काठमाडौं- सत्तारूढ नेकपा (एमाले) मा अहिले एउटै गुट छ, जसको नेतृत्व अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् ।
नवौँ महाधिवेशनबाट उपाध्यक्ष बनेकी विद्यादेवी भण्डारी दुई कार्यकाल राष्ट्रपति पदमा बसेपछि अचेल फुर्सदिली छिन् । उनी एमालेको राजनीतिमा त आउन चाहन्छिन् तर बाटो बनिसकेको छैन ।
एमालेमा हुँदा ओलीकै गुटमा रहेकी उनी पार्टीमा फर्किने भरमग्दुर कोसिस गरिरहेकी छन् । तर, राष्ट्रपति भइसकेको मान्छे पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा माओवादी केन्द्रको उपाध्यक्ष बने जसरी उनी फर्किन तयार छैनन् ।
विद्या भण्डारी एमालेमा नफर्किएसम्मलाई अहिले नै ओलीलाई टक्कर दिने नेता कोही छैनन् । ईश्वर पोखरेल, शंकर पोखरेल र विष्णु पौडेल कसैले पनि ओलीलाई चुनौती दिने हैसियत अहिलेको समयमा राख्न सक्दैनन् । यसरी एमालेमा एकल गुट चलाइरहेका ओलीनिकट नेताहरू नै एकापसमा लडिरहेका सुन्दा अनौठो लाग्न सक्छ ।
ओलीनिकट नेताहरूको यस्तै एउटा गुपचुप लडाइँ अहिले सुदूरपश्चिम प्रदेशमा चलिरहेको छ । जहाँ प्रदेश इन्चार्ज लेखराज भट्ट र प्रदेशसभा संसदीय दलका नेता राजेन्द्रसिंह रावलबीचको ‘शीत युद्ध’ले बालुवाटार र च्यासलमासमेत प्रवेश पाइसकेको छ ।
तत्कालीन नेकपा खारेजीमा परेपछि ओली नेतृत्वको समूहमा बसेर एमाले भएका नेता भट्ट र आफूलाई ओलीनिकट बताउने रावलबीचको शक्ति संघर्ष मुक्कामुक्कीसम्मको अवस्थामा पुगेको छ ।
प्रदेश सभा संसदीय दलका नेता रावलले आफूलाई बाइपास गरेर सरकारी पदहरूमा जथाभावी नियुक्ति गरेर हिँडिरहेको गुनासो भट्टले बालुवाटारसम्मै ल्याएका छन् ।
बुधबार मात्रै एमाले सचिवसमेत भट्टले अर्का नेता एवम् पोलिटब्युरो सदस्य नारदमुनि रानालाई लिएर धनगढीबाट बालुवाटारसम्मको यात्रा तय गरे । उनीहरू दुईले करिब तीन घण्टा कुरेर अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कुनै हालतमा रावललाई संसदीय दलको नेताबाट हटाउनुपर्ने कुरा राखेका छन् ।
उता घुसकाण्डका कारण मन्त्री पदबाट हालै राजीनामा दिएका नागरिक उन्मुक्तिका सांसद लक्ष्मणकिशोर चौधरीसँग जोडिएपछि एमाले पोलिटव्युरो सदस्य एवम् कैलाली इन्चार्ज नारदमुनि रानालाई कारबाहीको माग रावलले चर्काइरहेका छन् ।
मन्त्री चौधरीलाई दिगो वन व्यवस्थापनसम्बन्धी कार्यक्रमबाट पैसा कमाउने तरिका सिकाइरहेको अडियो बाहिरिएपछि पूर्वमन्त्री राना पनि विवादमा तानिएका छन् । यस्तोमा आफूलाई इन्चार्ज भट्टले घेर्न थालेपछि रावल पनि शुक्रबार प्रधानमन्त्री एवम् अध्यक्ष ओलीसहितका नेतासँग कुरा राख्न काठमाडौं आउँदैछन् ।

घुस विवादमा मुछिएका रानाबारेमा छलफल गर्न चैत तेस्रो साता एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज भट्टले कैलालीको अत्तरियास्थित आफ्नै निवासमा बैठकसमेत राखेका थिए । कैलालीमा उपलब्ध केन्द्रीय सदस्यको बैठक राखे पनि त्यसबेला कुनै निचोड निस्किएन ।
