काठमाडौंं– चर्चित एवं बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी संवैधानिक कानूनका विज्ञ हुन् । बुधबार सहकारीपीडितको पक्षमा बहस गरेर काठमाडौं जिल्ला अदालतबाट बाहिर निस्कँदा उनीमाथि कुटपिट भयो । खबरहबसँगको विशेष अन्तरवार्तामा हामीले सोध्यौं– अदालतबाट निस्केर कता जाँदै हुनुहुन्थ्यो ? काठमाडौंको सडकमा दिनदहाडै कसरी आक्रमण भयो ?
गम्भीर अन्तरवार्तामा प्रवेश गर्नुअघि बरिष्ठ अधिवक्ता त्रिपाठीकै शब्दमा उक्त अप्रिय घटनाको वर्णन सुनौं–
काठमाडौं जिल्ला अदालतको पारिपट्टि वन विभागपछाडि मेरो ल फर्म छ । अदालतको मेनगेटमा भीड थियो । पछाडिबाट निस्किएर सडक पार गर्न कि त धेरै पर बबरमहलको पुलसम्म पुग्नुपर्छ, कि त धेरै पर माइतीघर नजिक पुग्नुपर्ने हुन्छ ।
काठमाडौं जिल्ला अदालतलाई नै ध्यानमा राखेर ठीक अगाडि लाइटसहितको जेब्राक्रस बनाइएको छ । अरु ठाउँमा नजिकै जेब्राक्रस छैन ।
अदालतबाट बाहिरिने क्रममा सुरुमा केही युट्यबुरहरू आएर अन्टसन्ट प्रश्नहरू सोध्न थाले । मैले ठीकै छ अदालतको आदेश आउँदैछ, आदेशलाई पर्खिनुस्, जे हुन्छ, त्यही हुन्छ भनेर जान खोज्दा एकथरीले गालीगलौच गर्न थाले । किन रवि लामिछानेलाई थुन्नुपर्छ भनेर अदालतमा बहस गरेको ? भन्न थाले ।
मैले मचाँहि जाहेरवाला (सहकारीपीडित) को वकिल हो, मैले मेरो धर्म निर्वाह गरेको हुँ भनेँ । त्यसलगत्तै उनीहरूले मलाई चारैतिरबाट घेरिहाले । चारैतिरबाट घेरेर एउटाले कोट तान्न थाल्यो । एउटाले झोला तान्न थाल्यो । मलाई त कसरी उम्किने भन्ने भयो । त्यहाँ सडकमा दुई–तीनवटा लेन छन् । एउटा लेन पार गरेर उता जान खोज्दै थिएँ, एउटाले जोडले धक्का दियो । म बिजुलीको पोलमा ठोक्किएँ । धन्न टाउको पोलमा बजारिएन, हातले पोल समातेँ ।
त्यहीबेला एउटा आएर मेरो टाई तान्न थाल्यो । टाई तानेपछि घाँटी नै पासो लागेर मर्न सक्छ । मैले विदेशतिर धेरै देखेको छु सामान्यतः हत्या गर्नुपर्यो भने टाई तान्ने गर्छन् । टाई घाँटीमा कस्सिँदा मान्छेले केही गर्न सक्दैन ।
त्यसपछि मलाई त्यहाँ प्रहारहरू भए । म भुईँमा लडेँ । लडेका बेला पनि मलाई प्रहारहरू भए ।
भिडियोमा एउटा मान्छे आएर मलाई छोपेको देखिन्छ । तर, एकजना पत्रकारले मलाई सर, तपाईंले पूरा भिडियो हुर्नुभएन, पहिला तपाईंलाई लडाउने मान्छे त्यही हो, पछि बचाएको जस्तो गरेको हो भन्नुभएको छ ।
त्यहाँ मलाई कसैले उठ्न मद्दत पनि गरेको छ । एउटाले झोला नै लिएर भाग्न खोजेको छ । थ्याङ्स गड ! कसैले त्यो झोला खोसेर भाग्नेबाट झोला खोसेर मलाई दियो ।
मैले सोचेँ कि जसरी पनि म सडक पारी जार्नुपर्छ, अनि उम्किन र बच्न सकिन्छ । भीडमा कोही हान–हान भन्दै थिए । मोटरहरू आउँदै थिए । त्यहीबेला एउटा बस आयो । एकजना महिना थिइन्, ती बहिनीले दाजु यो बसमा चढ्नुस् भनिन् । मलाई पनि बसमा चढ्यो भने कमसेकम बच्न सकिन्छ भन्ने लाग्यो ।
तर, बसमा चढ्दा मलाई पछाडिबाट ताने । उनीहरूले बसमा चढ्नबाट रोके । बस पनि हिँडिहाल्यो । शायद चालक पनि डराए होला । ठीक त्यहीबेला प्रहरी आए । पुलिसले एक मिनेट पनि ढिलो गरेको भए गम्भीर दुर्घटना हुनसक्यो । किनभने ममाथि प्रहार भइरहेको थियो ।
मलाई मार्नेसम्मको प्रपञ्च रचिएकै हो । तर, प्रहरी आइपुग्यो । हुन त ढिलो गरी आयो प्रहरी । समयमै आउनुपथ्र्यो । जे होस् आयो । र, मलाई रेस्क्यु गरेर प्रहरीले अदालतभित्र श्रेस्तेदारको कोठामा लगेर राख्यो । घटना यही हो ।
बुधबारको घटनाको विवेचना पछि गरौंला, अहिलेचाहिँ तपाईको व्यक्तिगत विषयबाट कुराकानी अगाडि बढाऔं । तपाईंले अमेरिकाबाट संवैधानिक कानूनमा स्नातकोत्तर गर्नुभएको हो ?
म रुपन्देहीको मान्छे । आईएल नेपालगञ्जमा पढेँ । बीएल गर्न काठमाडौं आएँ । यतै कानूनी अध्यास पनि गरेँ । ०५४–०५५ मा संवैधानिक कानूनमा पहिलो एलएलएम पनि नेपालमै गरेँ । त्यसपछि दोस्रो एलएलएम पनि गर्नुपर्यो भनेर अमेरिका गएँँ ।
नेपालको पढाइ राम्रो छैन भन्न खोजेको होइन तर अन्तर्राष्ट्रिय परिचय र डिग्रीको मान्यता बेग्लै खालको हुन्छ । त्यही भएर म अध्ययनका लागि अमेरिका गएको हुँ । अमेरिकाको मेरिल्यान्डस्थित ल कलेजमा दुई वर्षमा अध्ययन पूरा गरेँ ।
मलाई कतिपय साथीहरुले अमेरिकामा पनि एलएलएम नै गर्नुभयो, नेपालमा पनि गर्नुभयो । के फरक छ भनेर सोध्नुहुन्थ्यो । म भन्थेँ, नेपाल टेलिभिजन पनि छ, सीएनएन पनि छ, यी दुईमा के फरक पाउनुहुन्छ ? एनटीभी र सीएनएनमा जे फरक छ, नेपालको एलएलएम र अमेरिकाको एलएलएमको फरक पनि त्यही हो ।
अमेरिकाको डिग्रीको महत्व किन छ भने अमेरिकाको पढाइले लिडर पनि बनाउँछ । मैले अमेरिकाको डिग्री नलिएको भए मभित्र यति आत्मविश्वास हुँदैनथ्यो ।
धेरै नेपालीहरू अमेरिका पुगेपछि उतै बस्छन्, तपाईंचाहिँ किन नेपाल फर्किनुभयो ?
मलाई एकजना साथीले भन्थे, ‘अमेरिकामा एलएलएम अमेरिकीहरूका लागि पनि ‘ड्रिम डिग्री’ हो । अमेरिकाका सुप्रिम कोर्टका कतिपय न्यायाधीशले समेत एलएलएम गरेका हुँदैनन्, तर तिमी डिग्री पूरा हुन पाएको छैन, किन स्वदेश फर्किन खोजिरहेका छौ ? यहीँ धेरै अवसरहरू छन्, यहीँ युनिभर्सिटीमा काम गर्न सक्छौ । झन् ल फर्म भनेको त अमेरिकाका लागि प्याराडाइज हो ।’
मैले भनेँ, ‘अमेरिकामा मैले फरकखालको केही पनि काम गर्न सक्दिनँ । मैले यहाँ बसेर अमेरिकाको सिस्टममा, अमेरिकाको कानून प्रणालीमा वा अमेरिकी नागरिकको जीवनमा योगदान गर्न सक्दिनँ ।’
एलएलएम पूरा गरेर अमेरिकामै बसेको भएँ मैले आफ्नो जीविका चलाउन सक्थेँ । मजस्ता वकिल त अमेरिकामा लाखौं छन् । अमेरिका भनेको विश्वको सबैभन्दा बढी वकिलको संख्या भएको देश हो । मैले एलएलएम गरे पनि अमेरिकाको ‘मेन स्ट्रिम’को वकिल हुन सक्दिनथेँ । त्यहाँको अदालतमा गएर बहस गर्न सम्भव छैन । इमिग्रेसनको वकालतसम्म गर्न सकिन्थ्यो ।
यता, मेरो देशमा त्योबेला संविधान निर्माणको प्रक्रिया चलिरहेको थियो । हामी संविधान निर्माण प्रक्रियामा छौँ त्यसैले म नेपाल नै फर्किन्छु भनेँ । म आफ्नै मुलुकका लागि केही गर्नुपर्छ भनेर नेपाल फर्किएको हुँ ।
पहिलो संविधानसभाको समयमा नेपाल फर्किसक्नुभएको थियो ?
हो, म पहिलो संविधानसभामा संविधान निर्माण हुँदा नेपाल आइसकेको थिएँ । म नेपालमा आएँ भने त नेपालको कानून प्रणालीमा केही योगदान दिन सक्छु र इतिहासमा चिनिन सक्छु, त्यसैले अमेरिकामा बसेर त्यसो गर्न सम्भव हुँदैन भनेर म स्वदेश फर्किएको हुँ ।
अहिले ‘वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी’ भनेर तपाईलाई धेरैले चिन्छन् । नेपाल फर्केर सफलै भइएछ जस्तो लाग्छ ?
जे होस्, मैले थोरै भए पनि देशमा केही योगदान दिन सकेँ । म एकजनाले नै राष्ट्रको समस्या समाधान गर्न सक्छु भन्ने होइन । तर, मलाई सन्तुष्टि छ । अमेरिकामै बसेको भए दालभात त जहाँ पनि मान्छेले खाएकै छ । मलाई अमेरिकामा बसेर भयंकरै हुन्छ भन्ने कुरामा विश्वास लाग्दैन । म नेपालबाट अनेक देशका सेमिनारहरूमा जान्छु । विदेशीले नेपालको संविधान निर्माण प्रक्रिया कसरी भयो भनेर विज्ञको हैसियतमा बोलाइरहेका हुन्छन् ।
नेपालमा मैले आफ्नो मातृभूमिका लागि काम गरिरहेको छु । विदेशमा त अरुका लागि गरिन्छ । खाली दालभात खानका लागिमात्रै अमेरिकामा बस्ने त्यो मेरो जीवनको उद्देश्य होइन ।
मान्छे एकपल्ट जन्मिन्छ । यही एकपल्टको जीवनमा कोही ठूलो लेखक हुन्छ । कोही वैज्ञानिक हुन्छ । कोही अपराधी हुन्छ । कोही राजनेता हुन्छ । कोही पाकेटमार हुन्छ । कोही के, कोही के हुन्छ । यही एकचोटिको जीवन हो नि । एकचोटिको जीवनमा तपाईंले उत्तम कार्य के गर्न सकिन्छ, त्यो पो गर्ने हो । साधारण ढंगले दालभात खाएर जीविका त सबैले चलाएकै छ नि । अमेरिकामा बसेको भए त्यो मेरा लागि जीविका चलाउनु जस्तोमात्रै हुन्थ्यो ।
नेपालमा भन्दा राम्रो कमाइ हुने भएकाले नेपालीहरुमा ‘अमेरिकी सपना तीब्र हुने गरेको छ भन्छन् नि ? मानिसहरु अमेरिका जान कत्रो मरिहत्ते गर्छन्….
पैसा कमाउने कुरा पनि कस्तो हो भने, मान्छेका आवश्यकताहरू जति नियन्त्रित गर्नुभयो, त्यति राम्रो । न्यूनतम आवश्यकता पूरा भएपछि पुग्यो क्या । एउटा सीमापछि पैसाको मूल्य छैन । तपाईंसँग एक अर्ब रुपैयाँ भयो भने के गर्नुहुन्छ ? खाने दालभातै हो । सुत्ने ओच्छ्यानमै हो । एक अर्ब रुपैयाँ छ, म अबदेखि सुन–चाँदीमात्रै खान्छु भनेर त हुँदैन । मान्छेका आवश्यकताहरू अनन्त छन् ।
पृथ्वीमाताले सबैको आवश्यकता पूरा गर्ने क्षमता राख्छन् । तर, पृथ्वीमाताले मान्छेको लोभ पूरा गर्न सक्दिनन् । मान्छेको लोभको अन्त्य छैन । पृथ्वी पूरै पाए पनि मान्छेले अर्को लोकको राजा पनि मै हुन्छु भनेर लोभ गर्छ । त्यसकारण, आफूले उन्नत जीवन बाँच्नका लागि देशलाई केही योगदान दिनुपर्छ भन्ने लाग्छ । म यसैमा खुशी हुने मान्छे हुँ । म आफ्नो काममा रमाउने मान्छे हुँ ।
यहाँले सरकारी विद्यालयमै पढनुभएको हो ?
सरकारी स्कुलमै पढेको हुँ । पाटीमा खरीले लेखेर पढेको हुँ । म जन्मिएको गाउँमै हो । म र गौतम बुद्ध जन्मिएको वडा एउटै हो, खाली २५ सय वर्षको फरक हो । म पनि त्यही वडामा जन्मिएको हुँ । त्योबेला मधुवनी गाविस थियो, म मधुवनी गाविस–५ मा जन्मिएको हुँ । अहिले यो ठाउँ लुम्बिनी सांस्कृतिक नगरपालिका–१० मा पर्छ ।
अमेरिकाबाट फर्किएपछि यहाँले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियामा विज्ञको हैसियतले केही योगदान गर्नुभयो । तर, दोस्रो संविधानसभा निर्वाचनमा त नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार नै बन्नुभयो नि ? शायद यही भएर अहिले सोसल मिडियामा तपाईलाई रविका समर्थकहरुले ‘कांग्रेस’ भनेर प्रचार गरिरहेका छन्….
म विद्यार्थी जीवनमा पनि लोकतन्त्रका लागि लडेको मान्छे हुँ । म विद्यार्थी नेता थिएँ । नेविसंघमा आवद्ध थिएँ । सत्याग्रहका बेला नौ महिना लोकतन्त्रका लागि जेल बसेको मान्छे हुँ । म लोकतान्त्रिक आन्दोलनमा लागेकै कारण बीसौँचोटि गिरफ्तार भइसकेको थिएँ । कुटाइसमेत खाएँ ।
जनमत संग्रहका बेला म हाईस्कुलको विद्यार्थी थिएँ । त्योबेला म विद्यालयहरूमा गएर बहुदलको पक्षमा भाषण गर्थेँ । ठूला नेताहरू गएको आमसभामा पनि यो फुच्चेले बोल्छ भनेर भाषण गर्न लगाउँथे ।
पञ्चायतकालमा कुटाइ खाएँ भन्नुभयो, त्यसबेला कहाँ, कोबाट कुटिनुभयो ?
