प्रजातन्त्रका ३५ वर्षमा फेरिइन् दुर्गा ! | Khabarhub Khabarhub

प्रजातन्त्रका ३५ वर्षमा फेरिइन् दुर्गा !

२२ वर्षे दुर्गामा आशा थियो, ५७ वर्षमा आक्रोश



काठमाडौं – पाठकवृन्द ! तस्बिरको बायाँ कुनामा एक जोसिली युवती देखिन्छिन् । २२ वर्षे जवान ती युवती मानवसागरको बीचमा उभिएर नारा घन्काइरहेकी छिन् । पञ्चायत ढालेर प्रजातन्त्र ल्याएको खुशियालीमा अबिर लत्पतिएका हात उचाल्दै उनी खुशी साट्दैछिन् ।

आज ७५ औं प्रजातन्त्र दिवस ! वि.सं. २००७ सालमा १०४ वर्षे राणा शासन ढालेर प्रजातन्त्र ल्याएको आज ७५ वर्ष पुग्यो । ०४६ सालमा ३० वर्षे पञ्चायती व्यवस्था ढालेर दोस्रोपटक प्रजातन्त्र ल्याएको पनि ३५ वर्ष पुगिसक्यो । ०६५ सालमा गणतन्त्र स्थापना गरेको १६ वर्ष बितिसक्यो ।

मुलुकमा प्रजातन्त्र स्थापना भइ सार्वभौमसत्ता जनतामा निहीत भएको गौरवपूर्ण र अविष्मरणीय दिन ! नेपालको इतिहासमा वि.सं. २००७ सालको क्रान्ति, २०४६ साल र २०६२/६३ को दोस्रो जनआन्दोलनलाई बिर्सन सकिँदैन । तर, त्यतिबेलाका योद्धाहरू भने धेरैका नजरमा विस्मृत बन्दै गइरहेका छन् । कयौं योद्धाहरू राजनीतिदेखि टाढा~ पुगेका छन् ।

प्रजातन्त्र आएको खुशियालीमा खुलामञ्चमा उभिएर नारा घन्काउने २२ वर्षीया युवती दुर्गा थापा अहिले ५७ वर्षकी भइन् । पञ्चायती व्यवस्थाविरुद्ध नाराबाजी गर्दा उनमा युवा जोश थियो । अब देशमा परिवर्तन हुन्छ भन्ने तीव्र आशा र विश्वास थियो ।

०४६ सालयता बागमतीमा धेरै पानी बगिसकेको छ । गणतन्त्र आयो, बालेन्द्र शाहजस्ता युवाहरू काठमाडौं महानगरकै नेतृत्व गर्ने ठाउँमा पुगे । तर, दुर्गाहरूले खुशियाली मनाएको खुलामञ्चमा यतिबेला ताल्चा झुण्डिएको अवस्था छ ।

खुलामञ्चमा दुर्गाले जोसिएर नारा लगाइरहँदा उनलाई हेर्ने वरिपरिका जिज्ञासु अनुहार अहिले कहाँ छन् ? कसैलाई थाहा छैन । नारा लगाउने दुर्गा थापा भने हाम्रै माझमा छिन् । तर, ०४६ की ती दुर्गा र ०८१ सालकी यी दुर्गामा अलिक परिवर्तन आएको छ । पहिलेकी दुर्गामा राज्यप्रति आशा थियो, अहिलेकी दुर्गासँग राज्य र दलप्रति गुनासै गुनासा छन् ।

व्यवस्था परिवर्तनका लागि लडेकी दुर्गा राजनीतिबाट कसरी विमूख भइन् ? अब राजनीतिमा आउने चाहना उनमा छ कि मरिसक्यो ? आन्दोलनबाट प्राप्त उपलब्धि कति सन्तोषजनक छ ?

