डिना उपाध्यायलाई प्रश्न : मंसिरमा महाधिवेशन गरेर फागुनको संसदीय चुनावमा जान कांग्रेस तयार हो ? | Khabarhub Khabarhub

डिना उपाध्यायलाई प्रश्न : मंसिरमा महाधिवेशन गरेर फागुनको संसदीय चुनावमा जान कांग्रेस तयार हो ?

भन्छिन्- पार्टीको नयाँ नेतृत्व कार्यसम्पादनबाटै आउँछ



काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मा दिँदै विश्राम लिने निर्णय गरिसकेका छन् । आगामी १५ औँ महाधिवेशनमा आफू नउठ्ने निर्णयसहित देउवाले खड्कालाई कार्यवाहक दिएका छन् । यही मंसिरमा महाधिवेशन गरेर नयाँ नेतृत्व छान्ने तयारीमा कांग्रेस लागेको छ । भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित निवासमै नराम्रोसँग कुटिएका देउवाले अब उपचार गर्न सिंगापुर जाने निर्णय गरिसकेका छन् । यो अवस्थामा अब खड्काको नेतृत्वमा कांग्रेस महाधिवेशनमा जाने छ। कांग्रेसमा देउवाले नयाँ नेतृत्वको ढोका खोलेको अवस्थामा सह-महामन्त्री महालक्ष्मी उपाध्याय डिना नियमित महाधिवेशनबाट सबै कुराको छिनोफानो हुने बताउँछिन् । उनी आगामी महाधिवेशनमा कार्यसम्पादन समितिबाटै नयाँ नेतृत्व आउने दाबी गर्छिन् । उपाध्यायको बुझाइमा देउवाले विश्राम लिएकाले अब डा. आरजु राणा सभापति हुने सम्भावना छैन । बरू उनी कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सम्भावना रहेको सङ्केत गर्छिन् । डिना आगामी महाधिवेशनबाट युवा पुस्ताको भावना समेटेर कांग्रेस अगाडि बढ्ने कुरामा ढुक्क छिन । उनैसँग जेन-जी आन्दोलनपछिको उथलपुथल र कांग्रेसको भावी रणनीतिबारेमा खबरहबले कुराकानी गरेको छ ।

सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक किन दिनुभयो ? जेन-जी आन्दोनपछि फेरिएको परिस्थितिको दबाब या स्वास्थ्यमा समस्याले ?

खास त उहाँ अस्वास्थ्य भएर पनि हो । अर्को कुरा, उहाँ पार्टीको हित चाहने र त्यसको पक्षमा उभिने मान्छे हो । उहाँले छाड्नुमा यी दुवै कुराको संयोग पनि हो । 

कार्यवाहक दिएपछि अहिले कांग्रेसमा महाधिवेशन नै नहुने चिन्ता देखिएको छ नि ?

महाधिवेशन गर्नकै लागि कार्यवाहक दिएको हो । महाधिवेशन गरेर निर्वाचनमा जान सकियोस् भन्ने सबैको चाहना छ । महाधिवेशन हुन्छ, ढुक्क हुँदा हुन्छ । एउटा कोर्स सकिएको छ, अब हामी दोस्रो कोर्समा अगाडि बढेका छौँ । महाधिवेशन सम्भव छ । फास्ट ट्रयाकमा जाने तयारीमा छौँ । बैठक गरेको गर्‍यै छौँ । कसरी छिटो बाटोमा जाने भन्ने छ । महाधिवेशन त स्वभाविकै हो । यसको वातावरण हामी बनाउँछौँ ।

निर्वाचन अगाडि नै महाधिवेशन हुने भए त कार्यवाहक जरुरी थियो र ? 

सभापतिज्यूले स्वास्थ्यको कारण भन्नुभएको छ । उहाँ थप कमजोर हुनुभएको छ । त्यति धेरै खट्न सक्ने अवस्थामा हुनुहुन्न ।

उहाँमा पुरानै स्वास्थ्य समस्या हो कि आन्दोलनमा घाइते हुनु भएपछिको हो ? 

