भीषण खडेरीपछि इरानले वर्षा गराउन क्लाउड सिडिङ सुरु « Khabarhub

भीषण खडेरीपछि इरानले वर्षा गराउन क्लाउड सिडिङ सुरु


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानी अधिकारीहरूले दशकौँयता देखिएको सबैभन्दा कडा खडेरीसँग जुध्न वर्षा उत्प्रेरणा गर्ने क्लाउड सिडिङ प्रक्रिया औपचारिक रूपमा सुरु गरेका छन् । सरकारी मिडियाका अनुसार यो वर्षको जल चक्रमा पहिलो पटक यस्तो प्रक्रिया सञ्चालन गरिएको हो ।

इरना समाचार एजेन्सीले शनिबार राति सूचित गरेअनुसार सेप्टेम्बरमा सुरु हुने चालु जल वर्षअन्तर्गत उर्मिया ताल बेसिनमा पहिलो क्लाउड सिडिङ उडान सम्पन्न गरिएको छ । देशको उत्तर–पश्चिममा रहेको उर्मिया इरानको सबैभन्दा ठूलो ताल हो तर दीर्घ खडेरीका कारण ठूलो भाग सुकेर विशाल नुनथलोमा परिणत भएको छ ।

एजेन्सीले पूर्वी र पश्चिम अजरबैजान प्रान्तहरूमा आगामी दिनहरूमा थप सञ्चालन गरिने जानकारी दिएको छ । क्लाउड सिडिङमा विमानमार्फत बादलहरूमा सिल्भर आयोडाइड, नुन लगायतका सूक्ष्म कणहरू छर्केर वर्षा गराउने प्रयास गरिन्छ ।

गत वर्ष इरानले यस प्राविधिक प्रक्रियामा स्वदेशी प्रविधि विकास भएको घोषणा गरेको थियो । सरकारी मिडियाले शनिबार पनि देशको पश्चिमका इलाम, केरमानशाह, कुर्दिस्तान र लोरेस्तान तथा उत्तरपश्चिम पश्चिम अजरबैजान प्रान्तमा वर्षा भएको तथ्य सार्वजनिक गरेको थियो ।

मौसम विज्ञान सङ्गठनका विवरणअनुसार इरानमा यस वर्ष दीर्घकालीन औसतको तुलनामा वर्षा करिब ८९ प्रतिशतले घटेको छ । ‘तपाईंहरूले अहिले देशले पछिल्ला ५० वर्षमा भोगेको सबैभन्दा सुक्खा शरद ऋतु अनुभव गरिरहनुभएको छ’, एजेन्सीले उल्लेख गरेको छ ।

तेहरान नजिकै अल्बोर्ज पर्वत शृङ्खलामा अवस्थित तोचल पर्वत र स्की रिसोर्टमा यो वर्ष पहिलो पटक हिउँ परेको दृश्य पनि राज्य मिडियाले सार्वजनिक गरेको छ ।

धेरैजसो सुक्खा भू–भाग भएको इरान वर्षौंदेखि लगातार दीर्घ खडेरी, चर्को तापक्रम र गर्मीको लहरको सामना गर्दै आएको छ, जसलाई जलवायु परिवर्तनले झनै जटिल बनाइरहेको बताइन्छ । स्थानीय अधिकारीहरूले राजधानी तेहरानमा वर्षा एक शताब्दीमा सबैभन्दा न्यून स्तरमा झरेको र देशको आधा प्रान्तमा महिनौँदेखि वर्षाको एक थोपा पनि नपरेको जनाएका छन् ।

धेरै प्रान्तलाई पानी आपूर्ति गर्ने प्रमुख जलाशयहरूको सतह पनि रेकर्ड न्यूनमा पुगेको छ । यो महिनाको सुरुमा राष्ट्रपति मसुद पेजेस्कियानले पानी नपरेमा तेहरानले जाडो अघि नै सम्भावित निकासी स्थिति झेल्न सक्ने चेतावनी दिएका थिए । यद्यपि विस्तृत कारण खुलाइएको थिएन ।

यस्तै, संयुक्त अरब इमिरेट्ससहित क्षेत्रका अन्य देशहरूले पनि कृत्रिम रूपमा वर्षा उत्पादनका लागि क्लाउड सिडिङ प्रविधिको उपयोग गर्दै आएका छन् । रासस
 

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ४ : ५१ बजे

मुस्ताङको थासाङमा भालुको जोखिम

मुस्ताङ– थासाङ गाउँपालिका-५ स्थित कुञ्जो, ताक्लुङ, छयो, झिप्रा देउरालीलगायतका स्थानमा

जर्मनीको औद्योगिक उत्पादनमा अप्रत्याशित वृद्धि, अर्थतन्त्रमा सकारात्मक संकेत

एजेन्सी– जर्मनीको औद्योगिक उत्पादन अक्टोबरमा अप्रत्याशित रूपमा बढेको छ । 

ईश्वर पोखरेलको दस्तावेज : कांग्रेस नोकरशाही पूँजीवादको प्रतिनिधि, माओवादी षड्यन्त्रकारी र अवसरवादी

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

सशस्त्र प्रहरी बलको सक्रियतासँगै अवैध कारोबारमा कमी

रौतहट– सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउटपोष्ट (विओपी) सरमुजवा रौतहटको

डा. पोखरेलको गीति एल्बम ‘परेली’को विमोचन

काठमाडौं–  गीतकार एवं चलचित्र निर्देशक तथा निर्माता डा. सुबोधकुमार पोखरेलको