जन्ममिति र राशि थाहा नभएका भोला, जसले अभिनयमा भविष्य कोरे | Khabarhub Khabarhub

कला

जन्ममिति र राशि थाहा नभएका भोला, जसले अभिनयमा भविष्य कोरे

‘मूर्ख बिरामी’देखि ‘पूर्णबहादुरको सांरगी’सम्म


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 8 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार भोलाराज सापकोटा ठूलो पर्दामा रुचाइएका सहायक कलाकार हुन् । हरेक वर्ष कम्तीमा पनि उनका दुईवटा फिल्म प्रदर्शनमा आएकै हुन्छन् ।

सापकोटा ०६९ सालदेखि ठूलो पर्दामा अभिनय गरिरहेका छन् । हालसम्म उनले ४० भन्दा बढी फिल्ममा अभिनय गरेका छन् । उनले एक बलिउड फिल्म ‘बर्फी’मा पनि अभिनय गरेका छन् ।

फिल्ममा आउनुअघि भोला ‘गुरुकुल’मा आवद्ध थिए । अर्थात्, गुरुकुलमा एक दशक नाटकमा अभिनय गरेको अनुभवसँगै उनले फिल्म क्षेत्रमा प्रवेश गरेका हुन् ।

भोलाराजको अभिनय यात्रा गुरुकुलबाट सुरु भएको होइन । कक्षा आठमा पढ्दै उनी नाटकमा अभिनय गरेर पारिश्रमिक बुझ्ने कलाकार हुन् ।

क्याम्पस पढ्दा उनी अभिनयबाटै राम्रो पारिश्रमिक बुझ्ने भइसकेका थिए । भन्छन्, ‘राम्रो पारिश्रमिक आउने भएर त यही क्षेत्रमा भविष्य बनाउँछु भन्ने सोच आयो ।’

अझ भनौं– ४६ वर्षीय भोलालाई अभिनयले पारिश्रमिक दिन लागेको ३० वर्ष भयो ।

‘वास्तविक जन्ममिति थाहा छैन’

भोलाराज हेटौँडास्थित हात्तीगेटमा जन्मिएका हुन् । उनीमाथि एक दाजु छन् ।

उनका बुवा-आमा फरक क्षमताका हुन्, दुबै बोल्न सक्दैन थिए । साथै निरक्षर पनि ।

जसका कारण भोलाको वास्तविक जन्म मिति नै गोलमाल छ । कसैले उनलाई वि.सं. २०३६ त कसैले २०३७ सालमा जन्मिएको भन्छन् ।

हजुरबुवाले विद्यालयमा भर्ना गर्दा भने उनको जन्म मिति ०३५ साल ५ महिना १० गते टिपाइ दिए । उनले त्यही जन्म मितिको नागरिकता बोकेका छन् ।

भन्छन्, ‘त्यो समयमा जन्म मिति थाहा हुने आमालाई हो । आमाले यति सालमा जन्मेको भनेर भन्न र लेख्न नसकेपछि मेरो जन्म मिति गोलमाल छ ।’

वास्तविक जन्म मिति थाहा नभएपछि उनलाई आफ्नो राशी पनि थाहा छैन ।

अभिभावक फरक क्षमताका भए पनि आफूले मध्यमवर्गीय कृषक परिवारको सामान्य र सहज बाल्यकाल उनलाई महसुस हुन्छ।

उनी बाल्यकालको स्मरण गर्छन्, ‘हाम्रो खेति गर्ने जग्गा जमिन थियो । त्यही भएर छाक टार्नकै लागि समस्या भने भएन ।’

घरबाट आधा घण्टाभन्दा कम पैदल दुरीको पहुँचमा विद्यालय भएकाले शिक्षा आर्जनमा पनि उनलाई समस्या भएन ।

भोला पढ्न रुचि राख्ने विद्यार्थी भए पनि गणित विषयले ‘सर्टिफिकेट’मा ‘तारा’को अड्डा जमाइरह्यो । उनलाई एसएलसीमा पनि गणित विषय नै लाग्यो । पछि मौका परीक्षामा एसएलसीको फलामे ढोका पार गरे ।

भन्छन्, ‘मेरो साथीहरु पनि पढ्न रुचि राख्ने नै थिए । उनीहरुको प्रभावले गर्दा होला, म पढ्न रुचि राख्थेँ । तर गणितमा कमजोर थिएँ । यो एक विषयमा पास हुनै मुस्किल ।’

टेलिभिजनको किस्सा !

भोलाको बाल्यकालमा टेलिभिजन बिलासी सम्पत्तिमा गनिन्थ्यो । सम्भ्रान्त परिवार मात्रै टीभीको धनी हुन्थ्यो ।

बाल्यकालमा भोलाको घरमा टेलिभिजन नभए पनि उनी नियमित दर्शक भने थिए ।

घरबाट १० मिनेट पैदल दूरीमा रहेका गुरुङका छिमेकी टेलिभिजनका धनी भएकाले उनी नियमित दर्शक बन्न पाएका हुन् ।
तर, दर्शक बन्न सजिलो भने थिएन । बगरबाट एउटा ढुंगो बोकेर गुरुङको घरमा पुर्‍याएपछि मात्रै टीभी कोठामा प्रवेश पाइन्थ्यो।

उनी टेलिभिजन हेर्दाको किस्सा सुनाउँछन्, ‘ती गुरुङले घर बनाउन लाग्नुभएको रहेछ । टीभी हेर्न आउने सबैलाई एउटा–एउटा ढुङ्गो बोक्न लगाउनुहुन्थ्यो । विशेषतः हामी केटाकेटीलाई ।’

भोलाले टेलिभिजनको आनन्द लिए । गुरुङले पछि तिनै ढुङ्गाले घर बनाए ।

उनी थप्छन्, ‘टीभी पनि गुरुङको घरमा मकै छोडाउँदै हेर्ने हो । कहाँ त्यसै आनन्दले हेर्ने हो र ! जे होस हामीले टेलिभिजन हेर्न पाउँथ्यौं । दैनिकजसो २ घण्टा टेलिभिजन हेरिन्थ्यो ।’

त्यसबेला ट्वाक्क टुक्क, रामायण, महाभारत, हिजोआजका, चन्द्रकान्त जस्ता सिरियल देखाएर बाल्यकालमा मनोरञ्जन प्रदान गरिदिएकोमा उनी गुरुङ परिवारप्रति खुसी नै छन् ।

कलाकारिताको छनक

अक्सर व्यक्तिहरु ठूलो पर्दा वा टेलिभिजनमा देखिने इच्छाले अभिनय कर्ममा होमिन्छन् ।

भोलाले टेलिभिजनमा कलाकारहरुलाई देखेका थिए । तर, उनलाई अन्य कलाकार जस्तै टेलिभिजनमा देखिने सोच भने पलाएन । कलाकार बन्ने प्रक्रियाबारे बुझ्नसमेत रुचि भएन ।

उनलाई गाउँकै क्लब र विद्यालयले गर्ने आयोजना गर्ने सांस्कृतिक कार्यक्रमका प्रहसनले भने आकर्षित गर्‍यो ।

भोला भन्छन्, ‘हामी सानो छँदा बाक्लै रुपमा नयाँ वर्ष, दशैँ तिहार र विशेष दिनमा सांस्कृतिक कार्यक्रम हुन्थ्यो । प्रहसन देखाउने प्रचलन निकै थियो ।’

प्रहसनमा के कुराले तान्यो ? त्यसको जवाफ उनीसँग छैन । अरुले गरेको हेरिरहँदा अन्जानमै उनलाई पनि प्रहसन खेल्न मन लाग्यो, जसबेला उनी सात कक्षामा पढ्थे ।

उनी भन्छन्, ‘थाहा छैन, मलाई किन प्रहसन लेख्न मन लाग्यो ! के कुराले प्रेरित गर्‍यो । सायद मलाई पनि स्टेजमा चढ्ने मन भयो होला । तर, मैले प्रहसन लेख्नुको मुख्य कारण यो मात्रै होइन ।’

