कृषिमा यान्त्रिकीकरणः समय र खर्चको बचत | Khabarhub Khabarhub

कृषिमा यान्त्रिकीकरणः समय र खर्चको बचत


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

गलकोट – अहिले खेतबारीमा गहुँ चुट्न किसानलाई भ्याइनभ्याइ छ । गहुँको बाला सुकाएर लौरोले चुट्ने परम्परा त्यागेर थ्रेसर मेसिन (उपकरण) भित्रिएपछि किसानको समय र खर्चको बचत भएको छ ।

बागलुङ नगरपालिका–३ खहरेका किसानले कृषिमा आधुनिकरणमार्फत कृषि कर्म गर्दा समय र खर्च दुवैको बचत भएको बताउँछन् । अहिले थ्रेसर मेसिनको सहायताले गहुँ भित्र्याइएको जनाउँदै दुई पटक लगाइने धान बालीमा यान्त्रिकीकरणको प्रयोग गरिँदै आइएको स्थानीय धना रानाले बताए । उनका अनुसार उत्पादन लागत घटाउँदै छिटो र छरितो ढङ्गबाट कृषि कामका लागि प्रविधिको प्रयोग प्रभावकारी बन्दै गएको छ ।

धान काट्ने र रोप्ने बाहेकका अन्य काममा यान्त्रिकीकरणको प्रयोग भइरहेको बताउँदै उनले कम लागतमा उत्पादन बढाउन कृषिमा उन्नत प्रविधिको प्रयोग प्रभावकारी हुने धारणा राखे ।

“खहरे क्षेत्रमा चैते र असारे दुई पटक धान फल्छ, गहुँको उत्पादन प्रशस्त हुन्छ । गहुँ लौरोले चुट्न छोडेको एक दशक भयो, एउटा गाउँमा एउटा थ्रेसर मेसिन भएमा सबैलाई पुग्छ”, उनले भने, “कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव भइरहँदा किसान यान्त्रिकीकरणमा आकर्षित भएका छन् । यसले समय र खर्च बचत गरेको छ ।”

किसानले परम्परागत सीप, प्रविधिको ठाउँमा आधुनिक यन्त्र, उपकरणको प्रयोगलाई बढाएका छन् भने स्थानीय तह, कृषि ज्ञान केन्द्र तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानलाई यान्त्रिकीकरणमा सघाउँदै आएका छन् ।

खाद्यान्न, तरकारी, फलफूललगायत कृषि बालीलाई यान्त्रिकीकरण गर्ने क्रम बढेको छ । कृषि औजार, उपकरणमा सरकारी अनुदान पाएपछि किसान त्यसतर्फ आकर्षित बनेका हुन् । अहिले गहुँ बाली लगाइएको खेतबारीमा थ्रेसर मेसिनले गहुँ चुटिरहेको छ ।

व्यावसायिक कृषि गर्ने व्यक्ति, समूह, सहकारीलाई अनुदानमा औजार तथा उपकरण प्रदान गर्ने गरिएको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए । नगरभरका पाँच सय किसानलाई सेवा दिनेगरी समूह र व्यक्तिलाई गत वर्ष १० वटा थ्रेसर मेसिन ५० प्रतिशत अनुदानमा वडागत रूपमा पायक प्रदान गरिएको जनाउँदै उहाँले उपकरणले गहुँ, कोदो, तोरी र धान चुट्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।

परम्परागत कृषि प्रणालीलाई सुधारेर आधुनिक कृषि प्रणालीलाई अवलम्बन गराउन यान्त्रिकीकरणको आवश्यकता स्थानीय पालिकाले महसुस गर्दै नीति तथा कार्यक्रममा समावेश गर्दै आएका नगरप्रमुख श्रेष्ठले बताए । उनका अनुसार खाद्यान्न बालीतर्फ गहुँ, धान चुट्ने थ्रेसर, मकै छोडाउने कर्न सेलर, उन्नत खालको अन्न भकारी, सुपर ग्रीन ब्याग किसानले प्रयोग गरिरहेका छन् ।

योसँगै महँगोे पारिश्रमिक बुझाएर श्रमिक खोज्नुपर्ने अवस्थाको अन्त्य भएको बागलुङ नगरपालिकाबाट थ्रेसर मेसिन अनुदानमा लगेको सुरेश विकले बताए । गाउँका युवा विदेश पलायन हुँदा जनशक्ति अभाव भई धान, गहुँ, कोदो स्याहार्न समस्या भएकाले अनुदानमा मेसिन पाएपछि सहज भएको उनको भनाइ छ ।

“दैनिक ज्यालादारीमा धान, गहुँ चुट्दा बढी खर्च लाग्छ, गहुँको बाला काट्ने र चुट्न दोहोरो खर्च र समय पनि बढी लाग्छ । थ्रेसर मेसिनले एकै घण्टामा काम सक्ने भएपछि समय र खर्च बचत भएको छ”, विकले भने ।

जनशक्ति, लागत र समयसमेत कम लाग्ने भएपछि पछिल्लो समय बागलुङमा साना कृषि औजारको प्रयोग बढ्दै गएको छ । मानवीय श्रमसाधन अभाव भइरहेको अवस्थामा साना कृषि औजारको प्रयोग गरेर खेती हुन थालेपछि यहाँका किसानलाई राहत भएको छ ।

परम्परागत तरिकाले गरिने गहुँ, मकै तथा कोदोलाई कृषि औजारको प्रयोग गर्दा उत्पादन लागत घटेर आएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा मात्रै २० वटा थ्रेसर मेसिन ५० प्रतिशत अनुदानमा प्रदान गरिएको छ ।

“मिनिटेलर हलो, थ्रेसर मेसिनका कारण किसानलाई सहज मात्रै भएको छैन समय र खर्च बचत भएको छ, चालु आर्थिक वर्षमा २० वटा थ्रेसर मेसिन वितरणले किसानलाई राहत मिलेको छ, स्थानीय तहले कृषिमा यान्त्रिकीकरण भित्र्याउन थालेका छन्”, उनले भने ।

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ९ : ०५ बजे

चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

म्याग्दी- म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७ दशमलव पाँच मेगावाट

चितवन निकुञ्ज वरपर चोरीसिकारी नियन्त्रण गर्न ‘स्पाई क्यामेरा’ जडान

चितवन- चितवन राष्ट्रिय निकुञ्जले सम्भावित चोरी सिकारी नियन्त्रणका लागि ‘स्पाई

पाँचखालका ६ हजार परिवारका घरघरमा खानेपानी

काभ्रेपलाञ्चोक- पाँचखाल नगरपालिकाका ६ हजार परिवारको घरघरमा खानेपानी पुर्‍याइएको छ

श्रीमतीको हत्या अभियोगमा पक्राउ

पर्सा– श्रीमतीको घाँटी थिचेर हत्या गरेको अभियोगमा पर्साको जगरनाथपुर गाउँपालिका–४

सिँचाइ कुलो निर्माणसँगै आकासे पानीको निर्भरता हट्यो 

भोजपुर– भोजपुरको अरुण गाउँपालिकामा निर्माणाधीन आठवटा सिँचाइ कुलोमध्ये चारवटा सम्पन्न