उक्त बैठकमा अर्का पोलिटव्युरो सदस्य लीला भण्डारीले नारदामुनि अन्य दलका मन्त्रीसँग बैठक गर्न जानु नै गलत भएको कुरा उठाएकी थिइन् । उनले त्यस बैठकमै नारदमुनि र लक्ष्मणकिशोरसँगै काठ तस्करको पनि आवाज सुनिएको भन्दै प्रश्न उठाएका थिइन् ।
मन्त्रीसँगको विवादि बैठकमा लेनदेनका लागि नारदमुनि गएको भन्दै भण्डारीले आपत्ति जनाएकी थिइन् । नारदमुनि विवादमा परे पनि एमालेले चैत २९ मा गरेको प्रादेशिक सभामा त्यसबारे कुरा उठेन । महासचिव शंकर पोखरेलसहित सहभागी सभामा कुरा नउठेपछि अहिले उनलाई भट्टले साथमा लिएका छन् ।
हो, अत्तरियाको त्यही बैठकका क्रममा नारदमुनि रानाले राजेन्द्रसिंह रावललाई प्रदेश सभा संसदीय दलको नेताबाट हटाउन खोजेकोले बदलामा हुँदै नभएको अडियो जोडजाड गरेर सार्वजनिक गरेको आरोप लगाएका थिए ।
रानाले खबरहबसँगको कुराकानीमा पनि मन्त्री चौधरीले बोलाएपछि आफूले गएर सुझाव मात्रै दिएको जिकिर गरेका थिए । सुझाव दिएको कुरालाई घूस खाने उपाय भनेर गलत व्याख्या गर्न नहुने उनको तर्क थियो । उनले दीगो वन व्यवस्थापन कार्यक्रममा घूस लिएर एमाले मिलाउने कुरा अडियोमा आए जस्तो नभनेको भन्दै आफ्नो बचाउ गरेका थिए ।
भट्ट निवासको उक्त बैठकमा बैठकमा कैलालीमा उपलब्ध केन्द्रीय सदस्यहरू सहभागी थिए । नारदमुनिको घूस प्रकरणबाट झन् चर्किएको विवाद त्यसपछि कञ्चनपुरमा भएको जिल्ला र पालिका कमिटी अध्यक्षसहितको बैठकमा पनि देखियो।
धनगढीमा २९ गते भएको प्रादेशिक सभा तयारीका लागि भएको बैठकमा एमाले पोलिटव्युरो सदस्यसमेत रहेका राजेन्द्रसिंह रावलले इन्चार्ज लेखराज भट्टतिर लक्षित गर्दै उग्रवामपन्थी काम गर्न नहुने भन्दै कटाक्ष गरेका थिए ।
भट्ट पनि उपस्थित बैठकमा रावलले पूर्वमाओवादी नेता उनलाई उग्रवामपन्थीको संज्ञा दिए । रावलले बैठकममा आफूले एमाले अध्यक्ष ओलीबाहेक अरुको कुरा नसुन्ने बताए । रावलको यही कुरा भट्टलाई उचित लागेको छैन ।
आफू प्रदेश इन्चार्ज भए पनि रावलले प्रदेश सरकारअन्तर्गत हुने नियुक्तिका क्रममा कुनै सल्लाह नगरेको गुनासो गर्ने गरेका छन् । रावलले बिहीबार खबरहबसँगको कुराकानीमा पनि त्यही अभिव्यक्ति दिए । उनले एमालेको केन्द्रीय नेतृत्वलाई मात्रै मान्ने बताउँदै आफ्ना कुरा राख्न शुक्रबार काठमाडौं आउन लागेको सुनाए ।
उनले इन्चार्ज भट्टलाई आफूले बाइपास गरेको कुरा गलत भएको उल्लेख गरे । उनले भट्टसँगको विवादबारे मिडियामा केही नबोल्ने बरू एमाले नेतृत्वसँग कुरा राख्ने बताए ।
‘यसबारे (भट्टसँगको विवाद) मा मैले केही बोल्न मिल्दैन । सबै कुरा सार्वजनिक गर्न मिल्दैन’, उनले भने, ‘म मेरा कुरा एमाले नेतृत्वसँग राख्न भोलि काठमाडौं आउँदैछु । सबै कुरा त्यहीँ राख्छु ।’
रावलले इन्चार्ज भट्टसहितका नेताले कहाँ के गरे भन्ने आफ्नो सरोकारको विषय नभएको बताए । ‘अरूले कता कता के गरेर मलाई मतलब भएन । म यहाँको संसदीय दलको नेता हो’, उनले भने, ‘मैले पार्टी इन्चार्जसँग सकेसम्म सल्लाह गरिनै रहेको छु । तर मैले मेरा कुरा काठमाडौंमा नेतृत्वसँग राख्नुपर्ने छ ।’