जनआन्दोलनकी ती जोसिली युवतीले वर्तमान राजनीतिलाई कसरी विश्लेषण गर्छिन् ? यी विविध प्रश्नबारे पनि चर्चा गरौँला, अहिलेचाहिँ उही पुरानो तस्बिरको प्रसङ्ग कोट्याऔँ ।

‘तीन वर्षपछि आफ्नै फोटो देखेँ’

संयुक्त वाममोर्चा र नेपाली कांग्रेसको नेतृत्वमा ०४६ साल फागुन ७ गतेदेखि जनआन्दोलन घोषणा भएको थियो । ०४६ चैत २६ गते नारायणहिटी राजदरबारमा राजा वीरेन्द्रसँग दलहरूको वार्ता भयो । जनआन्दोलनको दबाबमा राजाले दलमाथिको प्रतिबन्ध हटाउने मागमा सहमति जनाए ।

त्यसको भोलिपल्ट चैत २७ गते खुलामञ्चमा भेला भएर जनताले विजयोत्सव मनाए । त्यही उत्सवमा खिचिएको थियो – २२ वर्षीया दुर्गा थापाको तस्बिर । त्यो ऐतिहासिक क्षणलाई क्यामेरामा कैद गर्ने फोटो पत्रकार थिए – मीनरत्न बज्राचार्य ।

‘आफ्नै फोटो भाइरल भएको मैले तीन वर्षपछि मात्रै थाहा पाएँ’, दुर्गा खबरहबसँग भन्छिन्, ‘फोटोग्राफरले मलाई चिन्न तीन वर्ष लाग्यो ।’

उनी सम्झन्छिन्, ‘अहिलेजस्तो सामाजिक सञ्जालको जमाना थिएन । राष्ट्रिय सभागृहमा फोटो प्रदर्शनी हेर्दै थिएँ, आफ्नै तस्बिर देखेँ । फोटो देखेर अप्ठ्यारो, लाज लाग्यो । कस्तो–कस्तो लाग्यो, यो कसरी आयो भन्ने भयो ।’

फोटो प्रदर्शनीपछि आफ्नो तस्बिर धेरै मिडियामा छापिएको सम्झँदै थापा भन्छिन्, ‘फोटोमा देखिएकी केटी यहीँ आएकी थिई भनेर कसैले फोटो पत्रकारलाई सुनाइदिएछन्, त्यसपछि उहाँले मलाई खोज्नुभयो ।’

को हुन् दुर्गा ?

दुर्गा थापा बानेश्वरबाट एसएलसी सकेर पञ्चायती व्यवस्थाको आखिरी दशकमा पद्मकन्या क्याम्पस पढ्न पुगेकी विद्यार्थी हुन् । काठमाडौं खाल्डोको राजनीतिमा उनी पनि डुबिन्‌ ।

‘म ०४४ सालमा एसएसलसी (प्रवेशिका) उत्तीर्ण गरेर पद्मकन्या क्याम्पस पढ्न आएँ । आफैँले जानेर राजनीतिमा आएकी होइन । म सामान्य परिवारकी मान्छे हूँ । बुवा, दाजुभाइ, परिवार र टोलमा कसैले पनि राजनीति गरेका थिएनन्’, दुर्गा भन्छिन्, ‘हामी ६ जना सन्तानमध्ये म जेठी छोरी हूँ, नकमाइ पढ्न गाह्रो थियो । मैले कलेज र जागिर सँगसँगै सुरु गरेँ ।’

त्यसबेलाको क्याम्पस सम्झँदै थापा भन्छिन्, ‘पीके कलेज महिलाका लागि इज्जतिलो थियो, तीन सिफ्ट पढाइ हुन्थ्यो । भर्ना पाउनै मुस्किल थियो । त्यसमाथि बिहानी सत्रमा भर्ना पाउन धेरै गाह्रो थियो । नेपाल बैंकका एकजना दाइले लेखापाल चिनाइदिए । तर, बिहान भर्ना पाउन मुस्किल पर्‍यो ।’

