काठमाडौं – विश्वकै ध्यान खिच्न सफल इन्डियन प्रिमियर लिग (आईपीएल) मा एक पटक खेल्ने सपना नबोकेका क्रिकेटर सायदै होलान् ।
आईपीएलको अक्सनमा परेर सोल्ड हुनु सानोतिनो कुरा होइन । विश्व क्रिकेटमा राम्रो छाप छाडेका क्रिकेटरले मात्रै आईपीएलमा खेल्ने मौका पाउँछन् ।
आईपीएलले विदेशी खेलाडीका लागि बनाएको नियमले थप जटिलता सिर्जना गर्छ । आईपीएलको एक फ्रन्चाइजी टिमले बढीमा आठ विदेशी खेलाडी अनुबन्ध गर्न पाउँछ । चारभन्दा बढी विदेशी ‘प्लेइङ ११’ मा राख्न पाइँदैन ।
यसका बावजुद आईपीएलमा सहभागी भएर खेल कौशल देखाएका साउथ अफ्रिकी खेलाडीले नेपाल प्रिमियर लिगको दोस्रो सिजन खेल्ने भएका छन् ।
क्रिकेटमा साउथ अफ्रिका आफैँमा ठूलो नाम हो । विश्व क्रिकेटममा उसको उपस्थिति बलियो छ । यो देशले धुरन्धर खेलाडी जन्माएको छ ।
यहाँ आईपीएलमा सहभागी भइसकेका साउथ अफ्रिकी खेलाडीको चर्चा गरिएको छ । जसलाई यस पटक कीर्तिपुर मैदानमा बलिङ र ब्याटिङ गरिरहेको देख्न पाइन्छ ।

डु प्लेसिस : एनपीएलकै ठूलो नाम फाप डु प्लेसिस साउथ अफ्रिकी पूर्वकप्तान हुन् । उनले विराटनगर किंग्सबाट खेल्ने तय भएको छ ।
उनले तीनै फर्म्याटका अफ्रिकी टोलीको कप्तानी सम्हालेका छन् । उनी विश्व चर्चित ब्याटर र फिल्डर हुन् । उनले आईपीएल टिम रोलय च्यालेन्जर्स बेंग्लुरुको कप्तानीसमेत (सन् २०२२–०२४) गरेका थिए ।
त्यसअघि उनी सहभागी चेन्नई सुपर किङले सन् २०१८ र २०२२ को दुई सिजनमा उपाधिसमेत जितेको थियो ।
चेन्नई : सन् २०१२–०१५ को संस्करण
राइजिङ पुने सुपरजाइन्ट : सन् २०१६–०१७ को संस्करण
चेन्नई : सन् २०१८–०२१
बेंग्लुरू : सन् २०२२–२४ (कप्तान)
दिल्ली क्यापिटल्स : सन् २०२५
डु प्लेसिसले देशबाट ६९ टेस्ट म्याच खेल्दा चार हजार १६३ रन जोडेका छन् । यसमा ११ शतक र २१ अर्धशकत समावेश छ ।
उनले १४३ म्याच खेल्दा पाँच हजार ५०७ रन जोडेका छन् । यस दौरान उनले १२ शतक र ३५ अर्धशतक जोडेका छन् ।
समग्र ४२४ टी–ट्वेन्टी खेलमा उनले ११ हजार ९०६ रन जोडेका छन् । फिल्डिङमा उनले २११ क्याच लिएका छन् ।
इमरान ताहिर – साउथ अफ्रिकाका बलर ताहिर जनकपुर बोल्ट्सबाट खेल्दैछन् । उनी विश्व क्रिकेटका चर्चित खेलाडी हुन् ।
अन्तर्राष्ट्रिय क्रिकेटमा उनी सन् २०११ देखि ०१९ सम्म सक्रिय थिए । ताहिरले तीन टिम दिल्ली क्यापिटल, राइजिङ पुने सुपरजाइन्ट र चेन्नईबाट आईपीएल खेलेका छन् ।
उनले सन् २०१९ को संस्करणमा सिजनकै सबैभन्दा बढी २७ विकेट लिएका थिए । त्यसबेला उनी चेन्नईमा आबद्ध थिए ।
उनी आबद्ध हुँदा चेन्नईले आईपीएलको ट्रफी दुई पटक जितेको थियो । उनले समग्रमा ४४६ वटा टी–ट्वाटी म्याच खेल्दा ५७० वटा विकेट लिएका छन् । उनले देशका लागि २० टेस्ट, १०७ ओडीआई र ३८ टी–ट्वान्टी म्याच खेलेका छन् ।

मर्चेट डि लाङ्गे – विराटनगर किङस्बाट एनपीएल खेल्न लागेका साउथ अफ्रिकन तीव्र गतिका दायाँ बलर डि लाङ्गेले तीन संस्करणको आईपीएल खेलेका छन् ।
उनले सन् २०१२ को संस्करणमा कोलकत्ता नाइट राइडर्सबाट खेलेका थिए । सन् २०१४ र ०१५ को संस्करण भने मुम्मबई इन्डियन्सबाट खेलेका थिए ।
उनले समग्रमा जम्मा १५५ टी ट्वान्टी म्याच खेलेका छन् । जसमा १७४ विकेट लिएका छन् ।
उनले देशबाट चार टेस्ट र चार ओडीआई म्याच लेखेका छन् । ६ टी–ट्वाटीआई म्याचमा ७ विकेट लिएका छन् ।
उनी अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २०११ देखि सन् २०१६ सम्म सक्रिय थिए ।

वायन पर्नेल – जनकपुर बोल्ट्सबाट खेल्न लागेका पर्नेल साउथ अफ्रिकाका पेस बलर अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २००९ देखि २०२३ सम्म सक्रिय थिए ।
उनले पछिल्लो समय सन् २०२३ को संस्करणको आईपीएल आरसीबीबाट खेलेका थिए । त्यसअघि उनले सन् २०१४ मा दिल्ली क्यापिटलबाट खेले ।
सन् २०११ – ०१४ सम्म उनले पुने वारिअर इन्डियाबाट आईपीएल खेलेका थिए । उनले समग्रमा ३०६ वटा टी–ट्वान्टी म्याच खेल्दा ३२३ वटा विकेट लिएका छन् ।
देशका लागि ५६ वटा टी–ट्वाटी म्याच खेल्दा ५९ विकेट लिएका छन् । उनीसँग ७३ वटा ओडीआई र ६ वटा टेस्ट म्याच खेलेको अनुभव छ ।













प्रतिक्रिया