काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विद्यार्थी संगठनहरूलाई एकजुट भएर आन्दोलनलाई सिर्जनात्मक रूपले अघि बढाउन आग्रह गरेको छ ।
शैक्षिक हड्तालका कारण शैक्षिक संस्थाहरू बन्द भएपछि नेविसंघले आन्दोलनलाई सिर्जनात्मक रूपले अघि बढाउन आग्रह गरेको हो ।
धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतनिकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले आह्वान गरेको शैक्षिक हड्तालका कारण उपत्यकाका शैक्षिक संस्थाहरू बन्द भएका छन् ।
शिक्षा ऐन जारी हुनु अत्यावश्यक र विद्यार्थीमैत्री हुनु पर्नेमा समर्थन जनाउँदै नेविसंघले आन्दोलनका अन्य वैकल्पिक र प्रभावकारी उपायहरू हुँदाहुँदै पठनपाठन ठप्प पार्ने गरी विद्यालय बन्द गराउनु विद्यार्थी आन्दोलनको मूल मर्म र भावना विपरीत भएको बताएको छ ।
‘विद्यार्थी आन्दोलनलाई परिणाममुखी, सशक्त र सार्थक बनाउन अब साझा संकल्प आवश्यक छ,’ नेविसंघका प्रवक्ता सुरज सेजुवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस सन्दर्भमा सबै विद्यार्थी संगठनहरू एकजुट भई आन्दोलनलाई सिर्जनात्मक रूपले अघि बढाउन म देशभरका क्रियाशील विद्यार्थी संगठनहरूलाई हार्दिक आह्वान गर्दछु ।’
प्रतिक्रिया