राहुघाटको म्याद तेस्रोपटक थपियो « Khabarhub

राहुघाटको म्याद तेस्रोपटक थपियो


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेक्काको म्याद तेस्रोपटक थपिएको छ । राहुघाट म्याग्दीको बहुप्रतिक्षित आयोजना हो ।

भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोशियट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित २०१७ नोभेम्बर १७ (२०७४ मंसिर ६ गते) छ अर्बमा ठेक्का सम्झौता गरेको थियो । सन २०२२ फेब्रुअरीमा पहिलो र सन २०२२ फेब्रुअरीमा दोस्रोपटक थपिएको म्याद गत जुन २७ मा सकिएको थियो ।

हालसम्म ९० प्रतिशत भौतिक प्रगति भएको राहुघाटको सिभिल ठेकेदारसँगको सम्झौताको म्याद तेस्रोपटक २०२५ नोबेम्बर २७ सम्म थपिएको रघुगङ्गा हाइड्रोपावर का प्रबन्ध सञ्चालक गणेश केसीले बताए।

‘ठेकेदारले सन् २०२५ डिसेम्बर ३१ सम्म म्याद थपको प्रस्ताव गरेको थियो’, उनले भने, ‘परामर्शदाता ‘वाकफोस’को सिफारिसअनुसार चार महिनामात्र म्याद थपिएको हो ।’ 

कोरोना महामारी, बाढीपहिरोजस्ता प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावलाई ठेकेदारले आयोजना निर्माणमा ढिलाइ हुनुको कारण देखाएको छ ।

बर्खायाममा बुग्लको पहिरो सक्रिय हुँदा बाँधस्थल जोड्ने सडक अवरुद्ध हुने र निर्माणाधीन बाँध नजिकै बाढीले गेग्रान थुपार्दा आयोजना निर्माणको काम प्रभावित बनाएको थियो । सर्वोच्च अदालतले तीन वर्षसम्म कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न रोक लगाएको थियो ।

विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले पनि विद्युत्गृहका उपकरण आयात र जडानको काम लक्ष्यअनुसार गर्न सकेको छैन । भेलसँगको ठेक्काको म्याद आगामी डिसेम्बर ३१ सम्म छ ।

राहुघाट जलविद्युत् आयोजनाका प्रमुख राजु विष्टले सिभिल र इलेक्ट्रोमेकानिकल ठेकेदारलाई तालमेल मिलाएर काम गराउन समन्वय, सहजीकरण र ताकेता गरिरहेको बताउनुभयो । कार्ययोजनाअनुसार ठेकेदारले काम गरेमा आगामी डिसेम्बरमा राहुघाट निर्माण सम्पन्न हुने उनले बताए।

यसअघि गत असार १५ गते सम्पन्न कार्ययोजना ठेकेदारहरूको ढिलासुस्तीका कारण असफल भएको विष्टले बताए। रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँ को फेदीमा बाँध, छ किलोमिटर दुई सय ७० मिटर लामो मुख्य सुरुङ र तिल्केनीचौरमा विद्युत्गृह निर्माणको काम ९० प्रतिशत सकिएको छ ।

भारतीय आयात निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा कम्पनीको अवधारणा र इञ्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारूपमा राहुघाट जलविद्युत् आयोजना सञ्चालन गरिएको हो ।

कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभीआरसीएलसँगको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो । पछिल्लोपटक छनोट भएको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)ले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो ।

यस आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता ९पिपिए० गरेको थियो । 

राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी ९डबल सर्किट० क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा लिलो माध्यमबाट जोडिने छ । चारवटा टावर र प्रसारण लाइन पनि बनिसकेको छ ।
 

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ८ : ५२ बजे

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।

भोटेकाेशी बाढी : जलवायुको मूल्य कसले चुकाउने ?

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पानीको सतह

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि