोधनका लागि अख्तियार, सम्पत्ति शुद्धीकरण, राष्ट्रिय सतर्कता केन्द्रलगायतको पुनसंरचना गरेर भ्रष्टाचारका फाइलहरु अगाडि बढाउनुपर्छ । यसलाई ‘स्टन्ट’ वा पूर्वाग्रहका रुपमा होइन कि विधिसम्मत रुपमा अगाडि बढाइनुपर्छ । भ्रष्टाचारको छानविनका लागि शक्तिशाली आयोग आवश्यक छ ।

तेस्रो प्रश्न : संसद विघटन र सुशीलाको नियुक्ति संवैधानिक कि असंवैधानिक ?

संसद विघटन प्रधानमन्त्री कार्कीको सिफारिसमा भएता पनि जेन–जी आन्दोलनको जगमा भएको बुझ्न जरुरी छ । सुशीला कार्कीको नियुक्ति पनि संविधानको मर्म र भावनाअनुसार नै भएको हो । यी दुबै कदम संवैधानिक छन् । आउनुहोस् यसबारे बहस गरौं ।

पहिलो कुरो, भदौ २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्दै गर्दा संसद भवन जलेको थियो । दलका नेताहरु भूमिगतजस्तै थिए । सभामुखले संसद बैठक बोलाउने स्थिति नै थिएन । देश सरकारविहीन स्थितिमा थियो । काठमाडौंमा लुटपाट लगायतका घटना भइरहेका थिए । यस्तो स्थितिमा संसद बाहिरबाटै आन्दोलनकारीको समेत विश्वास बटुलेकी कार्कीलाई प्रधानमन्त्री चयन गरेर राष्ट्रपतिले परिस्थितिलाई थप बिग्रनबाट बचाएका थिए । यस अर्थमा आवश्यकताको सिद्धान्त (Doctrine of Necessity) अनुसार उनलाई प्रधानमन्त्री बनाइएको हो भनेर मान्न सकिन्छ ।

दोस्रो– कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयको प्रेस विज्ञप्तिमा पनि यसका संवैधानिक आधारहरु खुलाइएको छ । राष्ट्रपति कार्यालयले नियुक्तिका तीनवटा आधार दिएको छ–

एक- मुलुकमा उत्पन्न विषम तथा असाधारण स्थितिलाई सम्वोधन गरिएको, दुई- युवाद्वारा प्रकट ईच्छा र आकांक्षालाई सम्वोधन गरिएको र तीन- राजनीतिक दल र सरोकारवालाहरुसँग परामर्श गरिएको राष्ट्रपति कार्यालयको भनाइ छ ।

संविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्धन गर्नुपर्ने संविधानमा अन्तर्निहित संवैधानिक अधिकार (धारा ६१ को ४) प्रयोग गरेर प्रधानमन्त्री नियुक्त गरिएको शीतलनिवासको विज्ञप्तिमा उल्लेख छ ।

साथै, संविधानमा रहेको प्रतिवन्धात्मक व्यवस्थालाई पालना गर्दै ६ महिनाभित्र संसदीय चुनाव गर्ने गरी कार्कीलाई प्रधानमन्त्री बनाइएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ ।

यस अर्थमा संविधानको संरक्षण र राष्ट्रिय एकताका लागि राष्ट्रपतिले जुन कदम चाले, त्यसलाई संविधानले ठाउँ दिएकै देखिन्छ । राष्ट्रिय संकट टार्नका लागि राष्ट्रपतिले चालेको कदम संवैधानिक नै देखिन्छ ।

संविधानको मर्म र भावनाको कुरा गर्दा शाब्दिक व्याख्या पर्याप्त हुँदैन, स्वर्णिम व्याख्या गर्नुपर्ने हुन्छ । त्यसरी व्याख्या गर्दा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले चालेका संसद विघटन लगायतका कदम असंवैधानिक देखिँदैनन् । यसभित्र जनादेशमार्फत् संविधानलाई ‘ट्रयाक’मा ल्याउने गरी ‘ग्रहणको सिद्धान्त’ (Doctrine of Elcipse) प्रयोग भएको देखिन्छ।

समाधान : पुराना दलहरुले काइते तर्क गर्न छाडेर आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीमा लाग्नु नै अहिलेको सबैभन्दा उचित समाधान हो । दलहरु लोकतन्त्र र संविधानको रक्षाका लागि चुनाव सफल बनाउने भूमिकामा जुट्नुबाहेक चार दलका सामु अर्को विकल्प छैन । संविधान र व्यवस्था बचाउनका लागि ताजा जनादेशलाई स्वीकार्नु दलहरुको कर्तव्य पनि हो । चुनावसँग डराउने पार्टीले लोकतन्त्रको कुरा गर्नु बेकार छ ।

आगामी दिनमा ‘प्रतिनिधिसभाको पुन: स्थापना’ कसैले सोचेको छ भने त्यो पश्चगामी विकल्प हुनेछ । संसद ब्युँतियो भने के हुन्छ, त्यसको पनि विश्लेषण जरुरी छ । केपी ओलीले नै विगतमा भन्दै आएका थिए, ‘ताजा जनादेशमा जानु लोकतन्त्र विरोधी कार्य होइन ।’

