ट्रम्पलाई भेट्न जेलेन्स्कीसँगै युरोपेली नेताको जम्बो टोली अमेरिका जाँदै, होला सम्झौता ? | Khabarhub Khabarhub

ट्रम्पलाई भेट्न जेलेन्स्कीसँगै युरोपेली नेताको जम्बो टोली अमेरिका जाँदै, होला सम्झौता ?


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगै युरोपेली नेताहरूको जम्बो प्रतिनिधिमण्डल पनि अमेरिका जाने भएको छ । अमेरिकी राजधानी वाशिङ्टन डीसीमा सोमबार यो भेटवार्ता हुने तय भएको छ । रुसी समकक्षी भ्लादिमिर पुटिनसँग अलास्कामा शिखर वार्ता गरेपछि ट्रम्पले जेलेन्स्कीलाई अमेरिका डाकेका थिए ।

गत फेब्रुअरी महिनाको अन्त्यतिर अमेरिका पुगेका जेलेन्स्कीले ह्वाइट हाउसमा ट्रम्प र उपराष्ट्रपति जेडी भान्सबाट अपमान खेपेका थिए । यस्तै अवस्था नदोहोरियोस् भन्न युरोपेली नेताहरू पनि अमेरिका जान लागेको विश्लेषण गरिएको छ ।

युरोपेली नेताहरूले सुरुदेखि नै पुटिनसँग ट्रम्पको सम्पर्कप्रति असहजता व्यक्त गर्दै आएका छन् । जेलेन्स्कीसँगै बेलायतका प्रधानमन्त्री केइर स्टार्मर, फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँ, जर्मनीका चान्सलर फ्रेडरिक मर्ज र नेटोका महासचिव मार्क रुट पनि अमेरिका जाने भएका हुन् ।

युक्रेनको भविष्यबारे ट्रम्पसँग वृहत् छलफल गर्न र उनलाई युक्रेनको पक्षमा उभ्याउने माहोल सिर्जना गर्ने अभियानका साथ युरोपेली नेताहरू पनि वासिङ्टन पुग्ने भएका हुन् ।

ह्वाइट हाउस जान लागेकी युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले जेलेन्स्कीलाई आइतबार ब्रसेल्समा हुने बैठकका लागि स्वागत गर्ने बताएकी छन् । इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनी र फिनल्याण्डका राष्ट्रपति अलेक्जेन्डर स्टब्स पनि वासिङ्टन जानेछन् ।

यसअघि शुक्रबार अलास्कामा सम्पन्न शिखर वार्तामा युक्रेनका प्रतिनिधिलाई भने डाकिएको थिएन । यद्यपि अलास्कामा पुटिनसँग वार्ता सकेर डीसी फर्किँदा उडानकै क्रममा ट्रम्पले जेलेन्स्की र युरोपेली नेताहरूसँग लामो टेलिफोन संवाद गरेका थिए । युक्रेन र युरोपेली साझेदारहरूले भने वार्ता र छलफललाई सैन्य कारवाही थप लम्ब्याउने रूसको रणनीति भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

तस्बिरः एपी

ट्रम्प–पुटिन शिखर वार्तामा युक्रेनमा युद्धविराम हुनेबारे सहमति जुट्ने अपेक्षा गरिएको थियो । तर, त्यसो हुन सकेन । त्यसपछि ट्रम्पले आफू युद्धविरामभन्दा पनि शान्ति सम्झौताको पक्षमा रहेको टिप्पणी गरेका छन् । ट्रम्पले अस्थायी युद्धविरामभन्दा आफू स्थायी शान्ति सम्झौताको पक्षमा रहेको उल्लेख गरेका छन् ।

बीबीसीका अनुसार शुक्रबार अलास्का शिखर वार्ता अघिसम्म ट्रम्पले सकेसम्म छिटो युद्धविराम चाहेको उल्लेख गरेका थिए । युक्रेनको मुख्य माग पनि दीर्घकालीन सम्झौता अगाडि छिटो युद्धविराम हुनु पर्ने रहेको छ । पुटिनसँगको वार्ता अगाडि युरोपेली नेताहरूसँग कुरा गर्दा समेत ट्रम्पले युद्धविराम सम्झौता गराउनु आफ्नो प्रमुख उद्देश्य रहने बताएका थिए ।

ट्रम्पले युद्धविरामलाई लत्याएर सीधै शान्ति सम्झौताको कुरा गर्नुलाइ रुस–युक्रेन युद्धमा अमेरिकाको एजेन्डामा महत्वपूर्ण परिवर्तन मानिएको बीबीसीले जनाएको छ । सामाजिक सञ्जालमा उनले यस्ता युद्धविरामहरू प्रायः ‘बेकार’ हुने टिप्पणी गरेका छन् । उनले भने, ‘सबै पक्षले सहमति जनाएका छन् । यो भयानक युद्धको अन्त्यका लागि सबैभन्दा उपयुक्त उपाय प्रत्यक्ष शान्ति सम्झौतामा पुग्नु हो ।’

