संकटग्रस्त अवस्थामा एक कुसुन्डा परिवार | Khabarhub Khabarhub

संकटग्रस्त अवस्थामा एक कुसुन्डा परिवार


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– ढिलो गरी वर्षा भएका कारण साउन महिना सकिन लाग्दा पनि गाउँले किसानहरूलाई माना रोपेर मुरी उब्जाउने चटारो छ । कोही धानको रोपाइँमा, कोही कोदो रोपाइँमा त कोही मकै भित्र्याउनमा ।

 गोरखा नगरपालिका–११ तेह्रकिलो बजारभन्दा दुई कान्ला तल सानो टहरोमा बस्ने ५५ वर्षका चेतबहादुर कुसुन्डालाई भने न रोपाइँको ध्याउन्न, न त बारीमा मकै सुक्ला भन्ने पीर । आफूजस्तै दिनरात श्रम गरेर खाने दौँतरीहरूसँग उनको समय बित्छ । 

लोपोन्मुख भनेर चिनिने कुसुन्डा जातिको गोरखामा एक घर मात्र छ । चेतबहादुर छिमेकीले दिएको तीन आना जग्गामा एकपाखे घर बनाएर आफ्ना दुई छोरा, बुहारी र नाति नातिनीसँग बस्दै आएका छन्। घरले चर्चेको बाहेक कति पनि जग्गा नभएका उनलाई असार, साउन आए पो के, कात्तिक, मङ्सिर आए पो के । ‘थुक्ने जग्गा पनि आफ्नो छैन’, उनले भने , ‘सम्पत्ति भने पनि जे भने पनि यही अरूले दिएको जग्गामा सरकारले बनाइदिएको सानो घर र दुई-चारवटा कुखुरा छन् । त्यत्ति हो । कुखुरा पनि थुनेर पाल्छौँ । नत्र अरूको जग्गामा गइहाल्छ ।’

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुसुन्डा समुदायको जनसङ्ख्या २५६ रहेको छ । तीमध्ये गोरखाका चेतबहादुरको आठ सदस्य पनि विगत ४५ वर्षदेखि यही बसोबास गर्दै आएको छ । उनी २०३८ सालमा आफ्नी आमा सुमित्रा वनकीरानी कुसुन्डासँग तेह्रकिलो आएका थिए। आफू ११ वर्षको हुँदा पालुङटारको खोप्लाङबाट झिटीझाम्टो बोकेर तेह्रकिलो आएको चेतबहादुर बताउाछन् ।

‘१० वर्षको हुँदा बा बित्नुभयो, भोकले लखतरान हुँदै जुठो बारेको याद छ । बा’को काजकिरिया सकेपछि आमाले खोप्लाङमा भएको झिटी आठ हजारमा बेचेर यहाँ आएका हौँ’, उनले भने, ‘यहाँ पनि बिरालोले बच्चा सारेजस्तो, कहिले यता, कहिले उता । सायद यो तेह्रकिलो बजारमा हामी नबसेको घरै छैन । अब अरूको घरमा भाडा गरेर बसेपछि ‘छोड्दे, अन्तै जा’ भनेपछि जानै पर्‍यो ।’

उनका दिदीबहिनी दुवैले तेह्रकिलो बजारमा बिहे गरेकाले आफूहरू पनि दिदीबहिनी नजिकै बस्न आएको उनले बताए। 

‘दुवैजनाले क्षेत्रीसँग बिहे गरेछन् । दिदीको बुढा गाडी चालक थिए, हामी पनि दिदीकै रेखदेखमा यहीँ बस्न आयौँ । यहाँ आएको केही समय म पनि भेनाकै पछि लागेर सवारी सहयोगीको काम गरेँ’, उनले भने । 

खोप्लाङ छोडेर तेह्रकिलो झरेको केही समयपछि आफूहरू नवलपरासी पनि पुगेको उनी बताउँछन्।