एकचोटि रुपन्देहीमा दीपक बोहरा (हाल राप्रपा सांसद) को ठूलो बिगबिगी थियो । रुपन्देही जिल्ला धेरै आतंकित जिल्ला थियो ।त्यहाँ एक ट्रक गुन्डाहरू आएर मलाई अपहरण गरे । मेरा लुगाहरू च्यातचुत पारे । जीउमा छुरीले काटे । कुटेर जंगलको छेउमा लगेर फालिदिए ।
मलाई मार्नै खोजेका थिए । तर, मण्डलेमा पनि दुईटा गुट बन्यो । एउटा गुट यसलाई यसै फालिदिउँ, मरे मर्छ, बाँचे बाँच्छ भन्ने पनि निस्किए । होइन, छाड्नु हुन्न, यसको जीउमाथि ट्रक चढाइदिनुपर्छ भन्ने पनि थिए । तर, मलाई जंगलमा लगेर फालिदिए । म त्यसरी बाँचेको मान्छे हुँ । यो ०३७ सालको जनमत संग्रहको प्रचार–प्रसारका बेलाको कुरो हो ।
त्यस्तै, जनमत संग्रहको बेलासम्म परशुनारायण चौधरी नेपाली कांग्रेसको महामन्त्री हुनुहुन्थ्यो । नेपालगञ्जमा एउटा आमसभा भयो । बर्दियामा पनि हामीले आमसभा गर्यौँ । त्यहाँ भाषण गर्ने बित्तिकै मलाई प्रहरीले गिरफ्तार गर्यो । त्योबेला म नेविसंघ बाँकेको जिल्ला अध्यक्ष थिएँ । पक्राउ गरेर सिडिओ अफिसमा लगेर सानो कोठामा थुन्यो । तीन दिनसम्म खानसमेत दिएन । पानी पनि अलिअलि दिने । त्योबेला म आईए प्रथम वर्ष पढ्दै थिएँ ।
थुनाबाट निकालेर सिडिओले थर्कायो । कति वर्षको भइस् ? म १८ वर्ष पूरा पनि भएको थिइनँ । उसले मलाई तिम्रो उमेरै १८ वर्ष पुगेको छैन, जो आफैं मतदाता छैन, उसलाई चुनाव बहिष्कार गर्नुपर्ने ? भन्दै सिडिओले थर्काएको मलाई अहिले पनि याद छ ।
पछि, अमेरिकाबाट फर्किसकेपछि दोस्रो संविधानसभाको निर्वाचन तयारी हुँदै थियो । मलाई मेरो पुरानो लिगेसी त छ भन्ने लाग्यो । लोकतान्त्रिक आन्दोलनमा मेरो पनि योगदान छ भन्ने ठानेँ । संविधान निर्माण प्रक्रियामा कससेकम सहभागी भएर केही योगदान दिन पाएँ भने इतिहासमा नाम दर्ज हुन्छ भन्ने सोचेँ ।
हुन त संविधानसभामा नभए पनि बाहिरबाट विज्ञका रुपमा सकेको योगदान त दिइरहेको थिएँ । तर, भित्रै हुँदा त संविधानसभामा भोटिङ राइट नै हुन्छ भनेर ०७० को संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट रुपन्देही–७ बाट उम्मेदवार बनेको थिएँ । तर, दुर्भाग्य चुनाव हारेँ । भित्रैबाट संविधान निर्माणमा मेरो भूमिका हुन सकेन ।
त्यसपछि पनि तपाईं नेपाली कांग्रेस नै हो कि राजनीति छोड्नुभयो ?
दोस्रो संविधानसभा निर्वाचनमा संविधानसभा सदस्यको हैसियतमा संविधान बनाउनु पर्छ भनेर रहर गरेको थिएँ, सफल भइएन । त्यसपछि सक्रिय राजनीतिमा मन लागेन । राजनीति जसरी अपराधीकरण हुँदै गएको थियो, मन लाग्न छोड्यो । यसले कुनै राष्ट्र निर्माण गर्दैन । अहिलेको राजनीतिको कुनै मिशन छैन, कुनै भिजन छैन । कुनै लिडरसिप छैन, कुनै सपना छैन । यसको पछाडि लागेर कुनै पनि योगदान हुँदैन । मैले केवल पद प्राप्त गर्नका लागि मात्रै तँछाड–मछाड गरेको जस्तो हुन्छ भनेर त्यताको आकर्षण नै छोडेँ ।
किनभने, संविधान बनाउने जुन आकर्षण थियो त्यो भएन । हुन त पहिलो संविधानसभाको निर्वाचन अगाडि पनि राजनीतिबाट म अलि टाढै नै थिएँ । खासमा मेरो र दमन दाइ (पूर्वसभामुख दमननाथ ढुंगाना) बीच कुरो मिल्थ्यो । अमेरिकाबाट फर्किएपछि ‘पिस एन्ड कन्फ्लिक्ट म्यानेजमेन्ट कमिटी’ बनाइएको थियो । दमन दाइ र पद्मरत्न तुलाधरले मलाई त्यसमा सिफारिस गर्नुभयो ।
सातवटै पार्टीको सहयोगमा त्यो कमिटी बनेको थियो । दमननाथ ढुंगाना र पद्मरत्न तुलाधर दुवैजना सहसंयोजक हुनुहुन्थ्यो । त्यसमा हरेक पार्टीका प्रतिनिधिहरू सहभागी थिए । मलाई विज्ञ सदस्य भनेर राखिएको थियो । त्योबेलामा मैले ‘पिस एन्ड कन्फ्लिक्ट म्यानेजमेन्ट’मा औपचारिक रुपमा काम गर्ने मौका पाएँ । दोस्रो संविधानसभा निर्वाचनमा उम्मेदवार भएँ । सफल हुन सकिएन । त्यसपछि मेरो पूरै धार परिवर्तन भयो ।
यहाँले अदालतमा दायर गरेका चर्चित रिटहरुबारे सामाजिक सञ्जालमा चर्चा हुने गरेको छ । तपाई आफूले सम्झन लायक मुद्दाहरू के–के हुन् ?
जुनबेला ज्ञानेन्द्र शाहले ‘कू’ गरेका थिए, त्योबेला रामकुमारी झाँक्री, महेश बस्नेत, ठाकुर गैरे र गगन थापालाई त मैले चारचोटि छुटाएँ । मानबहादुर विश्वकर्मासहितका विभिन्न पार्टीका तीन–चार सय नेताहरूलाई पनि छुटाएको हुँ । शाही आयोगविरुद्ध मुद्दा हालेँ । सरकारले इन्टरनेट नै बन्द गरेको थियो, त्यसलाई पनि मैले चालु गरेँ । त्योबेला नेताहरू बाहिर निस्कन डराउँथे । मैले त्योबेला पनि फाइट गरेँ ।
मलाई डेमोक्रेट भन्थे तर मैले माओवादीका नेताहरूको टाउकोको मोल तोकेको बेला सरकारको निर्णय बदर गरिनुपर्छ भनेर बहस गरेको हो । त्यहाँ डेमोक्रेटिक फ्रन्टका कोही वकिल आएनन् । एमाले फ्रन्टका वकिलहरू पनि कोही आएनन्
द्वन्द्वमा जानुअघि मैले बागमती सफा गर्नुपर्छ भनेर धेरै मुद्दाहरू लडेको छु । द्वन्द्व सुरु भएपछि धेरै मुद्दाहरू लडेँ । माओवादीले पनि मलाई धेरै गाली गरे । तर, मुक्ति प्रधानदेखि त्यतिबेला जति पनि माओवादीका नेताहरू समातिन्थे, धेरैको मुद्दामा म बहस गर्थेँ ।
मलाई डेमोक्रेट भन्थे तर मैले माओवादीका नेताहरूको टाउकोको मोल तोकेको बेला सरकारको निर्णय बदर गरिनुपर्छ भनेर बहस गरेको हो । त्यहाँ डेमोक्रेटिक फ्रन्टका कोही वकिल आएनन् । एमाले फ्रन्टका वकिलहरू पनि कोही आएनन् । मैले भनेँ– यसरी पनि कहीँ हुन्छ ? माओवादीको टाउको ल्याऊ, झोलामा पैसा लैजाऊ भन्ने पनि हुन्छ, मोर्डन डेमोक्रेटिक सोसाइटीमा ? यसो भनेर मैले मुद्दा लडेँ ।
त्यसपछिका धेरै मुद्दाहरू तपाईंहरु सबैलाई थाहा नै छ । मैले कुनै पार्टी हेर्दिनँ । कतै अन्याय भएको छ, संविधान मिचिएको छ । ‘रुल अफ ल’ मिचिएको छ भने मेरा लागि पार्टी–सार्टी गौण विषय हो ।
अहिले तपाई कांग्रेस हो कि होइन ?
अहिले त मलाई कांग्रेस र एमालेको झोले हो भनिरहेका हुन्छन् । मैले त बिहीबार बिहान बोलेको छु, सरकारले जुन अध्यादेश ल्याएको छ, यो कांग्रेस–एमालेको गैरराजनीतिक सोच हो । यसले संविधानका आधारभूत मूल्य र मान्यतामा प्रहार गरेको छ भनेको छु ।
मैले लडेका मुद्दाहरूमा हेर्दा कस्ता–कस्ता छन् भने संसद् विघटनको मुद्दा छ । त्यसपछि २१ वटा मन्त्रीको विषय थियो नि, मैले नै मुद्दा हालेर २१ वटा मन्त्रीलाई अदालतबाट बर्खास्त गराएपछि त केपी ओलीको मन्त्रिमण्डलमा जम्मा ४ जना मन्त्री रहेका थिए । त्यो मेरै मुद्दाले भएको हो ।
जसले जति फुर्ती लगाए पनि त्यो एउटा ऐतिहासिक कालखण्डमा मैले महत्वपूर्ण भूमिका खेलेकै हो । माइतीघर मण्डला निषेधित गरिएको थियो, त्यो मैले नै खोलाइदिएको हो । बालकृष्ण ढुंगेललाई मैले नै अदालतमा मुद्दा हालेर सजाय गराएको हो । मैले प्रचण्डको खिलाफमा पनि मुद्दा हालेँ ।
आलम (कांग्रेस नेता अफताब आलम) को मुद्दा तपाईंहरूलाई थाहा नै छ । अस्ति भर्खरै कांग्रेसले बादशाह कर्मीलाई मन्त्री बनाएको थियो । मैले यस्तो हत्याको आरोपीलाई मन्त्री बनाउन मिल्दैन, तुरुन्त बर्खास्त गर भनेपछि त्यो मान्छे बर्खास्त भयो ।
भुटानी शरणार्थी प्रकरणमा मैले अपराधीको कुनै धर्म हुँदैन, कुनै जाति हुँदैन भनेर लडेँ । तपाईंहरूलाई सबै घटनाक्रमहरू थाहा नै छन् ।
यिनै रवि लामिछानेहरूको त्यो थियो नि ‘नो नट अगेन’ अभियान । यिनीहरूलाई समातेर थुन्नु भनेर सूचना निकालेको थियो । मैले नै अदालतबाट कसैलाई पनि नथुन्नु भनेर आदेश गराएँ । त्यसपछि कसैलाई पनि समातिएन । यस्ता मुद्दाहरू गनेर साध्य छैन । नवराज विकको हत्यामा म त्यहाँ गए, बहस गरेँ ।
संविधान विपरीतका मुद्दा लड्दा खर्च कहाँबाट जुटाउनुहुन्छ ? आफैं गर्नुहुन्छ ?
सबै आफ्नै गोजीबाट हो खर्च गर्ने । संवैधानिक इजलासमा मुद्दा फाइल गर्यो भने ५ हजार त दस्तुर नैै तिर्नुपर्छ । डकुमेन्ट जुटाउन, यो गर, त्यो गर । खर्च त भई नै हाल्छ ।
खर्च कसरी जुटाउनुहुन्छ त ?
संवैधानिक बाहेक अरु विधाका मुद्दाहरू पनि हेरिन्छ । वकिल भइसकेपछि जग्गाकै मुद्दा पनि हेर्नुपर्यो नि त । मेरो यसमा पनि समानान्तर रुपमा राम्रो छ । म त्यसमा पनि समान दख्खलका साथ बहस गर्छु । नयाँ प्रकृतिका मुद्दामा पनि म विशेष अध्ययन गर्छु । किनभने जे भए पनि वकिललाई चाहिने सबैभन्दा ठूलो कुरो अध्ययनशीलता र तर्कशीलता हो । तपाईंसँग पर्याप्त समय भएपछि त्यसमा रिसर्च गरेर बहस गर्नुपर्छ । यो वकिलको तयारी हो ।
नयाँ आइरहेका कानून व्यवसायीहरु र कानूनका विद्यार्थीहरुको नेपालमा कस्तो भविष्य देख्नुहुन्छ ? उनीहरुलाई के सल्लाह दिनुहुन्छ ?
कसैले भन्ला पत्रकारिता दुःख को पेशा हो । दुःखको पेशा पनि छ । तर, कति मान्छे यस्ता छन् कि उनीहरू पत्रकारितामै रमाउँछन् । उनीहरूलाई अरु पेशामा राखिदियो भने बैराग मान्छन् । किनभने पत्रकारको चुनौतीसँग, नयाँ–नयाँ इस्युसँग खेल्ने माइन्ड सेट हुन्छ । वकालत पनि त्यही हो ।
यसमा के हुन्छ भने यदि तपाईं आफ्नो पेसामा रमाउनुभयो, चुनौतीलाई स्वीकार गर्ने, अध्ययन गर्ने र विश्लेषण गर्ने चाहना छ भने राम्रो हुन्छ । तर, वकालत एकैचोटि चल्छ भन्ने ग्यारेन्टी छैन । एकैचोटि फिस आउँछ भन्ने पनि ग्यारेन्टी छैन । कतिपय मुद्दा निःशुल्क गरिदिनुपर्ने हुन्छ । कतिपय मुद्दामा लड्दै गर्नुस्, म कहाँ जान्छु र ? फिस तिर्दै गरौँला, मलाई विश्वास गर्नुस् भन्छन् । मुद्दा जित्यो भने टाप कस्छन् । हार्यो भने पनि झन् टाप कस्छन् ।
यो पेसा अरु कर्मचारीजस्तो महिना–महिनामा तलब आउने पेसा होइन । सुरुमा त मैले बहस गर्दा एक रुपैयाँ पनि आउँदैनथ्यो । घरबाट पैसा ल्याएर, तानतुन गरेर टिक्नु पर्यो ।
तर, अहिले पनि म आर्थिकरुपले सफल वकिल होइन । तर, धेरै आकांक्षा राख्नुहुँदैन । धेरै बिलासी जीवन जिउनु हुँदैन । आवश्यकतासम्म पूरा गर्ने हो, जिन्दगी चलिहाल्छ ।
बिलासी जीवन जिउनुहुँदैन भनेरै होला, तपाई बुधबार काठमाडौं जिल्ला अदालतमा सहकारी पीडितको पक्षमा बहस सकेपछि लखर–लखर हिँड्दै जिल्ला अदालतबाट निस्क्नुभएछ । कमसेकम गाडी चढेर निस्केको भए त तपाईमाथि आक्रमण हुने थिएन कि ? बरिष्ठ अधिवक्ता भएर पनि किन निजी कार नचढेको ?
गाडी मेरो छँदा पनि छैन । म अहिले सामान्यतः पठाओ चढ्छु । यसले समयको पनि बचत हुन्छ । पहिले गाह्रो थियो, ट्रान्सपोर्ट खोज्दै हिँड्नु पथ्र्यो । अहिले पठाओले सजिलो गरिदिएको छ ।
गाडी किन नलिनुभएको ?
गाडी धेरै खर्चिलो छ । त्यसलाई कहाँ राख्ने ? पार्किङको समस्या छ । ड्राइभर राख । धेरै चिज क्या ! म के भन्छु भने तपाईंले आफ्ना आवश्यकताहरू सीमित राख्नुभयो भने धेरैको गुलामी गर्नुपर्दैन । धेरैको मातहतमा बस्नु पर्दैन । धेरै ठाउँमा सम्झौता गर्नु पर्दैन ।
महंगो गाडी चढेपछि त १० ठाउँमा सम्झौता गर्नुपर्यो । १० ठाउँमा झुट बोल्नुपर्यो । १० ठाउँमा अनैतिक काम गर्नुपर्यो । त्यसकारण आवश्यकता सीमित राखियो भने यो सबै गर्नुपर्दैन । जीवन आफ्नै तरिकाले बाँच्न सकिन्छ ।
भगवानले सबै पुर्याएकै छन् । केही भएन भने म आर्टिकल लेखेर भए पनि बाँच्न सक्छु । मेरो किताब ल कलेजमा पढाइ हुन्छ । केही समय मैले कलेज पढाएँ । अहिले पनि म ‘गेस्ट लेक्चर’ गर्छु । पैसा त थोरै आउँछ तर म युवा विद्यार्थीहरुसँग रमाउँछु ।
बुधबार यहाँमाथि भएको आक्रमणको घटनालाई कसरी लिने ? यसले गरेको संकेत के हो ?