उनी थप्छिन् ,‘कलेज अगाडि ढोकामा स्ववियू लेखेको देखेँ । स्ववियू के हो भन्ने थाहा थिएन । भित्र छिरेँ । त्यहाँ केटीहरू थिए । कमला पन्त (हाल कांग्रेसकी नेतृ) पनि त्यहीँ हुनुहुन्थ्यो । कुराहरू सुन्दै गएँ । यूनियनको छुट्टै सिद्धान्त हुनेरहेछ । उसले भर्ना पनि गर्दिने रहेछ । दिउँसोको सत्रमा पढ्दै थिएँ । युनियनले नै बिहानीसत्रमा सारिदियो ।’

दुर्गाले आफू कांग्रेसमा लाग्नुको कारण खुलाइन्, ‘जसले गुन लगायो, त्यसैको पछि लागियो । बुझेर, चिनेर नेविसंघमा लागेकी थिइनँ, तर मलाई नेविसंघले बनायो, यो संगठनको आज पनि उत्तिकै माया लाग्छ ।’

उनले आफ्नो विद्यार्थी जीवन सम्झिँदै भनिन्, ‘जागिरमा रहँदै पनि म नेविसंघको प्रचारप्रसारमा र भोट हाल्न जान्थेँ । मिडियाको मान्छे आउँदा भाग्थेँ । अझ क्यामेरा लिएर आएको पत्रकार रहेछ भने मुख छोप्थेँ । जागिर जोगाउनुपर्ने थियो मलाई ।’

दुर्गाले अगाडि भनिन्, ‘०४५ सालमा नेवि संघमा आवद्ध भएँ । ०६२/६३ मा तरुण दलको काठमाडौँ जिल्ला सदस्य थिएँ । त्यसपछि नुवाकोटको क्षेत्रीय प्रतिनिधिसम्म भएँ । त्यहाँभन्दा माथि जान दिएनन् । पार्टीको विधानले दिनेसम्म बसेर काम गरेँ ।’

अहिले नेपाली कांग्रेससँग दुर्गाको गुनासो छ, ‘मेरो तस्बिर विश्वले चिन्छ, तर मलाई मेरो देश र पार्टीले चिन्दैन । माओवादी र एमालेले बरु मलाई इज्जत गर्छन्, तर आफ्नै कांग्रेस पार्टीले चिन्दैन ।’

अहिलेकी दुर्गा

एउटा तस्बिरका कारण राजनीतिको अभिलेखमा अटाएकी दुर्गाले बाल्यकालको सपना सम्झिइन्, ‘बाल्यकालमा ठूलो मान्छे बन्छु भन्थेँ । तर, के बन्छु भन्ने थाहा थिएन । ठूलो मान्छे के हो, कसलाई ठूलो मान्छे भन्छ भन्ने थाहा थिएन ।’

‘ठूलो मान्छे बन्ने’ सपना साँचेकी दुर्गा अहिले ५७ वर्षकी भइन् । ०४६ को आन्दोलनमा उनी जम्मा २२ वर्षकी थिइन् । आज पनि उनको हाउभाउ र बोलीमा एक योद्धाको छनक झल्किन्छ । हाल उनी ललितपुरको नख्खु कारागारमा रहेको ‘मनोसामाजिक अपाङ्ग बन्दी अस्पताल’मा कार्यरत कर्मचारी हुन् । जागिरे जीवन ३०औं वर्षमा लागिसकेको छ । अबको दुई वर्षमा अवकास पाउनेछिन् ।

उनी भन्छिन्, ‘राजनीति र जागिर सँगसँगै अघि बढ्यो । म गृहिणी पनि हुँ । श्रीमान् व्यवसायी हुनुहुन्छ । उहाँलाई पनि सहयोग गर्नुपर्‍यो । अहिले विभिन्न सामाजिक संघसंस्थामा पनि आबद्ध छु ।’

दुर्गाले मानविकीमा स्नातकसम्म पढेकी छिन् । भन्छिन्, ‘म मध्यम विद्यार्थी हुँ । तेस्रो श्रेणीमा एसएलसी पास गरेकी हुँ ।’