 उनले भने, ‘यहाँ बस्न आएको केही समयपछि आमाले कताबाट त्यहाँ सरकारी जग्गा मिल्छ भन्ने सुनेपछि हामी आमा छोरा नवलपरासी पनि झ¥यौँ । जग्गा त केको मिल्थ्यो बरु उल्टै दुःख मिल्यो । आमाले अरूको घरमा काम गर्नुहुन्थ्यो । सानो झुप्रो हालेर बसेका थियौँ । मलाई भने त्यहाँ खासै बस्न मन लागेन, अनि एक वर्षपछि तेह्रकिलोमै फर्कियौँ । म यहाँ आको केही वर्षपछि आमा पनि फर्किनुभयो ।’

चेतबहादुरले २०–२२ वर्षको उमेरमा नजिकैको पन्ध्रकिलो बस्ने कमला घर्तीसँग बिहे गरे। बिहेपछि पैसा कमाउने लालसाले दुई पटक कतार र एकपटक साउदी पनि पुगे। चेतबहादुर र कमलाको दुई छोरा र एक छोरी छन् । उनीहरूको जेठो छोरो अनिल अर्काको गाडी चलाउँछन् । छोरी अनिता तेह्रकिलोकै मगर परिवारमा बिहे गरेर गएकी छिन् भने कान्छो छोरो अशोक हाल वैदेशिक रोजगारीमा छन् । हाल उनको परिवारमा दुई छोरा, बुहारीहरू, तीन जना नाति र एक नातिनी छन् ।

हाल बस्दै आएको एकपाखे घर पनि जनता आवास कार्यक्रमअन्तर्गत निर्माण भएको उनले बताए। उनलाई न कुसुन्डाको भाषा थाहा छ, न रीतिरिवाज, न त वेशभूषा नै । न उनले अन्यत्रका कुसुन्डा समुदायसँग चिनजान, आउजाउ गरेका छन् । गोरखा दरबार सङ्ग्रहालयमा आफ्नो जातिको डमी राखेको देखेर भने उनी खुसी छन्।

 ‘अन्ततिरको कुसुन्डाहरुले त आफ्नै भाषा बोल्छन् रे भन्ने सुनेको छु । अब हामीलाई त केही थाहा छैन । बाउबाजेसँग सङ्गत भएको भए पो आफ्नो जात, धर्म, संस्कृतिको बारेमा केही थाहा हुन्थ्यो होला’, उनले भने। आफूहरूले अरू हिन्दुहरूसरह नै सबै चाडपर्व मनाउँदै आएको चेतबहादुरले बताए। उनी भन्छन्, ‘दसैँ, तिहार सबै मनाउँछौँ । अरूहरूले सरह नै हरेक वर्ष वायु पूजा, कुलायन पूजा पनि गर्छौँ । हाम्रो कुलायन पूजामा चाहिँ भाले चढाउनु पर्छ ।’

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  २ : ५९ बजे

नेपालमा रुबेला रोग निवारण भएको डब्ल्यूएचओको घोषणा

काठमाडौं– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नेपालमा रुबेला रोग निवारण

सरकारलाई जलवायुजन्य प्रकोपको तयारीमा उत्तरदायी बनाउनुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सांसद गगनकुमार थापाले सरकारलाई

नेपालमा अत्याधुनिक वासर ड्रायर सार्वजनिक

काठमाडौं– टीसीएल इलेक्ट्रोनिक्सले नेपाली बजारमा अत्याधुनिक प्रविधियुक्त सी७११०डब्ल्यूडीजी फ्रन्ट–लोड वासर

सशस्त्र प्रहरी नायव उपरीक्षक सुब्बा सम्मानित

वीरगञ्ज– सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बा सम्मानित

स्वास्थ्य मन्त्रालयद्वारा स्वर्ण प्राशन निर्देशिका स्वीकृत

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वर्ण प्राशन निर्देशिका स्वीकृत गरेको