म एउटा व्यक्ति केही पनि होइन । तर, म वरिष्ठ अधिवक्ता पनि हो । न्यायिक प्रक्रियाको एउटा अभिन्न अंग पनि हो ।
वकिलहरूका बारेमा संयुक्त राष्ट्रसंघको एउटा सिद्धान्त छ, । वकिलले कसैको त्रासविना आफ्नो व्यवसायिक कर्तव्यको पालना गर्न पाउनुपर्छ । वकिल भनेको मानवअधिकारको, विधिको शासनको ठूलो रक्षक हो । उसलाई व्यवसायिक कर्तव्यको पालनाका क्रममा कुनै बाधा–अवरोध पुर्याउनु हुँदैन ।
बाधा–अवरोध पुर्याउनु भनेको न्यायिक प्रक्रियामा अवरोध पुर्याउनु हो । म के भन्छु भने यो ममाथिको आक्रमण होइन, सम्पूर्ण न्यायिक प्रक्रियामाथिकै आक्रमण हो । अदालतमाथिको आक्रमण हो । त्यसकारण, यो मामिला अत्यन्तै गम्भीर हो । किनभने पीडितलाई पनि त न्यायिक अधिकार छ नि ।
मैले बुधबार अदालतको बहसमा भनेको थिएँ– जो अभियुक्त छन्, तिनीहरू अत्यन्तै शक्तिसम्पन्न छन् । पीडितहरू आवाजविहीन छन्, यिनीहरुको न्यायको सर्वोपरितालाई विचार गरिनुपर्छ । अभियुक्तहरूमाथि अभियोग लगाइएको अपराध भनेको संगठित अपराध हो ।
संगठित अपराधको दफा ६ मा के भनिएको छ भने संगठित अपराधमा संलग्न भएकाहरू यति शक्तिशाली हुन्छन् कि उनीहरूले मुलुकको न्यायिक प्रणालीलाई पनि प्रभावित गर्न सक्छन् । उनीहरूले फौजदारी प्रशासनलाई प्रभावित गर्न सक्छन् । राज्यलाई प्रभावित गर्न सक्छन् । यिनीहरूले प्रमाण मेटाउन सक्छन् । त्यसकारण यस्तो मुद्दाको अभियुक्तलाई थुनामा पठाउनुपर्छ ।
मैले बहसमा भनेको थिएँ, यिनीहरूले एक ठाउँमा मात्रै नभएर ५–५ ठाउँमा अपराध गरेका छन् । यिनीहरूको अप्रेसन मोडालिटी एउटै छ । हजारौंको संख्यामा सहकारी पीडितहरू छन् । यदि, अभियुक्तलाई छोड्ने हो भने पीडितको न्यायको हक मर्छ र पीडितहरू त्रासमा पर्छन् भनेर मैले अदालतमा अन्तराष्ट्रिय नजिरहरू पनि प्रस्तुत गरेँ । संगठित अपराधमा प्रमाण मेटाउने सम्भावना हुन्छ, त्यहाँ अभियुक्तलाई थुनामा पठाइन्छ । किनभने थुनामा नपठाउँदा न्यायका लागि खतरा हुन्छ ।
एउटा अर्को कुरा पनि भन्दिन चाहन्छु– यो मुद्दामा गम्भीर पक्ष के छ भने मलाई आक्रमण भयो । मैले बहसमै त्यो कुरा उठाएको छु । र, त्यो घटना भइसकेपछि न्यायाधीशलाई त्यसको जानकारी छ । त्यसपछि पनि न्यायाधीशले धरौटीमा छाडेका छन् । ल ठीक छ, पहिलाको अवस्थामा एउटा परिस्थिति हुन्छ, तर एउटा संगठित अपराधको अभियुक्तले वकिलमाथि नै आक्रमण गर्छ, त्यो पनि अदालतमा । तर, उसलाई धरौटीमा थुनामुक्त गर्ने जुन आदेश आएको छ, यसमा कार्य क्षमताको गम्भीर अभाव हो ।
कार्यक्षमताको अभाव त स्पष्ट देखियो नै, अर्को बद्नियत पनि आशंका गर्न सकिन्छ । यसमा पनि छानविन हुनुपर्छ । न्यायाधीशको फोन चेक गरिनुपर्छ । कहाँ–कहाँ सम्पर्क भयो ? कसले कसले भेट गर्यो ? कसले फोन गर्यो ? यिनको ट्रयाक रेकर्ड हेरिनुपर्छ । यो काठमाडौं र पोखरा दुवैको हकमा हो ।
यस्तै केसमा ५ लाख, १० लाख ठगी गर्नेहरूलाई यही अदालतले थुनामा पठाएको छ । यहाँ अर्बौं रुपैयाँको अपचलन भएको छ । हजारौं मान्छे ठगिएका छन् । सहकारीमा काम गर्ने सामान्य कम्प्युटरमा डाटा इन्ट्री गर्ने मान्छे पनि थुनामा पठाइएका छन् । अनि यिनीहरूलाई धरौटीमा छोड्ने भनेको त गम्भीर मामिला हो । यो कुरा मैले बुधबारको बहसमा गरेको थिएँ ।
अब पीडितले न्याय पाउने कुरो सम्भव छैन । किनभने, पीडितलाई जब हाम्रो वकिल त कुटिन्छ भने हामीलाई के होला भन्ने पर्न सक्छ । जाहेरीको प्रक्रियामा उनीहरू आएर अदालतमा बकपत्र गर्नुपर्ने हुन्छ । मैले उजुरी दिएकै हो, ठगी भएकै हो भनेर अदालतमा आएर नभन्दासम्म त्यो प्रमाणका रुपमा ग्रहण गरिँदैन । तर, वकिललाई अदालतमै आक्रमण गर्न सक्नेले पीडितलाई के नै पो गर्न सक्दैन होला र ?
त्यसकारण घटनापछि पनि जुन आदेश आयो, यो न्यायमा गम्भीर विचलन हो । म न्याय परिषद्लाई, प्रधानन्यायाधीशलाई आग्रह गर्छु– तत्काल यसको छानबिन हुनुपर्छ । यिनै न्यायाधीशको पनि पछिल्ला आदेश छन्, कस्तो–कस्तो स्थितिमा यिनले थुनामा पठाएका छन्, त्यो पनि हेरिनुपर्छ । ५ लाखवालालाई थुनामा पठाएको छ भने यत्रो ठूलो अपचलनमा धरौटीमा छोड्नु बदनियत ठाडै देखियो नि त । न्यायिक परदर्शिता पनि बडो जरुरी छ । त्यसको पनि अध्ययन हुनुपर्छ ।
म त एउटा फलामले बनेको मान्छे । आई डन्ट केयर ! मैले चुनौती दिएको छु, अझै तीनवटा जिल्लामा छ, म सबै जिल्लामा बहस गर्न जान्छु । मलाई मेरो प्रतिवद्धताबाट कसैले पनि विचलित गर्न सक्दैन । म खतरासँग खेल्न मन पराउने मान्छे हो । एक दिन मर्नु नै छ । रोग लागेर पनि मर्ने नै हो । जिन्दगीको आधा उमेर गई पनि सक्यो । तर, अरुका लागि त त्यस्तो हुन सक्दैन ।
तपाईंमाथि भएको आक्रमण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै कार्यकर्ताले गरेको हो र ?