स्थानीय निकायको वडा सदस्यसम्म सीमित रहेको आफ्नो राजनीतिबारे सुनाउँदै दुर्गा भन्छिन्, ‘आर्थिक अभावले जागिरमा लागेँ । जागिरबिना टिक्न सक्ने अवस्था थिएन । ०४८ को चुनावमा काठमाडौँ वडा नम्बर १० मा सदस्यमा उठ्ने प्रस्ताव आएपछि जागिरबाट राजीनामा दिन गएकी थिएँ, तर पाँच वर्ष अझै काम गर, उपदान लिएर जाउ भने, हेर्दाहेर्दै ३० वर्ष बित्यो ।’

आफ्नो पारिवारिक पृष्ठभूमि बताउँदै उनी भन्छिन्, ‘सामान्य परिवारकी छोरी हुँ । केसीकी छोरी, थापाकी बुहारी । प्रजातन्त्र आएपछि बुबाआमाले नुवाकोट, दुप्चेश्वरमा बिहे गरेर दिनुभयो । म नयाँ बानेश्वरमा जन्मिएकी मान्छे ! नुवाकोटमा ससुरा बा कांग्रेसका क्षेत्रीय सभापतिसम्म हुनुभएको थियो, आन्दोलनकै पृष्ठभूमि भएकाले मेरो मागी विवाह भयो । वैवाहिक जीवन राम्रै चलिरहेको छ । हाल श्रीमान् र छोरासहित बसिरहेका छौँ ।’

अब, ०४६ को जनआन्दोलनबाट खुशी बनेकी ती २२ वर्षे युवतीले ५७ वर्षको प्रौढ उमेरमा आइपुग्दा भोगेको जागिरे अनि राजनीतिक अनुभव सुनौं, उनकै शब्दमा –

कर्मचारीतन्त्रसँग गुनासो

म ०४७ सालदेखि स्थायी जागिरमा प्रवेश गरेँ । लोकसेवा पास गरेर खरदारबाट सेवामा प्रवेश गरेकी हुँ । अहिले शाखा अधिकृत छु ।

त्यतिबेला राम्रो काम गर्ने कर्मचारीलाई उसले भनेको ठाउँमा सरुवा गरिन्थ्यो । अफिसरले सरुवा मिलाइदिन सक्थे, त्यसको विरोध कसैले गर्दैनथ्यो । चिठी चलानी भएर गएपछि सकियो । ब्युरोक्रेसी त्यस्तो थियो । अहिले मन्त्रीलाई भन्नुपर्‍यो भने उसको पीएलाई भन्नुपर्छ । मन्त्रालयमा निजी सचिवालय किन चाहिन्छ ? सचिवालयमा उपसचिव किन चाहियो ? उपसचिवसँग शाखा अधिकृत किन चाहियो ? मन्त्रीको पकेटको मान्छे अफिसर किन चाहियो ? नियमसंगत काम गर्ने हो भने तिनीहरू किन चाहिन्छ ?

मैले कर्मचारी युनियनमा उपाध्यक्ष भएर काम गरेँ । रसुवामा सहायक सिडियो भएर काम गरेँ । अब रिटायर्ड हुन दुई वर्ष बाँकी छ । तर, आजकाल युनियनमा धेरै राजनीति भएको छ ।

सचिव भनेको समग्र कर्मचारीको नेता हो । कम्तिमा गृह मन्त्रालयभित्र मेचीदेखि महाकालीसम्म इलाका प्रशासनमा बस्ने कर्मचारीको पनि सचिव हो ऊ । मन्त्रालयमा बस्नेको पनि सचिव हो । त्यहीँको शाखाको कर्मचारीले सचिवलाई मिनेट–मिनेटमा भेट पाउँछ तर इलाकाबाट आउनेले भेट्न पाउँदैन । सचिव गोकर्ण दवाडीसँग भेट पाइन्न ।