आन्दोलनले थप समस्या निम्त्याएको रहेछ । टाउकोमा चोट लागेकाले कमजोर हुनुभएको छ । अहिलेको अवस्थाले समस्या भयो । उहाँ निकै कमजोर हुनुभएको पायौँ हामीले ।

उहाँ स्वास्थ्य उपचारमा बाहिर जाँदै हुनुहुन्छ रे हो ? 

मैले पनि बाहिर सुनेको हो । उहाँसँग कुरा गर्दा त्यस्तो भन्नुभएन । हुन पनि सक्छ तर मलाई सबै कुरा थाहा भएन । उहाँले उपचारमा बाहिर जानेबारे औपचारिक रूपमा बोल्नुभएका छैन । 

उसो भए कांग्रेस महाधिवेशन हुन्छ भनेर ढुक्क हुँदा भयो ? 

ढुक्क भए भयो । महाधिवेशन हुन्छ । त्यो पनि फागुन ‍२१ गते तोकिएको मध्यावधि निर्वाचन अगाडि नै हुन्छ । 

बिहीबारको केन्द्रीय कार्यसमिति बैठकले मिति टुङ्गो लगाउँछ ? 

केन्द्रीय कार्यसमिति बैठकमा सबै नेताहरू बोल्न पाउनुपर्छ । महाधिवेशनको बैठकमा एजेन्डा जान्छ । तर कहिले कसरी कहाँ गर्ने भन्ने कुरामा उहाँहरूको भावना सुन्नुपर्छ । एकैचोटी हामीले मात्रै पास गर्न मिल्दैन । केन्द्रीय कार्यसमितिमा सदस्यहरूले बोल्न पाउनुपर्छ । त्यसपछि महाधिवेशन गर्ने एजेन्डा भइहाल्यो । अर्को कुरा, हामीले कसरी निर्वाचनमा भाग लिने ? निर्वाचन सरकारले गराउनुपर्छ । निर्वाचनलाई कांग्रेसले साथ दिन्छ । निर्वाचन भयरहित होस्, निष्पक्ष होस भन्ने कुरामा कांग्रेसले गम्भीर चासो लिएको छ । अहिलेको जेन-जी आन्दोलनको विषयमा गम्भीर समीक्षा गर्नु जरुरी छ । यी विषयमा छलफल गरेपछि मात्रै मिति तय हुन्छ । 

महाधिवेशन चाहिँ विशेष हुन्छ कि नियमित ? 

हामीले कहिलेसम्म गर्न सक्छौँ । वैधानिक रूपले विधानअनुसार नियमित अधिवेशनको जाने भनिरहेका छौँ। तर सबैको विचार सुनेर मात्रै फाइनल हुन्छ । हुन चाहिँ नियमित महाधिवेशन नै हुन्छ । विशेष महाधिवेशन गर्न हस्ताक्षर अभियान चलेको देख्छु । तर यसको अर्थ के छ र ? काम पनि छैन त्यसको ।  

देउवाले अब उठ्दिनँ भनिसक्नुभएको छ, अब कंग्रेसको नेतृत्व कसले गर्ला ? 

सबैले इच्छा जाहेर गर्नुभएको छ । महाधिवेशनमा निर्वाचन हुने वातावरण हुन्छ, को चुनिनुहुन्छ हेर्न बाँकी छ ।

नयाँ अनुहार आउला कि पदाधिकारीबाटै आउँछन् ? 

बाहिरको अनुहार आउँदैन । भित्रकै हुन्छ । एक्कासि बाहिरको त कहाँ आउँछ र ? कार्यसम्पादन भित्रबाटै नयाँ नेतृत्व आउँछ । 

उसो भए कार्यवाहक सभापति खड्का नै सभापति भएर आउने सङ्केत गर्नुभयो त यहाँले ? 

उहाँ आउन पनि सक्नुहुन्छ, राम्रो काम गर्नुभयो भने सम्भावना छ । 

यसो हुँदा त संस्थापन इतर डा. शेखर कोइरालाको योजना सफल नहोला  ?

होइन,  निर्वाचनमा सबैभन्दा बढी मत जसले ल्याउँछ उसले जित्ने हो । उहाँ पनि आउन सक्नुहोला । त्यो त महाधिवेशन प्रतिनिधिले रुचाउने कुरा हो । उहाँ दाबेदार नै हो । 

एक पटक त डा. आरजु राणा देउवा पनि अबको सभापति भन्ने थियो  ?

त्यो हुँदैन । सम्भावना पनि छैन । हामीले त्यो कुरा सुनेका छैनौँ । उहाँले पनि भन्नुभएको छैन । हल्ला मात्रै हो । 

उसो भए अब कांग्रेस कसरी अगाडि बढ्छ ? 

नीति सिद्धान्तमा कटिबद्ध भएर नयाँ योजना र युवाको भावना समेटेर अगाडि बढ्छ । सबै विचार समेटेर अहिलेको फर्स्टेसन र नयाँ विचारलाई पनि समेटेर अगाडि बढ्छ । अहिलेका समस्या समाधान गरेर अगाडि बढ्छ । एकताबद्ध भएर अगाडि बढ्छ । 

 तर कांग्रेसको गुट-उपगुटले एकताबद्ध हुन देला त ?  

यो त सबै पार्टीमा छ । कांग्रेसमा मात्रै होइन । निर्वाचन विचारको प्रतिस्पर्धामा गुट-उपगुट भइहाल्छ नि । लोकतान्त्रिक पद्धतिबाट अगाडि बढ्ने सबै पार्टीमा यस्तो हुन्छ । कांग्रेस त लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने पार्टी हो । प्रतिस्पर्धाको लागि टिम बनाउनुपर्छ । यसलाई नकारात्मक धारमा लिनु हुँदैन ।

महाधिवेशनमा दुई तीन प्यानल भएमा प्रतिस्पर्धाबाट नेतृत्व चयन हुन्छ । अहिलेबाटै अस्वस्थ राजनीति भए समस्या हुन्छ । प्रतिस्पर्धा गरेपछि जितेर आएको नेतृत्वलाई नस्वीकार्ने जुन परिस्थिति आयो, त्यसले गर्दा समस्या भएको छ । प्रतिस्पर्धा त बीपी कोइरालाका पालामा पनि भएको हो नि ।

पार्टीहरूमा अलिकति अस्वस्थ प्रतिस्पर्धा देखिको छ । तर नेपाली कांग्रेसको धारणा र विचार सही छ । भोलिको पार्टी सभापतिले सबैलाई समेटेर जानुपर्छ । जो प्रतिस्पर्धामा सेकेन्ड र थर्ड हुन्छ, उसले साथ दिएर हिँड्नुपर्छ ।

अर्को महत्त्वपूर्ण कुरा के हो भने पार्टीभित्र मत विभाजन भए पनि बाहिर एकै मत भएर आउँछ । अहिलेसम्मको अभ्यास त्यही छ । कांग्रेस बैठकभन्दा अगाडि धेरै मतभेद हुन्छन् तर केन्द्रीय समिति बैठकपछि एउटै विचार र मतले अगाडि बढेको अवस्था छ ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  २ : ३५ बजे

नेपाल टेलिकमले ल्यायो जीएसएम पोस्टपेडमा सजिलो अनलिमिटेड प्याकेज, भोलिदेखि लागु हुने

काठमाडौं– नेपाल टेलिकमले जीएसएम पोस्टपेडमा दोहोरिने सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरेको छ

एमाले बैठकमा ‘सिंहदरबार संसद् भवन जलाउन प्रयोग भएको’ म्याग्नेशियम र सोडियमको चर्चा

काठमाडौं- नेकपा एमालेभित्रकै मानिसहरूलाई म्याग्नेशियम र सोडियमका रुपमा प्रयोग गरिएको

प्रचण्डको निष्कर्ष : यति धेरै धनजनको क्षति हुँदा पनि ओली पश्‍चाताप गर्न तयार भएको देखिएन

चितवन- नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु 

भद्रपुर– यहाँस्थित मेचिनगर नगरपालिका–१५ निलकोठीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा

निर्धारित समयमा निष्पक्ष निर्वाचन गर्नका लागि सरकार बनेको हो : गृहमन्त्री 

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार निष्पक्ष निर्वाचन गर्नका लागि