आक्रमणमा संलग्न एउटा मान्छे समातिएको छ । मैले प्रहरीबाट अनौपचारिकरुपमा थाहा पाएको छु कि त्यो व्यक्तिको संलग्नता रास्वपामा छ । मलाई भनिएको छ, बाँकी मान्छे पनि रास्वपाकै हुन् ।
नत्र, अरु पार्टीको मान्छे अदालतल बाहिर दिनभर बस्न किन जान्छ ? एउटा सामान्य मान्छेको मसँग केको रिसईबी ? म आवाजविहीन पीडितहरूको वकिल हुँ । मलाई आएर मार्नै खोज्नु सर्वसाधारणको के स्वार्थ ?
एउटा घटना तपाईलाई भनौं, अदालतमा एकजना रास्वपाकै मान्छे भेटिए । उनले मलाई भने, ‘तपाई यहाँ पनि बहस गर्न आउनुभएको ?’ उनलाई मैले पोखरामा पनि भेटेको थिएँ । उनले अलि असहज जस्तो महसुस गरिरहेका थिए । मैले भनें, यो मेरो कर्तव्य हो । त्यसैले उनीहरुलाई भयो कि म सबै ठाउँमा बहस गर्न जान्छु । मैले सहकारी पीडितको पक्षमा बहस गर्दाखेरि अलिकति उनीहरुलाई डर भयो ।
यो घटनापछि रास्वपाका नेताहरूले फोन गरेर तपाईलाई के भन्नुभयो ?
मलाई रास्वपाका कसैले पनि फोन गरेका छैनन् । मलाई त के लाग्छ भने घटना भएलगत्तै वक्तव्य आएको छ । त्यो ‘प्रिपेड स्टेटमेन्ट’ जस्तो लागेको छ । बारको विज्ञप्ति आउन पाएको छैन, पहिल्यै उस (रास्वपा) को आएको छ । लेखेर ट्याक्क पारेको थियो कि ? घटना हुनेवित्तिकै आएको छ । रास्वपाका कुनै एकजनाले पनि मलाई फोन गरेका छैनन् । जबकि मैले मुद्दा लडिदिएका रास्वपाका मान्छे धेरै छन् । मैले गुन लगाएका धेरै छन् । यो घटना आपराधिक मानसिकता हो । यो सुनियोजित हो । भाग्यवस म बाँचेँ । गम्भीर चोटपटक पनि लाग्न पाएन ।
तपाई अब रास्वपा नेताहरुलाई के भन्नुहुन्छ ? आक्रमणको घटनामा पार्टीले माफी माग्नुपर्छ भन्नुहुन्छ कि ?
रास्वपा नेताहरुले सार्वजनिक खपतका लागि मात्रै बोलेको जस्तो छ । किनभने उनीहरुलाई यो घटना थाहा छ । सबैभन्दा छिटो उनीहरुले स्टेटमेन्ट दिएका छन् । यो सबै जनताको आँखामा छारो हाल्नका लागि मात्र हो । तर, यो घटना उनीहरुबाटै गरिएको हो । डिजाइनमा भएको घटना हो यो ।
रास्वपाका कार्यकर्ताहरुलाई त्यसैगरी प्रशिक्षित गरिएको छ । यो कुरा पनि बुझ्नुपर्छ । उनीहरुका कार्यकर्ताको जुन ‘सोसियोलाइजेसन’ छ, त्यसमा कसैले तर्क गर्दैनन् । बहस गर्दैनन् । सबैजना एकैचोटि गाली गलौजमा उत्रिन्छन् । मार्ने, कुट्ने कुरा गर्छन् । उनको आफ्नै शैली पनि त्यही छ । पत्रकार हुँदाखेरि पनि उनी ‘नाकको डाँडी भाँच्ने’ कुरा गर्थे । त्यसकारण रास्वपाका कार्यकर्ताहरुको ‘ओरियन्टेसन’ पनि त्यही छ । त्यही किसिमबाट संगठित ढंगले साइबर सेना पनि गठन गरिएको छ । त्यहाँ घृणात्मक अभिव्यक्ति मात्रै छ ।
यो त ममाथिको आक्रमणको कुरा भयो, अर्को कुरा नेपाली समाजमा एउटा खतरनाक मनोविज्ञान पैदा भएको छ । जस्तो– सहकारीमा लाखौं मान्छेहरु ठगिएका छन्, उनीहरुलाई पीडित बनाइएको छ । तर, आज कसैले पनि सहकारी पीडितहरुको पक्षमा आवाज उठाउँदैन । पीडितहरुले कसरी जीवन निर्वाह गरिरहेका होलान् भन्ने विषयमा कोही बोल्दैन । उनीहरुले औषधि खान पाएका छैनन् । बच्चाहरुलाई स्कुलबाट निकाल्नु परिराखेको छ । तर, सबैलाई के छ भने भने रवि दाइलाई फसाइयो, प्रतिशोध गरियो, अन्याय भयो, मानवअधिकार खोसियो ।
यो कुरा त माओवादी अध्यक्ष प्रचण्डले पनि भने हैन र ?
एकदमै । यो हाम्रो कस्तो सामाजिक मनोविज्ञान होला ? ठुल्ठुला नेताहरु पनि गएर हिरासतमा भेट्ने । एकदमै सहानुभूति देखाउने । भनेपछि आज पीडकका प्रति सबैको सहानुभूति छ । सबैले उनैलाई हिरो बनाइरहेका छन् । स्टार्डम निर्माण गरिराखेका छन् । सहकारीमा जनताको पैसा ठगेको भन्ने कहीँ छैन, उहाँ त एकदमै मसिहा हो, राष्ट्रको भाग्य विधाता हो भन्ने ढंगले इमेज बनाइँदैछ । भनेपछि, समाजमा यस्तो खतरनाक मनोविज्ञान बनिरहेको छ ।
हुन त यसो भन्दाखेरि धेरै निराशावादी सुनिएला, तर यस्तो स्थितिमा लोकतन्त्र बाँच्न सक्दैन । जहाँ यस्ताखालका जनता हुन्छन्, त्यहाँ लो लोकतन्त्र ‘डिजर्भ’ गर्दैन । सभ्य समाजको लायकै छैनौं हामी । हामीलाई त सहकारीपीडितको न्यायका लागि पो चिन्ता हुनुपर्ने हो । पीडितलाई न्याय कसरी दिलाउन सकिन्छ भनेर सबैको ऐक्यवद्धता त्यसमा पो हुनुपर्ने हो । तर, हामी कस्तो मनुष्यहरु छौं कि हाम्रो सहानुभूति पीडकका प्रति छ ।
अदालतले त्यति त भनेको छ नि, अहिले नै निर्दोष मानिएन । पूरै क्लिन चिट दिएको वा सादा तारेखमा छाडेको अवस्था पनि होइन । कुनै आधार प्रमाण नभएको भए त अदालतले तारेखमा छोड्थ्यो नि । त्यत्रो उच्च राशीको धरौटी मागेको छ । आधा घण्टाभित्र त्यो धरौटी ‘म्यानेज’ हुन्छ । त्यसको बारेमा कसैले प्रश्न उठाउँदैन । त्यसको स्रोत के हो कि आधा घण्टामै सबै जुट्ने । एउटा नेपालीले ६०/६५ लाख कमाउन ५ चोटि जन्मनुपर्छ । तर, उहाँले महान युद्ध जित्नुभयो भन्ने जरी मानिसहरुले जयजयकार गरिरहेका छन् । यो के मनोविज्ञान हो ? यो बडो खतरनाक छ । यो ‘नियो फासिजम’ (नवफासीवाद) हो ।
यस्तै–यस्तै सामाजिक मनोविज्ञान भएका बेलामा मुलुकमा अपराधीकरण बढ्छ र अपराधीहरुको कब्जामा पर्छ । राजनीति नै अपराधीहरुको कब्जामा पर्छ । मैले देखेको त लोकतन्त्र र विधिको शासनका लागि यो भन्दा ठूलो अर्को खतरा छैन । र, यो खतरा अझै बढ्दैछ ।
यो खतरा बढाउनमा पुराना पार्टीहरु जिम्मेवार छन् कि नयाँ ?