तर, यसबारे जेलेन्स्कीले भने अनिश्चितता प्रकट गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘युद्धविरामका निम्ति धेरैले गरिरहेको आह्वानलाई रुसले लत्याइरहेको हामी देख्न सक्छौँ । मार्ने क्रम कहिले रोक्ने भनेर उसले निर्क्योल गरेको छैन । यसले स्थिति अझ जटिल बनाएको छ । यदि रूसले आक्रमण रोक्न साधारण आदेश पनि मान्दैन भने छिमेकीहरूसँग दीर्घकालीन शान्तिपूर्ण सहअस्तित्वका लागि सहमति गराउन ठूलो प्रयास आवश्यक पर्नेछ ।’

अलास्का शिखर वार्ताका क्रममा पुटिनले ट्रम्पसमक्ष केही प्रस्ताव राखेको अमेरिकी सञ्चार माध्यममा समाचार आएका छन् । समाचारमा जनाइएअनुसार रुसले पूर्वी युक्रेनको डोनबासअन्तर्गत डोनोट्स्क क्षेत्रबाट युक्रेनी फौज फिर्ता हुनुपर्ने प्रस्ताव अघि सारेको छ । रुसले यसको बदलामा जापोरिझिया र खेरसन क्षेत्रमा सैन्य मोर्चालाई स्थिर राख्ने प्रस्ताव राखेको छ ।

ट्रम्पले जेलेन्स्कीलाई रुसको यस प्रस्तावबारे जानकारी दिएको जनाइएको छ । ट्रम्पले यसअघि नै शान्ति सम्झौतामा ‘केही भूभागको सट्टापट्टा’ हुनसक्ने उल्लेख गरेका थिए । तर, केही दिनअघि जेलेन्स्कीले भने यस प्रस्ताव ठाडै अस्वीकार गरिदिएका थिए । भविष्यमा रुसले यही भूमि प्रयोग गरी थप आक्रमणहरु गर्नसक्ने युक्रेनी पक्षको चिन्ता छ ।

रुसले केही समयअघि पूर्वी युक्रेनका डोनेट्स्क, लुहान्स्क, जापोरिझिया र खेरसन क्षेत्रलाई औपचारिक रुपमा आफूमा गाभ्ने गरि कदम चालेको थियो । यद्यपि हाल रुसी फौजको नियन्त्रणमा लुहान्स्कको अधिकांश भूभाग, डोनेट्स्क, जापोरिझिया र खेरसन क्षेत्रका ७० प्रतिशतभन्दा धेरै भूभाग छन् ।

यसअघि सन् २०१४ मा रुसले कृष्ण सागरमा अवस्थित क्राइमिया क्षेत्रलाई गाभेको थियो । रोयटर्सका अनुसार क्राइमियासमेत समग्रमा हाल रुसको नियन्त्रणमा युक्रेनको कुल भूभागको १९ प्रतिशत अर्थात् १ लाख १४ हजार ५ सय वर्गकिलोमिटर क्षेत्र रहेको छ ।

सीबीएसका अनुसार युरोपेली साझेदारहरूले सोमबार हुने भेटवार्तामा ट्रम्पले जेलेन्स्कीलाई रुसको यस प्रस्ताव मान्न दबाब आशंका गरिरहेका छन् । अलास्कामा पुटिनसँग भेटवार्ता गरिसकेपछि ट्रम्पले फक्स न्यूजलाई अन्तरवर्ता दिएका थिए । उक्त अन्तरवार्तामा ट्रम्पलाई युक्रेनी नेतालाई कस्तो सल्लाह दिन चाहनुहुन्छ भनी सोधिएको थियो । जवाफमा ट्रम्पले भनेका थिए– ‘सम्झौता गर्नुहोस् ।’

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ८ : ०६ बजे

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई

दलित सशक्तीकरण ऐन कार्यान्वयनमा सिरहाका पालिका प्रमुखको सामूहिक प्रतिबद्धता

सिरहा – सिरहाका विभिन्न स्थानीय तहका प्रमुखहरूले दलित सशक्तीकरण ऐन,

इजरायली राष्ट्रपतिसँग विपिन जोशीकी आमा र बहिनीको भेट, रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं – हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका

‘ज्याप ईभी’ भाडा सेवा: महिलामैत्री र हरित सवारीतर्फ महत्वपूर्ण कदम

काठमाडौं – काठमाडौंले दिगो शहरी यातायाततर्फ एक महत्वपूर्ण कदम चालेको

समाजवादउन्मुख अर्थतन्त्रको विकासले सामाजिक विभेदको अन्त्य गर्छः माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले