वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेफरी एपस्टाइनलाई लेखेको पत्रका विषयमा ‘द वाल स्ट्रिट जर्नल’ र यसका मालिक रुपर्ट मर्डोकविरुद्ध मुद्दा दायर गर्ने चेतावनी दिएका छन् ।
सन् २००३ मा एपस्टिनको ५० औँ जन्मदिनको नोटसङ्ग्रहमा एक नग्न महिलाको स्केच र ट्रम्पको हस्ताक्षर सहितको पत्र समावेश गरिएको थियो । उक्त पत्रिकाले पत्रको पुनरावलोकन गरेको तर फोटो नछापिएको जनाएको छ ।
ट्रम्पले ट्रुथ सोसल नेटवर्कमा लेखेका छन् , ‘मैले रुपर्ट मर्डोकलाई यो अफवाह हो भनेको र नक्कली सामग्री (फेक स्टोरी) नछाप्न भनेको थिएँ । ‘तर उनले छापे, अब म उहाँको काम र उहाँको ‘न्यून दर्जा’को पत्रिकाविरुद्ध मुद्दा दायर गर्छु ।’
यसअघि वाल स्ट्रिट जर्नलकी प्रधान सम्पादक एम्मा टकरलाई ह्वाइट हाउसकी प्रेस सचिव कारोलिन लेभिट र राष्ट्रपति ट्रम्पले उक्त पत्र नक्कली भएको बताएका थिए ।
रिपब्लिकन राष्ट्रपति ट्रम्पले उक्त समाचारलाई ‘गलत, दुर्भावनापूर्ण र अपमानजनक’ भने ।
पोस्टमा भनिएको छ, ‘राष्ट्रपति ट्रम्पले द वाल स्ट्रिट जर्नल, न्यूजकर्प र रुपर्ट मर्डोकविरुद्ध चाँडै मुद्दा दायर गर्नुहुनेछ । प्रेसले सत्यवादी हुन सिक्नुपर्छ र सम्भवतः अस्तित्वमा पनि नभएका स्रोतहरूमा भरोसा गर्नु हुँदैन ।’
ट्रम्पले एपस्टीनसँगको आफ्नो विगतको सम्बन्धलाई लिएर पहिले नै कडा आलोचनाको सामना गरेका थिए । उनको प्रशासनले धनी र शक्तिशाली व्यक्तिहरूको रक्षा गर्न एपस्टिनको अपराधको गलत विवरणहरू ढाकछोप गरिरहेको दाबी गरेको छ ।
संघीय यौन तस्करीको आरोप लगाइएपछि सन् २०१९ मा ट्रम्पको पहिलो कार्यकालमा न्यूयोर्कको जेलमा एपस्टाइनले आत्महत्या गरेका थिए ।
वेश्यावृत्तिसम्बन्धी दुई अभियोगमा दोषी स्वीकार गरेपछि उनी फ्लोरिडामा यौन अपराधीको रूपमा दर्ता हुनुपर्ने थियो ।
बिहीबार ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई एपस्टाइन प्रकरणमा ‘ग्रान्ड जुरी’को बयानको प्रतिलिपि जारी गर्न आग्रह गरेका थिए । रासस
प्रतिक्रिया