उनले त्यसबेला लेखेको प्रहसनको शीर्षक थियो– मूर्ख बिरामी ।

यो प्रहसन भोलाले ७ मा पढ्दा नयाँ वर्षको अवसरमा आफू पढ्ने विद्यालयले आयोजना गरेको कार्यक्रममा आफ्नै नेतृत्वमा साथीहरुसँग मिलेर देखाएका थिए ।

जीवनमा पहिलो पटक मञ्चमा उक्लिएको उनी त्यही नै पहिलो पटक हो ।

तर, त्यो प्रहसनले आफ्नो जीवनमा कति प्रभाव पार्ने रहेछ भन्ने उनले कल्पना गरेका थिएन ।

त्यही नाटकले उनलाई निरन्तर मञ्चमा उकालिरह्यो । वडा र छिमेकी गाउँका सांस्कृतिक कार्यक्रममा उनले प्रहसनका लागि निम्तो पाउन थाले ।

भन्छन्, ‘स्कुलको कार्यक्रम हेर्न बाहिरबाट पनि मान्छेहरु आउनुभएको रहेछ । पछि बुझ्दा उहाँहरुले मेरो प्रहसन मन पराउनुभएछ ।’

सोही कारण बिस्तारै त्यस्ता कार्यक्रमका आयोजकहरुले पैसा तिरेरै उनलाई प्रहसन देखाउन बोलाउन थाले ।
भन्छन्, ‘क्लबहरुको कार्यक्रममा मान्छे होल्ड गर्न मेरो प्रहसन चाहिँ अन्तिममा राख्ने गर्थे ।’

सोही प्रहसनले उनलाई जिल्ला तहको ‘तरङ्ग सांस्कृतिक परिषद’ ले बोलायो । परिषद्मार्फत् एनजीओमा जोडिएर सडक नाटक गर्ने अवसर पाए ।

कक्षा आठमै पढ्दा उनले एनजीओबाट पारिश्रमिक लिएर सडक नाटक गरेका हुन् । ‘जुँगे हवलदार’ शीर्षकको त्यो नाटक एचआईभी एड्सविरुद्ध जनचेतना जगाउने विषयको थियो ।

भन्छन्, ‘बिदाको समय मिलाएर म धेरै जिल्लामा त्यो नाटकमा अभिनय गर्न गएँ ।’

त्यही नाटकबाट आएको पारिश्रमिकले भोलालाई स्कुल-कलेज पढ्दा व्यक्तिगत खर्च पुग्थ्यो । भन्छन्, ‘पहिला एउटा शोको डेढ सय दिन्थ्यो । एक दिनमा दुई–तीन शो हुन्थ्यो । पछि पारिश्रमिक पनि बढ्यो ।’

यसरी उनमा नाटक मोहको विजारोपण भयो ।

विद्यालय तहमै रहँदा काठमाडौं घुम्न आएको मौकामा उनले व्यवसायिक नाटक हेर्ने चाहाना पूरा गरे । उनले नाटक मात्रै हेरेनन्, आफ्नो ज्ञानले भ्याएसम्मको शिक्षा पनि लिए । अर्थात्, नाटक गर्ने शैली उनले सिके ।

उनी भन्छन्, ‘काठमाडौंमा जस्तै जिल्लामा मैले पनि हलहरु भाडामा लिएर नाटक देखाउन थालेँ । विभिन्न सरकारी कार्यालयका हल लिएर बकाइदा टिकट बेचेर नाटक देखाउन थालेँ ।’

नाटकमै अभिनय गरेका कारण भोला जिल्लामा परिचित भइसकेका थिए ।

एनजीओमार्फत् ‘जुँगे हवलदार’ नाटक उनले स्कुल, कलेज र काठमाडौंको संघर्षको सुरुवाती वर्षसम्म गरे । भनौं, जीविकाका लागि आर्थिक जोहो त्यही नाटकले गथ्र्यो ।