अब पुराना पार्टीहरु त असफल भए नै । तर, नयाँ त झनै पुरानो भन्दा खराब निस्कियो । पुरानाले त यसरी देशभरि सहकारी ठग्दै त हिँडेका छैनन् । एक–दुईजनाले ठगे होला तर पूरै संस्थागत ढंगले एउटै मान्छेको टिम लागेर, सबै ठाउँको सहकारी ठग्ने काम त कमसेकम पुरानाबाट त भएको छैन नि । आफ्ना विरोधीहरुलाई आक्रमण नै गराउने, त्यो त छैन नि त । त्यसैले यो पुराना भन्दा पनि गएगुज्रेको भयो नि त । त्यसकारण, पुरानाहरु असक्षम छन् र भ्रष्ट छन्, त्यसमा शंका छैन तर नयाँ त झन् खराब देखियो ।
यहाँले कांग्रेसका अफताव आलमजस्ता शक्तिशाली व्यक्ति विरुद्ध पनि मुद्दा लड्नुभयो । त्यसबेला भौतिक आक्रमणको धम्की आयो कि आएन ?
त्यसबेला मलाई कसैले आक्रमण गर्ने वा धम्की दिने काम गरेन । त्यत्रो माओवादीको विरोधमा मुद्दा हालें, कसैले केही पनि गरेनन् । यसरी भौतिक आक्रमणमा कोही पनि आएनन् । त्यही पञ्चायतकालमा एकचोटि भौतिक आक्रमण भयो । जेलनेल परियो, त्यत्ति हो ।
बुधबार भएको आक्रमणको घटनापछि अब सरकारले के गर्नुपर्छ ? सरकारलाई यहाँको सुझाव के छ ?
एउटामात्रै भिडियो हेरेर हुँदैन । फरक–फरक एंगलबाट भिडियोहरू बाहिरिएका छन् । भिडियो, फोटो सबै हेरिनुपर्छ । मेरो धारणा के छ भने निर्दोष कोही पनि फस्नु हुँदैन र दोषी कोही पनि छुट्नु हुँदैन । न्यायको सिद्धान्त पनि यही हो । यसको वस्तुगत अनुसन्धान होस् । विश्वसनीय अनुसन्धान होस् । त्यसका आधारमा दण्डित हुनुपर्छ ।
यहाँले आफूमाथिको आक्रमण न्यायालयमाथिको आक्रमण हो भन्नुभयो । अर्को, के पनि भन्नुभयो भने अब पीडितले कसरी आफूलाई सुरक्षित महसुस गर्ने र न्यायका लागि लड्ने ? देश यति गम्भीर अवस्थामा पुगेको हो र ?
पीडितहरु त अब अदालतै आउन सक्दैनन् । मैले देखेको त यो मुलुकमा न्याय भन्ने कुरा नै पराजित हुन्छ । जो शक्तिसम्पन्न छन्, त्यो ‘ह्वाइट कलर क्राइम’ (श्वेत अपराध) बडो डरलाग्दो हुन्छ । किनभने, समाजका पावरफूल व्यक्तिहरु सत्ताको पहुँचमा हुन्छन् । आफैं सत्तारुढ दलमा हुन्छन् । उनीहरू अदृष्य ढंगले काम गर्छन् । उनीहरू अगाडि आउँदैनन्, अदृश्य भएर बसेका हुन्छन् । आफ्नो इमेज मसिहाको जस्तो बनाउन खोज्छन् । ठगीको पैसा, अपराधको पैसा लगेर केही परोपकार गरेजस्तो पनि देखाइदिन्छन् ।
भारतमा एकजना को–अपरेटिभ ठगीको सहाराको केस छ । सुब्रत राय जेलमै मरे । २५ हजार करोड रुपैयाँ उनले अपचलन गरे । उनले कयौं गरिबहरुका लागि आवास बनाइदिएका थिए, जसले गर्दा उनी पपुलर थिए । उनले स्कुल, अस्पतालहरु बनाइदिएका थिए । क्रिकेट खेलाडीको लोगोदेखि लिएर अन्तरराष्ट्रिय खेल जितेर आउने खेलाडीलाई यतिवटा फ्ल्याट, यति लाख पुरस्कार इत्यादि भनेर घोषणा गर्थे ।
नेपालमा पनि त्यसरी ठगी गर्नेहरुले अस्पताल बनाइदिने र त्यसमार्फत पनि ठगी गर्ने गरेको पाइन्छ । त्यस्तो अस्पतालमा स्थानीय सरकार र प्रदेश सरकारले पनि ५ करोड रुपैयाँ दिएको छ भन्ने सुनिएको छ । उनीहरुले हिसाब बुझाएका छैनन् ।
कोभिडका बेला खोलिएको अस्पताल पनि कहाँ के भयो, थाहा छैन । टेलिभिजनबाट पनि परोपकारी काम गरेजस्तो देखाइयो । तर, योचाहिँ अदृश्य रहेर गरिने ठगी हो । यसको जटिलतालाई हामीले बुझ्न जरुरी छ ।
राजनीतिक दृष्टिबाट हेर्दा अहिले हाम्रो लोकतन्त्रको हालत कस्तो छ ? एकातिर अध्यादेशबाट थिचिएका छौं, अर्कातिर नागरिक समाजका अगुवाहरु बाटो हिँड्दा पिटिन्छन् । जनस्तरमा योखालको अराजकता छ, सिंहदरबारको चाहिँ संसदलाई कमजोर बनाएर अध्यादेश ल्याउनेतिर ध्यान छ । के अब लोकतन्त्रमाथि दुबैतिरबाट खतरा बढेको हो त ?
लोकतन्त्रमाथि सिंहदरबारबाट त खतरा छँदैछ । संविधानको सपथ खाएकाहरूबाट संविधानलाई झन् बढी खतरा छ । सार्वजनिक पद धारण गरेका मान्छेबाट झन् बढी खतरा छ । आम मान्छेले त कति नै खतरा पार्न सक्छ र ? कि त यस्तै संगठित सिन्डिकेट ग्रुप हुनुपर्यो ।
अहिले यो रास्वपाको जुन किसिमको उदय र नग्न प्रकारको अपराधीकरण भएको छ, जुन अपराधिक किसिमले परिचालन गरिएको छ, सहकारीको पैसा परिचालन गरेर जसरी ‘पेड युट्युबर’ देखि साइबर सेनासम्म जसरी ‘पेड एजेन्ट’हरु तयार गरेर जसरी सोसल मिडियालाई दुर्गन्धित बनाइएको छ, यो एउटा थ्रेट हो ।
अर्को, संविधानको सपथ खाएकाहरूले त झनै ड्याजेम गरेका छन् । अहिले पनि ओलीजीको चरित्र के देखियो भने उहाँ त संसदलाई देखिसहनुहुन्न । उहाँको बस चल्यो भने संसद् नै भंग गर्नुहुन्छ । अहिले पनि उहाँले कुनै बाहना खोजिरहनुभएको होला । किनभने, अहिले जुन अध्यादेश जारी भएको छ, यसले संसद्लाई पूर्णरुपले भूमिकाविहीन बनाइदिएको छ । संसद हुनु र नहुनुको कुनै अर्थ रहेन ।
जब दर्जनौं कानुन संसद्लाई छलेर, बाइपास गरेर, संसद्को कानून बनाउने अधिकार अपहरण गरेर तपाईं कानून बनाउनुहुन्छ भने यो त संविधान ध्वस्त भइहाल्यो नि ।
लोकतान्त्रिक संविधानको आधारभूत तत्व शक्तिको पृथक्कीकरण हो । कार्यपालिकाले कानून कार्यान्वयन गर्ने हो, कानून बनाउने होइन । विधायिकाले कानून बनाउने हो । न्यायपालिकाले व्याख्या गर्ने हो । कार्यपालिकाले नै सबै कानून बनाउन थाल्ने होइन ।
तर, छिटो गर्नुपरेकाले अध्यादेश ल्याइएको रे नि त ? संसदको प्रक्रियाबाट कानून बनाउँदा ढीलो हुन्छ रे….
