रवीन्द्र मिश्रको १२ बुँदे टिप्पणी- पूर्वराजा र दलहरू एक ठाउँमा आउने बेला भयो « Khabarhub

रवीन्द्र मिश्रको १२ बुँदे टिप्पणी- पूर्वराजा र दलहरू एक ठाउँमा आउने बेला भयो


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाह र राजसंस्थाबाट १० गल्ती हुँदा राजनीतिकर्मीले हजार गल्ती गरिसकेको बताएका छन् ।

७५औँ प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा शाहले जारी गरेको वक्तव्यले राजनीति तरंगित भइरहँदा मिश्रले १२ बुँदे टिप्पणी गर्दै यस्तो दाबी गरेका हुन् ।

प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा शाहले दिएको शुभकामना सन्देशबारे अहिले पक्ष विपक्षमा बहस जारी छ ।

यस्तो अवस्थामा मिश्रले सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै ‘राजाको सन्देशमा : सबैले सबैका कमजोरीलाई क्षमा गर्दै नवीन समझदारीमा जाने मनसाय राखिएको’, बताएका छन् ।

यसअघि बुधबार नै नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेका उपलब्धी मास्न पूर्वराजालाई पञ्चाहरूले उचालिरहेको तिखो प्रतिक्रिया दिएका थिए ।

मिश्रको १२ बुँदे टिप्पणी

१. राजसंस्थाबाट गल्ती नै भएन भन्ने हुँदै होइन । राजसंस्थाबाट १० गल्ती हुँदा राजनीतिकर्मीबाट हजार गल्ती भएका छन् । तर ती हजार गल्ती यति गम्भीर भए कि तिनले देशमा नैतिक संकट र ज्ञानको संकट चरम अवस्थामा पुर्‍याएर देशलाई नै अस्तित्वको संकटउन्मूख बनाइदिए ।

२. तसर्थ, देश बचाउन र बनाउन विगतका सम्पूर्ण त्रुटीबाट शिक्षा लिँदै राजा र राजनीतिक दलहरू एक ठाउँमा आउनु अत्यावश्यक छ । राजाको सन्देशमा ‘सबैले सबैका कमजोरीलाई क्षमा गर्दै नवीन समझदारी’मा जाने मनसाय भएको स्पष्ट भाव छ ।

३. राजाको आह्वानलाई ठूला दलहरूले पहिलेजस्तै अहम्पूर्ण ढङ्गबाट लिने र राजालाई तथानाम गर्ने हो भने अब नेपालको राजनीतिमा हुने सिस्टमेटिङ ओभरहलिङ पद्धतिपूर्ण र शान्तिपूर्ण हुने छैन । त्यो कसैका लागि पनि हितकर हुँदैन ।

४. ठूला दलका ठूला नेता राजाको प्रजातन्त्र दिवसको सम्बोधनप्रति सकारात्मक हुनु नितान्त जरूरी छ । राजाले त्यसै बोलेका छैनन् । सबै मिल्नुको विकल्प छैन ।

५. छिमेकी भारतले पनि नेपालबारेको आफ्नो दृष्टिकोणलाई समिक्षा गरी पुन: दुई खम्बे नीति (संवैधानिक राजसंस्था र बहुदलीय प्रजातन्त्र) मा फर्किन जरूरी छ । विश्वको सर्वशक्तिमान बन्ने दिशामा रहेको भारतका लागि साँध जोडिएको शदियौँको छिमेकी कमजोर, अविश्वासिलो, अस्थिर र अन्तर्राष्ट्रिय भूराजनीतिको क्रीडास्थल हुनु राम्रो हुँदै होइन ।

६. जहाँसम्म देशभित्रका राज संस्थावादीहरूको कुरा छ, सबै राजसंस्थावादी पार्टी र समूहहरूले तत्काल आ-आफ्नो बैठक बोलाएर अब राजाको आह्वानमा कसरी परिणाममुखी ढङ्गबाट साथ दिने भनेर गहन छलफल गर्नु अत्यावश्यक छ ।

७. मैले पहिले पनि बोलेको र लेखेको हुँ : झण्डै ८० वर्ष पुग्न लागेका राजाले राजसंस्थाको गरिमालाई कायम राख्दै र देशभरी राजसंस्थाको पक्षमा माहोल बनाउँदै जाने र अपवादलाई छोडेर, हामी- झगडिया, स्वार्थी, पदलोलुप, घमण्डी, अहम्ले पूर्ण-राजसंस्थावादीहरूले चाहिँ त्यो माहोल बिगार्दै जाने काम निरन्तर रूपमा भएको छ । अब त्यो कार्य तत्काल रोकौँ । नत्र राजसंस्थावादीले अरू त कुरै छोडौँ, राजसंस्था पुनर्स्थापनाको श्रेय पनि पाउने छैनन् ।

८. ठूला दलहरूभित्र राजसंस्था फाल्नु गल्ती भयो भन्ने प्रशस्त साना/ठूला नेताहरू छन् । अब ती नेताहरूले कुरा नचपाई बोल्नु पर्छ ।

९. त्यस्तै अनौपचारिक भेटघाट-चिया गफमा राजसंस्था अत्यावश्यक भइसक्यो भन्ने तर ‘पश्चगामी’को ट्याग लाग्ला, विवादमा परिएला भनेर बाहिर चाहिँ शब्दहरू तौली-तौली बोल्ने कयौँ नागरिक समाजका अगुवा अब मौन बस्नु हुँदैन ।

१०. अनि राजालाई झापा गएर भेटेर ‘राजसंस्था पुनर्स्थापना गर्ने पार्टी स्थापना गर्दा ठूलै रकम लाग्छ, त्यो प्राप्त हुन्छ कि हुँदैन?’ भनेर राजासँग घुमाउरो प्रस्ताव गर्ने र रकम नआउने देखेपछि देशै हल्लाउने गरेर घनघोर गणतन्त्रवादी बन्दै पार्टी खोल्ने (हरू) ले अब के गर्ने हुन्, कुन्नि ! तिनको पनि बुद्धि फिरोस् भन्ने कामना गर्दछु ।

११. जसरी देशको भलाइका लागि अनगिन्ती कमजोरीका अलावा लोकतन्त्र जोगाउनु जनताको दायित्व हो । त्यसैगरी आ-आफ्ना विचारभन्दा माथि उठेर कयौँ कमजोरीका अलावा देशको भलाइकै लागि राजसंस्था जोगाउनु जनताकै दायित्व हो ।

१२. छिटै शान्तपूर्ण ढङ्गबाट नवीनसमझदारी र सिस्टमेटिङ ओभरहलिङको बाटोमा देश गएको देख्न पाइयोस् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ५ : ४२ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को