भोला सम्झन्छन्, ‘मैले त्यो नाटक १५ सय शोभन्दा बढी गरेँ । हेटौँडामा क्याम्पस पढ्दा र काठमाडौं आएर संघर्ष गर्दा पनि त्यही नाटक गरिरहेको थिएँ ।’

अभिनय सिक्न काठमाडौं

भोलाले ०५३ सालमा एसएलसी उत्तीर्ण गरे । हेटौँडाबाटै आईकम गरे ।

मध्यम वर्गीय परिवारले अक्सर स्नातक सुरु गर्नेबेला एक पेसा अँगाल्छन् ।

भोलाले अभिनयलाई नै पेसा बनाउने निर्णय लिए । कारण थियो– त्यही नाटक ‘जुँगे हवलदार’ ।

भोला थप्छन्, ‘मलाई कलेज पढ्दासम्म त्यो नाटकबाट राम्रो पारिश्रमिक आउँथ्यो । यही पेसाबाट जीविका चलाउन सकिन्छ भन्ने लाग्यो । अरु पेसा अँगाल्नेतिर ध्यान नै गएन ।’

अभिनयनलाई नै पेसा बनाउने निर्णयले भोलालाई काठमाडौंको यात्रा तय गरायो । उनी ०५७ सालमा राष्ट्रिय नाच घरमा अभिनय सिक्नका लागि काठमाडौं प्रवेश गरे । राष्ट्रिय नाच घरमा अभिनय प्रशिक्षण खुलेको उनले गोरखापत्रको सूचनाबाट थाहा पाएका थिए ।

उनी सुनाउँछन्, ‘साथीको घरमा गोरखापत्र जान्थ्यो । उसले मलाई अभिनय प्रशिक्षण खुलेको रहेछ भनेर सूचना देखायो । सूचनामा नम्बर दिएको थियो । फोन गरेर काठमाडौं आएँ ।’

नाँचघरमा अभिनय प्रशिक्षक वरिष्ठ रंगकर्मी सुनील पोखरेल थिए । पोखरेलसँग भोलाको पहिलो भेट त्यहीँ भयो ।

यता, सहपाठीका रुपमा घिमिरे युवराज र कमलमणि नेपाल (अहिलेका खुपीका बाउ) थिए ।

काठमाडौं बसाइको आर्थिक स्रोत भने उही नाटक ‘जुँगे हवलदार’ नै भएको भोला सुनाउँछन् ।

रंगमञ्च पुनर्जागरणका योद्धा

नाँचघरको अभिनय प्रशिक्षणपश्चात भोला सुनील पोखरलेको ‘आरोहण गुरुकुल’ नाट्य समूहमा आवद्ध भए ।

गुरुकुल स्थापनाअघि पोखरेल यही समूहबाट नाचघर लगायत विभिन्न स्थानमा नाटक देखाउने गर्थे ।

सोही समूहमा भोलाले ‘जात सोध्नु जोगीको’, ‘कुमारी’, ‘आरुको फूलको सपना’ लगायतका नाटकमा अभिनय गरे ।

अन्ततः ०५९ सालमा सुनील पोखरलेको नेतृत्वमा नाटकघर ‘गुरुकुल’ स्थापना भयो । भोला पहिलो ब्याचका रुपमा गुरुकुलमा प्रवेश गरे ।

भोलाका गुरुकुलका सहापाठीहरु अहिलेका स्थापित नाम नायक सौगात मल्ल, थिएटर क्विन सरिता गिरी, रंगकर्मी राजन खतिवडा, कलाकार कमलमणि नेपाल, नायक सुवास थापा, रंगकर्मी राजकुमार पुडासैनी लगायत हुन् ।

गुरुकुलको स्थापनलाई रंगमञ्चको पुनर्जागरणका रुपमा लिइन्छ । यसको स्थापनाअघि नेपालमा रंगकर्मका गतिविधि शून्य प्रायः थिए । व्यवसायिक नाटकघर थिएनन् ।

