‘स्वच्छ हावामा सास फेर्न पाउने वातावरण बनाऔँ’ | Khabarhub Khabarhub

‘स्वच्छ हावामा सास फेर्न पाउने वातावरण बनाऔँ’


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यका र भारतसँग सिमाना जोडिएका तराई क्षेत्रको वायु बर्खायाममा बाहेक अन्य समयमा अधिक प्रदूषित हुने गरेको जनाउँदै नेपालको विकासका साझेदारहरूले स्वच्छ हावामा सास फेर्न पाउने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

सरकार, विश्व बैंक, कोरिया र स्वीस सरकारको सहयोगमा नेपालस्थित विश्व बैंकको देशीय कार्यालयले मङ्गलबार सार्वजनिक गरेको ‘नेपालमा स्वच्छ वायुः लाभ, प्रदूषण स्रोत र समाधान’ प्रतिवेदनमा उक्त कुरा उल्लेख गर्दै स्वच्छ हावामा सास फेर्न पाउनुपर्ने मानवको नैसर्गिक अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको हो ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसहित वातावरण संरक्षणका क्षेत्रमा क्रियाशील सङ्घसंस्थाका प्रतिनिधिले संयुक्त रूपमा उक्त प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा मृत्यु र अपाङ्गताको जोखिम बढाउने प्रमुख कारक वायु प्रदूषण भएको बताए ।

विश्व बैंकको देशीय कार्यालयका अनुसार काठमाडौं उपत्यका र भारतसँग सिमाना जोडिएका तराई क्षेत्र वायु प्रदूषणका जोखिमपूर्ण स्थान हुन् । वायु प्रदूषणले नेपालीको औसत आयु तीन वर्ष चार महिनाले घटाउने गरेको तथा वार्षिक रूपमा २६ हजारको हाराहारीमा मृत्यु निम्त्याउने जोखिम बढाएको छ । प्रतिवेदनमा मानव स्वास्थ्यका अतिरिक्त वायु प्रदूषणले श्रम उत्पादकत्व, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई प्रभाव पारेको छ ।

मन्त्री ठकुरीले स्वच्छ हावामा सास फेर्न पाउने हरेक नागरिकको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै वायु प्रदूषण कम गर्न विद्युतीय सवारीसाधनको उपयोगका साथै कलकारखानामा पनि नवीकरणीय ऊर्जाको अधिकभन्दा अधिक उपयोगमा जोड दिइएको जानकारी दिए । उनले साना तथा मझौला उद्योगका साथै घरासयी प्रयोजनमा पनि विद्युतीय चुलो र अन्य उपकरणको प्रयोग प्रवर्द्धन गर्न सरकारले नीतिगत व्यवस्था गरेको बताए ।

नेपालीको स्वास्थ्य र समृद्धिका निम्ति स्वच्छ हावा अपरिहार्य भएकाले यसको सुनिश्चितता तथा वायुको गुणस्तर सुधारका निम्ति नेपाल सरकारले गर्ने प्रयासमा विश्व बैंकले हरसम्भव सहयोग गर्ने नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका निर्देशक डेभिड सिस्लेनले बताए ।

डिजेल र पेट्रोलबाट सञ्चालन हुने सवारीसाधन, इँटाभट्टा, प्लाष्टिकलगायत फोहर बाल्ने प्रवृत्ति, बाली उठाइसकेपछि माटोको उर्वराशक्ति कायम रहने विश्वासमा आगो बाल्ने प्रवृत्ति, सडकको धुलो र डढेलोलाई वायु प्रदूषणको प्रमुख कारकका रूपमा प्रतिवेदनमा औँल्याइएको छ । (रासस)

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ८ : ०२ बजे

कृषि समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक

यी भूभागमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज श्रीकृष्ण जन्माष्टमी पर्व

काठमाडौं – ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै

काठमाडौं– ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय