गोरखा – दिपासा विक हरेक दिन बिहान हातमा लोटा लिएर घरमाथिको शौचालय पुग्छन् । तीस वर्षीया उनीसँगै छरछिमेकका अन्य छोरी बुहारी पनि एकाबिहानै र कोही मध्यरातमा शौचालय धाउँछन् । बारपाक सुलिकोट गाउँपालिका–२ दलितबस्तीका महिला यसरी बिहान झिसमिसेमा र मध्यरातमा शौचालय धाउनुपर्ने कारण शौचालय अभावले हो । यहाँ २१ परिवारका लागि एउटमा मात्र शौचालय छ ।
बारपाकको पुछारमा रहेको दलितबस्ती हरेक हिसाबले पिछडिएको छ । विसं २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पपछि हालसम्म पनि यहाँका बासिन्दा अझै त्रिपालमुनि बास बस्दै आएका छन् । दलितबस्तीमा मुख्य समस्या शौचालयको रहेको छ । एक्कास घरधुरी रहेको दलितबस्तीमा जम्मा एउटा मात्र शौचालय छ । त्यो पनि जीर्ण अवस्थामा छ । राम्रोसँग ढोका पनि लाग्दैन ।
सिङ्गो दलितबस्तीलाई शौचालयको समस्याले पिरोलेको स्थानीय दिपासा विक बताउँछन् । “सरकारले हामीलाई घर बनाइदिन्छौँ, जग्गा दिन्छौँ भनेर १० वर्षअघि यहाँ ल्यायो । हामीले हाम्रो पुरानो घरघडेरीको लालपूर्जा सरकारलाई दिइसक्यौँ तर, के गर्नु अहिलेसम्म घर त के, गतिलो शौचालय पनि बनाउन सकेको छैन”, उनले भने, “हामी अहिले सरकारी जग्गामा बस्दै आएका छौँ । आफ्नो हिसावले शौचालय बनाउन सक्दैनौँ । एक त ठाउँ नै छैन । अर्को कुरा, आफ्नो हिसाबले बनायो भने भोलि भत्काउनु पो पर्छ कि जस्तो लाग्छ ।”
शौचालय नहुँदा विषेशगरी यहाँका महिला तथा किशोरीहरु समस्यामा छन् । १६ वर्षीया अमृता विकले घरैपिच्छे शौचालय नहुँदा धेरै दुःख सहनु परेको गुनासो गरे । उनले भने ‘सबैभन्दा धेरै समस्या महिनावारीको समयमा हुन्छ । एउटा मात्र शौचालय छ, बिहान बेलुका धुँइचो लाग्छ ।” व्यवस्थित शौचालय नहुँदा बस्तीका बासिन्दा खुल्ला रुपमा दिसापिसाव गर्न बाध्य रहेका उनको भनाइ छ ।
यतिधेरै परिवारका व्यक्तिहरुले एउटै शौचालय प्रयोग गर्दा बस्तीमा विभिन्न सरुवा रोगहरु समेत फैलिने डर छ । स्थानीय मङ्गलबहादुर सुनारका अनुसार बस्तीमा समय समयमा हैजा, ज्वरो, झाडा पखाला, रुघा खोकी लगायतका सरुवा रोगहरु फैलिरहन्छन् । “सबैले एउटै शौचालय प्रयोग गर्दा गर्मी समयमा बढी जोखिम हुन्छ”, उनले भने । कोभिड महामारीको समयमा यो बस्तीका पाँच जनाको मृत्यु भएको थियो । साथै, समय समयमा बस्तीका बालबालिका तथा वृद्धवृद्धाको विभिन्न सरुवा रोगका कारण मृत्यु हुने गरेको सुनार बताउँछन् ।
आफूहरु फोहोर मैलामा बसेका कारण सामाजिक रुपमा अपहेलित हुनु परेको स्थानीय ५७ वर्षीया मैती सुनार बताउँछन् । सरकारी स्वामित्वमा रहेको उक्त दलित बस्तीमा सबैजसो पुग्दैनन् । सरकारी निकाय बारपाकसम्म पुग्छ, तर त्यही मुनि खोल्साको छेउको दलित बस्तीमा भने कोही पुग्दैनन् ।
विसं २०७२ वैशाख १२ गते बारपाक केन्द्रविन्दू भएर गएको ७।८ रेक्टरको भूकम्पले यहाँका एघार सय घरधुरी प्रभावित बनेका थिए । गाउँमा ७२ जनाको मृत्यु भयो । बाँचेकाहरु महिना दिनसम्म चौर र बारीका गरामा बास बसे । डाँडागाउँ, गैरीगाउँ, कोटडाँडा टोलका ४१ घरधुरी विक समुदाय कृषि र पशु कार्यालयको नाउँमा रहेको जग्गामा आएर अस्थायी टहरो बनाएर बसे । चौध परिवार फेरि आ–आफ्नै थातथलोमा फर्किए ।
डाँडागाउँ, गैरीगाउँ टोलका २७ घरधुरीको पुरानो थलो पहिरिएर राङरुङखोलासम्म पुग्यो । फर्किन सक्ने अबस्था नभएपछि उनीहरुले आफ्नो घरघडेरीको लालपूर्जा सरकारलाई बुझाए र सट्टापट्टा गरी सोही सरकारी जग्गा आफ्नो नाउँमा ल्याउन पहल थाले । पहल गरेको १० वर्ष बितिसक्दा पनि अझै सफल हुन सकेको छैनन् । राज्यको हरेक निकायमा दलित, भूमिहीन समुदायलाई प्राथमिकतामा राखेर सेवा सुविधा दिइन्छ, तर भूकम्पको केन्द्रविन्दू बारपाककै दलित समुदायको भने भूकम्प गएको पहिलो दिनदेखि १० वर्ष बितिसक्दासम्म टहरोकै बास छ ।
यहाँका दलित समुदायका अगुवा सुकबहादुर विक दलित समुदायलाई बास माग्दै ८६ पटक सिंहदरबार धाएको बताउँछन् । उनले भने, “तर, यो दलित बस्तीलाई पुनःस्थापना गर्न दौडधुप गर्न थालेको १० वर्षसम्म भइसक्यो, केही प्रगति भएको छैन । एउटा पार्टी सरकारमा आउँदा जिल्लासम्म पत्राचार गर्छ । फेरि अर्को पार्टीको सरकार आउँछ, अनि सबै फाइल गायब हुन्छन्”, उनले भने ।
पूर्वसहमतिअनुसार यहाँको छ रोपनी १० आना जग्गा २१ घरधुरीका नाममा लालपूर्जा दिनुपर्ने अर्का अगुवा उत्तम विक बताउँछन् । बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट सो जग्गा दलित समुदायको नाममा दिलाउन जति प्रयास गर्दा पनि नसकेकाले कुनै वैकल्पिक ठाउँमा व्यवस्था गर्न बरु सजिलो हुने बताउँछन् ।
प्रतिक्रिया