काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विधानको अधिकार प्रयोग गरेर एक वर्ष समयावधि थप नगरे आगामी मंसिरमा १५औँ महाधिवेशन गर्नुपर्छ । नियमित अवधिमै महाधिवेशन गर्न उनी तयार भए अबको १० औँ महिनाको अन्त्यतिर कांग्रेसले नयाँ नेतृत्व पाउने छ ।
तथापि, ७५ वर्ष लामो राजनीतिक विरासत बोकेको कांग्रेसले निर्धारित समयमै महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व आएको घटना भने विरलै छ । पञ्चायती शासन ढालेर मुलुकमा प्रजातन्त्र पुनर्बहाली गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको कांग्रेसले त्यसयता निर्धारित समयमा महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेको देखिँदैन ।
पार्टीको १४ औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका देउवाको चार वर्षे कार्यकाल पूरा हुन १० महिना बाँकी हुनुअगावै कांग्रेसमा भावी नेतृत्वमा दाबी र खोजी गर्ने सिलसिला सुरूवात भइसकेको छ । २०७८ मंसिर २४ गते कांग्रेसले काठमाडौंको भृकुटीमण्डपमा १४ औँ महाधिवेशन उद्घाटन गरेको थियो ।
त्यस महाधिवेनका दुवै गुटलाई पछिल्लो समय आगामी महाधिवेशनको सिरेटोले छोइसकेको छ । संस्थापन इतर समूहबाट यसअघिका सभापतिका उम्मेदवार डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापाले आन्तरिक तयारी थालिसकेका छन् ।
आशन्न महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिनेबारे नेता कोइरालाले सार्वजनिक रूपमै अभिव्यक्ति दिइसकेका छन् । महामन्त्री थापाले भने औपचारिक रूपमा घोषणा गरिसकेका छैनन् । तर, थापा सभापतिको दौडमा लागिसकेका उनका गतिविधि र उनीनिकट नेता–कार्यकर्ताका अभिव्यिक्तिले पुष्टि गर्छन् ।
इतर समूहका नेताद्वय कोइराला र थापाले १५ औँ महाधिवेशनमा सभापतिका लागि तयारी बढाएसँगै संस्थापन समूहमा पनि भावी सभापतिको खोजी भइरहेको छ । १४ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका, तत्कालीन समयका आकांक्षी नेताहरूदेखि त्यसअघिबाटै देउवासँग रहेर राजीनीति गर्दै आएकाहरूले प्रणय दिवस (भ्यालेन्टाइन डे)को छेको पारेर भावी सभापतिको खोजी थालेका हुन् ।
जसको नेतृत्व गरेका थिए, पूर्वमहामन्त्रीसमेत रहेका राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले । उनी फागुन २ गते बिहान १४ औँमा सभापतिको उम्मेदवारी दिएका पूर्वउपसभापति विलेन्द्र निधि, उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपसभापति पूर्णबहादुर खड्का, उपसभापतिमा पराजित विजयकुमार गच्छदार, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्व महामन्त्री डा. शशांक कोइराला, सहमहामन्त्री उमाकान्त चौधरी, प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यद्वय बालकृष्ण खाँण र एनपी साउदका साथ बूढानीलकण्ठ पुगेका थिए ।
भेटवार्तामा सिटौलाले नै बूढानीलकण्ठ आउनुको कारणबारे देउवालाई ‘ब्रिफिङ’ गरेका थिए । छलफलमा सहभागी नेताहरूका अनुसार उनले देउवालाई गत महाधिवेशनमा साथ दिएका आफूहरू सबै सँगै रहेको बताउँदै आगामी महाधिवेशनसम्म पनि एकढिक्का हुने उल्लेख गरेका थिए ।
सिटौलाले सभापति देउवासमक्ष इतर समूहबाट सभापतिका आकांक्षीको चर्चा सुरू भइसकेपछि संस्थापन समूहका सम्भावित उम्मेदवारको टुंगो लगाउनुपर्ने आग्रहसमेत गरेका थिए । जवाफमा देउवाले १५ औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार नबन्ने र समूहमध्येबाटै एक जनालाई अगाडि सार्ने प्रतिक्रया दिएका थिए । देउवाले बूढानीलकण्ठ पुगेका एघारै नेताहरूलाई समूहमै बस्न, हतार गरेर समूह नफेर्न पनि आग्रह गरेका थिए ।
‘१५औँ महाधिवेशनमा म उम्मेदवार बन्ने छैन । ०८४ को निर्वाचनमा परिणाम ल्याउनु छ । आमचुनावपछि महाधिवेशन गर्ने आवाज पनि उठिरहेको छ । मैले अहिलेसम्म कसैलाई अगाडि बढ्नू भनेको छैन,’ देउवाको भनाइबारे नेता निधिलाई उद्धृत गराउँदै पत्रपत्रिकाले समाचार छापेका थिए, ‘कसरी जाने भन्नेबारे सल्लाह गरौँ । सबै विषयमा छलफल गरेरै अघि बढौँ । म समूहको हितका लागि तयार छु ।’
पूर्वप्रधानमन्त्री देउवालाई विधानको व्यवस्थाले तेस्रो कार्यकालका लागि सभापतिमा उम्मेवार बन्न दिँदैन । उनको समूहबाट नेता सिटौलासँगै उपभापति खड्का, पूर्व उपसभापतिहरू निधि, श्रेष्ठ, पूर्वमहामन्त्री कोइरालाले १५ औँ महाधिवेशनमा सभापतिमा आकांक्षा राखेका छन् ।
अघिल्लो महाधिवेशनमा उम्मेदवारी दिइसकेका निधि, सिंह र आकांक्षी कोइरालाले यसअघि नै दुई चरणमा आगामी महाधिवेशनबारे आन्तरिक छलफल गरिसकेका छन् । उनीहरूले असोजमा महाराजगञ्जस्थित कोइराला निवास र पुसमा सिंह निवास चाक्सीबारीमा छलफल गरेका थिए ।
संस्थापन पक्षीय केही नेताहरूका अनुसार प्रवक्ता महतले पनि सभापतिमा आकांक्षा राखेका छन् । तर, उनले मुख भने खोलिसकेका छैनन् । सभापति देउवा भेट्न ‘११ भाइ नेता’ बूढानीलकण्ठ पुगेको भोलिपल्ट (फागुन ३) चितवन पुगेर उनले नेतृत्वका लागि अहिले नै दौडिनु पर्छ भन्ने पक्षमा आफू नभए पनि नेतृत्वका लागि कुनै कोणबाट कम नभएको प्रतिक्रिया दिएका थिए ।
‘चारवर्षे अवधि पूरा हुन झन्डै एक वर्ष बाँकी छ । एक वर्ष थप्ने प्रचलन नै भइसक्यो । त्योभन्दा अगाडि अधिवेशन तयारी पुग्दैन । कम्तीमा दुई वर्ष यसै छ । अहिल्यैदेखि दौड किन लगाऔँ ?,’ महतले भनेका थिए, ‘जहाँसम्म योग्यताको प्रश्न छ । जति पनि साथीभाइ म–म भनेर हिँड्नुभएको छ, उहाँहरूभन्दा कुनै पनि कोणबाट, कुनै पनि पृष्ठभूमिबाट कम मैले आफूलाई ठानेको छैन ।’

देउवाले कसलाई अघि सार्लान् ?
देउवाले आफूनिकटका नेताहरूलाई आगामी महाधिवेशनमा संस्थापनबाटै एकजनालाई अगाडि सार्ने बताए तर कसैको नाम भने लिएनन् । उनले आफ्नो उत्तराधिकारी कसलाई बनाउलान् भन्ने कुरा रहस्यको गर्भमै छ । उनले श्रीमती एवम् परराष्ट्रमन्त्री एवम् डा. आरजु राणा देउवाको ‘सेटलमेन्ट’ सुनिश्चित गरेरमात्रै एक नेतालाई उत्तराधिकारीका रुपमा अघि सार्न सक्ने चर्चा कांग्रेसवृत्तमा छ ।
कहिले होला १५औँ महाधिवेशन ?
कांग्रेसको महाधिवेशन हरेक चार वर्षमा हुनुपर्ने वैधानिक व्यवस्था छ । तर, विधानले नै सभापतिलाई एक वर्ष थप्ने अधिकार प्रत्यायोजन गरेको छ ।
पार्टी विधानको धारा ४३ मा पदावधिबारे भनिएको छ, ‘पार्टीका सबै तह र निकायका पदाधिकारी तथा सदस्यहरूको पदावधि चार वर्षको हुनेछ । असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्म अवधि बढाउन सक्नेछ ।’
कांग्रेसको विधानले निर्धारित समयअगावै पनि विशेष महाधिवशेन आह्वान गर्न सक्ने प्रावधान पनि राखेको छ । विधानको धारा १७ अनुसार केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले विशेष कारण खुलाएर लिखित अनुरोध गरेको अवस्थामा तीन महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने हुन्छ ।
तर, विशेष महाधिवेशनका लागि इतर समूहसँग केन्द्रीय कार्यसमितिमा ४० प्रतिशत केन्द्रीय सदस्यको संख्या पुग्दैन । कांग्रेसको संस्थापन समूह सभापतिलाई विधानको अधिकारअनुसार समय थपेरमात्रै १५ औँ महाधिवेशन गर्ने पक्षमा देखिएको छ । यसबारे सभापति देउवाले बूढानीलकण्ठ बैठकमा आशय नै व्यक्त गरेको नेताहरूको दाबी छ ।
यस्तै, प्रवक्ता महतले पनि ०८२ मा १५ औँ महाधिवेशन सम्भव नभएको अभिव्यक्ति सार्वजनिक रूपमै दिइसकेका छन् । नेपाल प्रेस युनियन चितवनले गत शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले तयारी नपुगेका कारण आगामी महाधिवेशन ०८२ सालमा सम्भव नरहेको बताएका थिए ।
‘पार्टीको १५औँ महाधिवेशन केही समय पछि सर्न सक्छ । तयारी केही पुगेको छैन,’ प्रवक्ता महतको भनाइ थियो, ‘तयारीका लागि केही समय थप गर्न सकिन्छ ।’ उनले विधानतः एक वर्ष थप्न सकिने भए पनि कति समय थप गर्ने भन्नबारे केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गर्ने पनि बताएका थिए ।

देउवालाई थप ६ महिना पनि थप्ने अधिकार
सभापति देउवाले चार वर्षे कार्यकाललाई विधानको अधिकार प्रयोग गरेर एक वर्ष थप्ने लगभग निश्चितजस्तै छ । विधानअनुसार एक वर्षे कार्यकाल थपेपछि पनि उनले नेपालको संविधानको अधिकार प्रयोग गरेर कार्यकाल थप ६ महिना थप्न पाउँछन् । जसका लागि देउवले संविधानको धारा २६९ को उपधारा ४ (ख) को प्रयोग गर्नुपर्ने हुन्छ ।
उक्त धारामा भनिएको छ, ‘राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एक पटक सो दलका संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनु पर्छ । तर विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा ६ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन ।’
तर, सभापति देउवानिकट नेताहरू संविधानको धारा २६९ को उपधारा ४ (ख) को प्रयोग गर्नुपर्ने अवस्था नआउने दाबी गर्छन् । ‘नेपाली कांग्रेसका सबै महाधिवेशन ४ वर्ष भनिने र ५ वर्षमा गरिने भएको हुनाले यो महाधिवेशन पनि ५ वर्षमा हुन्छ,’ कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले खबरहबसँग भने, ‘संविधानको प्रयोग गरेर निर्वाचन आयोगलाई अनुरोध गर्ने, यो–यो कारण भनेर विशेष परिस्थिति बताउने, विवरण पेस गर्ने अनि जरिवाना तिरेर महाधिवेशन गर्ने पक्षमा कांग्रेस जाँदैन । कांग्रेसजस्तो पार्टी जानै हुँदैन ।’