त्यसो भए त हिटलरी तानाशाही लागू गरे भइहाल्यो नि । किन संसद चाहियो ? किन प्रेस चाहियो ? प्रेसले त आलोचना गर्छ । न्यायपालिकाले पनि मुद्दामा स्टे अर्डर गरिदिन्छ । त्यसकारण अदालत पनि खारेज गरिदिऔँ, संसद पनि नराखौँ । एकजना अनिर्वाचित प्रधानमन्त्री राखौँ । भारदारहरू एउटा कोठामा जम्मा भएर उहाँ प्रधानमन्त्री हुनुभयो, उहाँ यो देशको सबैभन्दा योग्य मान्छे हो भनेर कि त त्यो गर्न खोजेको हो कि ?
लोकतन्त्र भनेको प्रक्रिया हो । अधिवेशन छलेर अध्यादेश ल्याउनु भनेको संसद् ध्वस्त गर्नु हो । यो अवैधानिक छ । संविधान मिचेर अध्यादेश आएको छ ।
एकजना पत्रकारले मलाई सोध्दैथिए, अध्यादेशबाट कानून त राम्रै आएको छ नि ? मैले भनेँ कि एउटा सिद्धान्त छ, विषालु वृक्ष छ भने त्यसबाट अमृतको फल फल्दैन । जब प्रािया नै दुषित छ, संसदको अधिवशेन नबोलाएर पछाडिको ढोकाबाट दर्जनौंको संख्यामा कानून ल्याइएको छ, यो भनेको त संविधानलाई भंग गरिएको हो ।
म यसको ‘कन्टेन्ट’ त हेर्दा पनि हेर्दिनँ । किनभने, यो प्रक्रियामै छैन । यो त अवैधानिक छ । संविधान मिचेर आएको छ । त्यसकारण बडो राम्रो प्रावधान आयो भन्ने कुराको कहीँ पनि अर्थ छैन । राष्ट्रपति महोदयले पनि एक दिन रोक्नुभयो । अध्यादेशमा केही चाहिँ एकदमै खतरनाक प्रावधानहरु छन् ।
एउटा कुरा के छ भने यो मुलकमा किस्ताबन्दीमा कु हुँदैछ, हामीले यो कुरा बुझिराखौं । यो अध्यादेश एउटा किस्ता हो । संसदलाई भूमिकाविहीन र सुसुप्त बनाउनु अर्को किस्ता हो । भनेपछि यो संविधानको अक्षरमा संशोधन नै नगरिकन लोकतन्त्र अपहरित भएको छ ।
अब २०१७ सालमा जस्तो ल, मैले आज कु गरें भन्ने हुँदैन । नजानिँदोरुपमा, नयाँ तरिकाले ‘स्मार्ट वे अफ कु’ ! यो कु गर्ने स्मार्ट तरिका हो । जसरी स्मार्ट तरिकाले सहकारी ठगी गरियो । किनभने, त्यसलाई सहकारीको सञ्चालक पनि बनाइएको छैन, आफू बस्दैन तर पैसा उसैकहाँ उडेर आउँछ । यो स्मार्ट तरिका हो ।
सरकारले कस्तो अवस्थामा अध्यादेश ल्याउन पाउँछ ? संविधानवादले के भन्छ ?
अध्यादेश ल्याउने सरकारको अधिकार ‘इमर्जेन्सी पावर’ हो । त्यो अपवादको धारा हो । अपवादको धारालाई नियम बनाउनु हुँदैन । यसलाई सामान्य अवस्थामा प्रयोग गरिनुहुँदैन । अध्यादेश ल्याएको कुरा पूर्णरुपमा बद्नियतपूर्ण छ, पूर्णरुपमा लोकतन्त्रलाई बेवास्ता गरेको छ । कानूनको शासनलाई अवमूल्यन गरेको छ ।
अध्यादेशमा नेपाली कांग्रेसको भूमिकाबारे तपाई के भन्नुहुन्छ ?
सबैभन्दा विडम्बनाको कुरो के भने नेपाली कांग्रेस जो आफूलाई संसदीय व्यवस्थाको हिमायती ठान्छ, त्यसले पनि अध्यादेशमा सही थापिरहेको छ । नेपाली कांग्रेस सत्ताका लागि जोसँग पनि सम्झौता गर्न तयार छ । हिजो माओवादीसँग सम्झौता गर्यो, अहिले एमालेसँग सम्झौता गरिरहेको छ । माओवादीअन्तर्गत पनि जागिर खायो, ४–५ जना मन्त्री राखेर जागिर खुवाउने काम गर्यो । अहिले एमालेसँग मिलेर जागिर खुवाइरहेको छ ।
यति कुरा सुनिसकेपछि अब यस देशको युवा पुस्ताले निराश हुने कि आशावादी ? देश बन्छ भनेर कसरी आशा गर्ने त ?
फ्रान्समा एकजना दार्शनिक/साहित्यकार थिए– जाँ पाल सार्त्र । एकजना विद्यार्थी नेताले उनको अन्तरवार्ता लिएका थिए । उनले सोधे, युवाहरुलाई तपाईको सन्देश के छ ?
सार्त्रले भने– तिमीहरुसँग हाम्रो पिँढीको भन्दा सपना देख्ने क्षमता बढी छ । तिमीहरुले सपना बढी देख्न सक्छौ । सपना देख्न सक्ने क्षमता बडो महत्वपूर्ण छ ।
तर, एउटा भनाइ छ, निदाएर सपना देखेर हुँदैन । यस्तो सपना देख्नुपर्यो कि त्यो सपनाले तपाईलाई सुत्नै नदेओस् ।
त्यसकारण, हाम्रो पिँढीमा भन्दा अहिलेको पिँढीमा असाधारण क्षमता छ । अहिलेको पिँढीलाई अत्यधिक अवसर पनि छ । हाम्रो पिँढीलाई यस्तो अवसर थिएन । लाइबे्ररीमा आफूलाई चाहिएको किताब पाइँदैनथ्यो । अहिले हातको मोबाइलमा संसारको सबै ज्ञान छ । हामीलाई एउटा पुस्तकालमा महिनौंसम्म धाउनुपर्थ्यो ।
युवाहरुकै कारण अब नेपालमा लोकतन्त्रमाथि ‘कु’ हुन सक्दैन भनेर ढुक्क भए हुन्छ ?
कहिलेकाहीँ के हुन्छ भने यो टेक्नोलोजी भनेको दुईधारे तरबार हो क्या । यसको सकारात्मक प्रभाव पनि छ । अर्को यसले मास स्लेभ (आम दास) अरु पनि सिर्जना गर्छ । यो सोसल मिडियाले एकातिर मानिसको क्षमता पनि बढाएको छ भने अर्कोतिर मानिसको विचार गर्ने शक्तिलाई पनि समाप्त गरिदिएको छ । यसका ‘रिस्क फ्याक्टर’ (जोखिम) हरु धेरै छन् । यसले नयाँ प्रकारको दासता पनि पैदा गरिरहेको छ ।
जस्तो टिकटक आदिको ‘अल्गोरिदम’ खास किसिमका मात्रै सूचना र विचारहरु पस्केर मान्छेको दिमागलाई बिगार्छ । तपाईले एउटा चिज हेर्नुभयो भने तपाईलाई त्यही मात्र देखाउँछ र तपाईको दिमागमा त्यही कुरा मात्रै फिट गर्छ । यसले तपाईको दिमागलाई नियन्त्रण गर्दछ । त्यसैले अहिले टेक्नोलोजी, मिडिया, यिनीहरु माइन कन्ट्रोल गर्ने साधनको रुपमा पनि रहेको छ ।
फेरि पनि उही प्रश्न – देशको वर्तमान अवस्थालाई भोगिरहेको युवा पुस्ताले निराश हुने कि आशावादी ?
उही जाँ पाल सार्त्रले भनेकै कुरा हो । सपना देख्ने शक्ति राख । सपनालाई मर्न नदेऊ ।
वास्तवमा म साहित्यमा पनि चासो राख्छु । त्यसैले मलाई जीवनमा आनन्द पनि दिने गरेको छ । एकजना मेरा प्रिय कवि छन्– अवतारसिंह पास । उनको एउटा पंक्ति छ, जसलाई नेपालीमा यसरी उल्था गर्न सकिन्छ–
सबैभन्दा खतरानाक हुन्छ, सपनाहरुको मृत्यु !
प्रतिक्रिया