रावालले महाधिवेशनबाटै निर्वाचित भट्टलाई आफूले नमानेको भनेर हल्ला फैल्याइएको गुनासो गरे । ‘नेता मान्ने हो । पार्टी महाधिवेशनले उहाँलाई सचिव बनाएको हो । मैले उहाँसँग परामर्श गरिरहेकै छु’, उनले भने, ‘सबै कुरा नमिल्न सक्छ । मतभेद हुन सक्छ । ती कुरा म पार्टी केन्द्रमै राख्ने छु ।’

दलको नेताबाट हटाउने कोसिस
इन्चार्ज भट्टले रावल आफूखुसी चलेको कुरा पटक पटक पार्टी केन्द्रमा राखिसकेका छन् । उनी यस पटक कुनै हालतमा रावललाई दलको नेताबाट हटाउने योजनामा छन् ।
त्यसकै लागि उनी अर्का नेता रानासहित काठमाडौं आएका छन् । उनले यसबारेमा अध्यक्ष ओली र महासचिव पोखरेलसँग बुधबार छलफल पनि गरेका छन् ।
रावलले आफूलाई अझै पनि पूर्वमाओवादी भनेर अपमान गरिरहेको गुनासो उनको छ । आफूनिकटस्थसँग उनले पटक एमालेमा अब पूर्व-पश्चिम केही नभए पनि रावलले आफूलाई माओवादीको ट्याग लगाइदिने गरेमा भट्टले आपत्ति जनाउने गरेका छन् ।
यस्तोमा उनी यसअघि छोटो समय मुख्यमन्त्री भएका रावललाई दलको नेताबाट बिदा गर्न चाहन्छन् । इन्चार्जका रुपमा रावलले आफूलाई नस्वीकारेकाले अर्का सांसदलाई दलको नेतामा ल्याउने ध्याउन्नमा भट्ट लागेका छन् ।
तर भट्टले चाहे जस्तो सजिलो छैन । अहिले एमाले सुदूरपश्चिम दलको नेतामा रावल र उपनेतामा सन्तोष थापा छन् । यी दुवैजना समानुपातिक सांसद हुन् ।
स्रोतका अनुसार लेखराजले रावलको विकल्पमा धर्मराज पाठकलाई दलको नेता बनाउन सकिने विकल्प पनि सोचेका छन् । दलको उपनेता सन्तोष थापा यसअघि विवादमा परेकाले उनलाई ओलीले नेता बनाउने सम्भावना कमजोर रहेको बताइन्छ ।
उपनेता थापाले २०७९ को चुनावका बेला वर्तमान पार्टी इन्चार्ज लेखराज भट्टलाई कैलाली क्षेत्र नम्बर ४ को चुनावमा हराउने भनेर बोलेको अडियो भाइरल भएको थियो । त्यहीकारण भट्ट पनि उनीप्रति सकारात्मक छैनन् ।
डोटी प्रदेश सभा (१) मा प्रत्यक्ष चुनाव जितेका चक्र मल्ल संसदीय दलका नेताका दाबेदार हुन सक्छन् । तर २०८० मंसिर १४ देखि सुरु भएर पुससम्म चलेको मध्यपहाडी लोकमार्ग यात्राका क्रममा बनाइएको स्वागत गेट विवादमा मुछिएकाले उनीसँग ओली सकारात्मक छैनन् ।
त्यसबेला उक्त यात्रामा निस्किएका अध्यक्ष ओलीसहितको स्वागतका लागि सानो गेट बनाएको सन्दर्भमा मल्लले एक टिप्पणी गरेका थिए । उनले त्यसबेला मल्लले सानो बनाएर घाँट (घण्टी) झुन्डाउने जस्तो मात्रै गरिएको टिप्पणी गरेका थिए । उनले सानो गेट घण्टी झुन्डाउन मात्रै योग्य हुने भनेर गरेको टिप्पणी ओलीकहाँ अपव्याख्या गरेर सुनाइएको दाबी एक नेताले गरेका छन् । उनका अनुसार मल्लले उक्त गेट ‘ओलीलाई घाट लैजान बनाएको’ भनेको भनेर सुनाइदिएपछि ओली रिसाएको स्रोतको दाबी छ ।
अहिलेकी उपनेता सन्तोष थापा एमालेको चितवन महाधिवेशनमा गीत गाएर चर्चित भएकी थिइन् । उनी त्यहाँबाट केन्द्रीय सदस्य पनि भइन् । उनी ओलीले विश्वास गर्ने नेतामै पर्छिन् । तर उनी पनि समानुपातिकबाट निर्वाचित सांसद हुन् ।
२०७९ को चुनावमा एमाले प्रदेशसभामा प्रत्यक्षबाट पनि सिट नजितेको होइन । तर त्यसबेला राजेन्द्र सिंह रावललाई सिनियर नेता भएकाले दलको नेताको जिम्मेवारी दिइएको थियो ।
राजेन्द्रले आफूलाई दलको नेताबाट हटाउने चलखेल बुझेपछि घुसकाण्डमा मुछिएको भन्दै नारदमुनिलाई हटाउनुपर्ने अभियान चलाएका छन् । नारदमुनिलाई पोलिटब्युरो र केलाली इन्चार्जबाट हटाउन लबिइङ गरिरहेका उनले दिगो वन व्यवस्थापनसम्बन्धी विवादमा लेखराजलाई पनि तान्ने कोसिस गरिरहेका छन् । उक्त प्रकरणमा लेखराजका भाइ गोकर्ण भट्ट पनि जोडिएको स्रोतको दाबी छ ।
अनौठो त के छ भने एमालेभित्र २०७९ सम्म लेखराज र नारदमुनि एकअर्काको विरोधी गुटमा थिए । २०७९ को चुनावमा त दुवैजना एकअर्कालाई हराउन समेत लागे । नभन्दै दुवैले संघीय संसद्को चुनावमा पराजय भोगे ।
तर उनै नारदमुनि र लेखराजले अहिले राजेन्द्र रावलविरुद्ध मोर्चाबन्दी कसेका छन् । उनीहरू यसअघि भएको एमाले कैलाली अधिवेशनमा पनि अलग अलग गुटमा थिए ।
तर संसदीय दलका नेता रावलले इन्चार्ज लेखराज र एमाले नेनृत्वलाई नसोधी प्रदेशका सरकारी निकायमा नियुक्त गर्न थालेपछि नारदमुनिसमेत रुष्ट भए ।
रावलले नीति आयोगमा गरेको नियुक्ति विवादमा परेको थियो । नीति आयोगमा लेखराज लेखराज डोटीबाट नियुक्त गर्न चाहन्थे । तर रावलले बैतडीका पूर्वशिक्षक कर्णसिंह कुँवरलाई नियुक्त गराए । यससँगै अन्य सरकारी काममा पनि रावलले आफूलाई बाइपास गर्दै गएपछि रूष्ट बनेका भट्टले कुनै बेला आफ्नो विरोधी कित्तामा रहेका रानालाई पनि साथमा लिएर बुधबार ओलीलाई भेटेका हुन् ।

ओलीको छायामा चार समूह
सुदूरपश्चिममा एमालेको विवाद यतिमै सीमित छैन । अहिले त्यहाँ चारवटा समूह छन् । एउटा समूहको नेतृत्व लेखराजले गरेका छन् । अर्को समूह राजेन्द्रसिंह रावले चलाएका छन् । त्यस्तै अर्को समूह कृष्णप्रसाद जैसीको नेतृत्वमा छ । यता उद्योगमन्त्री दामोदर भण्डारीले पनि त्यहाँ अलग्गै समूह चलाएका छन् । तत्कालीन १० बुँदे समूह पनि सुदूरपश्चिममा सुसुप्त अवस्थामा छ ।
अनेक समूहमा विभाजित एमालेको विवाद जिल्लासम्मै पुगेको छ । यसअघि एमाले कैलालीको बैठकमा हिक्मत रावल र डेजी पाण्डेमाथि कारबाही प्रस्तावसमेत गरिएको थियो । कैलाली अध्यक्षमा हारेका डेजीमाथि एमालेबाट निकालिएका भीम रावलसँग निकट भएको आरोप लाग्ने गरेको छ ।
विवाद कतिसम्म छ भने एमाले इन्चार्ज लेखराजका भाइ गोकर्णको स्टाटसमा आलोचनासहित कमेन्ट गरेको कुरा पनि एमालेमा इस्यु बनेको छ । त्यसलाई लिएर हिक्मतमाथि कारबाहीको कुरा पनि उठेको छ ।
विवाद बढिरहँदा लेखराज कञ्चनपुरमा पुगेका बेला हात हालाहालकै अवस्था भएको स्रोतको दाबी छ । आफूलाई विद्वानका रुपमा चिनाउने दलका नेता राजेन्द्र रावलले लेखराजको कठालो नै समातेको चर्चा एमालेबृत्तमा भुसको आगो झैँ सल्किएको छ ।
यस प्रकरणमा दलका नेता रावलले खबरहबसँग प्रतिक्रिया दिए पनि भट्ट र राना सम्पर्कमा आउनै चाहेनन्। काठमाडौं आएका दुवै नेता एमाले नेतृत्वसँग बाक्लो छलफलमा छन् । उनीहरू कुनै हालतमा दलको नेता फेर्नुपर्ने अडानमा काठमाडौंमा बसेपछि रावल पनि काउन्टर दिन आफूपक्षीय नेता-कार्यकर्तासहित शुक्रबार काठमाडौं आइपुग्दैछन् ।
प्रतिक्रिया