तर, अहिले सुशीला कार्कीले गरेको संसद विघटनको सिफारिस र विगतमा ओलीले दुई–दुईचोटि गरेको विघटनको सिफारिसबीच तात्विक भिन्नता छ । त्यसबेला ओलीले आफ्नो सत्ता टिकाउने नियतले संविधानको जानाजान उल्लंघन गरेका थिए । अहिले प्रधानमन्त्री सुशीला कार्कीले ‘ग्रहणको सिद्धान्त’ (Doctrine of Elcipse) र आवश्यकताको सिद्धान्त (Doctrine of Necessity) अनुसार संसद विघटन गरेको देखिन्छ । त्यसैले दलहरुले अन्तरिम सरकार र संसद विघटनको विरोध गर्नुभन्दा पनि आगामी निर्वाचन सफल बनाउने कार्यनीतितर्फ अघि बढ्नु नै अवको समाधान हो ।

सुशीला कार्कीको नियुक्ति र संसद विघटनलाई लिएर कुनै वकिलले अदालतमा प्रश्न उठाउन सक्छ, त्यो हरेक नागरिकको अधिकार पनि हो । तर, अदालत वा राजनीतिक दलका कारण चुनावी तयारीमाथि असर पर्न गयो भने त्यसपछि देश राजनीतिक शून्यताको भयंकर खाडलमा पर्ने जोखिम देखिन्छ ।

चौथो प्रश्न : नागरिक समाज र आम सञ्चारको भूमिका कस्तो हुनुपर्छ ?

अहिलेको संकटका बेला आम नागरिक र पत्रकारहरुले कस्तो भूमिका खेल्नुपर्ला ? यो पनि एउटा महत्वपूर्ण प्रश्न हो । मूलतः नागरिक समाज र मिडियाको भूमिका लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणतर्फ केन्द्रित हुनुपर्छ । राजनीतिक संकट र अस्थिरता बढ्यो भने प्रेस स्वतन्त्र र नागरिक स्वतन्त्रता पनि जोखिममा पर्ने हुनाले यो समुदायको भूमिका ध्वंशास्मक नभएर सिर्जनात्मक हुनुपर्छ । राष्ट्रिय एकता कायम गर्ने दिशातिर केन्द्रित हुनुपर्दछ ।

त्यसर्थ, अन्तरिम सरकार र सत्ता बाहिर रहेका राजनीतिक दलहरुलाई समेत खबरदारी गर्दै तोकिएको समयमा निष्पक्ष निर्वाचन गर्न दबाव दिइनुपर्छ । साथै, जेन–जी पुस्ताको माग र भावनाअनुसार २३ गतेको घटनाका दोषीमाथि छानविन र कारवाही गर्ने अनि भ्रष्टाचारको छानविन गर्ने र नियन्त्रण गर्ने बाटोमा पनि सरकारलाई खबरदारी गर्न आवश्यक छ । चुनावपछि बन्ने नयाँ सरकारले संविधान संशोधन गरोस् र आन्दोलनको मागलाई बैधानिकता प्रदान गरोस् भन्नेतिर पनि मिडियाले खबरदारी गर्न आवश्यक छ ।

तर, यहाँनेर ध्यान दिनुपर्ने कुरा के छ भने चुनाव गराउन बनेको अन्तरिम सरकारले भ्रष्टाचारविरुद्ध दलका नेताहरुमाथि कारबाही अघि बढाउँदा निर्वाचन नै बिथोलिने स्थिति पनि नआओस् भनेर सतर्कता अपनाउन आवश्यक छ । यसतर्फ पनि आम सञ्चार र नागरिक समाजले सरकारलाई सतर्क गराउनुपर्छ ।

पाँचौं प्रश्न : कार्की सरकारको मुख्य काम के हो ?

राष्ट्रपतिले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउँदा नै ‘६ महिनाभित्र प्रतिनिधिसभाको चुनाव गर्ने गरी’ भनेर जिम्मेवारी तोकिदिएको छ । यो चुनावी सरकार मात्र भएकाले यसको मुख्य काम चुनाव गराउने नै हो । ‘केयरटेकर’ सरकार भएकाले यसले संविधान संशोधन वा अन्य राष्ट्रिय महत्वका ठूला निर्णयहरु गर्न सक्दैन । त्यस्ता निर्णय गर्नका लागि नयाँ जननिर्वाचित सरकारलाई कुर्नै पर्ने हुन्छ ।

त्यसर्थ, कार्की सरकारको मुख्य काम यति मात्रै हो– चुनाव, चुनाव र चुनाब । चुनावको तयारीका साथै सरकार सञ्चालनका दैनिक काम बाहेक दायाँ–बायाँ गर्ने अधिकार कार्की सरकारलाई छैन ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ६ : २७ बजे

भेपमा सुन तस्करी प्रकरण : पक्राउ परे पूर्वसभामुख महरा

काठमाडौं– पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको

हाम्रो ‘म्याण्डेड’ चुनाव गराउने हो, फागुन २१ गते निर्वाचन हुन्छ : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्राप्त जिम्मेवारीअनुसार आगामी

नर्सरी व्यवसायी संघले ‘तेस्रो तिहार फ्लोरा एक्स्पो’ आयोजना गर्ने

काठमाडौं– नर्सरी व्यवसायी संघ, नेपालले तिहारलाई मध्य नजर गर्दै असोज

घटस्थापनायता काठमाडौंमा १७५ दुर्घटना, नौ जनाको मृत्यु

काठमाडौं– दसैँको घटस्थापनादेखि आजसम्म काठमाडौं उपत्यकामा १७५ सवारीसाधन दुर्घटनामा परी

विभागबाट मिडिया दर्ता यथाशीघ्र सुरु हुन्छ : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सूचना तथा प्रसारण