नाटकघर पुगेर नाटक हेर्ने प्रचलन नै थिएन । भोला भन्छन्, ‘गुरुकुलको सुरुवातमा एउटा नाटकमा हामी १८ जना कलाकार थियौं, दर्शक भने २ जना हुनुहुन्थ्यो ।’

रंगमञ्चको यस्तो दयनीय अवस्था थियो ।

गुरुकुलको विभिन्न सकारात्मक रणनीतिले दर्शक नाटकघर धाउन थाले । सुस्ताएको रंगमञ्च गुरुकुलले पुनर्जागृत गर्‍यो । अझ भनौं रंगमञ्चको अहिलेको अवस्था उकासिनुको जस गुरुकुललाई नै जान्छ ।

भोला भन्छन्, ‘गुरुकुलले नै नाटकलाई अहिलेको अवस्थामा ल्याएको हो । गुरुकुल स्थापना नभएको भए रङ्गमञ्च अहिलेको अवस्था सायदै पुग्थ्यो ।’

यसरी रंगमञ्च पुनर्जागृत गर्ने उदाहरणीय कामका एक योद्धा भोला हुन् । किनभने, उनले एक दशकभन्दा बढी जीवनको उर्बर समय गुरुकुलमै बिताए ।

बदलामा गुरुकुलले भोलालाई अभिनयमा स्थापित गरायो । रङ्गकर्मीको परिचय दिलायो । आधा दर्जनभन्दा बढी देशका मञ्चमा कलाकार बनाएर उभ्यायो ।

भोला गुरुकुलबाटै नाटक लिएर डेनमार्क, भारत, बंगलादेश, पाकिस्तान, चीन, नर्वे, रुस, स्विडेनलागयतका देश पुगेका छन् । सबैभन्दा ठूलो कुरा– ११ वर्षे गुरुकुल बसाइमा ५० भन्दा बढी नाटकमा अभिनय गरेर आफूलाई निखार्न पाए ।

फिल्ममा अभिनय

भोला भन्छन्, ‘मेरो फिल्ममा आउने योजना नै थिएन ।’ यो भोलाको सोचाइ मात्रै होइन, केही रङ्कर्मीको प्रवृत्ति पनि हो, जसले फिल्मलाई क्षेत्रलाई ‘ग्याल्मर’ क्षेत्र भनेर हल्का रुपमा लिइन्छ भन्ने सोचाइ राख्छन् ।

यो सोचाइले भोलालाई पनि छोएको थियो । उनी भन्छन्, ‘गुरुकुलमा हुँदा धेरै फिल्मका लागि प्रस्ताव आयो । तर, हामी केही साथी-भाइले फिल्म गरेनौं ।’

धेरै फिल्मबाट प्रस्ताव आउँदा अस्वीकार गरेको सम्झना भोलासँग छ । भन्छन्, ‘फिल्मबाट प्रस्ताव आउँदा होइन, हामी त नाटक मात्र गर्ने भनिन्थ्यो ।’

गुरुकुलका कलाकार बिस्तारै फिल्मतर्फ आकर्षित भए । भोलाको पनि अडान परिवर्तन भयो । उनले ‘सानो संसार’ फिल्मबाट ठूलो पर्दामा डेब्यू गरे ।

उनी भन्छन्, ‘त्यस फिल्ममा सानो रोल मात्रै छ । तर, प्राविधिक रुपमा मेरो पहिलो फिल्म त्यही हो ।’

भोलाको दोस्रो फिल्म ‘बर्फी’ हो । दोस्रो फिल्ममा भने भोलाले बलिउड फिल्ममा डेब्यू गरे । जुन फिल्म ०६९ सालमा प्रदर्शनमा आएको थियो, जसका नायक रणवीर कपुर र नायिका प्रियंका चोपडा हुन् ।

यसका लागि भोलाले भारतमै पुगेर अडिसन दिएका थिए । विवाहको पर्सिपल्ट कोलकाता पुगेर अडिसन दिएको रोचक किस्सा भोलासँग छ ।