सचिवको निगरानीमा एक वर्षमा एउटा कर्मचारी चारपटक विदेश भ्रमणमा जान्छ । । मैले एकपटक ३० वर्ष भयो, एकपटक पासपोर्ट बोकाइदिनु न भनेँ । रातो बोक्ने हैसियत त भएन, नीलोसम्म गर्दिनू भनेँ । भारतसम्म भए पनि पठाइदिनु भन्दा पनि पठाएनन् ।

आफ्नो मान्छे वा आफूले मन परेको मान्छे हुनैपर्ने ? करारका कर्मचारी पठाउँदा पनि स्थायी कर्मचारीको वृत्तिविकासको तालिममा समेत नपठाउने ! यहाँसम्मको विकृति छ कर्मचारीतन्त्रमा ।

राज्यले नागरिक बेचिरहेको छ । मैले यो विषयमा बोल्दा अध्यागमनको दुई नम्बरी धन्दा नफस्टाउने भएपछि यिनीहरूले मलाई ‘ब्याक’ पारे । १५० कर्मचारी भएको ठाउँमा म नअटाउनु भनेको उनीको धन्दामाथि प्रश्न उठाउFछे भनेरै हो ।

नयाँ पुस्तामा लोकसेवा पास गर्ने, गृह मन्त्रालय जाने, अध्यागमन जाने र पैसा कमाउने भन्दा बाहेक अरू थोक छैन । निजामतीदेखि प्रहरी संगठनमा निकटता हेरिन्छ, तर हेर्नुपर्ने बौद्धिकता थियो । बैतडीको मान्छे आफ्नो जिल्लामा जागिर खान जाँदैन ।

नख्खु कारागारमा थन्क्याइयो

म आन्दोलनकारी र राजनीतिज्ञ पनि हो । नख्खु कारागारमा रहेको ‘मनोसामाजिक अपाङ्ग बन्दी अस्पताल’मा अस्पतालमा मलाई प्रमुखका रूपमा पठाइएको थियो ।

अहिले आफ्नै पार्टीका प्रदीप पौडेल स्वास्थ्यमन्त्री हुनुहुन्छ । उहाँलाई नेविसंघको सभापति बनाउनदेखि पहल गर्दै आएको हो । गृहमन्त्री रमेश लेखक आफ्नै पार्टीका ! उहाँलाई त्यहाँसम्म पुर्‍याउन ०४५ सालदेखि अहिलेसम्म कति पहल गरियो – त्यो जगजाहेर छ ।

तर, यहाँ प्रशासनका सहसचिव छवि रिजालले सर्वेसर्वा त्यही पदमा बस्ने जस्तो गरेर व्यवहार गर्नुभएको छ । ०७१ मा म र उहाँ तनहुँमा थियौँ । म स्थानीय निकायमा काम गर्थेँ । त्यतिबेला देशभरका स्थानीय निकायमा तीनजना महिला कार्यकारी थिए । अहिले सयौँ भइसके, खुसीको विषय यही छ ।

अहिले जागिरमा मलाई पीडा भएको छ । सबैले चिन्दा, जान्दा र माया गरिरहँदा पनि गाह्रो हुने रहेछ । चिनेको चोरले ज्यान लिन्छ भनेजस्तो ! निजामती ऐनले दिएको अवधिभन्दा कम बसेको पनि छैन र बढी पनि बसेको छैन । रेकर्ड हेर्दा हुन्छ ।

मलाई कांग्रेसी भनेर सबैले चिन्ने ! म प्रजातन्त्रवादी धारकी मान्छे, कांग्रेस नै हो । तर, मलाई कसैले बनाएको होइन । म व्यक्तिको होइन, विचारको कांग्रेस हो । त्यही कारणले मलाई उपेक्षा गरियो ।

नख्खु कारागारमा गृहमन्त्रालयले यति धेरै लगानी गरेको अस्पताल छ, जसलाई स्वयं मन्त्रालयले नै उपेक्षा गरेको छ । मलाई त्यहाँ लगेर फालियो । कारागारअन्तर्गत हालियो

यसअघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कोभिडका समयमा खटिएकी थिएँ । अन्तर्राष्ट्रिय क्षेत्रमा काम गर्ने रहर थियो । रसुवामा दुई वर्ष सहायक सीडीओ भएँ, तर ८ महिनामा निकाल्ने भनेर रट लगाए । रवि लामिछाने गृहमन्त्री भएका बेला नौ महिनामा मलाई झिकियो ।

नख्खु कारागारमा गृह मन्त्रालयले यति धेरै लगानी गरेको अस्पताल छ, जसलाई स्वयम्‌ मन्त्रालयले नै उपेक्षा गरेको छ । मलाई त्यहाँ लगेर फालियो । कारागारअन्तर्गत हालियो ।

कैदीबन्दीलाई उपचार गर्ने अस्पताल भनेर खोलिएको रहेछ । कसको पहलमा खोलियो ? अवकाश भएका, आंशिक काम गर्ने र काम गर्नै नजान्ने कर्मचारीहरू लगेर थन्क्याउन खोलिएको रहेछ । उपकरण र बजेट छ, तर दक्ष कामदार छैनन् । अर्धदक्षको जमात थन्क्याउने ठाउँ भएको छ । मैले ‘यसरी असक्षम कर्मचारी राखेर किन सरकारको ढुकुटी खर्च गर्ने ?’ भनेर प्रश्न उठाएँ । राज्यको लगानी सही वा उचित मार्गमा खर्च हुनुपर्छ ।

नख्खु कारागारमा म जाँदा १६ सय कैदीबन्दी थिए । त्यसमध्ये ५०० कैदी मानसिक बिरामी थिए । त्यही जेलले औषधी उपचारको बिल बनाउने ! यता स्वास्थ्यका कर्मचारीबाट डाक्टरलाई फोन गर्ने जाने ! आइएनजीओहरूसँग सम्पर्क गरेर अन्तै काममा जाने ! कारागारमा चाहिँ कर्मचारी नभएर बिरामीलाई बाहिर पठाउनुपर्ने ! कैदीबन्दीलाई बाहिर उपचारका लागि पठाउँदा गाडीभाडा, सुरक्षा थ्रेट लगायतका अनावश्यक कुराहरूमा खर्च बढ्ने !

‘यसो नगरौँ न ! २५ सयको अस्पताल छ, यहाँ ल्याएर भर्ना गर । यहाँ डाक्टर पठाऊ, दक्ष कामदार पठाऊ, उपकरण पठाऊ’ भन्दा गृह मन्त्रालयलाई वास्तै छैन । सचिव, सहसचिव र गृहमन्त्रीलाई भनेको भन्यै छु । कि मलाई झिकिदिनुस्, या अस्पताललाई व्यवस्थित ढंगले सञ्चालन गर्दिनुपर्‍यो भनिरहेको छु । मेरो माग कसैले सुनेन । अझै भौंतारिएर हिँडिरहेकी छु । धेरै काम गर्छु भनेकी थिएँ, केही गर्न सकिरहेकी छैन ।

आफ्नै पार्टीसँग गुनासो

हामीले वाक स्वतन्त्रता पायौँ, तर आन्दोलनको उद्देश्य जति थियो, त्यो अनुरुप भएन । हामी आन्दोलमा जाँदा यो देशको सुन्दर भविष्यको कल्पना गरेका थियौँ । हरेक नागरिकले प्रजातन्त्रको अनुभूति गर्न सकिने होस् भन्ने थियो । त्यो सबै चकनाचुर भयो । हिजोका व्यापारी आज नेता भएका छन् । ब्युरोक्रेट्सहरू व्यापारी भएका छन् ।

नेपाली कांग्रेस विचारले सबैभन्दा राम्रो पार्टी हो । तर, नेताहरू काम नलाग्ने भएर निस्के । कांग्रेसमा खराब मान्छेहरूको भिड बढ्यो । अब नयाँ पुस्ताको कांग्रेस राम्रो बन्छ कि ? हाम्रो पुस्ता खेरै गयो ।

