दाङमा मकै उत्पादन बढ्यो « Khabarhub

दाङमा मकै उत्पादन बढ्यो


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन) अन्तर्गत दाङको देउखुरी क्षेत्रमा तीन बाली मकैखेती हुने गरेको छ । बर्सेनि तीन हजार आठ सय हेक्टर क्षेत्रमा हिउँदे, वसन्ते र बर्खे मकैखेती हुने गरेको छ । तीमध्ये वसन्ते मकैखेती गर्ने किसान बढी छन् ।
  
परियोजनाका सूचना अधिकारी चन्द्रशोभा कँडेलका अनुसार तीन बाली लगाउँदा ३२ हजार मेट्रिक टन बढी उत्पादन हुने गरेको छ ।

उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा मात्र ३२ हजार आठ सय ९४ मेट्रिक टन मकै उत्पादन भएको थियो । बर्सेनि उत्पादन बढिरहेको उनको भनाइ छ । आर्थिक वर्ष २०७९/८० मा २६ हजार चार सय ५५ मेट्रिक टन मकै उत्पादन भएको थियो । देउखुरी क्षेत्रमा रामपुर हाइब्रिड–१० जातको मकै लगाउने गरिएको छ ।  

सूचना अधिकारी कँडेलका अनुसार बर्सेनि उत्पादन क्षेत्रफल पनि बढिरहेको छ । आव २०७९/८० मा तीन हजार सात सय हेक्टरमा मकैखेती गरिएकामा आव २०८०/८१ मा तीन हजार आठ सय हेक्टरमा मकैखेती हुने गरेको हो । यसरी बर्सेनि खेती गर्ने किसानको आकर्षण बढिरहेको उनले बताइन् । 

कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराउने गरेको छ । रामपुर हाइब्रिड–१० सहित अरुण–२ र रामपुर कम्पोजिट जातको मकैको बीउ पनि अनुदानमा दिने गरिएकाले उक्त मकैखेती गर्ने गरिएको छ ।

यसरी किसानले उत्पादन गरेको मकै पसल तथा दाना उद्योगमा बिक्री हुने गरेको छ भने बीउ कम्पनीले बीउ खरिद गरिदिने भएकाले बजारीकरणका लागि पनि समस्या नरहेको सूचना अधिकारी कँडेलको भनाइ छ ।
 
मकैखेतीका लागि विभिन्न प्रविधिको प्रयोग गर्ने गरिएको छ । भौगोलिक बनावटअनुसार रोप्नका लागि सिडड्रिल, ज्याव प्लान्टर तथा केही स्थानमा ट्रयाक्टरले समेत मकै छरेर पछि रोटाभेटर लगाउने गरेका छन् । विगतमा बाँझो राखिएको जग्गामा अहिले मकैखेती गर्ने गरिएको छ । जसले गर्दा किसानलाई आम्दानीको स्रोत बढिरहेको सूचना अधिकारी कँडेलले बताइन् ।  

दाङको लमही नगरपालिका, गढवा, राप्ती र राजपुर गाउँपालिकामा यसरी मकैखेती हुने गरेको छ । बर्खे मकै वैशाख–जेठमा, हिउँदे मकै भदौ–असोजमा र वसन्ते मकै माघ–फागुनमा लगाउने गरिन्छ ।

विभिन्न बालीको विशिष्टीकृत क्षेत्र स्थापना गरी उत्पादन, मूल्य शृङ्खला, आधुनिकीकरण र व्यवसायीकरणमा बढावा दिने उद्देश्यले दाङमा  आर्थिक वर्ष  २०७३/७४ देखि मकै सुपरजोन कार्यक्रम सञ्चालनमा आएको हो । सुपरजोन कार्यक्रम सञ्चालन भएपछि  देउखुरीमा मकै उत्पादनको व्यावसायिक रूपमा फड्को मार्न थालेको छ । 

‘यस क्षेत्रमा बर्खे मकैखेती बढी हुने  र किसानको बुझाई मकै बर्खे सिजनमा मात्र गर्न सकिन्छ भन्ने रहेको थियो’, सूचना अधिकारी कँडेलले भनिन्, ‘सर्वप्रथम किसानको यस प्रकारको सोचाइ परिवर्तन गर्न जरुरी थियो । यसका लागि हामीले प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रममार्फत हिउँदे र वसन्ते खेतीलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन भएको हो ।’

अहिले देउखुरीका किसानमा हिउँदे तथा वसन्ते सिजनमा समेत मकैखेती गर्ने परिपाटीको विकास भएको छ । देउखुरी क्षेत्रका विभिन्न स्थानमा कष्टम हायरिङ सेन्टरहरू स्थापना भई सञ्चालनमा छन् । जसबाट किसानले मकैखेतीका लागि आधुनिक कृषियन्त्र भाडामा लिएर पनि खेती गर्ने गरेका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  १२ : १८ बजे

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते

पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण

रसुवा– हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२

एसएमसमार्फत राजनीतिक सन्देश पठाउने भीएस प्रदायकलाई टेलिकमको चेतावनी

काठमाडौं– नेपाल टेलिकमको भ्यालु एडेड सर्भिसेस (भीएस) प्रणालीमार्फत मोबाइलमा आपत्तिजनक प्रकृतिका

लक्ष्यअनुसार भएन राजस्व संकलन, ६ महिनामा १८ प्रतिशत कम

काठमाडौं– चालु आर्थिक वर्षको ६ महिनामा सरकारले लक्ष्यअनुसारको राजस्व आम्दानी

कांग्रेस विभाजनले एमालेलाई सजिलो भयो, तर खुसी छैनौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले प्रमुख प्रतिस्पर्धी दल