नेता विश्वकर्माले संविधानमा पाँच वर्षको समयावधिपछि पनि दलको महाधिवेशनका लागि छ महिना थप गर्ने प्रावधान राख्नुको कारणबारे पनि खुलाए । ‘संविधान निर्माणका बेला हामीले नै ६ महिना थप्न सकिने व्यवस्था गरेका हौँ । त्योभन्दा अघि थिएन,’ उनले भने, ‘त्यो बेला संविधान बनाउन लाग्ने कि कांग्रेसको महाधिवेशन गर्नेतिर लाग्ने भन्ने थियो । पहिले देशको संविधान बनाऔँ, कांग्रेसको महाधिवेशन सारौँ भनेर हामीलाई अरू दलहरूले पनि आग्रह गरे । संविधान संशोधनमा हामी सहयोग गर्छौँ भन्नुभयो र हामीले छ महिना थपेका हौँ ।’

शेखर–गगन : न मिलन, न बिछोड
कांग्रेसको १४ औँ महाधिवेशनमा इतर समूह डा. कोइरालाको नेतृत्वमा चुनावी प्रतिष्पर्धामा उत्रिएको थियो । सभापति पदमा कोइराला पराजित हुँदा धनराज गुरुङ उपसभापति र गगनकुमार थापा महामन्त्रीमा निर्वाचित भएका थिए ।
अघिल्लो महाधिवेशनमा एउटै समूहबाट प्रतिस्पर्धामा उत्रिएका कोइराला र थापाबीच आगामी महाधिवेशनको तयारी सुरू हुँदै गर्दा दूरी बढेको चर्चा कांग्रेसवृत्तमा छ ।
पछिल्लो समय नेता कोइराला र महामन्त्री थापा सार्वजनिक रुपमा एउटै मञ्चमा उभिएको दृष्य देखिएको छैन । मंसिर १८ मा इतर समूहले विराटनगरमा कोशी प्रदेशस्तरीय पालिका सभापतिहरूको भेला आयोजना गर्दा महामन्त्री थापा अनुपस्थित थिए ।
त्यसलगत्तै पार्टीले आयोजना गरेको कोशी प्रदेश सम्मेलनलाई नेता कोइरालाले बहिस्कार गरेका थिए । पार्टीको वरीयताक्रममा असन्तुष्ट कोइरलाले आफ्नै गृहनगरमा पार्टीले गरेको सम्मेलन बहिस्कार गरे ।
कोइरालानिकट र थापानिकट रहेका नेताहरूले पछिल्लो समय दुवैबीच भेटघाट नभएको बताइरहेका छन् । तर, महामन्त्री थापाले गत माघ २३ गते पोखरामा नेता कोइराला र आफू अहिलेसम्म एकैठाउँ रहेको बताएका थिए । उनले शेखरलाई आफूले सधैँ नेता मानिरहने पनि त्यस दिन बताए ।
‘डा. शेखर कोइराला आज पनि नेता हुनुहुन्छ । भोलि पनि नेता रहनुहुन्छ । पार्टीभित्र मैले उहाँको नेतृत्वमा १४ औँ महाधिवेशनमा मैले प्रतिष्पर्धा गरेको हो,’ थापाको भनाइ थियो, ‘अहिले पनि कांग्रेसभित्र समूह बन्ने कुरा स्वाभाविक भए । महामन्त्रीका रुपमा सिंगो पार्टीप्रति मेरो जिम्मेवारी छ । मैले सबैको हुने कोसिस गर्नुपर्छ, किनकी संस्थाको एउटा जिम्मेवारीमा छु ।’
समूहको कुरा आउँदै गर्दा आफू अहिले पनि शेखरकै साथमा रहेको महामन्त्री थापको भनाइ थियो । ‘जहाँ समूहको कुरा आउँछ, त्यो कुरा आउँदै गर्दा १५औँ महाधिवेशनसम्म शेखर कोइराला र म एकै ठाउँमा छौँ’, उनले भनेका थिए, ‘म चाहिँ त्यहीँ छु, म भएको ठाउँमै शेखर कोइराला डाक्टर सा’ब पनि हुनुहुन्छ भन्ने ठान्छु । रहने–नरहने भन्ने कुरा आ–आफ्नो व्यक्तिगत छनौटको कुरा भयो ।’
प्रतिक्रिया