के हामी केपी ओलीलाई प्रधानमन्त्री बनाउन लडेको हो ? शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन लडेको हो ? पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन लडेको हो ? देशमा सुशासन ल्याउन, प्रशासनलाई चुस्त दुरुस्त बनाउन, ट्रेड युनियन एउटै बनाउन भनेर लडेको हो ।

पार्टीहरू जति उम्रिए पनि केही हुन्न । विचारले नयाँ हुनुपर्‍यो । विचार उही पुरानाको जति पनि छैन, पार्टी मात्रै नयाँ भएर के गर्ने ? अब परिवर्तनका लागि संघर्ष आवश्यक छ । नागरिकहरू विदेश पलायन भइरहेका छन् ।

यो देशमा विभिन्न कालखण्डमा भएका आन्दोलन सार्थक भएनन् । कांग्रेस र कम्युनिष्ट सबै पुँजीवादी र शोषक भए । सीमित व्यक्तिका लागि सिँढी बनाउनु मात्रै आन्दोलन उद्देश्य थियो ? कदापि थिएन

महिलालाई अझै नपत्याउने परिपाटी छ । परिवर्तन भएको छैन भनौं भने देशले महिला राष्ट्रपति पाइसक्यो । मौका पाउँदा महिलाले धेरै काम गर्न सक्छन् । मैले सरकारी सेवामा प्रवेश गर्दा जम्मा ०.७ प्रतिशत महिलाको सहभागिता थियो ।

महिला संघमा बसेर पनि काम गरेँ । तर, कहिलेकाहीँ एक महिला अर्को महिलाको उन्नति-प्रगतिमा बाधक बनेको पनि देखेँ । समग्रमा महिलाहरू अवसरबाट वञ्चित छन् । काम गर्न पाए उल्लेखनीय काम गर्न सक्छन् ।

यो देशमा विभिन्न कालखण्डमा भएका आन्दोलन सार्थक भएनन् । कांग्रेस र कम्युनिष्ट सबै पुँजीवादी र शोषक भए । सीमित व्यक्तिका लागि सिँढी बनाउनु मात्रै आन्दोलन उद्देश्य थियो ? कदापि थिएन । २०४६ सालमा गोली चल्यो । कर्फ्यूमा कमलादीमा लुकेर बसेँ । २०४८, २०६२/६३ मा पटक–पटक घर छोडेर हिँड्नुपर्‍यो ।

यो सबै सीमित व्यक्तिका लागि हो त ? अब राष्ट्रिय सभामा विज्ञहरू लैजानुपर्छ । उठ्न, बस्न नसक्नेहरू कुर्सी छोड्न सक्दैनन् । युवालाई दिँदा हुँदैन ?

अहिले १० जना सांसद मेरा साथीहरू छन् । भोलि सांसद्, मन्त्री भएर जनताको सेवा गर्ने चाहना छ । जनताले चाहनुभयो भने त्यो सम्भव पनि छ । म यो देशको व्यवस्था परिवर्तनका लागि लडेकी मान्छे हूँ । नेतृत्व गर्ने हुटहुटी आज पनि ०४६ को जत्तिकै छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ६ : १९ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । बिहीबारको

सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सघाउने प्रचण्डको प्रतिबद्धता

तनहुँ– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष

सशस्त्रका तीन जना एसएसपी डीआईजीमा बढुवा

काठमाडौं– सशस्त्र प्रहरी बलका तीन जना वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी

भद्रपुर झापा गोल्डकप : पहिलो क्वाटरफाइनल आज

भद्रपुर– दोस्रो संस्करणको भद्रपुरझापा गोल्डकपको पहिलो क्वाटरफाइनलमा प्रतियोगिता आयोजक भद्रपुर

सहकारीको एक अर्ब ४९ करोड हिनामिना अभियोगमा पक्राउ

 म्याग्दी- बेनीमा सञ्चालित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको एक अर्ब ४९