उनी सुनाउँछन्, ‘गुरुकुलकै साथीले अडिसन खुलेको थाहा दिएको हो । अनि विवाहको पर्सिपल्ट हेटौँडाबाटै म भारत पुगेँ ।’

‘बर्फी’सँग भोलाको अर्को सम्झना पनि छ । त्यो हो– मोटो पारिश्रमिक ।

ठ्याक्कै अंक नखुलाए पनि उनी आफूले अहिलेसम्म सबैभन्दा बढी पारिश्रमिक बुझेको फिल्म त्यही रहेको बताउँछन् ।

‘त्यसबेला नेपालमा चलेको हिरोले ५ वटा फिल्मबाट लिने पारिश्रमिक मैले पाएको थिएँ,’ उनी भन्छन्, ‘त्यही पारिश्रमिकले मलाई अभिनय कर्ममा अगाडि बढ्न मद्दत गर्‍यो ।’

‘बर्फी’ पछाडि भने ठूलो पर्दामा अचानक मोह बढ्दै गएको उनी बताउँछन् ।

यो पनि-

रणवीरको ‘बर्फी’ हेरेर भोलाराजलाई ‘चचहुई’ मा लिएका थिए निर्देशकले ?

अहिले भोलाराज नेपाली फिल्मका लागि रुचाइएका सहायक पात्रका रुपमा गनिन्छन् । उनले ०६९ सालयता ४० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् ।

तर, उनको व्यस्त वर्ष भने सन् २०२४ हो । भन्छन्, ‘यो वर्ष मेरा सात फिल्म प्रदर्शनमा आए ।’

यही वर्षभित्रै प्रदर्शनमा आएर कीर्तिमानी व्यापार गर्ने ‘पूर्णबहादुरको सारङ्गी’ मा पनि भोलाको महत्वपूर्ण भूमिका छ– विद्यालय शिक्षकका रुपमा ।

‘पूर्णबहादुरको सारङ्गी’मा भोलाको चरित्र

‘अभिनय भन्दा अरु सोच छैन’

भोला भन्छन्, ‘मैले जीवनमा गरेको एक मात्रै पेसा अभिनय हो ।’

उनी अभिनयमा लागेको ३० वर्ष भयो । पछिल्लो एक दशकभन्दा बढी समयदेखि भोला पूर्णकालीन ठूलो पर्दाको अभिनयमा छन् ।

अहिले उनी फिल्मको वर्कसप र अभिनय प्रशिक्षण पनि गराउँछन् । यो उनको अभिनयबाट बचेको समयको सदुपयोग हो।

अब बाँकी जीवन पनि अभिनयमै समर्पित गर्ने योजनामा भोला छन् । उनी भन्छन्, ‘बीचमा आर्थिक असहजता हुँदा अन्य पेसा गर्नुपर्छ कि भन्ने लागेको थियो तर मन मानेन । अहिले त यो तहको जीवनशैलीका लागि अभिनयले साथ दिन्छ भन्ने आत्माविश्वास दिएको छ ।’

आगामी दिनमा उनी अभिनयसहित फिल्म लेखन र निर्माणमा हात हाल्ने योजनामा छन् । भन्छन्, ‘कथाहरु छन् । अब तिनलाई पर्दामा उतार्नुपर्ने छ, हेरौं के हुन्छ ।’

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ११ : १७ बजे

देशबाट खेदिएका भुटानीको कथामा फिल्म ‘ल्हो– छाम्पा’ बन्ने

काठमाडौं – सन् १९९० को दशकमा भुटानबाट खेदिएका नेपाली भाषीहरूको

‘होस्टेल ३’को गीत ‘टिक टिक’ सार्वजनिक

काठमाडौं – फागुन २३ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘होस्टल-३’को

जनकपुरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा– जनकपुरमा ट्रकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ

‘भीम रावललाई एमालेबाट हटाइएको होइन, आफैं हट्नु भएको हो’

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वउपाध्यक्ष डा. भीम रावल

सार्वजनिक सेवा प्रसारणलाई स्वायत्त बनाइने छ : सञ्चारमन्त्री गुरुङ

कीर्तिपुर– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारणलाई